सकिराको ‘बदला’- फिचर - कान्तिपुर समाचार

सकिराको ‘बदला’

‘आउट अफ योर लिग’ गीतको सिधा अर्थ के हो भने सकिरा पिकेको खेलबाट मुक्त भएकी छन् र उनका लागि पिके योग्य पनि छैनन् 
हिमेश

काठमाडौँ — जति बेलासम्म सँगै थिए, मिडियाका लागि उनीहरू जत्तिको आदर्श जोडी कुनै थिएनन् । प्रेम सम्बन्ध र नखरा हेरिनसक्नु थियो । कुरा सकिरा, अर्थात् ‘क्विन अफ ल्याटिन म्युजिक’ र स्पेनी फुटबल खेलाडी जेरार्ड पिकेको हो । पिके आफ्नो पुस्ताका सबैभन्दा राम्रा ‘सेन्टर–ब्याक’ मानिन्छन् ।


उनले लामो समय बार्सिलोनाका लागि खेले । सबथोक जिते । स्पेनका लागि विश्वकप जिते, अनि युरो पनि । स्पेनी फुटबल इतिहासकै सबैभन्दा सफल टिमका उनी एक उम्दा सदस्य हुन् ।

अर्कोतर्फ ल्याटिन संगीतमा सकिरा जत्तिको लोकप्रिय अरू कोही छैनन् । उनलाई एउटा ठूलै श्रेय जान्छ, ल्याटिन संगीतलाई गैरस्पेनी भाषीसम्म पुर्‍याउने मात्र होइन, लोकप्रिय पनि बनाउने । यी कोलम्बियाली गायिका उत्तिकै सुन्दर पनि छिन् । स्वर नशालु छ । कम्मरको ठुम्का बेजोड हुने गर्छ । सन् २०१० को विश्वकपमा सकिराले गाएको गीत ‘वाका वाका’ खुबै लोकप्रिय पनि भएको थियो । उनीबारे धेरथोक नजान्नेले पनि कम्तीमा यो गीत सुनेकै छन् । अनि, यसको मजा उठाएकै हुनुपर्छ ।

अहिले भने उनीहरू छुट्टिएका छन् । छुट्टिएका मात्र छैनन्, एकले अर्काका उछितो काढिरहेका छन् । अहिले सकिरा र पिके एकआपसका लागि ‘जानी दुस्मन’ जस्तै छन् । अनि एकले अर्कोलाई तथानाम लाञ्छना लगाइरहेका छन् । यी दुई पूर्वबुढाबुढीको झगडा भने बाँकी विश्वका लागि ‘तमासा’ भएको छ । यसमा सबैको रचि हुनुपछाडि यसमा संगीत छ, फुटबल छ, ग्ल्यामर छ । यो सबै पृष्ठभूमि किन भन्दा अहिले एउटा गीतले विश्व संगीतमा तहल्का मच्चाइरहेको छ र त्यो गीत अरू कसैको होइन, सकिराकै हो ।

‘आउट अफ योर लिग’ गीतको भिडियो यू–ट्युबको ट्रेन्डिङमा छ र यसले दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । ल्याटिन भाषाको यो गीत रिलिज भएको २४ घण्टामै ६ करोड ३० लाखले यसलाई हेरे । अहिले यो संख्या अकासिएर कता हो कता पुगिसकेको छ । यो गीत टिकटक र अन्य धेरै माध्यममा उपलब्ध छ र सबैमा यसप्रतिको आकर्षण गज्जब छ । यो गीत के हो भन्दा यसमा सकिराले आफूलाई धोका दिने प्रेमी पिकेलाई सक्दो गाली गरेकी छन् ।

