उत्तरी गोरखामा 'मकैको बिहे'- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरी गोरखामा 'मकैको बिहे'

हरिराम उप्रेती

गोरखा — मकै छर्ने मौसम सुरु भएसँगै धार्चे गाउँपालिका–४ लाप्राकमा 'मकैको बिहे' गरिएको छ । सोमबार धार्चे गाउँपालिका–४ लाप्राकमा धुमधामसाथ 'मकैको बिहे' गरिएको हो ।

यस क्रममा बाजागाजासहित डोली लिएर स्थानीयहरू जन्ती गए, गाउँ परिक्रमा गरे, घाटु नाच नाचे, मकैको परिकार खाजा र प्रसादको रुपमा ग्रहण गर्दै सोमबार साँझ मकैको बिहेको समापन गरिएको छ । लाप्राक लगायत उत्तरी गोरखाका किसानहरू मकैको बिहे नगरी मकै रोप्दैनन् ।

सोमबार मकैको विवाह सम्पन्न भएसँगै अब किसानलाई खेतीबारीमा मकै छर्ने चटारो सुरु हुन्छ । धान खेती नहुने लाप्राकमा मकै मुख्य खाद्यबालीको रुपमा लिन्छन् ।

मकै खेतीको उब्जनी बढाउने आशयले यहाँ कुमार केटा र कन्या केटीलाई बेहुला बेहुली बनाएर प्रतिकात्मक रुपमा मकैको बिहे गर्ने प्रचलन छ ।

मकैको विवाहको अघिल्लो दिन जमघट गर्न नहुने, होहल्ला गर्न नहुने, ढिकी झाँतो नगर्ने पनि प्रचलन छ । विवाहको दिन प्रत्येक घरधुरीबाट स्थानीयलाई विवाहमा सहभागी बन्न आग्रह गरिएको थियो । वर्षौंदेखिको परम्परालाई निरन्तरता दिँदै प्रकृति पूजा गरेको लाप्राकका स्थानीय मारसिं गुरुङले बताए । ‘प्राकृतिक देवी देवतालाई बुझाउन हिजो(आइतबार) डाँडा पूजा र आज(सोमबार मकैको विउ भयो,’ उनले भने,‘घडीपला हेरेर जुराएको साइतमा मकै गाड्ने, निकाल्ने बाजागाजा बजाउने, जन्ती जाने प्रचलन छ ।’ चलन र विधिअनुसार वर्षौंपिच्छे मकैको बिहे गरेर मकै छर्ने गरेको उनले सुनाए ।

ज्योतिषले जुराएको सोमबारको साइतमा मकैको बिहे सम्पन्न भएसँगै अब मकै छर्न सुरु हुने स्थानीय गणेश गुरुङले बताए । ‘यो वर्षौंदेखिको परम्परा हो, मकैको विवाह नगरी मकै नछर्ने गाउँको नियम पनि हो,’ उनले भने,‘आज मकैको बिहे भयो, अब मकै रोप्न फुकुवा हुन्छ ।’ विवाहपछि मकै रोप्दा अन्नबाली राम्रो हुने जनविश्वास छ । यसरी बिहे गर्दा असिनाले बालीमा क्षति नपुग्ने, उब्जनी राम्रो हुने, रोग किरा नलाग्ने जनविश्वास पनि छ ।

बिहेका दिन स्थानीयले सामूहिक रुपमा केही मकै जम्मा गर्छन् । उक्त मकैलाई चोख्याउने र बिउ राखेको मकैमा लगेर मिसाउने प्रचलन पनि रहेको छ । यसरी मकैको बिहे गर्दा अनिकाल नपर्ने र बिहे नगरी मकै लगाउँदा अशुभ हुने पनि मान्यता रहँदै आएको छ ।

तर यस वर्ष वर्षा नहुँदा मकै छर्न ढिला हुने स्थानीयहरू बताउँछन् । उत्तरी क्षेत्रको लाप्राक र गुम्दा गाउँमा धान खेती हुँदैन । मुख्य खाद्यबालीको रुपमा मकै, आलु र जौलाई लिइन्छ । उब्जनी राम्रोका लागि पनि बिहे गर्नैपर्ने स्थानीयहरू बताउँछन् । धार्चे गाउँपालिकाको लाप्राक, लप्सीबोट, गुम्दा, सिङला, उहिया, खानीगाउँ लापु लगायत गाउँमा वर्षौंदेखि मकै छर्नुअघि मकैको विवाह गर्ने परम्परा छ । अन्य गाउँका स्थानीयहरू पनि साइत जुराएर मकैको बिहे गर्ने तयारीमा रहेका देखिन्छन् ।

