पुरुष ‘क्याबिन क्रु’- फिचर - कान्तिपुर समाचार

पुरुष ‘क्याबिन क्रु’

हवाई उडानमा सुरूमा पुरूष स्टेवार्ड राख्ने गरिएको भए पनि बीचमा युवतीहरुलाई प्राथमिकता दिन थालियो । तर पछिल्लो समय पुनः सुरक्षा, सुविधा र समानताको कुरा उठेपछि भने युवाहरुलाई ‘क्याबिन क्रु’ राख्न थालिएको छ ।
सीमा तामाङ

काठमाडौँ — स्नातकसम्मको अध्ययन पूरा गरेपछि विदेश जान तम्तयार भइसकेका थिए काठमाडौंका नवीनराज केसी । परदेशमा भासिइहाल्न उनलाई खासै मन थिएन, तर पारिवारिक तथा आर्थिक कारणले भने दबाबमा परेका थिए उनी । देशभित्र टिकिरहन उनलाई चाहिएको थियो कुनै बहाना । चाहे त्यो रोजगारी होस् वा कुनै व्यवसाय ।

यसैबीच, उनले देशको ध्वजावाहक नेपाल एयरलाइन्सको पदपूर्तिको सूचना देखे । र, अन्ततः त्यही सूचनाका कारण उनले देशभित्र बस्ने मात्र होइन, मातृभूमिको सेवा गर्ने मौका पनि पाए । अर्थात्, ३० वर्षीय केसी हाल नेपाल एयरलाइन्सको ‘क्याबिन क्रु’ का रूपमा कार्यरत छन् । उनका अनुसार खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको पहिलो पुरुष ब्याच पनि उनीहरूकै हो । विभिन्न चरणको लिखित, प्रयोगात्मकलगायतका परीक्षा पार गरेर देश/विदेशमा करिब ६ महिना लामो तालिम लिइसकेपछि मात्र उनी निर्धक्क भएर उडेका थिए उनी, क्याबिन क्रुका रूपमा ।

देशभित्रका एयरलाइन्स कम्पनीले महिला ‘एयर होस्ट्रेस’ लाई मात्र प्राथमिकतामा दिइरहेका बेला खुल्ला प्रतिस्पर्धाबाट ‘क्याबिन क्रु’ बन्न सफल केसी ८ वर्षदेखि नेपालमार्फत यात्रुहरूको सेवा गरिरहेका छन् । मानसिक र शारीरिक रूपमा सधैं चुस्त र तन्दुरुस्त रहनुपर्ने पेसा हो यो । तर पनि ‘क्याबिन क्रु’ को सामाजिक हैसियत भने सोचेजस्तो नभएको उनको बुझाइ छ । ‘अन्य मुलुकमा क्याबिन क्रु भनेपछि ‘स्किल्ड र सेमीस्किल्ड’ जनशक्ति हो । तर नेपालमा त्यस्तो अवस्था छैन,’ उनी भन्छन् । उचाइ, तौल, उमेर र अनुहारको बनावटलगायत आधारमा छनोट हुने र तालिमपश्चात् मात्र उडान भर्न पाउँछन् क्याबिन क्रुले ।

नवीनराज केसी

कुनै बेला महिला परिचारिका मात्र हुने नेपालका हवाई उडानमा आजभोलि पुरुष परिचारकहरू पनि देखिन थालेका छन् । राष्ट्रिय उडानमा कमै देखिए पनि अन्तर्राष्ट्रिय उडानमा पुरुष र महिला दुवै अनिवार्य छ । सुरुवातमा ‘स्टेवार्ड/स्टेवार्डेस’ बाट सुरु भए पनि आजभोलि पुरुष र महिला दुवैलाई ‘क्याबिन क्रु’ को नाम दिन थालिएको छ । ‘देश र समयअनुसार ‘स्टेवार्ड/स्टेवार्डेस, एयर होस्टेस,

