माया मौलिक पहिरनको

मौलिक भेषभूषा जातीय पहिचानसँग मात्र सम्बन्धित छैन, धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण छ
बजारमा आयातित रेडिमेड कपडाको दबदबा रहेका बेला मौलिक र परम्परागत पहिरनप्रति ल बढ्दै छ चासो
प्रशान्त माली

ललितपुर ठेचोकी ६३ वर्षीया कान्छी महर्जन र ५५ वर्षीया रामदेवी महर्जनले हुर्केदेखि नै तानमा बुनेको कपडा लगाउँदै आएका छन् । उनीहरूले आयातित कपडा कहिल्यै लगाएनन् । १६ वर्षको उमेरमा तान चलाउन सिकेका दुवैले बिहेपछि श्रीमान्को घरमा पनि त्यसैलाई निरन्तरता दिए । अहिले तानबाट बुनेकै कपडा लगाउँछन् ।

माया मौलिक पहिरनको

दुवैका छोराछोरी हुर्किसकेका छन् । उनीहरूको घरमा नेवार समुदायले लगाउने मौलिक पहिरन तपाः लं (दौरासुरुवाल), हाकुपटासी, जनी (पटुका), गाचा (आढ्ने), पुटु लः (चोलो), प्वाकः लं (टिसर्ट) तयार हुन्छ । तर, उनीहरूका सन्तान भने घरमा बनेको कपडा लगाउन चाहँदैनन् ।

नयाँ पुस्तामाझ मौलिक पहिरन लगाउने चलन चाडपर्व, भोजभतेर वा सभा समारोहमा सीमित बनिसकेको छ । सहरी क्षेत्रका बूढापाकाले समेत सर्ट/पाइन्ट लगाउन थालिसकेका छन् । मौलिक पहिरन लगाउनेमा सहर र पहाडी क्षेत्रबीचको बस्ती ललितपुरको सुनाकोठी, ठेचो, चापागाउँ, हरिसिद्धि, ठैंब, सिद्धिपुर, बुङमती, खोकना, काठमाडौंको कीर्तिपुरलगायत सात गाउँ, टोखा, मनमैजु, साँखु र भक्तपुरको कोर बस्तीका बूढापाका मात्र बाँकी छन् ।

यद्यपि पछिल्लो समय फरक पहिचान बोक्ने मौलिक पहिरनको संरक्षण र निरन्तरताका लागि स्थानीयहरू जुरमुराउन थालेका छन् । काठमाडौं छेत्रपाटीका ४० वर्षीय यादवलाल कायस्थले असारदेखि दैनिक भादगाउँले टोपी, तपाः लं, स्टकोट लगाउन थालेका छन् । ललितपुर गुसिंगालका ४९ वर्षीय राजाराम तण्डुकार कात्तिकदेखि सातामा दुई दिन शुक्रबार र शनिबार मौलिक पहिरन र जुत्ता भने गोल्डस्टर लगाउँछन् ।

दुवै जना सम्पदा अभियन्ता हुन् । उनीहरूलाई सुरुमा मौलिक पहिरन लगाएर घरबाहिर निस्कँदा कतिपयले संस्कृति सम्पदा संरक्षणको नाममा ढोङ देखाएको भनी आलोचना गरे । कतिपयले पुरातन सोच र कट्टर जातिवादीका रूपमा इंगित गरे । धेरैले कार्यक्रम वा भोजभतेरमा जान लागेको भनी जिज्ञासा राखे । तर, आफूहरू विशुद्ध मौलिक पहिचान जोगाउन लागिपरेको र अहिले सबैले तारिफ गर्न थालेको अभियन्ता कायस्थ सुनाउँछन् । ‘भाषा, भेषभूषा हरेक देशको पहिचान हो । सरकारले सबै जातजातिको पोसाकलाई राष्ट्रिय पोसाकका रूपमा मान्यता दिएको छ,’ उनले भने, ‘तर, अहिले यो मेरो देशको पहिचान बोकेको भेषभूषा हो भन्ने गर्व गर्ने ठाउँ छैन ।’ उनका अनुसार हरेक चुनावमा राजनीतिक दलका नेताहरू मौलिक पहिरन संरक्षण गर्नुपर्ने नारा दिँदै आ–आफ्नो भेषभूषामा मतदाता रिझाउन पुग्छन् । ‘मतदाताले पनि विश्वास गरेर भोट दिन्छन् ।

