‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माघ भाका

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

पश्चिम तराईका थारु गाउँहरुमा माघको रौनक छ, चाडको मेसोमा ढमार र मघौटाका भाका सुनिँदै छन्
बुनु थारु

काठमाडौँ — मगराके हाँठ जिनी डिहस बाबा
डिन डिन छिटुवा बेचटी डिन जाइ
सोलराके हाँठ जिनी डिहस बाबा
डिन डिन कुकरा भुक्टी डिन जाइ

छोरीले बाबुलाई अरू कसैको हातमा नसुम्पिनु भनेर बिलौना गर्दै गाएको ढमार गीत हो यो । छोरीले बरु दिनभरि छिटवा बेच्न परोस्, कुकुर भुकोस् तर अरूसित बिहे नगराइदिनु भनेर मघौटा गीतमार्फत बिलौना गरिरहेकी छन् ।

माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ । बर्दिया गुलरियाका मित्रलाल चौधरी यही ढमार गीत सुनेर हुर्किए । उमेरले प्वाँख हाल्दै गर्दा गीत गुनगुनाउन र नाच्न थाले । ‘थारूहरूले हरेकजसो चाड उत्सवमा फरक गीत गाउँछन्,’ उनी भन्छन्, ‘गीत सुन्दा यसले कुन चाडको संकेत गर्‍यो भन्ने बुझिन्छ । त्यसले बेग्लै उत्साह ल्याउँछ ।’ माघ पर्वको आगमनमा रमाएका पश्चिम तराईका थारू बस्तीहरूमा गीतका भाका विस्तारै फेरिँदै छन् । कमलरी, कमैया प्रथा उन्मूलन गरेर अघि बढेको समाजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाससँगै गाउँघरको भाकामा परिवर्तनका स्वर मिसिएका छन् ।

पुरानो ढमारमा प्रेम, सुखदुःख, पुर्खाका इतिहास, समाज–संस्कृति, मनोरञ्जनका भाव बढी भेटिन्थे भने आधुनिक भाकामा शोषण, अत्याचार, वितृष्णालगायतका भावहरू भेटिने गरेका छन् । थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले आधुनिक ढमारको रचना गरेका छन् :

सुनो सुनो हे गोचाली, सुनो जीवनी हमार

कहटी रोवै मोरे मनवा हो

दुःख दर्दमे जिन्गी, बिटल बरस हजार

कब अइही सुखकै डिनवा हो

पाँच बरस बुडु कजियै सघैनै, दशहे बरसटक मुखियै

१५ बरस जिमदरवक घरमे टबही लेहनै विश्राम हो ।

अर्थात् साथीभाइ जीवनको हजारौं वर्ष दुःखमा बित्यो । कहिले आउला सुखको दिन ? हजुरबुबाले पाँच वर्ष काजीलाई, १० वर्ष मुखियालाई अनि १५ वर्ष जिमदारलाई सघाएपछि बल्ल विश्राम पाएको गीतले भन्छ । गीतले कमैया बस्नुपरेको दुःखदायी कहानी बोल्छ ।

थारू समुदायमा प्रचलित लोकगीतको आफ्नै मौलिकता छ । थारूहरू विभिन्न स्थानमा बसोबास गर्ने भएकाले पनि रहनसहन र सामाजिक मूल्य मान्यता फरक पाइन्छ । तर, कृषि पेसामा आधारित जीवनशैली, सोझोसँग गरिखाने आनीबानी गीतका भाकाबाट पनि झल्किन्छ ।

बाबा कि सगरम, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा

सखियै हो, माठकी टिकुलिया मछुरी लुटी लैगैल ।

अर्थात् माघको अवसरमा नुहाउन जाँदा सिउँदोको टीका माछाले लुटेर लग्यो । नुहाएर आएपछि नुन, चामल, दाल छोएर ढोगभेटपछि बरघर/महटावाको घरमा टीका थाप्न जानुपर्ने उर्दी गीतमा यसरी गाइन्छ :

