'कोसेली घर'मा मासदेखि गिठ्ठाभ्याकुरसम्म- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'कोसेली घर'मा मासदेखि गिठ्ठाभ्याकुरसम्म

सम्झना रसाइली

तनहुँ — मासदेखि गिठ्ठाभ्याकुरसम्म सहज रुपमा उपभोक्तालाई उपलब्ध गराउने लक्ष्यका साथ कोसेली घर सञ्चालनमा ल्याइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज तथा उद्यमीहरुको उत्पादित वस्तु सुपथ मूल्य र सहज रुपमा बिक्रीका लागि व्यास नगरपालिका–२ दमौलीमा व्यास कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

बजारको पहुँच बाहिर रहेका ग्रामीण क्षेत्रदेखि बजारसम्म उत्पादित कृषि उपज तथा साना लगानीमा सञ्चालन गरिएका घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तु तथा हस्तकला कोसेलीका रुपमा उपलब्ध गराउन कोसेली घर सञ्चालनमा ल्याइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी जिल्ला कार्य समिति तनहुँकी अध्यक्ष कल्पना गौलीले बताइन् ।

कोसेली घरमा जिल्लाको दक्षिण भेगका गाउँबस्तीमा उत्पादित अदुवा, तरुल, पिँडालु, मास, मस्याङ्ग, गहतका साथै जंगलमा पाइने गिठ्ठाभ्याकुर, सिस्नो, सिम्लिकान, कोइरालो जस्ता कन्दमुलसमेत राखिएको अध्यक्ष गौलीले बताइन् ।

उनले भनिन्, ‘तनहुँ मकै, आलु, कोदो, बेसार तथा हरिया सागसब्जी उत्पादनको लागि पनि उर्वर भूमि हो । तनहुँमा उत्पादित मास, पिँडालु, सुन्तलाको माग राम्रो छ तर सहज रुपमा बजारीकरण हुन सकेको छैन ।’

कोसेली घरको सुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोसेली घरलाई तनहुँको प्रतिष्ठा बनाउनुपर्ने बताए । जिल्लाका कृषक तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका उपजहरु सहज रुपमा बिक्री वितरणका लागि कोसेली घरलाई थलोका रुपमा विकास गर्नुपर्ने बताए ।

यस्तै, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोसेली घरलाई स्थायीत्व दिनका लागि नगरपालिका आवश्यक सहकार्य र समन्वय गर्न तत्पर रहेको बताए । उनले भने, ‘हामी कुनै कार्यक्रममा जाँदा बजारमा प्रिन्ट गरिएका फोटोहरु मायाको चिनोका रुपमा लिनेदिने गर्छौं । अब यही कोसेली घरमा पाइने अर्गानिक वस्तुहरु मायाको चिनोको रुपमा दिने कार्यको विकास गर्न आवश्यक छ ।’


कोसेली घरलाई नगरपालिकाले बिउपुँजीका रुपमा ५ लाख रुपैयाँ बजेट सहयोग गर्ने भएको छ । कार्यक्रममा सहभागी घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले भने, ‘हाम्रा ग्रामीण बस्तीका दिदीबहिनीहरुले उत्पादन गरेको अदुवा, पिँडालु, मास तथा तरकारीले सहजै बजार नपाउँदा कुहिएर खेर गएका छन् । महिला दिदीबहिनीहरुले श्रमको उचित मूल्य पाएका छैनन् । यो समस्य केही हदसम्म समाधान गर्न यो कोसेली घर सफल हुनेमा विश्वस्त छु ।’

कोसेली घरमा जिल्लाका १० वटै पालिकाबाट कृषि उपज, हस्तकला, घरेलु उत्पादनहरु संकलन गरी बिक्री वितरण गरिने भएको छ । कोसेली घरमा वन तरुल, बेथेको मस्यौरा, गुन्द्रुक, टाइटनको चिउरा, बफाएको गावा, मुलाको चाना, रातो तथा पहेलो बेसार, सिरम्लाको चामल, अनादीको चामल, खैरो र कालो भट्ट, कोदोको पिठो, तान्द्रे कर्कलो, भुटेको मकै, कालो सिमी, ढाँकाको कपडा, हातले बुनेका झोला, बाँसबाट बनेका डोको, डालो, नाङ्लो, गुन्द्री, तोरीको तेल लगायत सामग्री बिक्री वितरणका लागि राखिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसँग समन्वय गरी चाँडै बिग्रिने सामग्रीको म्याद तय गर्न कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताए ।