यो गीतको माध्यमबाट सकिराले पिकेप्रति लिएको ‘बदला’ हो । उनीहरू १० वर्षजति सँगै रहे । यसबीच दुई छोरा पनि भए । सकिरा अहिले ४५ वर्षकी भइन्, पिके भने ३५ वर्षका मात्र छन् । सम्बन्धमा हुँदा पिके अर्को प्रेममा फसे र ती थिइन्, क्लारा चिया मार्टी । उनी भर्खर २२ वर्षभन्दा केही बढीकी भइन् । कुनै समय उनी पिकेको इभेन्ट्स प्रोडक्सन कम्पनी कोसमोसमा काम गर्थिन् । पिकेसँग औपचारिक रूपमै छुट्टिसकेको भए पनि सकिरा यो पीडाबाट मुक्त हुन सकेकी छैनन् ।

करिब चार मिनेटको गीत निर्माणमा सकिरालाई अर्जेन्टिनी डीजे बिजर्‍यापले साथ दिएका छन् । गीतको बोलको सार यस्तो छ, ‘म २२ वर्षकी भन्दा दुई गुणाकी छु । तिमीले फेरारीसँग ट्विन्गो साट्यौं, रोलेक्ससँग क्यासियो ।’ अनि गीतको शीर्षक ‘आउट अफ योर लिग’ को सिधासिधा अर्थ पनि के हो भन्दा सकिराका लागि पिके योग्यसम्म पनि छैनन् । हाम्रो भाषामा भन्दा पिकेको हैसियत सकिराको प्रेमी बन्ने बराबरको पनि छैन, अरू के कुरा गर्ने ?

पर्खालले अझ अलगिँदै

सकिरा अहिले पनि बार्सिलोनाको त्यही घरमा बसिरहेकी छन्, जहाँ पिकेसँग उनले केही राम्रा दिन पनि बिताएकी थिइन् । दुई जनाबीचको सम्बन्ध टुटेपछि पिके नै त्यस घरबाट बाहिरिएका थिए । कुरा त्यत्तिकैमा सकिन्न । त्यही घरसँगै अर्को घर पनि छ, जहाँ अहिले पनि पिकेका आमाबुबा बस्छन् । सुरुमा सकिराले बार्सिलोना छाडेर अमेरिकाको मियामी जाने बताएकी थिइन् । सायद अहिले उनले निर्णय फेरेकी छन्, उनको यहीं बसिरहने सुरसार छ ।

पिकेसँग राम्रो सम्बन्ध हुँदाखेरि नै पनि सकिराको आफ्ना सासूससुरासँग ठाकठुक चलिरहन्थ्यो । अझ सासू मोन्टसेराट बर्नाबेउसँग पटक्कै मन मिल्दैन थियो । एकपल्ट सासूलाई के लाग्यो भने सकिराको कपाल धेरै लामो छ, त्यसैले भनिन्, ‘यसलाई काटेकै राम्रो ।’ तर सकिरा भने लामो कपालमै मन पराउँथिइन् । उनी पनि के कम ? यसबारे एउटा भिडियो नै बनाइन् र त्यसमा भनिएको थियो, ‘म तपाईंको सुझावलाई कहिले पनि मान्दिनँ ।’

भनेपछि उनीहरूबीचको कचमच अहिलेको होइन । यिनै कारणले होला सकिराले अहिले आफू बसिरहेको घर र त्यस छेउको घरबीच बाक्लो पर्खाल निर्माण गरेकी थिइन् । भलै यी दुई घर अलग अलग बनेका छन्, तर सकिरा चाहन्छिन्, आफ्ना पूर्वसासूससुराको मुखै हेर्न नपरोस् । दुई दिन मात्र भयो, सकिराको घरछेउ सिमेन्टको मिक्सर गाडी देखिएको । अब गसिपमा रमाउने स्पेनी मिडियालाई के चाहियो र यही सिमेन्ट मिक्सर गाडी पनि राम्रै समाचार बन्यो ।

जति बेलासम्म पर्खाल बनेको थिएन, सकिराले ती पूर्वसासूससुरालाई चिढाउन अर्को उपाय पनि रचिन् र त्यो थियो, ठूल्ठूलो स्वरमा आफ्नो नयाँ गीत बनाउने । स्वर पनि कति ठूलो भने त्यो छेउको घरबाट मज्जाले सुन्न सकोस् । घर अगाडिको बाटो हिँड्नेले पनि यो गीत मज्जाले सुन्न सक्छन् । तिनै स्पेनी मिडियाको के अनुमान छ भने पिकेका आमाबुबाले बाध्य भएर त्यो गीत एकपल्ट होइन, बारम्बार सुनेको हुनुपर्छ । यदि उनीहरू त्यसबाट साँच्चै दिकदार भएको भए, सकिरा धेरै खुसी भएकी पनि हुनुपर्छ ।