चुनाव जितेपछि भने बेवास्ता गर्छन्,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औपचारिक सभा समारोहमा राष्ट्रिय पोसाक पहिरिनु राष्ट्रको इज्जतको कुरा हो । तैपनि नेताहरू विदेश भ्रमणमा जाँदा होस या मुलुकको कुनै राष्ट्रिय समारोहमा सुटबुटमै सजिने गरेका छन्, यो लज्जास्पद कुरो हो ।’

संस्कृति–सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै जनप्रतिनिधिलाई आफ्नो वाचाप्रति ध्यानाकर्षण गराउन मौलिक पहिरन लगाउन थालेको दुवै अभियन्ताको भनाइ छ । मौलिक पहिरनले पहिचान मात्र नभई देशको अर्थतन्त्र उकास्न पनि मद्दत गर्ने तण्डुकारले बताए । ‘नेपालमा एक सय ३० जनजाति र एक सय २३ भाषाभाषी छन् । सबैको आ–आफ्नो भेषभूषा घरेलु उद्योगमै तयार हुन्छ । अहिलेलाई सरकारले कर्मचारी र जनप्रतिनिधिलाई पोसाक भत्ता छुट्याउँदा कम्तीमा सातामा एक दिन मौलिक पहिरन लगाउनुपर्ने व्यवस्था मिलाएमा स्वदेशी उद्योग धराशायी हुनबाट जोगिन्छ,’ उनले भने, ‘मौलिक पहिरन सस्तो भरपर्दो टिकाउ पनि छ । सुतीको कपडा भएकाले गर्मीमा पसिना सोस्छ, जाडोयाममा न्यानो बनाउँछ ।’

यादवलाल कायस्थ ।

बजारमा एक सेट तपाः लं र इस्टकोटको तीन हजार ५ सय रुपैयाँ पर्छ । भादगाउँले टोपीको एक सय ५० देखि ४ सय ५०, गोल्डस्टर जुत्ताको कम्तीमा चार सय रुपैयाँ पर्छ । हाकुपटासीको ७ सयदेखि एक हजार ५ सय रुपैयाँ र चोलोको ८ सयदेखि एक हजार २ सय ५० रुपैयाँसम्म पर्छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कर्मचारीको पोसाक भत्ताको बजेट मात्रै ५ अर्ब ८६ करोड १७ लाख रुपैयाँ छ । नेपालमा भारत, चीन, थाइल्यान्ड, बंगलादेशलगायत मुलुकबाट प्रत्येक वर्ष करिब ३० अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात हुने गरेको छ । मुलुकको ढुकुटीमा विदेशी विनिमय अभावबीच नेपालले ०७८/७९ मा कुल १९ खर्ब २० अर्बको वस्तु आयात गर्दा कुल निर्यात २ खर्ब रुपैयाँको मात्रै छ । एकै वर्षमा १७ अर्ब बढीको व्यापार घाटा छ । नेपालले बढी आयात गर्ने वस्तुमध्ये पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा, औषधि, मेसिनरी तथा पार्टपुर्जा, सिमेन्टमध्ये कपडा पनि एक हो । नेपालमा तयारी पोसाक दसैंतिहारलगायत चाडपर्वमा बढी आयात हुने गर्छ ।

मौलिक भेषभूषा जातीय पहिचानसँग मात्र सम्बन्धित छैन, धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण छ । संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘तपाः लंमा रहेको सेतो र रातो मसिनो थेप्लो सौभाग्यको प्रतीक हो । नेवार समुदायमा पुरै रातो र सेतो लुगा अशुभ मानिन्छ । जुन विधवा महिलाले मात्र लगाउँछन् ।’ उनले हाकुपटासी नेवारी महिलाको सुहागको चिह्न बताए । ‘यसमा हुने कालो कपडासँगै रातो बोर्डरले ती महिलाको श्रीमान् ज्युँदै छन् भन्ने चिनिन्छ,’ उनले भने, ‘हाकुपटासीमा कालो भाग मात्र छ, रातो छैन भने उसको लोग्ने बितिसकेको बुझिन्छ ।’

तपाः लंमा रहेको आठवटा तुनाले संकट मोचनको हेतुले अष्ठ मातृकाको प्रतिनिधित्व गर्छ । पञ्च भैरवका प्रतीकका रूपमा सुरुवाललाई पाँच टुक्रामा गाँसी सिलाइन्छ, यसलाई शुभ मुहूर्तमा लगाउने चलन अझै पनि गाउँघरतिर छ । हाकुपटासीको रङ र डिजाइनले पनि कुन ठाउँको महिला भनेर चिन्न सकिन्छ । भक्तपुरका महिलाले लगाउने हाकुपटासीको तलको रातो बोर्डर ठिक्कको हुन्छ भने सेतो कपडामा रातो बोर्डर भएको पछ्यौरी लगाइन्छ । ललितपुरका महिलाले कालो कपडामा ठूलो रातो बोर्डर भएको लगाउँछन् । कालो पछ्यौरीमा भने हरियो ऊनीको बोर्डर हुन्छ ।


