१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इन्टेरियर डिजाइनमा सिर्जनात्मक क्षमता

घरभित्रको लेआउट, रङको संयोजन, फर्निसिङको उचित व्यवस्थापन गर्दै घरलाई आकर्षित ढंगले सजाउने काम हो इन्टेरियर डिजाइनिङ । रोजगारीको अवसर र सानो लगानीमा आफैंले व्यवसाय गर्न सकिने भएकाले पनि पछिल्लो समय यो क्षेत्रमा युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ ।
प्रकृति दाहाल

काठमाडौँ — कक्षा १२ सम्मको अध्ययन सकेपछि काठमाडौंकी सन्दीपा तामाङले इन्टेरियर डिजाइनिङ पढ्ने निर्णय लिइन् । त्यसमा उनका केही साथीहरूले पनि रुचि देखाए ।

इन्टेरियर डिजाइनमा सिर्जनात्मक क्षमता

रोजगारीका लागि सहज हुने र आफैंले पनि सामान्य लगानीमा व्यवसाय गर्न सकिने बुझेपछि भने उनीहरू २०१३ को ब्याचमा आईईसी कलेज अफ आर्ट एन्ड फेसन (आईईसी) मा ‘बीए इन इन्टेरियर आर्किटेक्चर’ कोर्समा भर्ना भए । अध्ययनअघि बुझ्दा सामान्य र सहज रूपमा लिएका उनीहरूलाई यो कोर्स पढ्दै जाँदा भने नौलो र असहज पनि लाग्यो । व्यवस्थापनमा हिसाबकिताबमा दौडिएका उनीहरूलाई आफ्ना हातलाई स्केच दौडाउन सुरुसुरुमा गाह्रो भयो ।

घरभित्रको लेआउट, रङको संयोजन, फर्निसिङको उचित व्यवस्थापन गर्दै घरलाई आकर्षित गर्ने काम हो इन्टेरियर डिजाइनरले गर्ने । पढाइ र त्यसपछिको कामबाट अनुभव बटुल्दै तामाङले विभिन्न कम्पनीमा काम गरिन् । पछिल्लो समय भने उनले काठमाडौंको लाजिम्पाटमा ‘डेकोर डेब्युट’ कम्पनी चलाइरहेकी छन् । कम्पनीमा उनले चार जनालाई रोजगारीसमेत दिएकी छन् । ‘इन्टेरियर डिजाइनिङ भनेको डिजाइनरको सिर्जनात्मक क्षमता हो, यदि व्यक्तिसँग क्षमता भएमा स्वतन्त्र भएर राम्रो आम्दानी गर्न सक्छन्,’ उनले भनिन् ।

सानैदेखि स्केच र चित्र बनाउन रुचाउने क्षेत्रपाटीकी २३ वर्षीय खुशाली सार्वथिया पनि इन्टेरियर डिजाइनमा निकै रुचि राख्छिन् । आईईसी कलेजबाटै गत वर्ष स्नातक सकेकी उनले राजधानीकै एक कम्पनीमा डिजाइनरका रूपमा काम गर्छिन् । प्रविधिसँग नजिकिने अवसर मिल्नुका साथै स्वतन्त्र भएर काम गर्न सकिने भएकाले यस क्षेत्रमा आफू आकर्षित भएको उनी बताउँछिन् । कार्यालयमा जागिर गरेसँगै पार्ट टाइम काम पनि गर्न सकिने भएकाले यसको स्कोप र रोजगारीको क्षेत्र बढ्दै गइरहेको उनको बुझाइ छ । त्यसमाथि पछिल्लो समय झन् घर, कार्यालयदेखि होटल तथा रेस्टुरेन्टलाई आकर्षक बनाउन डिजाइन गर्ने ट्रेन्ड बढ्दै गइरहेको छ । यसले बजारमा डिजाइनरहरूको माग निकै बढेको छ । ‘यस क्षेत्रमा खुलेर आफ्नो कला र क्षमता देखाउन सकिन्छ । रोजगारको सुनिश्चितता पनि छ,’ उनले भनिन् ।

इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रका रूपमा विकास हुँदै गएका कारण पछिल्लो समय युवापुस्तामा पनि इन्टेरियर डिजाइनर बन्ने लहर देखिन्छ । इन्स्टिच्युट र कलेजहरूमा विद्यार्थीहरूको संख्या पनि बढ्दै गइरहेको छ । आईईसी कलेजकी इन्टेरियर डिजाइन कार्यक्रम संयोजक कविता अधिकारीका अनुसार यस क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरू पछिल्लो समय निकै बढेका छन् । छोटो समयको पढाइले रोजगारी सुनिश्चित हुने भएकाले पनि आकर्षण बढेको उनको भनाइ छ ।

