२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

युवाहरू नफर्किँदा गाउँमा वृद्धवृद्धालाई गाह्रो

टीकाप्रसाद भट्ट

रामेछाप — नागदहकी ७६ वर्षीया मोतिमाया तामाङलाई मंसिरे कठ्यांग्रिदो जाडोको पर्वाह छैन । गाउँमा एक्लै बसोबास गर्दै आएकी यी वृद्धाको चासो यति मात्र छ, कोदो टिप्ने, नल काट्ने र बाँझो जमिन जोत्ने ।

युवाहरू नफर्किँदा गाउँमा वृद्धवृद्धालाई गाह्रो

तामाङका दुई छोरा र बुहारीहरू काठमाडौंतिरै बस्छन् । घरमा उनी मात्र छिन् । ‘राम्रो खाने र आराम मेरो तग्दिरमा छैन,’ तामाङ भन्छिन्, 'छोराहरू काठमाडौंतिरै जाउँ त भन्छन्, तर यहाँ चौपट हुन्छ ।'

आइतबार बिहानै उठेकी तामाङले बारीको झ्याँस जम्मा पारेर पोलिन्, मध्य दिउँसोमा खाना खाइन् । भान्साको धन्दा सकेर कोदो टिप्न निस्किन् । कुप्रो भइसकेको वृद्ध शरीरले आराम खोज्यो तर कामको चापले आराम गर्ने समय दिएन ।

यतिबेला नागदहका अरु अधिकांश घरमा तामाङकै जस्तो कामको चटारो छ । कोदो टिप्ने काम धेरैले सके । केहीको मात्र बाँकी छ । नल काटेर बाँझो जोत्ने काम धेरैको बाँकी छ । छ्याङ्ग हिमाल देखिने यो पहाडमा दिनदिनै चिसो बढिरहेको छ । चिसो जति बढे पनि वृद्धवृद्धाहरू न्यानो घरमा बस्न पाएका छैनन् । सयममा खाना खान पाउँदैनन् । गाउँमा युवाहरूको बसोबास पातलिँदै गएको छ ।

‘छोरा र बुहारीहरू घर आउँदैनन् । घर त हामी जस्तै बुढाबुढीले कुर्ने हो,' तामाङले भनिन् । यस गाउँमा झण्डै २ सय परिवारको बसोबास छ । सबै घरमा प्राय बुढाबुढी मात्र छन् । लिखु तामाकोसी ५ मा पर्ने नागदहका लक्ष्मण श्रेष्ठको घरमा बिहान झिसमिसेमा लागेको ताला १० बजेसम्म खुलेको छैन । उनकी श्रीमति मेलापात गएकी छन् । ‘कतिबेला आउने हो अनि खाना पाक्छ । घरमा २ जना मात्र छौँ । कामै मात्र बितेको छ,' श्रेष्ठले भने । उनका अनुसार गाउँमा काम गर्ने युवाहरू नै पाइँदैन ।

वीरबहादुर मगर पूर्व वडाध्यक्ष हुन् । २०५४ सालमा जनप्रतिनिधि चुनिएका मगर ७० वर्षका भए । यो उमेरमा पनि उनले काम बिसाउन भने पाएका छैनन् । ७० मुरी धान फल्ने खेत अझै आफ्नै पौरखमा रोप्दै आएको सुनाउने मगर भन्छन्, 'गाउँ त दु:खले धानिएको छ । सडक, बिजुली र स्कुल पुग्यो, तर पहिलेभन्दा गाउँमा दुख: पनि बढ्यो । सामान किन्न पाइन्छ तर श्रम किन्न पाइँदैन ।’

मगरका अनुसार खेतीपातीको काम गर्न गाह्रो हुँदै गयो । पहिले झैं परिवारका सदस्य गाउँ बस्न छोडे । मद्दत दिने छिमेकी पनि नभएको बताउँछन् श्रेष्ठ । नागदहबाट अधिकांश काठमाडौं छिरेका छन् । दाना कारखाना, घर बनाउने ज्यामी, गाडी चलाउने लगायत काम गर्नेहरू भने गाउँमा थुप्रै छन् । कामको खोजीमा सहर पस्नेहरूका परिवार पनि गाउँ फर्किएका छैनन् ।