एउटा महत्त्वपूर्ण प्रश्न, सबैभन्दा पहिले सकिरालाई पिकेले धोका दिइरहेको कति बेला, कसरी थाहा भयो होला त ? निकै नाटकीय समाचारहरू आइरहेका छन् । तिनै समाचारका अनुसार कुनै एक दिन सकिरा आफ्नो विदेश भ्रमणपछि घर मात्र फर्केकी थिइन्, एउटा जामको खाली जार देखेर स्तब्ध भइन् । भनिन्छ, त्यही खाली जारले सकिरा यो निर्णयमा पुगेकी थिइन् कि उनलाई पिकेले धोका दिइरहेको छ र उनको अरू नै सित सम्बन्ध छ ।

भएको के थियो भन्दा त्यो जारमा रहेको जाम खान रुचाउने त्यति बेला परिवारमा उनी मात्र थिइन् । त्यो जामको स्वाद न पिकेलाई मन पर्थ्यो, न उनका दुई छोरालाई । घर छाड्न अगाडि त्यो जार जामले पूरा भरिएको थियो, पछि फर्केर आउँदा लगभग रित्तिइसकेको स्थिति थियो । त्यसो भए, त्यो जाम खायोचाहिँ कसले त ? सकिराले पिकेसँग सोधपुछ सुरु गरिहालिन् । अनि यो निर्णयमा पनि पुगिन् कि त्यो जाम पिकेकी नयाँ प्रेमिकालाई पनि मन पर्दो रहेछ, त्यसलाई खाने तिनै हुन् ।

पिकेको प्रतिक्रिया

अब सकिराको गीत सार्वजनिक भएपछि पिकेले पनि त त्यसबारे प्रतिक्रिया दिनै पर्‍यो । उनले कसरी यो काम गरे त ? यो पनि आफैंमा गज्जब छ, नाटकीय छ । उनले सकिरालाई उत्तर दिन दुई काम गरे । पहिलो सार्वजनिक रूपमै रेनल्ट ट्विन्गो गाडी चढे । अनि सबैले देख्ने गरेर हातमा क्यासियो घडी लगाएर निस्के । गीतमा यिनै ट्विन्गो गाडी र क्यासियो घडीबारे त उल्लेख छ । पिके जत्तिको स्टारका लागि ट्विन्गो गाडी निकै सस्तो हुन सक्छ, जम्माजम्मी आठ हजार पाउन्डको ।

बार्सिलोनामा आयोजित फुटबलसँग सम्बन्धित कार्यक्रमका अवसरमा पिके त्यही गाडी चढेर आएका थिए । जति बेला उनले पार्किङमा त्यसलाई छाडे, त्यसको तस्बिर खिच्न पनि तँछाडमछाडको स्थिति बन्यो । अझ रमाइलो त के भने त्यो पार्किङ क्षेत्रमा एक से एक महँगा गाडीको लस्कर लागेको थियो, तर सबैको ध्यान त्यही सस्तो सेतो ट्विन्गो गाडीमा पर्‍यो । त्यसलाई पार्क गरेपछि पिके मसुक्क हाँसेर बाहिर निस्के । गाडीलाई पृष्ठभूमिमा राखेर आफ्नो तस्बिर खिचोस् भन्ने पनि चाहे ।

यस्तोमा निचोड के हो भन्दा जसरी माया र युद्धमा जे पनि जायज हुन्छ, बिछोडमा पनि नहुने कुरै भएन । होइन र ?