फ्लाइट अटेन्डेन्ड हुँदै अहिले क्याबिन क्रुमा आइपुगेको छ,’ उनी भन्छन् । एयरक्राफ्टको क्याबिनमा रही काम गर्ने महिला तथा पुरुष दुवैलाई अन्तर्राष्ट्रिय रूफमा ‘क्याबिन त्रुु’ भन्न थालिएको हो । ‘सुरुमा फ्लाइट सर्भिसहरूमा पुरुष स्टेवार्डहरू नै थिए, पछि ग्लामर थप्न केटीहरूलाई विशेष प्राथमिकता दिँदा केटाहरू ओझेलमा परे,’ क्याबिन क्रु केसीले भने, ‘सुरक्षाको कुरा आउन थालेपछि पुनः केटाहरू पनि थपिन थाले । अहिले अन्तर्राष्ट्रिय फ्लाइटमा महिला र पुरुष बराबर हुन्छन् ।’ सुरक्षा र सुविधा दुवैको अवधारणाअनुसार पनि हाल महिला र पुरुष दुवै प्राथमिकतामा पर्न थालेका उनले बताए । यद्यपि, देशभित्र महिलाको तुलनामा पुरुषको संख्या निकै कम छ । र, भएका पनि माउन्टेन फ्लाइटहरूमा देखिन्छन् ।

रुपेश ताजपुरिया

नेपाल एयरलाइन्ससँगै हाल श्री एयरलाइन्स र हिमालयन एयरलाइन्समा मात्रै पुरुष क्याबिन क्रु छन् । मुलुकभित्रकै फ्लाइटमा भने श्री एयरलाइन्सले मात्रै पुरुष ‘फ्लाइट एटेन्डेन्ट’ लाई राखेको क्याबिन क्रु रुपेश ताजपुरियाले दाबी गरे । उनी विगत ३ वर्षदेखि श्रीमा कार्यरत छन् । श्रीले ‘डोमेस्टिक’ का लागि नै भनेर पुरुष क्याबिन क्रु हायर गरेको र यो उदाहरणीय कार्य भएको उनको भनाइ छ । कक्षा १२ मा ‘ट्राभल एन्ड टुरिजम’ पढ्दादेखि नै आफूले उड्डयन क्षेत्रबारे बुझ्ने मौका पाएका उनले छोटो समय ‘ट्राभल’ क्षेत्रमा पनि काम गरे । त्यसै क्रममा श्रीले निकालेको पदपूर्तिको सूचनाअनुसार प्रतिस्पर्धामार्फत क्याबिन क्रु बन्न सफल भएका हुन् उनी ।

तर उड्डयनलगायत कतिपय क्षेत्रमा महिला वा पुरुषलाई सीमित गर्न नहुने उनको भनाइ छ । जुनसुकै पेसा भए पनि योग्यताको आधारमा छनोट गर्नु उत्तम हुने उनको बुझाइ छ । डोमेस्टिकमा पनि पुरुष क्याबिन क्रु देख्दा कतिपयले अचम्म माने पनि अधिकांशले हौसला प्रदान गर्ने गरेको उनको भनाइ छ । ‘इन्टरनेसनल फ्लाइट गर्नेलाई त नौलो कुरा हुन्न तर डोमेस्टिकमा मात्र यात्रा गर्ने अधिकांशलाई त नौलै लाग्छ,’ उनले झने ।

सामान्यतः क्याबिन त्रुका रूपमा काम गर्न इच्छुक व्यक्तिले १२ कक्षासम्मको अध्ययन पूरा गरेको हुनुपर्छ । त्योभन्दा बढी शैक्षिक योग्यता भएकाहरूलाई कम्पनीहरूले प्राथमिकता दिन्छन् । त्यसबाहेक उड्डयन क्षेत्रबारेको जानकारीले छनोट हुन सहज हुन्छ । क्याबिन क्रुको तालिम लिर्नुपर्ने भने अनिवार्य छैन । छनोटमा परेपछि एयरलाइन्सले तालिम दिन्छ र त्यपछि पनि क्याबिन क्रुले आफ्नो लाइसेन्स अपडेटेड गर्न निश्चित समयावधिमा परीक्षा तथा तालिम लिन र उत्तीर्ण हुनुपर्छ । हरेक वर्ष ‘रिकरेन्ट’ परीक्षा हुन्छ । जसमा एयरलाइन्सअनुसार फरकफरक हुन्छ । नेपाल एयरलाइन्सको हकमा उत्तीर्ण हुन एक सयमा ८० अंक आएको खण्डमा मात्र फास हुन्छ र त्रुको लाइसेन्स अपडेट हुन्छ । उत्तीर्ण हुन नसक्ने क्रु फ्लाइटमा उड्न पाउँदैनन् ।

