बादशाह वात्स्यायन


पोखरा — पञ्चायतको जगजगी थियो । राष्ट्रवादी विद्यार्थी मण्डलले पञ्चायतविरोधीलाई देखिसहँदैनथ्यो । त्यतिबेला कांग्रेसको मुखपत्र ‘राष्ट्रपुकार’ साप्ताहिकमा कार्टुन बनाउँथे, दुर्गा बराल । पृथ्वीनारायण क्याम्पसमा कला प्रशिक्षक थिए उनी ।

शासकको विरोधमा कार्टुन बनाउँदा विद्यार्थीबाटै खतरा हुने देखे । नेपाली विषयका प्राध्यापक सामनाथ पौडेललाई छद्म नाम सुझाइ मागे । उनैले नाम दिए ‘वात्स्यायन’ ।
‘यो अलि यौनसँग सम्बन्धित नाम भएन र !’ बरालले संकोच माने । जवाफमा पौडेलले भने, ‘वात्स्यायन भनेको कलाका गुरु हुन् । ६४ कलाको ज्ञाता । कलाको प्रतिपादन नै उनैबाट भएको छ । यो नाम राख्दा उनीप्रतिको सम्मान हुन्छ ।’
वासुदेव–विद्यादेव लुइँटेल गुठीले ०५४ मा वात्स्यायनलाई हास्यव्यंग्य विधामा ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गर्यो । अवार्डमा थियो– किताबमाथि कलम लिएर उभिएको कागको मूर्ति । ०५७/०५८ तिर कान्तिपुरको शनिबारीय परिशिष्टांक कोसेलीको ‘बसिबियाँलो’ स्तम्भमा वात्स्यायनले कार्टुन बनाउन थाले । आफ्नो कार्टुनबाट केही न केही सन्देश जाओस् भन्ने उद्देश्यले उनले सन्देशवाहक चरा कागलाई कार्टुनमा घुसाए । आठ दशक काटिसक्दा उनलाई देख्नेले जति रहस्यमयी देख्छन्, त्यति संगत गर्नेले खुला किताब ।
०००
पोखरा नदीपुरस्थित कन्या क्याम्पसको विपरीत ८ नम्बर गल्लीबाट सिधा पश्चिम लागेपछि आउने पहिलो घुम्तीमै छ, उनको घर । जहाँ ०३६ र ०४० सालमा बनाइएका एकनाले दुई घर छन् । पुरानो प्रविधिबाट बनाइएका यी घर अझै चिटिक्क लाग्छन् । सिमेन्टको छत चुहिन थालेपछि भने माथिबाट जस्ताले ढाकिएको छ । पश्चिमपट्टिको घर खालीजस्तै छ । बीचको घरमा वात्स्यायन र उनकी जीवनसंगिनी पार्वती बस्छन् । मूल गेटबाट प्रवेश गर्नेबित्तिकै देब्रेपट्टि आर्ट ग्यालरी छ । जेठो छोरा अनुप भारतबाट नाटक अध्ययन गरेर फर्किएपछि ‘प्रतिबिम्ब थिएटर’ यही भवनमा थियो । अनुपले राजधानी रोजेपछि भवनले ग्यालरी पायो । तर, ग्यालरीले धर्म पूरा गर्न नपाएको झन्डै एक वर्ष भयो । वात्स्यायनलाई मोतीबिन्दुले छोएपछि चित्र कोर्न सकेका छैनन् । एक वर्षअघि माइलो छोरा अनिलले लेकसाइडमा होटल बनाए । त्यहीँ राख्न सराङकोटबाट देखिने हिमशृंखला, हेम्जा, सेती नदीका चित्र बनाए । चित्र बनाउँदा रङ छुट्याउन नसकेको त्यतिबेला भेउ पाए । लगाउनुपर्ने रङ नै फरक परेको थाहा पाएपछि उनले सुधारे । त्यही चित्र हालसम्मको अन्तिम हो ।
उनले एक साताअघि तिलगंगा आँखा अस्पतालमा देब्रे आँखाको शल्यक्रिया गरे । एक–एक घण्टामा औषधि हाल्नुपर्छ । दाहिने आँखाले अझै धमिलो देख्छ । रङ छुट्याउन नसक्दा चित्र कोर्न सकेका छैनन् । अर्को आँखाको पनि शल्यक्रिया गरेपछि पहिलेभन्दा स्पष्ट देख्ने डाक्टरले बताएका छन् । त्यसपछि फेरि सक्रिय भएर चित्र र कार्टुन बनाउने समय उनी कुरिरहेका छन् ।