हाँकी हाँकी पारल, गाउँक् कटवलिया रे हाँ

सखियै हो, सबहु मिली टिकका लिहन चली आओ ।

सुन कही सुनल, सबहुँ सखिया रे हाँ

सखियै हो, चोलो जाई सबहु टीका लिहन ।

माघमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि अरू अवसरमा लोकप्रिय छ । माघका विशेष पकवान ढिक्री, अनदीको जाँड, सुँगुरको मासु, ढमार तथा मघौटा नाचको धुनले पहिले माघ महिनाभरि माघ लागेको भन्दै मनाउने गरे पनि अहिले आएर साता दिनमै यो पर्व खुम्चिएको छ ।

माघ पर्वमा ढमार (ढुमरु/डफ), मघौटा गीत विशेष रूपमा गाइन्छ । यो गीत पुस महिनाको अन्तिम दिन बरघरको घरमा गाउँलेहरू भेला भएर बैठाकुर (बसेर गाइने गीत) हो । माघको दोस्रो बिहान नयाँ कार्ययोजना बनाउनका लागि बरघर अर्थात् महटौंको आँगनमा छलफल, बैठक हुन्छ । बैठकका अवसरमा बैठाकुर गीत गाइन्छ । जस्तैः

महटौंक आगनाम खररा बिछाइ रे हाँ

महटौंक आगनाम गोंडरी बिछाइ रे हाँ

सखिए हो महटौंक आगनाम बैसना बखेर

महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ

सखिए हो इह रि आगनवा छुट्टी मैयाँ लाग

महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ

सखिए हो इह रि बहरिया छुट्टी मैयाँ लाग

महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ

सखिए हो इह रि आगनाम सोन फुला फूल

महटौंक बहरियाम डरिया बिछाइ रे हाँ

सखिए हो महटौं जे डरहीं हजार रूपडान

आझुक डिनम हाँसबी ओ खेलबी रे हाँ

सखिए हो काल्हिक डिनवाम हुइबी जोरा फुट ।

(स्रोतः मानबहादुर चौधरी)

अर्थात् महटौंको आँगनमा गुन्द्री ओछ्याइएको छ । यही आँगनमा हाँसेको र खेलेको अब यो छोड्नुपर्दा दुःख लागेको छ । यो घरको पिँढी छोड्दा दुःख लागेको छ । यो आँगनमा सुन फूल फुलोस् । महटौंको पिँढीमा कम्बल ओछ्याइएको छ । महटौले हजार रुपैयाँ दान दिए । आजको दिन त सँगै हाँस्यौं खेल्यौं, भोलिको दिन त छुट्नैपर्छ ।

यो गीतको भावार्थमा बरघर पुनः छनोट नहुने संकेतले उनको घरको आँगन छुट्ने संकेत छ । राम्रो काम गरेकाले आँगनमा सुन फूल फुल्ने आशीर्वाद दिइएको छ । मघौटा नाचपछि भैलो खेल्दा रकम दिनु परेझैं महटौंसँग हजार रुपैयाँको आशा गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा बसाइँसराइ गरेर गए भोलिको दिन भेट हुन नसक्ने मर्म बोकेको छ ।

कपिलवस्तुको बुद्धभूमि मोर्मीमा थारू परिकार ढिकरी पकाउनेव्यस्तता । तस्बिर : कान्तिपुर

ढमार साँझ धुनी जगाइ इष्टमित्रसँग रात जाग्राम बसी खानपान गर्दै मादल र डफको तालमा गीत गाइन्छ । महिला र पुरुष दुवैले गाउने ढमार गीत विशेष गरी पुरुषले नै बढी गाउने चलन छ । रातभरि ढमार गाएपछि बिहान नजिकैको कुलो, खोला, नदीमा नुहाउन जाने र ठूलाबडाको आशीर्वाद लिने चलन छ । माघ १ लाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । ठाउँ विशेषअनुसार माघ पर्वलाई माघ, माघ डेवानी, खिचरी, तिला संक्राइका नामले चिनिने भए पनि लगभग उस्तै–उस्तै तरिकाले मनाइन्छ ।

