इन्द्रजितको मीठो तिर्सना- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रजितको मीठो तिर्सना

एक समय नेपाली फिल्मको पार्श्व गायनमा चर्चित मिजार डुवर्समा गुमनाम जीवन बाँच्दै
सन् १९९० मा मुम्बई पुग्नेबित्तिकै उनले ‘फेरि भेटौंला’ बाट पार्श्व गायनमा ‘ब्रेक’ पाए, जुन नेपाली फिल्म मनीषा कोइरालाको अभिनयमा डेब्यु थियो
पर्वत पोर्तेल

(चाल्सा, भारत) — के भन्ने हाम्रो समय, 
दस मोहर महिनाको कमाइ
हाम्रो जुगको पानी राम्रो, 
हाम्रो समय साँच्चै रमाइलो...

एउटा गाउँले पाराको रेस्टुराँ, अनि पिउँदै गाउँदै गरेकाहरू । आजभन्दा ३१ वर्षअघिको दसैंताका आएको राजेश हमाल, सृजना बस्नेत अभिनीत तुलसी घिमिरेको फिल्म ‘देउता’ को गीत हो यो । निकै चर्चित यो गीत इन्द्रजित मिजारले गाएका हुन् । ओटीपी र डिजिटल मल्टिप्लेक्सको समय आएको छ । पुराना तरिकाका गीत र सिनेमा प्रस्तुतिमा धेरै परिवर्तन आए । राजेश हमालकै फिल्म आउन छाडे, तुलसी घिमिरेले बनाएका नयाँ फिल्म पनि आउन बन्द भए । अब मिजार अझै क–कसका सम्झनामा छन् होलान् !

डुवर्स, चाल्सा बजारको मध्य भागमा छ मंगलबाडी बजार । त्यसको एक छेउमा छ गायक इन्द्र्रजित मिजारको झुपडी । छेउछाउ तलेघरहरू थपिँदै गएपछि मिजारको यो पुर्ख्यौली घर झुपडीमा परिणत भएको छ । त्यही झुपडी अघिल्तिर भेटिए ९० को दशकका लोकप्रिय गायक मिजार ।

टिस्टा नदीपारि र भुटानवारिको भारतीय भूभागलाई डुवर्स भन्ने गरिन्छ । विगतमा दार्जिलिङ जिल्लाभित्र अन्तरभुक्त यो क्षेत्र अहिलेचाहिँ पश्चिम बंगालको जलपाइगुडी जिल्लामा पर्छ । भारतमा ब्रिटिस शासनकालमा डुवर्स क्षेत्र भुटानको थियो । ब्रिटिसले चिया खेतीका लागि भाडामा लिएको जमिन अहिले भारतको अधीनमा छ ।

तर, भारतले भुटानलाई जमिनको तिरो बुझाइरहेको छ । जतिबेला डुवर्स भुटानको अधीनमा थियो, त्यति नै बेला बसाइँ आएका थिए मिजारका हजुरबा । ‘सय वर्षभन्दा बढी भयो हाम्रा हजुरबा यहाँ आएको,’ गायक मिजारले कुराकानीको पोको खोले, ‘त्यो समयदेखि निरन्तर यहीँ छौं । हामी यहाँका आदिवासी हौं, रैथाने हौं ।’

डुवर्सकै बानारहाटमा ६५ वर्षअघि जन्मिएका हुन् मिजार । उनी सानो छँदा आमा हिन्दी, बंगाली गीतहरू गुनगुनाउँथिन् । आमाको गुनगुनाहट सुनेर उनी छक्क पर्थे । गाएको सुन्दासुन्दा उनलाई बानी पर्‍यो । ‘त्यसपछि म पनि गाउन थालेछु,’ हल्का बंगला मिश्रित दार्जिलिङे लवजमा मिजारले बालापन सम्झिए, ‘अनि म पनि गीतांगे पो भएछु ।’

