गोरुबजारको फुसको छाप्रो, जहाँबाट रामसहाय राजनीतिमा लागे, चम्पादेवी गाईगोठतिर

'जिम्मेवारी छ, गाईबस्तुलाई खुवाउने, घर बनाउने काम भइरहेको छ । यहाँको रेखदेख गर्नुपर्छ । गाईबस्तु के खान्छ ? कसले खुवाउँछ ?'
लक्ष्मी साह

बारा — काठमाडौंमा उपराष्ट्रपति निर्वाचनका लागि मतगणना भइरहँदा नवनिर्वाचित उपराष्ट्रपतिपत्नी चम्पादेवी कलैया ५ गोरुबजारस्थित आफ्नै घरगोठमा व्यस्त थिइन् । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचन हुँदै गर्दा भने उनी गाईबस्तुलाई घाँस खुवाउँदै र घरायसी काम गर्दै थिइन् ।

गोरुबजारको फुसको छाप्रो, जहाँबाट रामसहाय राजनीतिमा लागे, चम्पादेवी गाईगोठतिर

चम्पादेवी घरायसी काममा व्यस्त रहे पनि श्रीमानले चुनाव जित्दै छन् भन्ने पूर्वसूचना भने पाएकी थिइन् । त्यसो त चम्पादेवी पतिको जितको कामना गर्दै शुक्रबार ब्रत बसेकी थिइन् । तर श्रीमानको जितको खुसीयाली मनाउन राजधानी पुग्न भने उनी सकिनन् ।

'काठमाडौं किन जानु भएन त ?' प्रश्नमा उनले भनिन्, 'जिम्मेवारी छ, गाइबस्तुलाई खुवाउने, घर बनाउने काम भइरहेको छ । यहाँको रेखदेख गर्नुपर्छ । गाइबस्तु कसरी खान्छ ? के खान्छ ? कसले खुवाउँछ ?'

घरायसी जिम्मेवारी छाडेर काठमाडौं जानुपर्ने चम्पादेवीलाई खासै जरुरी लागेको छैन । यस्तै जिम्मेवारीले उनी काठमाडौं जान नसकेको बताउँछिन् । यसअघि पनि रामसहायप्रसादले काठमाडौं बोलाउँदा चम्पादेवी घर छाडेर काठमाडौं जान नसकेको बताउँछिन् ।

पति रामसहायप्रसाद उपराष्ट्रपति बनिसकेपछि भने काठमाडौं जानुपर्छ भनेर छिमेकीहरू भन्छन् । तर उनलाई उपराष्ट्रपतिको कार्यकाल सकिएपछि श्रीमान गाउँमै फर्किएर बस्छन् भन्ने लागेको छ । ‘घरवार र गाईबस्तु छाडेर काठमाडौं कसरी बस्ने ? बस्दिनँ, फेरि त ५ वर्षपछि यहीँ आएर बस्नुहुन्छ । सधैंको लागि कहाँ हो र ?’

पुर्ख्यौली घर कचोर्वास्थित खेतका रुख विरुवा बिक्री गरी कलैया–५ गोरु बजार छेउमा १२ धुर जग्गा किनेपछि गाईभैंसी पालेर श्रीमानको राजनीति र सन्तानको पढाइ गराएको बताउँछिन् चम्पादेवी । ‘पति शिक्षक हुनुभयो । राजनीतिले सांसद, मन्त्री र अहिले उपराष्ट्रपति हुनुभयो । १ लाखको भैंसी ६५ हजारमा बेचेर जीर्ण घर बनाउँदै छु । छोरा छोरीको पढाइ लेखाइ र घर खर्चले च्याप्न थालेपछि गाईभैंसी पालन गरेँ,’ उनले सुनाइन् ।

२०६४ मा आफूसँग सल्लाह नै नगरी शिक्षकबाट राजीनामा दिएर रामसहाय राजनीतिमा सक्रिय बनेको सम्झन्छिन् उनी । तर त्यसयता घरखर्च जुटाउन खुबै मेहनत गर्नु परेको थियो । चम्पादेवीका अनुसार त्यसअघिसम्म उनीहरू फुसको घरमै बस्ने गर्थे । तर भत्किएपछि गोरुबजारमा जग्गा किनेर गोठ बनाएको उनले बताइन् ।

रामसहाय राजनीतिमा सक्रिय हुन थालेपछि चम्पादेवी भने गाईबस्तु पालनमा सक्रिय बन्न थालिन् । त्यही साँघुरो छाप्रोमा तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव कहिलेकाहीँ बस्न जान्थे । छाप्रो हटाएर, गाईबस्तु बेचेरै पाँच धुरको घडेरीमा चम्पादेवी यतिबेला पक्की घर बनाउन कस्सिएकी छन् । यही नयाँ घरको कामले पनि उनलाई अचेल व्यस्त बनाएको छ ।

जहाँ पिलर ठडिएको १५ वर्षपछि बल्ल घर बन्न थालेको छ । 'घरको जगमा घाँसैघाँस उम्रिएको थियो । छतमा चढ्ने भर्‍याङ त्यतिकै अधुरो थियो । घरको छत नै ढलान नभएपछि भर्‍याङको काम नै थिएन । घडेरीमा पिलर ठडिनुअघि यही जगामा फुसको सानो छाप्रो थियो ।'

नवनिर्वाचित उपराष्ट्रपति यादव २०६४ मा सभासद भएकै बेला पक्की घर बनाउन जग र पिलर उठाएका रहेछन् । तर त्यो पिलरमा छत अझै ठडिएको थिएन । चम्पादेवी अहिले बल्ल छत ढलानको काम गराउँदै छिन् । दुई छोरा र एक छोरीलाई यादव परिवारले इन्जिनियरिङ पढाए । हाल जागिरको लागि लोकसेवा परीक्षाको तयारी गराउन काठमाडौंमै राखेको चम्पादेवीले बताइन् ।

प्रकाशित : चैत्र ३, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?