कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कोप २७

जलवायु संकटका कथा सुनाउन व्यस्त नेपाली युवा

अब्दुल्लाह मियाँ

शर्म अल शेख, इजिप्ट — राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट सहभागी युवा जलवायु अभियान्ता श्रेया केसी यतिबेला कोपभित्रका विभिन्न ‘साइड इभेन्ट्स’ मा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या विश्वका अरु युवालाई सुनाउन व्यस्त छिन् । 

जलवायु संकटका कथा सुनाउन व्यस्त नेपाली युवा

सम्मेलनको बितेको साता उनी यहाँका विभिन्न देशका प्यभिलियनमा आयोजित साइड इभेन्ट्समा सहभागी भइन् र हिमाल पग्लिएका कथा सुनाइन् । ‘जलवायु परिवर्तनका कारण हिमाल कसरी पग्लिरहेका छन् र हिउँ पग्लिँदा स्थानीय बासिन्दाहरूले कस्तो समस्या भोग्नुपरेको छ र त्यसलाई कसरी ट्याकल गर्न सकिन्छ भनेर आफ्ना कुराहरू विश्वबाट आएका युवाहरूमाझ राखिरहेकी छु,’ केसीले भनिन्, ‘मेरो ध्यान पर्वतीय मुद्दालाई कसरी जोड्न सकिन्छ भन्नेमा छ ।’

उनले विभिन्न देशका प्याभिलियनमा युवासँग जोडिएका इभेन्ट्समा सहभागी भएर आफ्नो अनुभव सेयर गरिरहेकी छन् । रुवान्डाले गरेको ‘ पावर अफ पोटियन्सिल इन योङ पिपुल’ विषयक कार्यक्रममा उनले निर्णय प्रक्रियामा युवाको भूमिका र युवाहरूले पछ्याउनुपर्ने विषयमा युवाहरूलाई सजग गराइन् ।

विगतका कोपहरूमा पनि सहभागी भएकी केसी योपल्ट सरकारी ब्याच (पार्टी ब्याच) पाउन नसकेपछि अब्जर्भर ब्याचमा सहभागी छिन् । केसी जलवायु वार्ताका कोर बैठकमा सहभागी हुन पाएकी छैनन् तैपनि उनले युवासँग सरोकार राख्ने मुद्दाहरूमा विभिन्न देशका मन्त्री र विशेषज्ञ सहभागी इभेन्ट्समा वक्ताका रुपमा बोल्ने अवसर पाएकी छन् ।

उनले पेरिस सम्झौताअनुसार विश्वको तापक्रम १.५ डिग्रीमा सीमित राख्नका लागि अहिले सरकारहरूले बुझाएको हरितगृह ग्यास कटौतीसम्बन्धी योजना अपर्याप्त भएकाले त्यसमा उल्लेख्य सुधार गरेर महत्त्वाकांक्षी बनाउनुपर्ने धारणा राखेकी छन् । उनले भनिन्, ‘अहिले नै हामीले धान्नै नसक्ने गरी जलवायुजन्य विपद् बेहोरिरहेका छौं । अहिलेकै हिसाबले जाने हो भने तापक्रम २.४ डिग्रीसम्म जान सक्ने भनिएकाले शक्तिराष्ट्रहरूले आफ्नो हरितगृह ग्यास कटौती गर्नुको विकल्प छैन ।’

श्रेयाजस्तै अर्की युवा प्रकृति कोइरालाले पनि जलवायु सम्मेलनलाई नजिकबाट नियाल्दै आफ्ना अनुभवहरू साझा गरिरहेकी छन् । उनले यो कोपलाई आफूले एक्सन र निर्णायक कोपका रुपमा हेरेको बताएकी छन् । उनले यहाँ सहभागी विभिन्न देशका नेताहरू र वार्ताकारहरूलाई विश्वले हेरिरहेकाले महत्त्वाकांक्षी निर्णय गर्न झक्झक्याएकी छन् ।

‘हामी हिउँ पग्लने, समुद्रको सतह बढ्दै जाने र जीवन र जीविकोपार्जनको हानिनोक्सानी र क्षतिलाई थाँती राखेर कुनै पनि वार्ता गर्न सक्दैनौं,’ कोइराला भन्छिन्, ‘हामी हाम्रो पुस्ताको अस्तित्वसँग वार्ता र सम्झौता गर्न सक्दैनौं ।’

उनले जलवायुजन्य हानि नोक्सानीका लागि छुट्टै वित्तको व्यवस्था गर्न र अनुकूलनका लागि हुने वित्त (फाइनान्स) दोब्बर गर्न रत्तिभर ढिलाइ गर्न नहुने बताएकी छन् । उनी भन्छिन्, ‘हामी भिख माागिरहेका छैनौं, हामी क्षतिपूर्ति र क्षतिपूर्तिको रूपमा जलवायु वित्तको माग गरिरहेका छौं, हामी जलवायु न्यायको माग गर्दै छौं र यो यही कोपबाट निर्णय हुनुपर्छ ।’