त्यो बेला उनको गाउँमा हिन्दी र बंगाली गीतको प्रभाव ज्यादा थियो । बंगला गीतप्रति उनी मोहित बने । बंगाली साथीहरूको निकटताले गीत–संगीतप्रतिको रुचि झनै चुलियो । ‘मेरो जमानामा किशोर दा (किशोर कुमार) निकै चर्चित थिए,’ टाउकाको ह्याट मिलाउँदै उनले थपे, ‘म किशोर कुमारको डाई हार्ड फ्यान थिएँ । उनैको गीत बढी गुनगुनाउँथें ।’ उनको स्वर पनि झन्डै किशोर कुमारसँग मिल्थ्यो । धेरैले किशोर कुमारको ‘डुप्लिकेट’ भनेर उनलाई हौस्याउँथे । यी सब संजोगहरूबीच मिजार गायक बन्न टिस्टा तरेर पुगे सिलिगुडी ।

सन् १९७९ मा चाल्साबाट सिलिगुडी जाँदा उनका मनमा अनेक तर्कना खेले । गायक बन्ने सपना सँगालेर ऋदम अर्केस्ट्राको सम्पर्कमा पुगे । पहिला त्यहाँ सिके । पछि त्यही ब्यान्डको सदस्य बनेर गाउँदै हिँडे । करिब पाँच वर्ष ‘सिलिगुडी संघर्ष’ पछि अचानक उनी मुम्बई हानिए । उनको यात्राको कथा रोचक छ ।

१९८६ तिर दार्जिलिङमा सुवास घिसिङ नेतृत्वको ‘गोर्खाल्यान्ड’ आन्दोलन उत्कर्षमा थियो । त्यही बेला मुम्बईबाट आइपुगेका थिए, संगीतकार रञ्जित गजमेर । संजोगले मिजार पनि दार्जिलिङ नै थिए । उनले गजमेर आएको सुइँको पाए कोही, कसैबाट । हाँप र झाँप गर्दै गजमेरलाई भेट्न पुगे । कुराकानी गरे । गीत, संगीतप्रतिको रुचि सुनाए । गायक बन्ने सपनाको पन्तुरो पनि त्यहीँ खोले । उनका कुरा सुनेपछि गजमेरले अडिसन शैलीमा भनेछन्, ‘तिम्रो स्वर कस्तो रैछ, सुनौं न त ।’ मिजारले किशोर दा कै ‘जिन्दगीका सफर है ये केसा सफर’ गीत सुनाए । गजमेरले मुख बिगार्दै भनेछन्, ‘तिम्रो भोकल मज्जाले बुझिएको छैन । एक काम गर, क्यासेट बनाएर मलाई बम्बई पठाऊ, म उतै मज्जाले सुनेर निर्णय लिन्छु ।’

मिजारले ‘ठीकै छ’ भने जसरी टाउको हल्लाएछन् । लगत्तै सिलिगुडी फर्किए । ऋदमका सहकर्मीहरूको सहयोग र हिरा रसाइलीको सहकार्यमा हिन्दी र नेपाली दुवै गीतको क्यासेट बनाएर मुम्बई पठाए । क्यासेट पठाएको केही समयपछि कालेबुङ (कालिम्पोङ) बाट तुलसी घिमिरेका एक जना आफन्तले उनलाई भेटेर भने, ‘तपाईंलाई रञ्जित गजमेरबाट बोलावट भएको छ, तुरुन्तै बम्बई जानुपर्ने भो ।’ यो खबरले उनी औधी खुसी भए । त्यो खुसीको वर्णन गर्न यतिबेला उनी सक्दैनन् । ‘त्यसपछि हस्याङफस्याङ गर्दै न्यु जलपाइगुडी (एनजेपी) बाट दादर (बम्बई) एक्सप्रेस रेल चढें,’ उनले भने ।