बराल १९९९ चैतमा कास्कीको आर्बामा जन्मिए । तीन वर्षकै हुँदा आमा गुमाए । विधवा भएर माइतमै बस्ने फुपूले पालनपोषण गरिन् । फुपूले बनाएका माटोको मूर्ति र अगेनामाथिको मण्डला हेरेर उनी चित्रकलामा आकर्षित भए । ७–८ वर्षको उमेरमा नदीपुरस्थित मामाको घरमा बसेर मल्टीपर्पोज हाईस्कुल (हालको राष्ट्रिय मावि) मा पढ्दा चित्रकला प्रतियोगितामा भाग लिन थाले । नतिजा आउँथ्यो, सधैं प्रथम । सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणका क्रममा पोखरा आउँदा तस्बिर हेरेर बरालले बनाएको उनको चित्र विद्यालयले उपहार दिएको थियो ।
०१८ मा एसएलसी दिएपछि पृथ्वीनारायण क्याम्पसमा साइन्स विषय लिएर भर्ना भए । शिक्षिका थिइन्, एलियामा जोन । बायोलोजीमा बनाउनुपर्ने वनस्पति, जीवको डायग्राम बरालले बनाएको देखेपछि उनले चित्रकलामा आफ्नो भविष्य खोज्न सुझाइन् । झन् त्रिभुवन विश्वविद्यालयले साइन्सलाई मान्यता नदिएपछि उनले आफ्नो भविष्य चित्रकलामै खोज्ने अठोट गरे ।
क्याम्पस पढ्न छाडेर उनी तेर्सापट्टीमा खेमनारायण श्रेष्ठले चलाएको फोटो स्टुडियोमा सघाउन थाले । त्यहाँ आउजाउ गर्ने घरेलु शिल्पकला भण्डारका हाकिमसँग चिनजान भयो । उनैको सिफारिसमा काठमाडौंको त्रिपुरेश्वरमा रहेको घरेलु शिल्पकला भण्डारको डिजाइन शाखामा प्रशिक्षार्थीका रूपमा पुगे । महिनाको ५० रुपैयाँ भत्तासमेत बुझ्ने गरी उनी ०१९ मा ७२ रुपैयाँ भाडा तिरेर जहाजमा काठमाडौं पुगे ।
त्यतिबेला पोखराका शालिग्राम कोइराला ‘नयाँ सन्देश’ साप्ताहिकको बजार हेर्थे । सम्पादक रमेशनाथ पाण्डेले कार्टुनिस्ट खोजेको कोइरालामार्फत नै उनले थाहा पाए । महिनाको ७५ रुपैयाँमा कार्टुन बनाउने गरी बराल नयाँ सन्देशमा आबद्ध भए । ‘मलाई त्यतिबेला कार्टुनका बारेमा जानकारी थिएन,’ बिहीबार आफ्ने ग्यालरीमा बसेर उनले भने, ‘टाइम्स अफ इन्डिया र अमेरिकी राजदूतावासबाट आउने अरू पत्रिका हेरेर यसरी बनाउनुपर्छ भन्ने थाहा पाएँ ।’ सम्पादकले जुन विषयमा बनाउन भने त्यही विषयमा बनाए । आईए भर्ना हुन फारामका लागि पैसा चाहियो तर पाण्डेले पारिश्रमिक दिएनन् । अमेरिकाका लागि नेपाली राजदूत ऋषिकेश शाहकी श्रीमती सिद्धान्त शाहकहाँ कपालको डिजाइनको चित्र बनाउने काम लगाइदिए । १० दिन काम गरे, त्यहाँ पनि पारिश्रमिक पाएनन् । आईए पढ्ने उनको सपना तुहियो ।
०२२ मा उनले जनक शिक्षा सामग्रीमा नायब सुब्बासरहको जागिर पाए । पाटनका दिलबहादुर चित्रकार, डिजाइन सेक्सनका हाकिम केशव दुवाडी, शारदा चित्रकार, रतनकुमारलगायतसँग उनको हिमचिम बढ्यो । घरमा कसरी पेन्टिङ गर्छन्, के–के गर्छन्, को–को आउँछन्, पेन्टिङ कसरी बिक्री हुन्छ भन्ने सबै थाहा भयो । त्यतिबेला लैनसिंह वाङ्देल, बालकृष्ण सम, अमर चित्रकारसँग पनि उनको भेट भइरहन्थ्यो ।