प्रकाशित : माघ ८, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

फुटबल जलिरहँदा बाँसुरी बजाइरहेको एन्फा

एकपछि अर्को फुटबल खेलाडी विदेश पलायन भइरहेका छन्, अखिल नेपाल फुटबल संघ भने चुपचाप छ । सायद उल्टै मज्जा लिइरहेको छ । तर्क छ आखिरमा विदेश जाने खेलाडीलाई रोक्ने कसरी ?
हिमेश

काठमाडौँ — ओहो ! यस्तै विस्मात्पूर्ण प्रतिक्रिया त आउँछ, जतिबेला सुन्नुपर्ने हुन्छ, एकपछि अर्को फुटबल खेलाडी विदेश पलायन हुँदै छ भनेर । कतै कुनै दिन सहिद स्मारक लिग ‘ए’ डिभिजन सुरु हुनेछ । तर, मूल कुरा अर्कै बन्दै छ, त्यही खेलाडी पलायनको । त्यो पनि अधिकांस अस्ट्रेलियातर्फ । कुरा त नेपाल सुपर लिगको पनि छ ।

तर ती सबै फिक्का हुनेछन् । एकजना होइन, दुईजना होइन, ३० भन्दा बढी खेलाडी पछिल्लो समय परदेश लागेका छन् । अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुक उनीहरूको गन्तव्य बनेको छ ।

यस्तोमा प्रश्न बन्छ, फुटबल खेल्ने चाहिँ को त ? दशरथ रंगशालाको छेउछाउ हिँडिरहेकालाई टिपेर खेलाउन त सकिन्न नै । ओ यो होइन, ओ यो...हो भन्ने स्थिति पनि आउनेछ । झन् विस्मात्पूर्ण स्थिति बन्छ, जतिबेला थप केही खेलाडी पनि अस्ट्रेलिया वा अन्यत्र मुलुक लाग्नेछन् । हल्लामा सुन्न पाइन्छ, केही खेलाडी उतै जाने सुरसारमा छन् । अस्ट्रेलियातर्फ सुरु–सुरुमा लागेका जगजित श्रेष्ठ भन्छन्, खेलाडीलाई पनि सुखद जीवनका लागि प्रयास गर्ने अधिकार हुन्छ नि ।

किन नहुनु ? हुन्छ । सायद त्यसैले होला अखिल नेपाल फुटबल संघ (एन्फा) पनि चुपचाप छ । सायद उल्टै मज्जा लिइरहेको छ । तिनको तर्क कुनै समय हो नै जस्तो लाग्छ, आखिरमा विदेश जाने खेलाडीलाई रोक्ने कसरी ? त्रिभुवन विमानस्थल गएर फर्काउन त सकिन्न । तर, सबथोक यत्तिकै सजिलो र सामान्य छैन । नेपाल फुटबल धसिँदै छ, गहिरो न गहिरो खाल्डोमा । खेलाडीलाई नेपाली फुटबलप्रति यति धेरै अविश्वास कहिल्यै लागेको थिएन ।

न त खेलाडीले नेपाली फुटबलसँग यति धेरै चित्त कहिल्यै दुखाएका थिए । खेलाडीको पलायनको शृंखलाले नेपाली फुटबलमा यसअघि कहिल्यै नआएको संकट निम्तिन सक्छ । ‘ए’ डिभिजनमा उक्लेर के–के न गर्नु भनेर उत्साहित चर्च ब्वाइजले दिनेश राजवंशी र तेज तामाङलाई अनुबन्ध गरेर सबैको ध्यान आफूमा तानेको थियो । केही दिन बित्न पाएको थिएन तिनै खेलाडी पनि अस्ट्रेलिया लागे । एक–दुई दिनको फरकमा गौतम श्रेष्ठ, नितिन थापा र रञ्जन विष्ट पनि उतै हान्निए ।

त्यसो त यसअघि पनि फुटबल खेलाडी विदेश नगएका होइनन् । गएकै थिए । पछि जाने रोकिने छैन । तर जसरी जुन मात्रामा अहिले खेलाडी गइरहेका छन्, त्यो भने वास्तवमै निकै चिन्ताजनक स्थिति बनेको छ । सबैभन्दा पहिले एउटा सूची बनाऔं त । तिनै जगजित आफ्नो खेलजीवनको उत्कृष्ट समयमै अस्ट्रेलिया लागे । व्यक्तिगत रूपमा निहुँ खोजिरहने उनको बानी छ । तर, उनी माथिल्लो दर्जाका खेलाडी हुन् । यसमा कसको शंका थियो र ?