सन् १९९० मा बम्बई पुग्नेबित्तिकै ‘फेरि भेटौंला’ भन्ने फिल्मबाट उनले ‘ब्रेक’ पाए । यो फिल्म अभिनेत्री मनीषा कोइरालाको पनि डेब्यु थियो । उनले यो फिल्मका लागि तीन वटा गीत गाउने मौका पाए । ‘तिमी छौ कहाँ’ बोलको गीत दीपा गहतराजसँग गाए । कुमार कान्छा, भारती घिमिरे र दीपासँगै उनले ‘छिनिनी चक्की चक्की’ बोलको दोस्रो गीत गाए । ‘रातलाई जून’ बोलको अर्को गीत गाए । तीन गीत रेकर्डपछि गजमेरले भनेछन्, ‘अब तिमी यतै (बम्बई) बस्ने गरी आऊ है ।’ त्यो बेला उनी खुसीले नाचेका थिए । बम्बई बस्ने योजना बुन्दै घर फर्किए । आमाबुबाले पनि बम्बई बस्ने मौका नगुमाउन भने । दोस्रो पटक बम्बई पुग्दा उनी नेपाली सर्जकमाझ थोरबहुत चिनिन थालिसकेका थिए । त्यही परिचयले कोसेली, रहर, देउता, दुई थोपा आँसु, दक्षिणा, लाहुरेजस्ता चर्चित नेपाली भाषाका फिल्ममा गाउने मौका पाए ।

उनको बम्बई बसाइ लम्बिँदै गयो । युजिन लामासँग उनी बस्थे । लामाको रेस्टुरेन्ट थियो । रेस्टुरेन्टको एउटा ब्यान्डको जिम्मा मिजारले पाए । बेलाबेला फिल्मी गीत रेकर्डसँगै रेस्टुरेन्टमा गीत गाएर जीविका चलाउँदै थिए, अचानक रेस्टुरेन्ट बन्द भयो । त्यसपछि उनका दुःखका दिन सुरु भए । ‘रेकर्डिङ त खास हुँदैनथ्यो । १५–२० दिनमा एउटा हुन्थ्यो । एउटा गीतको मरीतरी १५ सय भारु पाउँथे । त्यतिले खान, बस्न गाह्रो थियो,’ मिजारले बम्बइया समय सम्झिए, ‘बम्बईमा टिक्न धौधौ भयो ।’

एउटा रेकर्डिङ स्टुडियोतिर भौंतारिँदै थिए, एक दिन अचानक भेटिए नेपाली संगीतकार शम्भुजित बाँस्कोटा । साथमा थिए, निर्देशक अशोक शर्मा । यी दुई ‘सीता’ फिल्म निर्माणको कामले बम्बई पुगेका रहेछन् । बाँस्कोटा–शर्मासँगको जम्काभेट उनका लागि उपलब्धिमूलक नै भयो । त्यो फिल्ममा मिजारलाई पनि गाउन अफर आयो । ‘यो हाम्रो कस्तो मिलन शून्यताको जहाँ बास छ’ बोलको गीत गाए । पछि ‘अपहरण’ फिल्मका लागि कविता कृष्णामूर्तिसँग ‘असारे मासमा धान रोपेझैं खेतमा आऊ हामी पिरती रोपौं न’ पनि गाए । यी दुई गीत गाउँदा भारु १५ सय पाएका थिए । ऊ बेला हिन्दी गीतका गायकको भाउ चर्कै थियो ।

नेपालबाट संघर्ष गर्दै बम्बई पुगेका उदितनारायण झा स्थापित भइसकेका थिए । उनी एउटा गीत गाएको ५० हजार लिन्थे । बम्बईका थुप्रै रेकर्डिङ स्टुडियो चहारे । मेहबुब, विट्स, वेस्टर्न आउटडोरजस्ता स्टुडियोमा उनले २५ बढी नेपाली गीत गाए । देउता, दुई थोपा आँसु, कोसेली, दक्षिणा, लाहुरे, फेरि भेटौंला, रहर, दर्पण छाया, दुई किनारा, साइतजस्ता चर्चित फिल्मी गीत त्यो बेला हिट थिए । कतिपय गीत अहिले पनि उस्तै लोकप्रिय छ । गीत रेकर्डिङपछि बाँस्कोटाले भने, ‘मिजारजी तपाईं काठमाडौं आउनुस् ।’ गायक बन्न ‘फिल्मी नगरी’ बम्बई पुगेका मिजारको यात्रा एउटा बिर्सनै नसकिने घटनापछि नेपाल (काठमाडौं) तिर मोडियो ।