वीरेन्द्र युवराजाधिराज हुँदा ०२२ मै नेपाल ललितकला संस्थान खुल्यो । उनी त्यसको सदस्य भए । संस्थानले वर्षको एकपल्ट राष्ट्रिय कला प्रदर्शनी सुरु गर्ने भयो । पहिलो प्रदर्शनीमा उनकै चित्र पहिलो भयो । बालकृष्ण सम, लैनसिंह वाङ्देल, उत्तम नेपाली, अमर चित्रकार, दिलबहादुर चित्रकार, केशव दुवाडीलगायत वरिष्ठ कलाकारका चित्र अप्रतियोगी रूपमा प्रदर्शनीमा राखिए ।
जनक शिक्षाबाट उनी तीनमहिने तालिमका लागि जापानको टोकियो पुगे । फर्किएपछि काठमाडौंमा आफ्नो भविष्य देखेनन् । ‘शैक्षिक योग्यता थिएन, बढुवा हुने कुरा भएन । कलातर्फ आधिकारिक प्रमाणपत्र पनि थिएन,’ उनी काठमाडौं नबस्नुको कारण खुलाउँछन्, ‘आफ्नै साधनाले कलाकार बन्छु भनेर ०२६ मा पोखरा फर्किएँ ।’ पोखरा आएर आर्ट स्टुडियो खोल्ने सोच तत्कालै पूरा हुन सकेन । सामान किन्ने पैसा थिएन । पेन्टिङ बिक्री हुन्छ भन्ने ग्यारेन्टी भएन । कसैको पेन्टिङ बिक्री भएको उनलाई थाहै थिएन । केही समय खेमनारायण श्रेष्ठकामै काम गरे । श्रेष्ठले उनलाई महेन्द्रपुलमा आफ्नै फोटो स्टुडियो खोल्न सघाए । डेढ वर्षपछि बरालले फोटो स्टुडियोबाट हात झिके । उनलाई सकेसम्म राम्रो काम गर्नुपर्ने । फोटो धुलाउँदा अलिअलि बिग्रिए पनि च्यातेर फाल्ने । त्यसले उनलाई घाटा पुर्यायो ।
रामबजारमा भारतीय पेन्सन क्याम्पनजिक व्यवसायी सुशील गोसलीको फोटो स्टुडियोमा पनि उनले जागिर गरे । ६–७ महिना काम गरिसकेपछि अलिअलि आर्थिक जोहो गरेर ०३२ मा मोहोरिया टोलमा आफ्नै ‘इगल आई आर्ट स्टुडियो’ खोले । साइनबोर्ड र ब्यानर बनाए । घरको सटरदेखि दराजसम्म पेन्टिङ गर्न पुगे ।
पोखराको पुरानो बजारमा भीमसेनथानअगाडि प्रिन्स होटल थियो । आफ्नो स्टुडियो जानुअघि बराल त्यही होटलमा चिया पिउँथे । एक दिन चिया खाइसकेपछि त्यहीँ भीमसेन थानको मन्दिर, माछापुच्छ्रे र पुरानो बजार आउने गरी चित्र कोर्दै थिए । पेन्टिङ बनाइरहेको देखेपछि पर्यटकले सोधे, ‘विल यु सेल दिस पेन्टिङ ?’ उनले भने, ‘यस, आई विल ।’ फेरि प्रश्न आयो, ‘हाउ मच ?’ उनले भने, ‘सेभेन्टी फाइभ ।’ पर्यटकले तुरुन्तै पैसा दिए । बरालले बिक्री गरेको पहिलो पेन्टिङ त्यही थियो । त्यसपछि उनले त्यही ठाउँमा बसेर चित्र बनाउन थाले ।