जगजितले खनेको बाटो पछ्याउँदै शुलभ मास्के, हेमन गुरुङ, एलान न्यौपाने पनि लागे । पछिल्लो दक्षिण एसियाली खेलकुदमा पुरुषतर्फ फुटबलमा स्वर्ण जित्ने टिमका एक तिहाइभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगिसके । अभिषेक रिजाल त्यस टिमका एक सदस्य थिए । किन हो उनले पछिल्लो समय हल्का लय त गुमाए । उनी पनि माथिल्लो दर्जाकै खेलाडी हुन् । जगजित जस्तै नेपाली फुटबलमा केही र्छु भन्ने ‘एटिच्युड’ थियो ।

सागको त्यस यू–२३ टिमका अभिषेकसँगै दिनेश, सुमन अर्याल, मिक्चेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र रेजिन सुब्बा पनि अहिले अस्ट्रेलियामै छन् । यो सूचीको लगभग सबैले नेपाली राष्ट्रिय टिमबाट खेले । अझै खेल्न सक्थे । यस्तो सूचीमा सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ र सन्जोक राईको नाम थपे हुन्छ । यसमा थप्ने मिल्ने नाम अरू धेरै छन् । सबैको कामना हो, यसमा थप अरूको नाम जोड्न नपरोस् ।

गम्भीर असर

यो सबै कुरा सुन्दा अबको राष्ट्रिय टिमबाट कसले पो खेल्छ जस्तो लाग्न सक्छ । किरण लिम्बु, रोहित चन्द, सुजल श्रेष्ठ जस्ता केही नाममात्रले त नेपाली टिम बन्दैन । खासभन्दा यी खेलाडी पलायनको असर पक्कै गम्भीर रहनेछ । अझ यसको असर शृंखलाबद्ध हुनेछ । यसको पछिल्लो उदाहरण त आहा–रारा पोखरा गोल्डकपमै देखियो । त्यसै पनि पोखरालाई फुटबलको सहर भनिन्छ । कुनै दिन थिए, जतिबेला पोखरा रंगशालामा दर्शकको भिड लाग्थ्यो, सम्हाल्नै नसक्ने गरेर ।

भर्खर सकिएको प्रतियोगितामा हातैले दर्शक गन्न सकिने स्थिति थियो । केहीले भन्न सक्छ, प्रतियोगिता पुसको चिसो मौसममा भयो । अझ केहीले भन्न सक्छ, टिकट नै महँगो थियो । यी त क्षणिक कारणमात्र हुन् । सबैभन्दा ठूलो नेपालमा फुटबलको संस्कृति नै मर्दै छ । कोही पनि आफूलाई फुटबल मनपर्छ भनेर रंगशाला पुग्ने गर्दैनन् । यसका लागि फुटबल हेर्ने संस्कृति चाहिन्छ । जतिबेला नेपाली फुटबलमा केही नहुँदा बरू यो संस्कृति थियो, सबथोक छ भनेर दाबी हुँदा त्यही संस्कृति मर्दै छ ।

फुटबल मीठो हुन एक–दुई जना ठूलै स्टार चाहिन्छ । खेल जत्तिकै ठूलो व्यक्तित्व भएको खेलाडी नभई हुन्न । क्लब क्लबबीचको ऐतिहासिक प्रतिद्वन्द्विताले पनि काम गर्न सक्छ । यसअघि के कस्तो भएको थियो, त्यसको इतिहासले पनि ठूलो महत्त्व राख्छ । फुटबलको पनि आफ्नो साहित्य हुन्छ, जसले आम दर्शकलाई यो खेलप्रति जोडिरहने रहर बढाउँछ । यस्तो संस्कृतिका लागि चाहिने भनेकै फुटबलको सर्वोच्च निकायले नियमित प्रतियोगिता गर्न सक्नुपर्छ ।