डुवर्सको उद्लाबारीमा उनकी फुपूको घर थियो । फुपूलाई भेट्न गएका बखत एक दिन गाउँले युवाहरूले अनुरोध गरे, ‘हाम्रो गाउँमा रञ्जित गजमेर साँझ आयोजनाको योजना छ, तपाईंले सहयोग गर्नुपर्‍यो ।’ गजमेरसँगको चिनापर्चीका कारण एक टोलीलाई लिएर बम्बई पुगे । गजमेरसँग भेट गराएँ । कार्यक्रमको टुंगो लाग्यो । सांगीतिक कार्यक्रमसँगै कमेडी पनि भए राम्रो हुन्छ भन्ने आयोजकको माग थियो ।

बम्बईमा बस्दा हास्य अभिनेता जोनी लिवरसँग चिनापर्ची भएको थियो, मिजारको । बान्द्राको एउटा ढावामा आउजाउ गर्दा भेट भएका, चिनाजान भएका जोनीलाई उनले कार्यक्रममा आइदिन गरेको अनुरोध एकै वचनमा स्विकारेका थिए । आतेजाते जहाज भाडा र पारिश्रमिकबापत २५ हजार दिने सर्तलाई जोनीले ‘ओके’ गरेका थिए । कार्यक्रम भव्य हुने भयो । बागडोगरा विमानस्थलमा ओर्लिएपछि जोनीलाई सिलिगुडीको सिनक्लियर्स होटलमा राखियो । त्यही साँझको जोनीको प्रस्तुति थियो ।

सिलिगुडीबाट डुवर्स जाँदै गर्दा जोनीले बाघ पुल अनि टिस्टा नदी देखेपछि भने, ‘अरे मिजारजी आप तो स्वर्ग मे रहते हो ।’ चिया बगान देखेपछि थपे, ‘कितना सुन्दर जगह है ये ।’ केही क्षणमा जोनी कार्यक्रमस्थल पुगे । कार्यक्रम जारी थियो । आधा कार्यक्रम हुँदाहुँदै आयोजक फरार भएछन् । रञ्जित गजमेर, तृप्ति नाडकर, तुलसी घिमिरे, श्रवण घिमिरे, कुमार कान्छा, भारती घिमिरेजस्ता त्यो बेलाका सुपर स्टारहरू अलपत्र परेछन् । सँगै अलपत्र परे जोनी पनि । भात न पानीको अवस्था भयो । उनले आफ्नो प्रस्तुति नै दिन नपाउँदै आयोजक झोलीतुम्बी बोकेर भागेछन् ।

त्यो देखेपछि आफ्नै शैलीमा जोनीले भनेछन्, ‘मिजारजी प्रोग्राम तो अन्तका तरफ है, लेकिन ये स्वर्गमै भगवान् लोग कहाँ गिया ?’ सुभास घिसिङको दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका पार्षद् कालिम्पोङका नेता सीके प्रधान थिए त्यो साँझको प्रमुख अतिथि । उनले जोनीलाई रातभर सास्ती दिए । एउटा जोक्स भन, एउटा जोक्स भन भनेर अत्याचार गरे । जोनीले भोकै जोक्स सुनाए । ‘त्यो घटना सम्झिँदा अझै पनि आँसु खस्न खोज्छ,’ भावुक हुँदै उनले त्यो कालरात्रिबारे सुनाए, ‘मैले त्यो रात रोएरै कटाएँ ।’