सुरुको ट्रेनिङमा भने उड्डयन क्षेत्र, सुरक्षालगायत तालिम दिइन्छ । दोस्रो, चरणको फ्लाइटमा तालिम हुन्छ । जहाँ एउटा क्रुले फ्लाइटमा केके काम गर्छ, कसरी गर्छ भने सम्पूर्ण देखाइन्छ । त्यसपछि मात्र तेस्रो चरणको तालिममा गराइन्छ । जहाँ क्रुले गर्नुपर्ने सबै काम सिकाइन्छ । त्यसमा पास भएपछि मात्र क्रु उडानका लागि तयार हुन्छन् । श्री एयरलाइन्समा पदपूर्तिदेखि सोलो उडान गर्नका लागि ६ महिना लागेको र नेपाल एयरलाइन्समा ६ देखि ९ महिना लागेको क्रुहरूको भनाइ छ ।

सरोज खतिवडा

इलामका अरुण दीप भट्टराईले १९ वर्षकै उमेरमा नेपाल एयरलाइन्समा भर्ना भएका हुन् । क्याबिन क्रुलाई ‘सेफ्टी इन्सपेक्टर’ का रूपमा लिन सकिने उनी बताउँछन् । अग्नि नियन्त्रण (फायर फाएटिङ), चोकिङ, बच्चा डेलिभरीका सामान्य तालिमदेखि आपत्कालीन अवस्थामा यात्रुलाई रेस्क्यु गर्न पनि सिकाउने भएकाले क्रु एयर क्राफ्टभित्र ‘सेफ्टी इन्सपेक्टर’ का रूपमा रहने उनी बताऊँछन् ।

अरुण दीप भट्टराई

चुनौतीसँगै त्रुको जागिर रमाइलो हुने गरेको उनको अनुभव छ । ‘ब्रेकफास्ट नेपालमा, लन्च भारतमा र डिनर दुबईमा गर्ने इच्छा भए क्रुको प्रोफेसनमा आउनुपर्छ,’ उनले हाँस्दै भने । तर समय निश्चित नहुने भएकाले मानसिक रूपमा तयार हुनुपर्ने उनी बताऊँछन् । अरुणले क्याबिन त्रु पेसासँगै हस्पिटालिटीसँग सम्बन्धित ‘चिया कटेरो’ पनि सञ्चालनमा ल्याएका छन् । फरकफरक क्षेत्रमा व्यवसाय गर्न र अनुभव बटुल्न चाहने उनले कोभिडको समयमा पोल्ट्री फार्मसमेत सञ्चालन गरेका थिए । यद्यपि त्यसलाई उनले निरन्तरता भने दिन सकेनन् ।

दीपेनजंग जीसी

त्यस्तै, काभ्रेका सरोज खतिवडा पनि ६ वर्षदेखि क्याबिन क्रुका रूपमा श्री एयरलाइन्समा कार्यरत छन् । एयरक्राफ्टका बारेमा सामान्य तालिम लिइरहेका बेलामा नै उनी श्रीमा ‘कस्टमर सर्भिस’ का लागि छनोट भएका थिए । पछि उनी क्याबिन क्रु बनेका हुन् । ‘फ्लाइट अटेन्डेन्ड होस् या उड्डयनको अरू क्षेत्रमा होस्, जसरी पनि काम गर्ने भन्ने थियो,’ उनी भन्छन्, ‘श्रीले डोमेस्टिकमा फुरुष क्याबिन त्रु राख्न सुरुवात गरेपछि मेरा लागि त्यो ‘डेस्टिनी’ बन्यो ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेनीमार्फत तीन महिनाको तालिम लिएपछि उनले पहिलो उडानमा सेवा दिएका थिए ।

पछिल्लो समय क्याबिन क्रुलाई हेर्ने नजरमा भने केही परिवर्तन आएको नेपाल एयरलाइन्समा कार्यरत ३१ वर्षीय दीपेनजंग जीसीको अनुभव छ । ‘काम सुरु गर्दा ताका क्याबिन क्रुभन्दा मानिसले नाक खुम्चाउँथे । योभन्दा राम्रो अवसर पाउँछन् भन्थे । अहिले परिवर्तन भइसकेको छ,’ उनले भने, ‘क्याबिन क्रु पनि स्किल्ड म्यानपावर हो भनेर बुझ्न थालिएको छ ।’ नेपालमा अझै पनि हरेक पेसालाई सम्मान गर्नुपर्छ भन्ने मानसिकता बनिनसकेकोमा भने उनी गुनासो गर्छन् । जसका कारण उनले हाल चितवनमा क्याबिन क्रुसम्बन्धी तालिम दिने इन्स्टिच्युट नै खोलेका छन् ।

