कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘कसले जोगाइदेला ढुंगाखानी ?’

केदार शिवाकोटी

दोलखा — जिल्लाको दुर्गम आलम्पूका ५० वर्षीय मकर थामी पुर्ख्यौली पेसा ढुङ्गाखानीबाट आफ्नो घर व्यवहार धानिरहेका छन् । बिगु गाउँपालिका- ६ आलम्पूको परिचय भनेको यहाँको ढुङ्गाखानी हो । यहाँ घरमा छाउने छानाका रुपमा निकालिने ढुङ्गाले जिल्लामात्रै होइन‚ बाहिर पनि ख्याति कमाएको छ ।

‘कसले जोगाइदेला ढुंगाखानी ?’

भूकम्पपछि जिल्लाभरका घरका छाना जस्ताले छाउन थालियो । आलम्पूका ढुंगा बिक्न छाडे । भूकम्पको २ वर्षपछि खानी पुन: सञ्चालनमा आयो । खानीका ढुंगाले परिचय फेर्‍यो । छानामा छाउने ढुंगा घरका पिढी, भर्‍याङलगायत बनाउन प्रयोग हुने मार्वलका रुपमा परिचित बन्यो । विसं. २०१३ सालबाट उक्त खानीबाट स्लेट अर्थात् घर छाउने ढुंगा निकाल्न थालिए पनि २०१७ बाट जिल्लाभरि नै घरका छाना छाउन थालिएको हो । मकर १२ वर्षको उमेरदेखि यही ढुंगाखानीमा दसनङ्ग्रा खियाउन थालेका हुन् । अनकन्टार भीरमा गएर ढुंगा निकाल्नु उनको दैनिकी हो । दिनभरि उनले २० देखि २५ फिट ढुंगा निकाल्छन्, त्यसलाई छिल्छन् । गाउँमै पुगेका ठेकेदारलाई प्रतिफिट ३० देखि ३५ रुपैयाँमा बेच्छन् । तर‚ उनलाई खानी बन्द हुन्छ भन्ने त्रास छ । गौरीशंकर संरक्षण क्षेत्रले खानी दर्ता गरेर मात्रै सञ्चालन गर्नू भनेपछि उनी बिलखबन्दमा परेका छन् । ‘ढुंगा चल्दैन । खानी बन्द गर्ने हल्ला छ,’ उनले भने‚ ‘अब के खाने के गर्ने जानेकै यही हो ।’

खानी दर्ता गर्न आफ्नो हैसियतले नपुग्ने उनले बताए । आलम्पूमा ७ सय ४९ घरधुरी छन्‚ त्यसमा ७ सय ११ घर सिमान्तीकृत थामी समुदायको हो । उक्त खानीको प्रयोग पनि थामी समुदायले नै गर्दै आएको छ । सबै घरले यही खानीबाट आफ्नो गुजारा चलाएका छन् । खानी बन्द गर्ने हल्लाले आलम्पूका थामी समुदाय चिन्तित छन् । ‘हाम्रो पहुँच पुग्दैन खानी दर्ता गर्न,’ उनले भने, ‘पुर्ख्यौली खानी कसैले दर्ता गर्छ कि भन्ने त्रास भयो ।’ प्रत्येक निर्वाचनमा मत माग्न गाउँ पस्ने उम्मेदवारले यो खानीको व्यवस्थापन र बजारीकरणको मुद्दा बनाउने गरेका छन् । तर‚ विसं. २०१३ मा जस्तो थियो‚ खानीको अवस्था अझै फेरिएको छैन । ढुंगा छिल्ने आधुनिक मेसिन बनिसकेका छन् तर आलम्पूका खानीमा हातैले ढुंगा छिल्नुपर्छ । सडक भने खानी नजिकै पुगेको छ । खानीसम्म पुग्ने बाटो निकै कष्टकर छ ।

त्यहि बाटोबाट बोक्नुपर्छ आकार दिएका ढुंगा । आलम्पूका थामीहरूले जग्गाजमिन अंशबन्डा गरेजस्तै खानी पनि भाग लगाएका छन् । आफ्नो भागमा परेको खानीबाट मात्रै ढुंगा निकाल्न पाइन्छ । वर्षमा मुस्किलले ७ महिना खानी सञ्चालन हुन्छ । अरुबेला पहिरोको डरले खानीमा कोही जाने गरेका छैनन् । यही खानीबाट कमाएको पैसाले घर-व्यवहार धान्ने र बालबच्चा पढाउने गरेको बताउँछन् कालुमान थामी । ढुंगा खानीमै भेटिएका कालुमान पनि संरक्षण क्षेत्रले खानी दर्ता गर्नु भनेपछि चिन्तित देखिए । ‘हाम्रो भनेकै यही खानी हो । १५ वर्षको उमेरदेखि यही खानीबाट घर चलाउँदै आएको छु,’ उनले भने, ‘बन्द गर्ने हल्ला छ । के गर्ने‚ कसो गर्ने भन्ने चिन्ता लागेको छ । गरिब मान्छे कहाँ गएर खानी दर्ता गरौं ?’ आलम्पू सधैंजसो खाद्यान्न संकट पर्ने गाउँ पनि हो । आलु‚ कोदो र गहुँ यहाँको मुख्य बाली हो । यी बालीले मुस्किलले ३ महिना खान पुग्ने कालुमान बताउँछन् । ‘खानीकै भरमा वर्षभरि पेट पाल्ने खाद्यान्न जोहो हुन्छ,’ उनले भने, ‘यो पनि हामीबाट खोसेर बन्द गरियो भने भोकभोकै मरिन्छ ।’