प्रकाशित : माघ २३, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

गोल्डेन मिटमा तेज र निशा उत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — गोल्डेन एथलेटिक्स मिटमा पुलिसका धावक तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी धाविका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित दुईदिने प्रतियोगितामा उनीहरू सर्वोत्कृष्ट भएका हुन् । 

तेजबहादुरले सोमबार पुरुष ८ सय मिटर दौडमा स्वर्ण जितेका थिए । उनले दौड पूरा गर्दा १ मिनेट ५८.४ सेकेन्ड लगाए । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८.९ सेकेन्डबाट दोस्रो र सुदूरपश्चिमका कुशल जैसी २ मिनेट ०३.९ सेकेन्डबाट तेस्रो भए ।

निशाले २०० मिटर दौडमा २५.७१ सेकेन्डबाट स्वर्ण जितेकी थिइन् । एपीएफकी रमिताकुमारी थारुले २६.७२ सेकेन्डबाट रजत र पुलिसकी लक्ष्मी साउदले २८.४६ सेकेन्डबाट कांस्य जितेका थिए ।

सोमबार ५ हजार मिटर दौडमा एपीएफका सन्जीव नेपाली विजेता भए । उनले १५ मिनेट ५३.०३ सेकेन्डमा दौड पुरा गरे । पुलिसका सन्तोषनाथ योगी दोस्रो र प्रकाश सिंह तेस्रो भए । सोही दुरीमा महिलातर्फको स्वर्ण धादिङकी सन्तोषी श्रेष्ठले जितिन् । उनले निर्धारित दुरी १७ मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसका राममाया बुढा दोस्रो र रेखा विष्ट तेस्रो भए ।

पुरुष २०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलब ३७ सेकेन्डबाट स्वर्ण जिते । एपीएफकै नीरप्रताप महतोले दोस्रो र काठमाडौंका अरुण महतोले तेस्रो स्थान निकाले ।

महिला ८०० मिटरमा एपीएफकी फुलमती राना २ मिनेट २३ दशमलब ५ सेकेन्डबाट स्वर्ण जित्न सफल भइन् । एपीएफकै आशा रावत दोस्रो र सीमा चौधरी तेस्रो भए ।

ट्रिपलजम्पमा एपीएफका सलिम देवान १३.४८ मिटर जम्प गर्दै स्वर्ण जिते । एपीएफकै चन्द्रदेव जोशी १३.४५ मिटरबाट दोस्रो र रामकुमार लामिछाने १३.३५ मिटरबाट तेस्रो भए । महिलामा पुलिसकी सीमा चौधरी १०.२९ मिटरबाट पहिलो भइन् । एपीएफकी इन्जिता राई ९.८६ मिटरबाट दोस्रो र पुलिसकी सुमित्राकुमारी चौधरी ९.५४ मिटरबाट तेस्रो भए ।

ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल विजेता भए । उनले ५२.५५ मिटर थ्रो गरे । एपीएफकै मनोज डगौरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने । महिलामा चन्द्रकला लाम्गादे ४२.१३ मिटर थ्रो गर्दै स्वर्ण जित्न सफल भइन् । एपीएफकी सीमाकुमारी थारु दोस्रो र वसन्ती चौधरी तेस्रो भए ।

पुलिसका पुस्कल खड्का ११.७४ मिटर फाल्दै सटपुटको स्वर्ण जित्न सफल भए । पुलिसका रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने । महिलामा पुलिसकी चन्द्रकला लाम्गादे पहिलो बनिन् । पुलिसकै वसन्ती चौधरी दोस्रो र गोरखाकी मञ्जु गुरुङ तेस्रो भए । चार गुणा ४०० मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी टिम दोस्रो र नेपाल पुलिस क्लब टिम तेस्रो भए ।

प्रकाशित : माघ २३, २०७९ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×