प्रकाशित : माघ १६, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

कोदो उत्पादन बढ्दै, क्षेत्रफल घट्दै

सीमा तामाङ

काठमाडौँ — हेपाहा बालीका रूपमा चिनिएको कोदो उत्पादन बढ्दै गए पनि क्षेत्रफल घटिरहेको छ । कृषि विभागको तथ्यांकले पछिल्ला ८ वर्षमा उत्पादन र उत्पादकत्व बढ्दै गएको देखिएको छ । कोदोले ओगट्ने क्षेत्रफल भने बर्सेनि घटिरहेको छ । 

आर्थिक वर्ष ०७०/७१ मा २ लाख ७१ हजार १८३ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन भए पनि आर्थिक वर्ष ०७६/७७ सम्म आइपुग्दा घटेर २ लाख ६२ हजार ५ सय ४७ हेक्टरमा सीमित थियो । तर आर्थिक वर्ष ०७७/७८ मा भने दुई हजार ८ सय ५४ हेक्टर क्षेत्रफल बढेको कृषि मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा २ लाख ६५ हजार ४ सय १ हेक्टरमा कोदो लगाउँदा ३ लाख २६ हजार ४ सय ४३ टन उत्पादन भएको छ ।

हाइब्रिड जातका कोदो रोप्न थालेसँगै उत्पादन र उत्पादकत्व बढ्दै गएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले बताए । ‘रैथाने बाली भए पनि हाइब्रिड बीउ प्रयोग गर्दा उत्पादकत्व र उत्पादन बढ्यो । तर किसानले कोदो रोप्न छाड्दा क्षेत्र भने घटेको हो,’ उनले भने, ‘मान्छेको क्रयशक्ति बढेकाले आधुनिक खानपानको शैली अपनाउँदा कोदोलगायत रैथाने बाली लोपन्मुख हुँदै छन् ।’

युवा बिदेसिने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने चलनले समेत कोदो लगाउने क्षेत्रफल घट्दै गएको उनले जानकारी दिए । कोदो खाद्य सुरक्षा, पोषण, जलवायु परिवर्तन, धार्मिक–सांस्कृतिकलगायत हिसाबले महत्त्वपूर्णसमेत छ । पछिल्लो समय सर्वसाधारणले यसको महत्त्वबारे बुझ्दै गएकाले बजारमा यसबाट बनेका सामग्रीको माग समेत बढ्दै गएको उनले बताए । बजारमा माग बढेसँगै कोदो लगाउने क्रमसमेत बढेको छ । संघीय सरकारले कोदोजन्य बाली प्रवर्द्धनकै लागि १ सय ३३ पालिकाका लागि यस वर्ष २८ करोड बजेट विनियोजन गरेको छ ।

खाद्य सुरक्षाका हिसाबले धान, गहुँ, मकै, कोदो, फापर र जौलाई मुख्य खाद्यान्न बाली मानिए पनि यसको उपभोग हुन सकेको छैन । खाद्य सुरक्षामा यी बालीको योगदानमा समेत ठूलो असन्तुलन रहेको पाइएको छ । वार्षिक घरपरिवार सर्वेक्षण ०१६/१७ अनुसार प्रतिव्यक्ति प्रतिवर्ष १ सय १८ किलो चामल, मकै १७.६, गहुँ २१.० कोदो ३.५, फापर र जौ क्रमश ०.१ किलो मात्र उपभोग गरेको तथ्यांक छ । मुलुकमा सबैभन्दा बढी चामल खपत हुने गरेको छ । वार्षिक ३४ लाख ८० हजार टन चामल आवश्यक हुँदा आन्तरिक उपलब्धता ३१ लाख २३ हजार टन मात्रै छ ।

तर अन्य बाली उत्पादनको ठूलो परिमाण भने मुख्य खानाका रूपमा उपभोग नभई अन्य प्रयोजनका लागि प्रयोग हुने गरेको देखिएको छ । उक्त वर्ष २ लाख ४७ हजार टन आपूर्ति हुँदा १ लाख टन हाराहारीमा मात्रै उपभोग भएको छ । झन्डै १ लाख ३० हजार टन कोदो अन्य प्रयोजनका लागि प्रयोग भएको छ । कोदोमा शरीरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवन, अमिनोएसिडलगायत खाद्यपदार्थ पाइन्छ । हड्डी बलियो बनाउन, मुटु तथा रगतको मात्रा वृद्धि गर्न र मधुमेह एवं एनिमिया जस्ता रोगको औषधीय वस्तुका रूपमा कोदो प्रयोग गरिने केन्द्रका प्रमुख श्रेष्ठले बताए । ‘कोदोले रगतमा बोसो र कोलेस्ट्रोलको मात्रा घटाउँछ । जाडोयाममा कोदो खानाले चिसोबाट बचाउन र सर्दी हटाउन यो उपयोगी हुन्छ,’ उनले भने ।