हाल नेपालमा दुईवटा कलेजमा मात्र यो विषयको पढाइ हुन्छ । काठमाडौंको मन्डिखाटारस्थित आईईसी कलेजले मलेसियाको लिम्कोकविङ युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोलोजीसँगको सम्बन्धनमा ३ वर्षे ‘बीए इन इन्टेरियर आर्किटेक्चर’ कोर्स पढाउँदै आएको छ । वर्षमा ८० देखि ८५ जना विद्यार्थी पासआउट भइरहेका संयोजक अधिकारीले बताइन् । त्यस्तै, बानेश्वरस्थित कान्तिपुर होटल म्यानेजमेन्ट एन्ड इन्टेरियर डिजाइन कलेजले पनि इन्टेरियर डिजाइनिङ कोर्स पढाउँदै आइरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कलेजबाट कोर्स पूरा गर्नेले आफूलाई बजारमा सहजै स्थापित गर्न सक्ने कार्यक्रम संयोजक विकास बासुकलाको भनाइ छ ।

त्यसबाहेक केही इन्स्टिच्युटले पनि यो कोर्स पढाइरहेका छन् । आईआईएफटीले सीटीईभीटीअन्तर्गत इन्टेरियर डिजाइनको १५ महिने कोर्स सञ्चालन गरिरहेको छ । पछिल्लो समय डिजाइनको कोर्स गर्न हरेक क्षेत्रका विद्यार्थीले रुचि राख्न थालेका आईआईएफटीकी एडमिन अफिसर अञ्जली महर्जन बताउँछिन् । थापाथलीस्थित ‘आईएल इन्स्टिच्युट्स’ ले भने एक वर्षको प्रशिक्षण दिने गर्छ । एक वर्षको अवधिमा डिजाइनरले रंग, टेक्चरदेखि लिएर फर्निसिङसम्म सिकाइन्छ । इन्स्टिच्युटकी काउन्सिलर अन्जना श्रेष्ठका अनुसार सैद्धान्तिकदेखि प्रयोगात्मक ज्ञानले करिअर बनाउन निकै सहयोग हुने गरेको छ ।

पछिल्लो समय इन्स्टिच्युटहरूमा पनि डिप्लोमा कोर्स गर्नेको संख्या ठूलै छ । यो विषय पढेपछि आम्दानी गर्न सहज हुनुका साथै आफ्नो सिर्जनात्मक क्षमता देखाउन सकिने बताउँछन् ललितपुर गोदावरीका २५ वर्षीय दीक्षित खड्का । सामाजिक कार्यमा स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी कमलादीस्थित आईआईएफटीमा अध्ययनरत उनले आफूमा नयाँ सोच सिर्जना भएको अनुभव गरेका छन् । ‘इन्टेरियर डिजाइनर भनेको यस्तो क्षेत्र रहेछ जसले मानिस सिर्जनशील बनाउन सहयोग गर्ने रहेछ,’ उनी आफ्नो अनुभव बताउँछन् ।

खड्कासँगै डिजाइनिङ कोर्स गरिरहेका दक्षिणकालीका ३० वर्षीय रवि महर्जन पनि यही क्षेत्रमा करिअर बनाउने सोचमा छन् । आफ्नो काम र सोख पूरा गर्न इन्टेरियर डिजाइनको सहायता उनले लिन खोजेका छन् । उनी भन्छन्, ‘आफ्नो रहर पूरा गर्नका लागि पढ्न आएको हो । यस कोर्सले कलात्मक रचना गर्न सिकाउने रहेछ ।’ अध्ययनको समयमा उनले स्केच बनाउने, नक्सा बनाउने, डिजिटल प्लेटफर्मदेखि लिएर वास्तुशास्त्रका बारेमा जानकारी पाएको बताउँछन् ।

इन्टेरियर डिजाइनको सोखका कारण ‘आर्किटेक इन्जिनियर’ बनिन् बिना पाण्डे । २००४ मा नेपाल इन्जिनियरिङ क्याम्पसबाट ‘ब्याचलर इन आर्किटेक इन्जिनियरिङ’ सकेकी उनले ‘ड्रिम्स आर्ट इन्जिनियरिङ कन्सल्टेन्सी’ मार्फत सेवा दिइरहेकी छन् । उनले भवन डिजाइन, वास्तु र इन्टेरियरसम्मको काम गर्छिन् । पछिल्लो समय समय डिजाइनिङको ट्रेन्ड बदलिँदै गएको उनको भनाइ छ । पहिला मानिसहरूलाई घर भए पुग्छ भन्ने थियो तर अहिले भने सजावटको ट्रेन्ड बढेको छ, जसले गर्दा डिजाइनरहरूलाई अवसरको कुनै कमी हुँदैन । काममा रमाउन सके यो क्षेत्रमा आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?