बर्दियाको बढैयाताल–७ बोकटियामा माघको नाचगानपछि टोलीलाई दान दिइँदै

मौलिक माघको थारू गीत भने पश्चिमा थारूहरूले गाउने र नाच्ने गरेका छन् । थारू संस्कृति अध्ययनकर्ता रामसागर चौधरी पहिले पहिले पूर्वका थारूले माघमा झुमरा गीत गाउँदै नाच्ने गरे पनि अहिले चलनमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पूर्वीया थारूहरूमा माघकै लागि भनेर छुट्टै मौलिक गीतहरू छैनन् । माघमा ढमार गीतसँगै मघौटा नाचले विशेष अर्थ राख्छ । ठाउँअनुसार कतै मघौटा गीत मात्र गाइन्छ भने कतै गाउँदै नाचिन्छ ।

सेन्डुराले मग्नु बाबा सेन्डुरा नै लेहलो रे हाँ

सेडुरका कारण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो

टिकुली ले मग्नु बाबा टिकुली नै लेहलो रे हाँ

टिकुलिक करण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो

अर्थात् सिन्दुर र टीका किनिमाग्दा बाबाले नकिनिदिएपछि गाउँ नै छाडेर जाने छोरीले घुर्की लगाएको गीतको भावले बुझाउँछ ।

लोप हुने संघारमा

माघ मनाउने शैलीमा जिल्ला र भेगअनुसार पनि फरक देखिन थालेको छ । मादलको तालमा गुञ्जायमान रहने गाउँमा अहिले डिजे तथा आधुनिक गीतहरू बढी सुनिन्छन् । मौलिकता बोकेका थारू गीतहरू बुढापाकामा सीमित भइरहेको देखिन्छ । थारू तथा नेपाली मिश्रित गीतहरू अहिले बढी युवापुस्ताले रुचाएको देखिन्छ । जस्तैः

कता हिँडेउ साली जुल्फी लर्काउँदै

ठमठम साली कम्मरै मर्काउँदै

लाल रेबन भाटु मेलामा किनेको

ढकिया बोकी भाटु बजारमा हिनेको

रेशम चौधरीको यो गीत अहिले टिकटकमा भाइरल भइरहेको देखिन्छ । गैरथारूहरूको पनि मुखमा झुन्डिएको यो गीतमा थारू र नेपाली भाषा मिश्रित भएकाले पनि रुचाएको पाइन्छ । समयसँगै युवाहरूको रुचि र फ्युजन संगीत मन पराउनु नौलो नभए पनि मौलिकपन हराइरहेकामा दुःख व्यक्त गर्छन् थारू लेखक सोम डेमनडौरा ।

उनी भन्छन्, ‘हिजोआज मुस्किकले केहीले मात्र मौलिक गीतहरू गाउँछन् । सामूहिक लहान गर्न जाने बेला नाच्दै गाउँदै रमाउने चलन कम हुँदै गएको देखिन्छ । युवाहरू जाँड खाएर सांस्कृतिक कार्यक्रममा रमाइरहेका छन् । आधुनिक गीतमा फ्युजन नै भए पनि मौलिकता भुल्नुभएन ।’

उनले माघको अवसरमा आयोजना हुने महोत्सवमा परम्परागत गीत र नाचको प्रवर्द्धनभन्दा पनि व्यापारिक ध्येयले जाँडरक्सीमा सीमित हुन पुगेको बताए । ‘मादल, डफ जस्ता बजाउन सिकाउन आवश्यक छ । मादल नै बजाउन आएन भने गीतको के काम ? यसमा बरघरले नेतृत्व लिन सक्छन्,’ उनले भने ।