सबै खर्च जोनी आफैंले बेहोरेर मुम्बई फर्किए, त्यसपछि मिजार फर्किएर मुम्बई गएनन् । त्यसपछि अहिलेसम्म जोनीसँग उनको भेट भएन । त्यो लज्जाबोधले उनलाई मुम्बई होइन, नेपाल जान प्रेरित गर्‍यो । अनि उनको बाटो मोडियो ।

नेपाल पुग्नेबित्तिकै शम्भुजितलाई भेटे । उनले खासै चासो दिएनन् । कुनै बेला ‘नेपालमा आउनुस्, हामी छौं,’ भन्ने बाँस्कोटाको व्यवहारबाट उनी छक्क परे । तर, अनिल शाही, लक्ष्मण शेष, शुभबहादुरलगायतका संगीतकारको सम्पर्कमा उनी पुगे । ती संगीतकारले गीत अफर गरे । काठमाडौं बसाइका बेला उनले नेपाली मात्रै गाएनन्, नेवारी भाषामा पनि गाए । बम्बईमा भन्दा बढी संघर्ष गरे काठमाडौंमा । त्रिपुरेश्वरमा डेरा थियो । दशरथ रंगशाला नजिकैको नूर महल रेस्टुरेन्टमा गाउँथे । सामान्य जीविका चलाउँथे । सन् २००० सम्म साइत फिल्मको ‘घामछाया रामछाया’ रेकर्डपछि उनले काठमाडौं छाडे । बाबु बिरामी थिए । घर फिरेको वर्ष दिनपछि उनले बाबुलाई पनि गुमाए । त्यसपछि त उनी घर छाडेर कतै हिँडेनन् ।

नेपाली संगीत जगत्का यी ‘लिजेन्ड’ थाकेका छैनन् । अहिले पनि निरन्तर गीत रेकर्डिङ गरिरहेकै छन् । सांगीतिक कार्यक्रमहरूमा कहिले सिलिगुडी पुग्छन् त कहिले मिरिक । यसैबाट जीविका चलाउँछन् । ‘गाएरै जिन्दगी बिताइदिऊँ जस्तो लाग्छ तर बुढ्यौलीले पनि समात्यो, अब गाउँदै हिँड्न पनि सक्दिनँ जस्तो छ,’ थकित मुद्रामा मिजारले लामो सास ताने ।

सधैं ‘लो प्रोफाइल’ मा बस्न रुचाउने यी लोकप्रिय गायक आशा भोसले नाइटका बेला काठमाडौं गएका थिए । त्यसपछि थुप्रै भयो काठमाडौं पाइला नटेकेको । आशासँग उनले फिल्म कोसेलीका लागि ‘तिमी मेरो म तिम्रो’ बोलको गीत गाएका थिए । आशासँगै उनले कविता कृष्णमूर्ति, साधना सरगम, अनुपमा, सुष्मा श्रेष्ठजस्ता समकालीन भारतीय गायिकासँग गीत गाए ।

जोनी लिवरसँग भएको घटना जीवनकै भुल्नै नसक्ने दुर्घटना मान्छन् उनी । त्यो घटनापछि मुम्बई फर्कर्न डराएका उनी अहिले त्यहीँ भएका भए ! उनको उचाइ रञ्जित गजमेर, उदितनारायण अनि मनीषा कोइरालाहरूको हाराहारीमा पुग्थ्यो कि ! या उनी त्यतै कतै हराउँथे ? ‘सौभाग्यले बम्बई पुगें । धन कमाउन नसके पनि इतिहास रचेर फर्किएँ,’ विगत सम्झिँदै थप्छन्, ‘बम्बईमै बसिरहेको भए मेरो जीवनमा केही त परिवर्तन हुन्थ्यो होला ।’