पौष्टिक आहारले भरिपूर्ण कोदोलगायत रैथाने बाली प्रवर्द्धनका लागि सरकारले सुरु गरेको कार्यक्रमको सकारात्मक नतिजासमेत देखिन थालेको छ । मकवानपुरगढी गाउँपालिकामा कार्यक्रम सुरु भएको तीन वर्षमा कोदोजन्य बाली लगाउने क्षेत्रफलमा वृद्धि भएको छ । तीन वर्षअघि २ सय ५० हेक्टर जमिनमा मात्र कोदोबाली लगाइन्थ्यो । हाल ३ सय हेक्टर जमिनमा लगाउन थालिएको गाउँपालिकाले जनाएको छ ।

संघीय कार्यक्रमसँगै गाउँपालिकाले पनि रैथाने बाली प्रवर्द्धनका लागि बजेट छुट्याउँदै आएको छ । कोदोको उत्पादन र उत्पादकत्व बढाउने र स्कुलको दिवा खाजा कार्यक्रममा समेत सातामा एक दिन रैथाने उत्पादनका खानेकुरा दिन तालिम सञ्चालन गरिरहेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

‘संघको बजेट किसानसँगै छलफल गरेर विभिन्न प्रविधि, उन्नत बीउबिजनलगायतमा खर्च गर्छौं,’ उनले भने, ‘कोदो बालीको क्षेत्र विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्न बजेट खर्च हुन्छ ।’ गाउँपालिकाले यस वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने किसानलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहन अनुदानसमेत दिन थालेको जनाएको छ । ‘यस वर्ष ३ हेक्टर बाँझो जग्गा खनजोत भइसक्यो,’ उनले भने, ‘उत्पादन प्रवर्द्धनसँगै मृल्य शृंखलामा आबद्ध गराई प्रशोधन गरेर बजारसम्म पठाउन गाउँपालिकाबाट सहयोग गरिरहेका छौं ।’

गाउँपालिकाले नै कोदोको न्यूनतम समर्थन मूल्य यस वर्षका लागि प्रतिकिलो ४५ रुपैयाँ तोकेको छ । गाउँपालिकाभर उत्पादित कोदो वडा–४ का कृषि सहकारीले खरिद गर्छन् । कोदो भण्डारणका लागि समेत गाउँपालिकाकै सहयोगमा भवन निर्माण भएको उनले बताए । ‘गाउँपालिकाले कोदो खरिद गरेबापत सहकारीलाई प्रतिकिलो ४ रुपैयाँ अनुदान दिन्छ,’ उनले भने, ‘सहकारीले खरिद, भण्डारण र बिक्रीबापत २ रुपैयाँ आफैं राख्छ भने किसानलाई प्रतिकिलो दुई रुपैयाँ किसानलाई दिन्छ ।’ सबै कोदो एकै पटक बिक्री नहुने भएपछि गाउँपालिकाले प्रशोधन गरी लेबलिङ गरेर बिक्रीवितरण गर्ने तयारीमा जुटेको छ ।

बर्सेनि ३ करोड रुपैयाँ हाराहारीमा आयात हुने कोदो आर्थिक वर्ष ०७५/७६ मा एकै पटक ८ करोड ३ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/७७ मा ७ करोड १५ लाख १७ हजार र ०७७/७८ मा ६ करोड ३३ लाख १९ हजारको कोदो आयात भएको थियो ।

गत आर्थिक वर्ष फेरि कोदो आयात घटेको विभागको तथ्यांक छ । गत वर्ष ३ करोड ९९ लाख २३ हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार ८७ किलो कोदो (बीउ) आयात भएको हो । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म एक करोड २० लाख ९ हजार रुपैयाँ बराबरको ३ लाख ५२ हजार ६६० किलो कोदो आयात भएको विभागले जनाएको छ ।


प्रकाशित : माघ १४, २०७९ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×