दाङका गायक माधव चौधरी थारू बूढा मादलेहरू हराउँदै गएको तथा युवाहरूले मादल बजाउन नसिक्नाले थारू मौलिक नाच पनि संकटमा परेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय गाउँमा थारू युवतीहरू नाच्न इच्छुक छन् । तर, गाउँमा मादले नभएर मघौटा त टाढाको कुरा दसैंमा महिना दिन नाचिने संख्या नाच पनि लोप हुन थालेको छ ।’

गायक चौधरीको विचारमा थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस), थारू जनप्रतिनिधि तथा थरूहटका स्थानीय निकायले थारू गीतको संरक्षण संवर्द्धनमा ध्यान दिनु जरुरी छ । थारू अगुवा दिलबहादुर चौधरी पनि थारू मौलिक गीत संकलन र संरक्षणको अभावमा लोप हुने अवस्थामा रहेको बताउँछन् । ढमार गीतसमेतका सर्जक उनी माघ र माघको मौलिक गीत जोगाउन ढमार, मघौटा गीत तथा नाचको प्रतियोगिता गर्न सकिने बताउँछन् ।

परम्परागत पोसाकमा थारू युवती र ढिकरी पकाइँदै।

उनका अनुसार ढमारजस्ता गीतको संकलन तथा अनुसन्धान हुन जरुरी छ । भन्छन्, ‘हामीले गाउँमा यससम्बन्धी पुनर्जागरणका लागि ढमार नाच्न तथा गाउनका लागि केही सहयोग वडाबाट पनि मागेका छौं । ४० कटेकाले मात्र अहिले यो गीत गाउने गरेको देखिन्छ । पुस्ता हस्तान्तरणको आवश्यकता देखिन्छ,’ उनले भने ।

दाङ देउखरी, मानपुरकी १९ वर्षीया विद्यार्थी प्रज्ञा चौधरीले नयाँ पुस्ताहरूलाई मौलिक गीतमा तान्न अभिभावकहरूले पनि मुख्य भूमिका खेल्न सक्ने बताउँछिन् । उनलाई थारूहरूको मौलिक गीतबारे धेरथोर मात्र थाहा भएको र बिहेमा गाइने मौलिक गीतमात्र गुनगुनाउन जानेको बताइन् । ‘मलाई पुराना गीतहरू मन पर्छ, सिक्न पनि मन छ । हजुरआमा र आमाहरूले गाएको सुनेको छु । आधुनिक गीतसँगै हामीले मौलिक गीतलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनी भन्छिन्, ‘अभिभावकहरूले पनि सुनाउनु र सिकाउनुपर्छ, सिक्न प्रेरित गर्नुपर्छ ।’

विगतमा १० वर्ष थारू गाउँको अगुवा बरघरसमेत रहिसकेका मित्रलाल चौधरी सांस्कृतिक पहिचान बचाउन लागिपरेका छन् । माघको अवसरमा उनले आफ्नो गाउँमा यही माघमा मघौटा नाचको प्रतियोगिता आयोजना गरेको बताए । ‘संरक्षण आवश्यक छ । म गीत र नाचलाई कसरी संरक्षण गर्ने भनेर लागिपरेको छु । अहिले बरघर नभए पनि अरूलाई सल्लाह सुझाव दिन्छु,’ उनले भने ।

प्रकाशित : माघ १, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

कानेपोखरीको खिर व्यापार मन्दीतिर

कोरोना महामारीपछि पहिलेजस्तो व्यापार छैन, त्यसमाथि सवारी यात्रुका खानामा रोजाइ फरक पर्न थालेका छन् 
विनोद भण्डारी