आधुनिक पहिरनको प्रभाव बढेसँगै परम्परागत हाकुपटासीमा सजिएका नेवार महिला हतपत देख्न पाइँदैन । अधिकांश नेवार समुदायका युवती पनि जिन्स टिसर्टमा रमाउन थालिसकेका छन् । पाटन क्वन्तीका पृथविन्दु महर्जनले भने आफ्नी १२ वर्षीया छोरी सजेनालाई मासिक एक पटक मौलिक पहिरन लगाइदिन थालेका छन् । परम्परालाई निरन्रता दिन र नयाँ पुस्तालाई मौलिक पहिरनको महत्त्वबारे बुझाउन खोजिएको उनले बताए । ‘हामीले नबचाए कसले बचाउने,’ सजेना भन्छिन्, ‘सबै अभिभावकलाई आग्रह छ– कम्तीमा महिनाको एकपटक भए पनि छोराछोरीलाई आ–आफ्नो भेषभूषा लगाउन दिनुस् ।’

नेवारी मौलिक पहिरनको चलन किरातकालदेखि चल्दै आएको अनुमान गर्न सकिन्छ । भारतका प्रसिद्ध विद्वान् चाणक्यले दुई हजार ४ सय वर्षपहिले लेखेको कौटिल्य अर्थशास्त्र नामक पुस्तकमा नेपालमण्डलमा बुनिएका कपडा, राडी पाखी (कम्बल) भारतको पटनासम्म निर्यात हुने गरेको उल्लेख छ । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, ‘यसले किरातकालमा तानको विकास भइसकेकाले मौलिक पहिरनको चलन त्यतिबेला नै चलिसकेको मान्न सकिन्छ । त्यतिबेला नेपाल मण्डलका किसानले बुनेको कपडा भारतमा निर्यात हुने गर्थ्यो ।’ उनले काठमाडौंको हाँडीगाउँ र मालीगाउँमा भेटिएको दोस्रो/तेस्रो शताब्दीको जय बर्माको मूर्ति र शिलापत्रले पनि त्यतिबेला भेषभूषाको विकास भइसकेको आधार मान्न सकिने बताए । ‘नेवार सभ्यताले नेपाललाई धेरै योगदान दिएको छ । जातिवादीका रूपमा मात्र हेर्नु गलत छ,’ उनले भने ।

परम्परागत तानबाट बनेका मौलिक भेषभूषाको व्यापार पछिल्लो समय बढ्न थालेको काठमाडौं पकनाजोलस्थित मौलिक भेषभूषा पसल सञ्चालक मणिकृष्ण श्रेष्ठ बताउँछन् । ‘एक समय ठप्प जस्तै भइसकेको थियो । सरकारले जनजातिहरूको पर्वमा सार्वजनिक बिदा दिँदा र विद्यालयका कार्यक्रममा विद्यार्थी मौलिक भेषभूषामा जान थालेपछि माग बढ्दो छ,’ उनले भने, ‘हेटौंडा कपडा उद्योगजस्ता अन्य उद्योग खोलेर सरकारले आफैं कपडा उत्पादन गर्नुपर्छ ।’ उनका अनुसार अहिले मौलिक पहिरन नेपालमा बने तापनि कपडा भने भारत, चीनलगायत मुलुकबाट निर्यात गर्नुपर्छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले सातामा एक दिन शुक्रबार कार्यालयमा आ–आफ्नो मौलिक भेषभूषा लगाउनुपर्ने व्यवस्था गर्न मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने बताए । ‘बजेटमै व्यवस्था भएर आए पनि सबैले पालना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मन्त्रालयमा छलफल थाल्छौं ।’ नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले स्वदेशी उत्पादन १५ प्रतिशत महँगो भए पनि सरकारले खरिद गर्नुपर्ने प्रावधान रहेको बताए । ‘मौलिक पहिरनलाई प्रत्साहन दिन सकेमा रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘यसका लागि वाणिज्यले पहल गरिरहेको छ ।’ त्रिभुवन विश्वविद्यालय मानवशास्त्री विभागका सहप्राध्यापक जनक राईले मौलिक भेषभूषा एकताको स्रोत भएकाले यसको संरक्षण प्रवर्द्धन गर्ने दायित्व राज्यको भएको बताए ।

प्रकाशित : माघ २३, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?