हिमसन्देश गृह पत्रिका पसलमा आउने भारतीय र अंग्रेजी पत्रिका हेरेर बरालले कलाका बारेमा ज्ञान बटुले । युरोपको कला इतिहास, विभिन्न किसिमका वाद, कलाकारका बारेमा जानकारी पाउँदै गए । उनी स्पेनका कलाकार साल्भाडोर डालीबाट प्रभावित हुँदै गए । बराल शशिविक्रम शाहको प्रदर्शनी हेर्न उनी काठमाडौं पुग्थे । त्यस्ता प्रदर्शनीबाट कलाकारका विचार बुझ्ने, काम गर्ने तरिका हेर्ने गर्दा आफ्नो कलालाई परिस्कृत गर्दै गए । आर्ट स्टुडियोसँगै उनले पृथ्वीनारायण क्याम्पसमा कला प्रशिक्षकको जागिर थाले । जर्मन प्रशिक्षकको म्याद सकिएर गएपछि तीन महिनाका लागि भनेर राखिएका उनले म्याद थप्दाथप्दै २७ वर्ष बिताए । नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकारमा काम गर्न होमनाथ दाहालले प्रस्ताव गरे । फ्याक्स, इन्टरनेट, इमेल थिएन । कार्टुन बनाएर साइकल लिएर विमानस्थल जान्थे । त्यहाँबाट जहाजमा कार्टुन पठाउँथे । श्रीमती पार्वती औलो उन्मूलन कार्यक्रममा जागिरे थिइन् । बच्चाबच्ची उनैले हेर्थिन् ।
उनको पहिलो एकल चित्रकला प्रदर्शनी ०३५ मा नेपाल ललितकला संस्थानमा भयो । प्रदर्शनीमा बालकृष्ण सम पनि आएका थिए । साल्भाडोर डालीबाट प्रभावित बरालका धेरैजसो पेन्टिङ स्वैरकाल्पनिक खालका थिए । प्रदर्शनी अवलोकनपछि समले पुस्तिकामा लेखे, ‘मलाई बरालजीको पेन्टिङहरू हेरेर साल्भाडोर डालीको सम्झना आयो । उत्तरोत्तर प्रगति र ख्याति फैलियोस् ।’
दिल्लीमा त्रैवार्षिकी रूपमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुन्छ । विश्वभरबाट प्रतिनिधि कलाकारले भाग लिन्छन् । सन् १९८० मा नेपाली टोलीको नेतृत्व नारायणबहादुर सिंहले गरे । उनीसँगै कलाकार शशिविक्रम शाह र बराल दिल्ली पुगे । बरालले पहिलोपल्ट त्यति ठूलो प्रदर्शनी देखेका थिए । प्रतिस्थापन कला भर्खरै सुरु भएको थियो । त्यही प्रदर्शनी हेरेर आएपछि उनले ०४० मा ‘चोक र तमसुक’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी गरे । काठमाडौंको नेपाल–भारत संस्कृति केन्द्रमा प्रदर्शनी भएको थियो । कला समीक्षक नारायणबहादुर सिंहले बरालको पेन्टिङ कलाले नेपाली कलालाई १० वर्ष अगाडि पुर्याएको प्रतिक्रिया छपाएका थिए । सोरठी, शरणार्थी शृंखलामा पनि उनले चित्रकला प्रदर्शनी गरे । ०५५/६० बाट पर्यटकले पेन्टिङ किन्ने क्रम घट्यो । भारतीय र नेपाली ग्राहक मात्रै छन् । नेपालीले अमूर्त र सिर्जनात्मकभन्दा पनि दुरुस्तै तस्बिरजस्तै बनाइदिनुपर्ने यथार्थवादी चित्र मन पराउँछन् ।
संसद्मा कार्टुन चर्चा
उनी भारतीय अखबारमा आएका कार्टुन हेर्थे । व्यंग्य कसरी गरिएको छ भन्ने हेरेर बिस्तारै आफ्नै अवधारणामा बनाउन थाले । ‘म उटपट्याङ कुरा गर्न अघि छु । कार्टुन पनि त्यस्तै किसिमले बनाइदिन्छु, त्यो सटाएर हुँदो रहेछ,’ रसिलो मुद्रामा उनले भने, ‘बनाउँदै जाँदा यसरी व्यंग्य गर्नुपर्छ, यसरी हँसाउनुपर्छ भन्ने ज्ञान हुँदै गयो । पछि आफ्नै विचारमा बनाउन थाले ।