प्रतियोगिता गरेर मात्र हुन्न, ती व्यवस्थित हुनुपर्छ । त्यसले फुटबलको मौलिक गुण आफूमा समाहित गरेर राखेको हुनुपर्छ । रेलिगेसनविनाको लिग कहिले हुन्छ र ? एन्फाले भन्थ्यो ‘हुन्छ’ । यस्तै लिग पनि गर्‍यो । हो, यस्तै यस्तै निर्णयले हो, फुटबल सस्तो हुने । फुटबललाई सस्तो बनाउन एन्फाले के कस्तो मात्र काम गरेन । त्यसको सूची बनाए लामै हुन्छ । पछिल्लो समय नेपाली फुटबलमा एकथोक मात्र भएको छ । त्यो हो, राजनीति ।

फुटबल होइन, राजनीतिमात्रै

त्यो पनि बेकम्मा राजनीति । इतिहासको एक मौलिक सिद्धान्त छ, कुनै घटना हुनु पछाडि एउटा निर्णायक तात्कालिक कारण हुन्छ । त्यसलाई सहयोग गरिररहने अन्य थुप्रै कारण हुन सक्छन् । अहिले खेलाडी पलायन हुनुको कारण तिनले खेलेर भविष्य नदेख्नु नै हो । प्रतियोगिता नै हुन्न, खेल्नै पाइन्न । खेलाडीका लागि योभन्दा ठूलो समस्या अरू के हुनसक्छ । यो स्थिति तयार हुनुमा अन्य कारणले पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ ।

यसमध्ये सबैभन्दा ठूलो कारण त नेपाली फुटबलले एक सबल नेतृत्व नपाउनु नै हो । अहिले जति छन्, विश्वास गर्न गाह्रो छ । फुटबलको प्राविधिक ज्ञानमा घनघोर कमजोर छन् । त्यसमाथि सबैको आ–आफ्नै स्वार्थ । एन्फाको व्यवस्थापक पक्ष निकै कमजोर छ । यसको सूची बनाउने हो भने जति खेलाडी अस्ट्रेलिया र अन्य मुलुक पलायन भएका छन्, त्योभन्दा कमजोरीकै सूची झन् लामो हुन्छ । यस्तै सूचीले त हो खेलाडीलाई विदेश पलायन गर्न बाध्य पार्ने ।

इतिहासको एउटा खुबै दोहोर्‍याएर भन्ने भनाइ छ, रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेका थिए । हाम्रोमा अहिलेको स्थिति भनेको फुटबल जलिरहँदा एन्फा बाँसुरी बजाइरहेको छ । त्यो रोमकै भनाइमा पनि केही के दाबी गर्छन् भने त्यो बेला सन् ६४ तिर रोममा बाँसुरी पुगेकै थिएन, निरोले कसरी त्यो बाजा प्रयोग गर्ने भनेकै छ । यो भनाइको मुख्य कुरा त भाव न हो । निरो इतिहासकै क्रूर शासक थिए, तिनलाई आफ्नो देशको मतलब नै थिएन ।

अहिले खेलाडी विदेश गए त गए, त्यो तिनको अधिकार हो, विमानस्थल गएर रोक्न सकिन्न भनेर चुपचाप रहनु भनेको एन्फालाई नेपाली फुटबलप्रति वास्ता छैन भन्नु नै हो । अहिले जति खेलाडी नेपालमै छन्, तिनीहरू पनि चर्को दबाबबाट गुज्रिइरहेका छन् । वास्तवमै एकपछि अर्को खेलाडी किन विदेश गए, त्यसको कारण खोज्नुपर्छ, सबै दृष्टिकोणले । अन्यथा नेपाली फुटबल एउटा ठूलो दुर्घटनामा पर्न सक्छ, जहाँबाट उम्कन निकै गाह्रो हुनेछ ।

प्रकाशित : माघ ७, २०७९ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×