श्रेष्ठ दम्पतीको कथा भने गाउँका अरुको भन्दा अलि भिन्न छ । तीन छोरी र एक छोरा हुर्काएका उनीहरू अहिले बेसहारा जस्तै बनेका छन् । तीन छोरीको विवाह गरिदिए । बाँकी एउटा छोरा भारतको कलकत्तामा रोजगारीका लागि पुगेको थियो तर उतै बित्यो । कमाउने छोराको पनि मृत्यु भएपछि श्रेष्ठ दम्पती बेसहारा बनेका हुन् । छोराकै नाममा बालाचर्तुदशीका दिन पशुपतिमा बत्ती बालेर भर्खर गाउँ फर्किएका श्रेष्ठ भन्छन्, 'त्यसपछि मेरो परिवारमा बज्रपात परेको छ । २ रोपनी पाखो जग्गामा गरेको कमाइले २ महिनालाई खान पुग्दैन । काम गरौं शरीरले सक्दैन ।'

५५ वर्षीय श्रेष्ठ पहिले बाँसको चित्रा बुन्ने काम गर्थे । चोया काटेर डोका र थुन्से बुन्थे । हिउँदमा गोठ सार्न चित्रा बिक्थ्यो, कोदो टिप्नका लागि ठूला थुन्से बिक्री हुन्थे । अहिले चित्राको काम जस्तापाताले ओगट्यो । थुन्सेको उपयोगिता बोराले लियो । ‘पहिले चित्रा र थुन्से बेचेर ४ देखि ५ हजार कमाउँथें, अहिले त्यो पनि ठ्याप्पै भयो,’ श्रेष्ठले भने । गाउँबाट निस्कनासाथ खर्चै खर्च छ । कोदो झिकेर बाँझो जोत्नका लागि हलोको तयारी गरिरहँदा श्रेष्ठ भन्छन्, 'यही हलो किन्न १ हजार पर्ने भयो, अब कसरी धानिएला र !'

बाख्रा र कुखुरा बेचेको पैसाले यो परिवारलाई चाडबाड मान्नै मुस्किल छ । नागदहका स्कुलहरूमा पूर्वाधार थपिँदो छ । विद्यार्थी भने घट्दो क्रममा छन् । कामको खोजीमा सहर पस्नेहरूले बालबालिका पनि लगेकाले गाउँमा पढ्ने विद्यार्थीको संख्या पनि न्यून बन्दै गएको छ । गाउँमा रोजगारी गर्ने खासै छैनन् । सेना प्रहरी र शीक्षण पेसामा सीमित व्यक्ति मात्र छन् । भारतको सिलाङतिर कोइला काट्न जाने र खाडी मुलुकमा जानेको संख्या पनि उत्तिकै रहेको पूर्व गाविसका अध्यक्ष आशबहादुर तामाङले बताए ।

वृद्धवृद्धाको बाहुल्य रहेको नागदहमा अहिले सामाजिक काममा पनि मद्दत जुट्न छोडेको स्थानीयहरू बताउँछन् । पहिले बाटोघाटो, चौतारा, पानीका मुहान संरक्षण लगायत सामाजिक काममा गाउँलेको बाक्लै उपस्थिति हुने गरेको तामाङ सम्झन्छन् । त्यसबेला सामाजिक सहयोगको भावना हुने गरे पनि अचेल आपसी सहयोग घट्दै गएको उनी बताउँछन् । ‘मानिसको बसोबास पातलो हुँदै गयो । परस्पर सहयोग पनि घट्दै गयो । सकुन्जेल एक्लै काम गर्ने हो । नसकेको दिन देखाजाला !’ स्थानीय लालबहादुर श्रेष्ठ भन्छन् ।

प्रकाशित : मंसिर १२, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?