उनले महिला, युवा, बालबालिका, आदिवासी जनजाति र अन्य जोखिममा परेका समुदायका लागि जलवायु वित्तमा सरल र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा समेत वार्ताकारहरूको ध्यानाकर्षण गराइन् ।

पहिलोपटक जलवायु सम्मेलनमा सहभागी युवा प्रयास अधिकारी जलवायु संकटबाट प्रभावित समुदायहरूको आवाजलाई बलियो बनाउन आवश्यक काममा व्यस्त रहेको बताउँछन् । ‘जलवायु न्यायका लागि मैले म संलग्न रहेको संगठनमार्फत सक्रिय भूमिका खेलिरहेको छु,’ उनी भन्छन्, ‘मुख्य रूपमा दिगो विकास इन्स्टिच्युटको प्रतिनिधित्वको रूपमा साइड इभेन्ट योजना र सहभागितामा संलग्न छु ।’

जलवायु संकट, जलवायु वित्त, खाद्य संकट, जलवायु न्याय, अनुकूलन र यस्तै अन्य सरोकारवाला विषयका प्याभिलियनहरूमा भएका साइड इभेन्टमा भाग लिएर बुझ्ने र अनुभव साट्ने काम गरिरहेको उनी उल्लेख गर्छन् ।

‘जलवायु न्याय, लैङ्गिक र जलवायु, हानी नोक्सानी र क्षतिवापतको वित्तसम्बन्धी विभिन्न युवा समूहहरूसँग ऐक्यबद्धताका कार्यहरूमा म सक्रिय रूपमा संलग्न छु,’ उनी भन्छन्, ‘मैले नेपाली युवा र समुदायको प्रतिनिधित्व गर्ने धेरै कार्य कार्यक्रमहरूमा पनि प्रतिनिधित्व गरेको छु र वास्तविक समस्याहरूलाई साझा गरिरहेको छु ।’

सँगै उनले नेपालका जलवायु संकटका मुद्दाहरू र तत्काल गर्नुपर्ने कार्यमा ऐक्यबद्धता निर्माण गर्न सहयोगीहरू, अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र युवा समूहहरूसँगको भेटघाट र इङ्गेजमेन्टमा पनि समय खर्चिरहेका छन् ।

अर्की युवा आरती पौडेल पनि यहाँ भएका विभिन्न साइड इभेन्ट्सहरूमा सहभागी भएर जलवायु परिवर्तनका कारण नेपालको ग्रामिण क्षेत्रका स्थानीयले भोगिरहेका समस्या सुनाइरहेकी छिन् । दिगो विकास इन्स्टिच्युट र ग्रामीण पुनर्निर्माण नेपालले कोपकै दौरान आयोजना गरिएको ‘एलडीसीमा जलवायु संकट : जलवायु परिवर्तन र जलवायु वित्त परिप्रेक्ष्य’ साइड इभेन्टमा काभ्रेमा गरिएको एक केस स्टडीबारे प्रस्तुतीसमेत दिएकी थिइन् ।

दोस्रो पटक कोपमा सहभागी उमेश बलाल मगरले यहाँका विभिन्न सत्रहरूमा भाग लिएर र विश्वभरका हसभागीहरूसँग नेटवर्क बनाएर जलवायु परिवर्तनले निम्त्याएका जोखिमलाई साझा गरिरहेका छन् । ‘जलवायु परिवर्तनले निम्त्याएको समस्या मेरोमात्र चिन्ताको विषय होइन,’ उनी भन्छन्, ‘यहाँ सहभागी सबै प्रतिनिधिहरूले जलवायुजन्य हानि नोक्सानीलाई मध्यनजर गर्दै त्यको सम्बोधनका लागि आवश्यक वित्तको व्यवस्थापन यही कोपबाट गरिनुपर्छ र अर्को वर्षबाट त्यो निर्णय कार्यान्वयनमा आउनुपर्छ ।’

यो पटकको कोपलाई अफ्रिकी कोपका रुपमा व्याख्या गरिएको छ र यसमा एसियालीसहित विभिन्न देशका युवा र महिलाहरूको समेत उल्लेख्य उपस्थिति छ । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको खाका महासन्धी (यूएनएफसीसीसी) ले समेत यो कोपलाई निर्णायक कोपका रुपमा व्याख्या गरेकाले क्षति बेहोरिरहेका मुलुकका युवाहरू बढ्ता आशावादी देखिन्छन् ।

प्रकाशित : कार्तिक ३०, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?