चुनावका बेला सधैं खानीलाई चुनावी मुद्दा बनाइन्छ । तर‚ खानीमा निर्भर थामी समुदायको जीवनमा भने अझैसम्म परिवर्तन आएको छैन । भोट माग्न आएकाहरूलाई खानी जोगाइदिन आग्रह गर्ने गरेको कालुमानले बताए । २०७० सालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरेको सर्भेमा वार्षिक २ लाख ९४ हजार स्क्वाएर फिट ढुंगा निकाल्ने हो भने २ सय वर्षलाई पुग्ने तथ्याङ्क छ । खानी बन्द हुने त्रासले धेरै युवा खानीबाट ढुंगा निकाल्न छाडेर वैकल्पिक रोजगारी खोज्दै सहरतिर हानिएका छन् । खानी बन्द हुने हल्लाले रोजगारीका लागि श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी गएको ३ महिना भएको भीममाया थामीले बताइन् । ‘हाम्रो हात मुख जोड्ने भनेकै खानीबाट आएको आम्दानी थियो,’ उनले भनिन्, ‘यो पनि बन्द हुने हल्ला चलेपछि ऋण काढेर श्रीमान्‌लाई विदेश पठाएँ ।’ घर नजिकैको रोजगारी खोसिने हल्ला चलेपछि अधिकांश युवा भविष्य खोज्दै भारततिर पनि गएको उनले बताइन् । ‘५ सयभन्दा बढी स्थानीय खानीमा काम गरिरहेका हुन्थे,’ उनले भनिन्‚ ‘खानी नै बन्द हुने हल्ला चलेपछि धेरैले रोजगारीका लागि गाउँ छाडेका छन् ।’

उक्त खानीबाट ढुंगा निकाल्न सक्नेले महिना ३० हजार रुपैयाँसम्म बुझ्ने गरेको उनले सुनाइन् । पुरुष ढुंगा निकाल्ने र आकार दिने गर्छन् भने महिलाहरू अप्ठ्यारो भीरमा ढुंगा बोकेर सघाउने गर्छन् । भूकम्पपछि आलम्पूका घरसमेत उक्त ढुंगा खानीबाट निकालिएको स्लेटले छाइएन । ढुंगाखानीको गाउँका सबै घरहरू जस्ताले छाइएको छ । अति विपन्न थामी समुदायका २ सयभन्दा बढी परिवारको रोजगारीको स्रोत ढुंगाखानी हो । कहिले खानी बन्द हुने‚ कहिले ढुंगा बिक्री हुँदैन भन्ने हल्लाको त्रासमा छ अति विपन्न थामी समुदाय । ‘खानी बन्द हुन्छ भन्छन्‚ के खाने हो‚ के लाउने हो,’ बुधमायाले भनिन्‚ ‘ठेकेदार पनि अहिलेसम्म ढुंगा लिन आएको छैन । बाटैभरि ढुंगा राखेका छौं ।’

गाउँमा नेता पनि भोट माग्ने बेलामा मात्रै आउने गरेको उनले गुनासो गरिन् । जिल्लाभरका गाउँका घर आलम्पूकै ढुंगाले छाएका हुन्थे । भूकम्पपछि घरहरू ढुंगाले छाउन छाडिए । हाल उक्त ढुंगा मार्वलका रुपमा प्रयोग गरिन्छ । ढुंगाले छाएका घर न्यानो हुने र वातावरणमैत्री समेत हुने स्थानीय बताउँछन् । एकपटक ढुंगाले छाएका घरहरूको छानो कम्तीमा सय वर्षसम्म फेर्नु नपर्ने जीतलाल थामीले बताए । ‘आजभोलि आधुनिक घरका कारण ढुंगाले छाएका घर देख्नै मुस्किल छ,’ उनले भने, ‘आलम्पूकै घरहरू त जस्ताले छाएका छन् ।’ संरक्षण क्षेत्रले ढुंगा निकासीका लागि पुर्जी दिन आनाकानी गर्दा संकटमा परेको छ आलम्पूका सिमान्तीकृत थामी समुदाय । ठेकेदारले प्रतिस्क्वाएर फिट ३० रुपैयाँ राजस्व बुझाएर मात्रै ढुंगा लैजाने गरेको उनले बताए । त्यो पनि भनेको बेलामा पुर्जी नदिएर हैरान पार्ने गरेको स्थानीय गुनासो गर्छन् ।

प्रकाशित : कार्तिक १४, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?