मोरङ — पाँच दशकअघि कानेपोखरी–७ की हेमकुमारी खरेल शेर्पाले खिर बेच्न थाल्दा राजमार्गमा चहलपहल धेरै थिएन । पूर्व–पश्चिम राजमार्गको कानेपोखरीमा मुस्किलले एकाध पसल थिए । एकाध लिटर दूधको खिर बनाएर बेच्दाबेच्दै उनी दैनिक ४०–५० लिटरको पकाउने भइन् ।

त्यतिबेला प्रतिलिटर ३ रुपैयाँमा दूध किनेर बनाएको खिर प्रतिप्लेट २ रुपैयाँमा बेच्दा उनलाई ७५ पैसा नाफा हुन्थ्यो । अहिले उनी ८० रुपैयाँमा दूध किनेर खिर बनाउँछिन् र प्लेटको १ सय २० रुपैयाँमा बेच्छिन् । जसबाट उनलाई प्रतिप्लेट ३० रुपैयाँ नाफा हुन्छ ।

दूध र चामल महँगिएसँगै प्रतिप्लेट खिरको मूल्य मात्रै बढेको छैन, कानेपोखरीमा खिर पकाएर बेच्ने पसलहरूको संख्या पनि बढेको छ । बढ्दो प्रतिस्पर्धामा पनि ६८ वर्षीया हेमकुमारीले गुलियो खिर व्यापार चलेको छ । सुरुवाती दिनमा खिर मात्रै बेच्ने उनी हिजोआज खिरसँगै चना र आलुको तरकारी पनि दिन थालेकी छन् ।

सप्तरी हुँदै कोसी ब्यारेज, इटहरी काटेर आइपुग्ने यात्रुहरू कानेपोखरीका बग्रेल्ती खिर पसल देखेर सप्तरी बरमझियाको पेडा बजार सम्झन्छन् । तर, यहाँ पेडा विक्रेताको जस्तो तँछाडमछाड र नयाँ–पुरानो, असली र बाजेबज्यैको भनेर झुक्याउने बोर्डहरू छैनन् । ‘कतिपयले त कानेपोखरीलाई खिर पोखरी भन्छन्,’ खरेलले सुनाइन्, ‘एक समय यहाँ

गाडीका मान्छे रोकिने भनेकै खिरका लागि थियो । तर, अहिले खिरसँगै मःम, थुक्पा, चाउमिन, मासु–चिउरा र पिज्जा खाने पनि हुन्छन् ।’ यात्रुपिच्छे परिकारका रुचि फरक परे पनि खिरको असली स्वाद केहीले पनि पूरा गर्न नसक्ने उनको दाबी छ । भन्छिन्, ‘खिर जस्तो प्राकृतिक स्वाद अरूथोकमा के आउँदो हो र !’

पानी नहालेको शुद्ध एक लिटर दूधमा बढीमा तीन प्लेट खिर बन्छ । त्यसमा घिउ, सक्खर, काजु, किसमिस, नरिवल र चिनी मसलाका रूपमा हालेर पकाइन्छ । खरेलले भनिन्, ‘शुद्ध दूधमा पाक्ने, अनि त्यही मसलाकै कारण यहाँ पाक्ने खिरले चर्चा पाएको हो ।’ खिरको ख्याति काँकडभिट्टा नाघेर उत्तर भारतसम्म विस्तारित छ । भारतको सिक्किम, दार्जिलिङ र कालेबुङका यात्रु पनि बाटोमा रोकिँदा कानेपोखरीको खिरको स्वाद लिएका भेटिन्छन् । रमाइलो त के छ भने विवाह, व्रतबन्ध वा टीकाटालोका लागि यो बाटो हुँदै हिँडेकाहरू खिर शुभसाइतको सगुन हो भनेर नखाई जाँदैनन् ।