प्रकाशित : पुस ३०, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्

मानव–हात्ती द्वन्द्व घटाउन बिमा

पर्वत पोर्तेल

काँकडभिट्टा — मध्यवर्ती क्षेत्र, जनावरका जैविक मार्ग र बाहुनडाँगीजस्ता जंगली जनावार प्रभावित क्षेत्रलाई ‘विेशष क्षेत्र’ घोषणा गरेर  धनजन र बालीनालीको क्षतिपूर्तिका लागि सरकारले बिमा कार्यक्रम सञ्चालन गर्दा मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने सम्भावना औंल्याइएको छ । 

वर्षौंदेखि जंगली हात्ती प्रभावित झापाको पूर्वोत्तर बाहुनडाँगीमा आयोजित एक छलफलका विज्ञ तथा सरोकारवालाले त्यस्तो सम्भावना औंल्याएका हुन् । बर्दियाको ‘उज्यालो नेपाल’ नामको एक गैरसरकारी संस्थाका प्रमुख रमेश थापाले बर्दियाको अभ्यासबाट बाहुनडाँगीले धेरै सिक्न सक्ने जनाए । ‘बर्दिया र बाहुनडाँगी समस्या लगभग उस्तै हो,’ पूर्व वार्डेन थापाले अनुभव साटे,‘बाहुनडाँगीमा हात्तीले मात्रै दुःख दिइरहेको छ, बर्दियाका जनता सबै जनावारको आक्रमणवाट पिल्सिएका छन् ।’

थापाका अनुसार बर्दियाको मध्यवर्ती क्षेत्रका करिब ५ हजार घरधुरीको बिमा भइसकेको छ । यो वर्ष थप २ हजार घरको बिमा गरिने छ । २ हजार हाराहारीमा बाली बिमा पनि गरिने छ । उनले यस्तै कार्यक्रम बाहुनडाँगीमा समेत गर्न सक्दा यो सीमावर्ती गाउँले वर्षौंदेखि भोग्दै आएको हात्तीको प्रताडन कम हुने जनाए ।

‘बिमा कार्यक्रम सञ्चालन गर्ने हो भने किसान हात्तीसँग जुध्न जाँदैनन्’, थापाले थपे,‘जसले मानव–हात्तीबीचको लडाइँ कम हुन्छ ।’ बिमा कार्यक्रमले मानव–हात्ती द्वन्द्व सहअस्तित्वमा रूपान्तरण हुनेछ । बिमाले भौतिक या मानवीय क्षति र सुरक्षाको प्रत्याभूति गर्ने छ,’ उनले भने,‘हात्तीले पनि स्वतन्त्र रूपमा विचरण गर्न पाउनेछ ।’

मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले ‘हात्तीमा आधारित पर्यटन’ विकासका लागि वडाले काम सुरु गर्न लागेको जनाए । ‘हामी हात्तीलाई बोझका रूपमा हैन कि मोजका रूपमा लिएर आम्दानी गर्ने योजनामा छौं,’ कार्कीले थपे,‘यसले हात्तीको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ ।’

संविधानसभा सदस्यसमेत रहेका एमाले नेता रवीन कोइरालाले वर्षौंदेखि यो भेगका जनता हात्ती आतंकको ठूलो प्रभावमा परेको र प्रभाव न्यूनीकरण गर्न नसक्दा समस्या थप जटिल वन्दै गएको जनाए । ‘मानव–हात्तीको सहअस्तित्व कायम गर्ने गरी काम अघि बढाउनुको विकल्प छैन,’ कोइरालाले भने,‘दुवै प्राणीको अस्तित्व वचाउन वरावरी भूमिका निर्वाह गर्नु पर्ने हाम्रो कर्तव्य हो ।’

कोरी ब्राउन र लेस्लाई क्याटरउडलगायतका तीन जना अमेरिकी फिल्मेकरले बाहुनडाँगीको हात्ती समस्याबारे स्थानीयसँग छलफल पनि गरेका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम प्रमुख डा. नरेश सुवेदीले मानव–हात्ती समस्याबारे बुझ्न उनीहरू आएको जानकारी दिए ।

प्रकाशित : पुस २९, २०७९ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×