आन्तरिक पर्यटकले कोसेली घरमा आएर तनहुँको चिनो स्वारुप लिएर जानसक्ने महिला उद्यमी जिल्ला कार्य समिति तनहुँकी उपाध्यक्ष बसुन्धरा घर्तीले बताइन् । उनले भनिन्, ‘एकै थलोमा जिल्लामा उत्पादित हरेक वस्तुहरु पाउने भएपछि उपभोक्तालाई एकै स्थानमा आएर आफूलाई आवश्यक सामग्री खरिदका लागि सहज पनि हुने भयो ।’

उक्त कोसेली घरका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट गत आर्थिक वर्षमा ५ लाख, चालु आर्थिक वर्षममा २ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।


प्रकाशित : फाल्गुन २९, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली उड्डयनकर्मीलाई उडान सुरक्षाबारे प्रशिक्षण दिन ईयूका विज्ञ काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली उड्डयनकर्मीहरूलाई उडान सुरक्षा लगायत विषयमा प्रशिक्षण दिन युरोपियन युनियनका दुई जना विज्ञ नेपाल आइपुगेका छन् ।

युरोपियन युनियन अर्न्तगत उडान सुरक्षा एजेन्सीका उडान सुरक्षा विज्ञ डा. हेजल कटेनी र साइमन रोबर्ट नेपाल आइपुगेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सुरक्षा व्यवस्थापन निरीक्षक प्रज्वल ढुंगानाका अनुसार सोमबारदेखि सुरु भएको पाँचदिने प्रशिक्षणमा विज्ञहरूले उडान सुरक्षा नीति, सुरक्षा जोखिम व्यवस्थापन, उडान सुरक्षा प्रत्याभूति, दुर्घटना छानबिन तथा सिफारिस कार्यान्वयन, उडान सुरक्षा स्तरवृद्धि लगायत विषयमा तालिम दिनेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा भएको प्रशिक्षणमा प्राधिकरण र यस अन्तर्गतका विभिन्न कार्यालय, २२ वटा नेपाली वायुसेवा कम्पनी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी गरी २ सय ५० जना रहेका छन् ।

उडान सुरक्षा अभिवृद्धि अभियानको उद्घाटनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जटिल भौगोलिक स्थिति, भू–बनावट जस्ता पृथक एवं चुनौतीपूर्ण परिदृश्यबीच नेपालको हवाई क्षेत्रमा उडान सुरक्षा जोखिम न्यूनीकरणमा प्राधिकरणले काम गरिरहेको बताएका थिए ।

यस क्रममा ईयू लगायतका निकायसँग सहकार्य गर्दै प्राधिकरणले हवाई सुरक्षा अभिवृद्धि गराउन तालिम आयोजना गरेको उनले बताए ।

युरोपियन युनियनको दक्षिण प्रशान्तीय उड्डयन साझेदारी परियोजना अन्तर्गतको प्राविधिक सहयोगमा प्राधिकरणले यो प्रशिक्षण आयोजना गरेको जनाएको छ ।

यस अभियानको दोश्रो र तेस्रो दिन उडान सुरक्षा जोखिम तथा घटना छानबिन विषयक तालिम, चौथो दिन हेलिकोप्टर्स तथा विमानस्थल अपरेटर्सहरुलाई उडान सुरक्षा व्यवस्थापन तालिम र पाचौं दिन वायुसेवा कम्पनीका संचालकहरुलाई उडान सुरक्षा व्यवस्थापन प्रणाली तथा प्राधिकरण र मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुलाई राष्ट्रिय सुरक्षा कार्यक्रम कार्यान्वयनबारे प्रशिक्षण दिइने छ ।

ईयूले पछिल्ला वर्षहरूमा हवाई सुरक्षा लगायत व्यवस्थापकीय विषयमा नेपालसहित दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, भारत र माल्दिभ्सका क्षमता विस्तारमा सघाउँदै आएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ १८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×