कानेपोखरीमा खिर पाक्न थालेको २०२२ सालदेखि हो । स्थानीय होमप्रसाद भट्टराईले चारकोसे जंगलमा पर्ने कानेपोखरी हुँदै महेन्द्र राजमार्ग निर्माणसँगै यहाँ खिर पाक्न सुरु भएको बताए । उनले भने, ‘एकताका त पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने हरेक यात्रुबसमा सवारको खाजा नै खिर हुन्थो । तर, अहिले त्यस्तो अवस्था छैन ।’

राजमार्ग निर्माण सुरु भएसँगै यहाँ रूखको स्याउला हालेर छाप्रा बनाएर बस्ती बस्न सुरु भयो । उनका अनुसार त्यो बेला डेढ/दुई दर्जन रूखको स्याउलाका छाप्रा थिए । ती सबै छाप्रामा खिर पाक्न थाल्यो । ऊबेला रंगेली, लेटाङ, धरान, दमकलगायतकाबाट पैदल हिँड्नेहरू कानेपोखरीमा खिर खाएर मुहार हँसिलो पार्दै बाटो लाग्थे । यहाँ सुरुमा कान आकारको पोखरी भएकाले यो ठाउँलाई कानेपोखरी भनिएको हो । तर पोखरीले भन्दा यो ठाउँको चर्चा खिरले गर्दा भएको होमप्रसाद पनि स्विकार्छन् ।

स्थानीय व्यापारीका अनुसार खिरको उकासिँदो व्यापार एक समय त यस्तो थियो कि, कानेपोखरीमा दैनिक ५ मन (दुई सय लिटर) भन्दा बढी दूधको खिर पाक्थ्यो । कोरोना महामारीपछि भने खिरको व्यापार खस्किएको छ । भट्टराईका अनुसार पहिला यहाँका प्रायः सबै पसलमा खिर पाक्थ्यो, अहिले चार/पाँच पसलमा मात्र पाक्छ । उनले अनुमानको शैलीमा सुनाए, ‘अहिले बढीमा दैनिक ५० लिटर दूधको खिर पाक्ला ।’


एक समय त दक्षिणको जहदा, भौसाबारी र रमाइलोका किसानले कानेपोखरीमा पाक्ने खिरकै लागि गाईभैंसी पाल्थे । भट्टराईका अनुसार किसानले गाग्री र भारमा दूध बोकेर झिसमिसमै कानेपोखरी पुर्‍याउँथे । ‘पानी नहालेको शुद्ध दूध ३ रुपैयाँ लिटरमा पाइन्थ्यो,’ उनले भने ।

रुद्रमाया कार्कीले २०२२ मा रूखको स्याउलाले घेरेर छाप्रो बनाएर खिर पकाउन थालेकी थिइन् । त्यो बेला उनी दैनिक २० लिटर दूधको खिर बिक्री गर्थिन् । अहिले त्यही पसल उनकी छोरी तुलसाले चलाएकी छन् । ‘अहिले खिर खासै चल्दैन,’ उनले भनिन्, ‘आमाले ३ रुपैयाँमा एक लिटर दूध किनेर दुई रुपैयाँ प्लेट खिर बेच्थिन्, अहिले ८० रुपैयाँमा एक लिटर दूध किनेर १ सय रुपैयाँमा एक प्लेट खिर बेच्दै छु ।’ दैनिक सरदर ५ लिटर दूधको खिर पकाउने उनले बताइन् ।

दशकदेखि कानेपोखरीको खिरको स्वाद लिँदै आएका इटहरी–२ का विशाल रिजालले चर्को प्रतिस्पर्धा र खस्कँदो गुणस्तरका कारण कानेपोखरीको खिर बजार सेलाउँदै जान थालेको बताए । उनले भने, ‘गुणस्तर खस्किँदै जाँदा यहाँको खिरले पहिचान गुमाउँदै गएको छ ।’ खिरका नियमित पारखी इटहरीकै दीपेश ढकालका अनुसार शुद्ध दूध नपाएपछि खिरको गुणस्तर घट्न थालेको बताए ।

प्रकाशित : माघ १, २०७९ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×