आफ्नो भिजनमा बनाउँदा सजिलो हुन्छ । अरूको कन्सेप्टमा बनाउन छोडिदिएँ ।’ उनी कार्टुन बनाउनुअघि सकेसम्म लेख, रचना, स्तम्भ, सम्पादकीय पढ्छन् । आम धारणा बुझ्छन् । चिया पसलमा कसरी कुरा गर्छन्, राजनीतिक विषयमा धारणा के हुन्छ, चियोचर्चो गर्छन् । हिँडडुल गर्दा थाहा पाएका कुराबाट आफ्नो धारणा बनाएर कार्टुनमा उतार्छन् । नयाँ सन्देशपछि उनले राष्ट्रपुकार, सुरुचि, देशान्तर, गोरखापत्रमा काम गरे । किशोर नेपालको सिफारिसमा सम्पादक योगेश उपाध्यायले ०५२ देखि बराललाई कान्तिपुरमा आबद्ध गराए ।
गोरखापत्रको कार्टुनले संसद्मै प्रश्न उठेको उनलाई सम्झना छ । सरकारमा गिरिजाप्रसाद कोइराला थिए, प्रतिपक्षमा मनमोहन अधिकारी । उनले अविश्वासको प्रस्ताव लिएर जाँदा असफल भएको संकेतमा भाँच्चिएको तरबार बोकेर फर्किंदै गरेका मनमोहनको कार्टुन बनाए । विरोधी दबाउन गोरखापत्र प्रयोग भएको आवाज प्रतिपक्षी एमालेले उठाएपछि सञ्चारमन्त्री जेपी गुप्ताले संसद्मा जवाफ नै दिनुपर्यो ।
उनलाई सुरुदेखि नै कलमले कार्टुन बनाउने बानी बस्यो । एकपल्ट छिटो हुन्छ कि भनेर कम्प्युटरबाट बनाउने प्रयास गरे तर राम्रो प्रतिक्रिया आएन । ‘कार्टुन मात्रै राम्रो भएर हुँदैन मुख्य कुरा कन्सेप्ट हो । त्यसले दिने जुन विचार हो, त्यो नै अगतिलो छ भने जतिसुकै राम्रो भए पनि अर्थ रहँदैन,’ पछिल्लो समय डिजिटल रूपमा बन्ने कार्टुनबारे उनको प्रतिक्रिया छ, ‘दिन खोजेको कुरा र चित्र दुवै सशक्त भयो भने सर्वश्रेष्ठ कार्टुन हुन्छ ।’ सबै विषयमा कार्टुन नबन्ने उनी बताउँछन् । ‘खास विषय हुनुपर्छ, हास्यरस र व्यंग्य भएको । कसैमा व्यंग्य बढी होला, कसैमा हास्यरस बढी होला,’ उनी भन्छन्, ‘विषय मात्रै भएर भएन, प्रस्तुतिमा मिल्नुपर्यो । विषय उपयुक्त छ कि छैन खोज्छु । छैन भने अर्को विषयमा लाग्छु ।’
उनलाई धेरैले कलाकारका रूपमा भन्दा बढी कार्टुनिस्टका रूपमा चिन्नुलाई स्वाभाविक मान्छन् । लैनसिंह वाङ्देल, बालकृष्ण समलाई चित्रकारभन्दा साहित्यकारका रूपमा बढी चिनेको उदाहरण उनी दिन्छन् । ‘हाम्रोमा कलालाई कदर गर्ने वर्ग एकदमै थोरै छ, त्यही वर्गमा मात्रै कला चिनिन्छ । अरूलाई चासोको विषय हुँदैन,’ उनी भन्छन्, ‘कार्टुनको देशव्यापी प्रचार हुन्छ, विभिन्न ठाउँमा पुग्छ । फैलावट धेरै छ र सबैले चिन्छन् ।’ कार्टुनभन्दा पेन्टिङ गर्दा आफूलाई बढी सन्तुष्टि मिल्ने उनले सुनाए । ‘मान्छेले कार्टुनलाई कुन रूपमा लेला, के भन्ला, प्रतिक्रिया के आउला भनेर तनाव हुन्छ,’ उनले भने, ‘पेन्टिङ शान्त सुखाय हुन्छ । इच्छाअनुसार बनाउन पाइन्छ ।’ कार्टुन बनाउँदा संयमता पनि अपनाउनुपर्नेमा सजग छन् । धर्म, जाति, विभेद, सेना, अदालतका बारेमा बनाउँदा सतर्क हुने गर्छन् । अनावश्यक विवाद किन लिनु भन्ने उनलाई हुन्छ । ‘महेन्द्रपुलमा राखेको कार्टुनले निर्दोष मान्छेको ज्यान गयो । कहिलेकाहीँ मेरै कारणले हो कि, मैले नबनाएको भए ज्यान जान्थेन कि जस्तो लाग्छ,’ उनी केही निराश देखिए ।
बराल अचेल फोटोग्राफीमा रमाउन थालेका छन् । फोटो खिच्ने, फोटोसप गर्ने, मिलाउने गर्न युट्युब हेर्छन् । एक्सपोजर, डेप्थ अफ फिल्डलगायत फोटोग्राफीसम्बन्धी कुरा सिकिरहेका छन् । ‘फोटो खिच्दा आफूलाई रमाइलो लाग्छ । आर्ट र फोटोग्राफी उस्तैउस्तै लाग्छ । फोटोग्राफीले पनि आफ्नो भावना प्रस्तुत गर्न सक्छ,’ उनी भन्छन्, ‘पेन्टिङले दिन खोजेको कुरा फोटोग्राफीले पनि दिन्छ । आर्टमा लागू हुने नियम फोटोग्राफीमा पनि लागू हुन्छ । फोटोग्राफी गर्ने व्यक्ति पनि कलाकार नै हो ।’
वात्स्यायनलाई व्यंग्य चित्रकलाका सर्वोच्च शिखर मान्दै पोखराले उनलाई शनिबार अभिनन्दन गर्दै छ । पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा ३१ वटा वाङ्मयिक तथा सामाजिक संघसंस्थाले अभिन्दन गर्दै छन् । शनिबार उनी ८० वर्ष कटेर ८१ मा लाग्दै छन् । उनको घरबाट सुरु हुने रथयात्रा बगर हुँदै विन्ध्यवासिनी मन्दिर पुग्नेछ । ‘म सर्वसाधारण मान्छेजस्तै हो । आफूलाई त्यस्तो सम्झिन्छु । सम्मानका लागि आमभन्दा विशिष्ट हुँ भनी देखाउनुपर्छ । म त्यो देखाउन चाहन्न । अरूभन्दा जान्ने, अरूभन्दा धेरै बुद्धिजीवी । अरूभन्दा ठूलो सुपेरियर त्यस्तो म सोच्दिनँ,’ अभिनन्दनको पूर्वसन्ध्यामा उनले भने, ‘आफूलाई आम मान्छे ठान्दछु । विशेष किसिमले सम्मान गर्दा असजिलो महसुस हुन्छ ।’
जब कार्टुन च्यात्न खोजियो
०३६ मा सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्थाको बीचमा जनमत संग्रह हुँदै थियो । बीपी कोइरालासँगै होमनाथ दाहाल पोखरा आए । बरालका कार्टुन बीपीलाई देखाउनु भने । बरालले जनमत संग्रहमा बहुदलको पक्षमा प्रचारका लागि पालिखे चोकमा ठूल्ठूला पोस्टर बनाएका थिए । त्यही देखेपछि बीपीले भने, ‘क्या बात ! यो कार्टुन छापिनुपर्छ । जनमत संग्रहमा देशभरि प्रचार गर्नुपर्छ । मलाई देऊ म छाप्छु ।’ पछि कलकत्ता पठाए पनि प्राविधिक रूपमा छाप्न नमिलेको खबर आयो ।
जनमत संग्रहकै बेला पक्ष–विपक्षको जुलुस निस्किन्थ्यो । पञ्चको जुलुस पृथ्वीचोकबाट महेन्द्रपुलतिर आउँदै थियो । विश्व शाक्य र उनले ‘९० करोडको भुँडी’ शीर्षकमा ठूलो कपडामा कार्टुन बनाए । पञ्चले भ्रष्टाचार गरेको विषयवस्तु कार्टुनमा थियो । पञ्चको जुलुस आयो । कार्टुन च्यात्न खोजे । त्यतिबेला कांग्रेसीहरू महेन्द्रपुलमा धेरै थिए । नेविसंघका विद्यार्थीले प्रतिकार गरे । मुठभेड भयो । ढुंगा, लाठी हानाहान भयो । प्रहरीले फायर गर्यो । पालिखेचोकमा एक पुरुषलाई गोली लाग्यो । ती पुरुषको त्यहीं निधन भयो । धेरै जना घाइते भए ।
प्रकाशित : चैत्र ३, २०७९ ०८:३७