२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अन्तर्राष्ट्रिय क्रिकेटर छोरी हुर्काउने आमाहरू

राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा छोरीहरुको चर्चा भइरहँदा उनीहरुलाई जन्माउने, हुर्काउने र समाजसँग पौंठेजोरी खेल्ने आमाहरुको चर्चा भने कतै सुनिन्न । समाजको पिँधबाट अनेक संघर्ष गरेर हुर्किएका छोरीलाई क्रिकेट खेलाडी बन्न कसरी सम्भव भयो त ?
पर्वत पोर्तेल

झापा — मेचीनगर नगरपालिका–६ का वडाध्यक्ष ललितबहादुर तामाङ आफ्नो ठाउँको परिचय दिनुपर्दा गर्वसाथ भन्छन्– ‘६ जना अन्तर्राष्ट्रिय महिला क्रिकेटर जन्माउने वडा ।’ यति भनिसेकपछि उनी हिसाब गरेको शैलीमा थप्छन्, ‘अन्तर्राष्ट्रिय नेपाली क्रिकेट टिमको आधा हिस्सा त हाम्रै वडाले पो ओगट्ने रै’छ ।’

अन्तर्राष्ट्रिय क्रिकेटर छोरी हुर्काउने आमाहरू

यही वडाकी रुविना क्षत्रीले कुनै समय राष्ट्रिय क्रिकेटरद्वय मनोज कटवाल र लाक्पा लामाको खेल हेरेर क्रिकेटतिर मन बढाइन् । क्रिकेटमा उनको रुचि यसरी बढ्यो कि उनी समयक्रममा सफलताको सिँढी चढ्दै नेपाली महिला टिमको नेतृत्व सम्हाल्ने बिन्दुमा पुगिन् । उनकै सफलताबाट लोभिएर काजोल श्रेष्ठ, सवनम राई, संगीता राई, अप्सरी बेगम र रोमा थापा पनि क्रिकेटमा लामो संघर्ष गर्दै राष्ट्रिय टोलीका सदस्य भइसकेका छन् । ६ जना महिला खेलाडीको इर्ष्यालाग्दो सफलतामा अहिले वडावासी मात्रै होइन, सिंगो नगर, जिल्ला र प्रदेशले नै गर्व गर्छन् ।

गर्वलाग्दो यो कथाका पछाडि महत्त्वपूर्ण भूमिका खेलिरहेका आमाहरूको कथा भने बेग्लै छ । राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा क्रिकेटर छोरीहरूको चर्चा भइरहँदा उनीहरूलाई जन्माउने, हुर्काउने र घरदेखि बाहिर पठाउन समाजसँग पौंठेजोरी खेल्ने आमाहरूको चर्चा भने कतै सुनिन्न । समाजको पिँधबाट अनेक संघर्ष गरेर हुर्किएका छोरीलाई राष्ट्रिय क्रिकेट खेलाडी बन्न कसरी सम्भव भयो त ?

कप्तान रुविना र संगीताका आमाहरू क्रमशः मुना र धनकुमारीको संघर्ष कथा लगभग मिल्दोजुल्दो छ । सन् १९९० को दशकमा झापाकी मुना बिहे गरेर सीमापारि पूर्वोत्तर भारतको मणिपुर पुगिन् । पुगनपुग १७ वर्षकी किशोरी मेची तर्दा भारतीय सहरबारे अन्जान थिइन् । रहँदैबस्दै जाँदा उतैका नेपालीभाषी पदमबहादुर बेलबासेसँग बिहे गरिन् । नौलो सहरसँग भर्खरै रत्तिँदै थिइन् । मणिपुरी समाजसँग चिनापर्ची बढ्दै थियो, अचानक श्रीमान् बिते । बिहे गरेको पाँच वर्षमै श्रीमान् गुमाउनुको पीडाले उनलाई नपिरोल्ने कुरै थिएन । बैंकका मेनेजर श्रीमान् बितेपछि उनले वैधव्यको संघर्षसँगै अर्थ अभावको अप्ठ्यारो पनि एकैसाथ झेल्नुपर्‍यो । श्रीमान्को निधनपछि आइपरेको शोक सम्हाल्दै दुई बालबच्चा हुर्काउने जिम्मेवारी आयो । सँगै सासूससुराको हेरचाह गर्नुपर्ने जिम्मेवारी पनि उनकै काँधमा थियो । तर श्रीमान् नहुनुको अभावले बिरानो त्यो सहरमा उनको मन अडिएन । वर्ष दिनको काजकिरिया सकेलगत्तै लालाबाला च्यापेर आइपुगिन् माइती घर, काँकडभिट्टा ।

‘त्यसपछि बल्ल सुरु भयो मेरो संघर्षको कथा,’ मुनाले कहालीलाग्दो विगतको गाँठो फुकालिन्, ‘दुई छोराछोरीलाई हुर्काउन, बढाउन र पढाउन मैले जति संघर्ष अरू कसले पो गर्‍यो होला र जस्तो लाग्छ ।’ माइतीको छत्रछाया त थियो तर आर्थिक विपन्नताले जीवन धान्न गाह्रो भयो । गर्जो टार्न एक पटक कपडाको व्यापार पनि गरी हेरिन् । तर, व्यापारको जिलीगाँठी मेसो पाउन नसकेर धेरै टिक्न सकिनन् । श्रीमान्को पेन्सन आउँथ्यो, ३ हजार ५ सय भारु । त्यही पैसाको जोहो गरेर कोठाभाडा तिर्नेदेखि खानपिन र बच्चाबच्ची पढाउन पुर्‍याउँथिन् ।

अनेक अप्ठ्याराका बीच एक दिन उनले योजना बुनिन्, अब छोराछोरीलाई होस्टेलमा राखेर विदेश जान्छु, टन्न पैसा कमाएर फर्किन्छु । एक रात उनले बिछ्यौनामा निदाइरहेका अबोध छोराछोरीका अनुहार नियालेर हेरिन् । अनि विदेश जाने उनको सपना एकाएक बाफजस्तै बिलाएर गयो । उमेर ढल्केको थिएन, चाहँदा दोस्रो बिहे गरेर घरजम गर्न पनि सक्थिन् । तर, अर्को मान्छेले छोराछोरीसँग राम्रो व्यवहार नगर्देला भन्ने पिरलोले विवाह गर्नेतिर लागिनन् । उनको पुरै ध्यान छोराछोरीको भविष्यतिर केन्द्रित थियो ।

उनी बस्ने डेरा, काँकडभिट्टाको पुरानो भन्सार नजिकै मैदानमा स्थानीय केटाहरू क्रिकेट खेल्थे । छोरी रुविना स्कुलबाट फर्किएपछि किताब हुत्याएर मैदानतिर लाग्थिन् अनि साँझसम्म एकाग्र भएर क्रिकेट हेर्थिन् । दाइहरूले गरेको छक्का, चौका प्रहारपछि ‘बाउन्ड्री’ बाहिरिएको बल टिपेर ‘थ्रो’ गर्थिन् । झुक्कलझुक्कलमा मैदानभित्रबाट उडेर आएको बल पनि समाउँथिन् । ‘साथीसंगीसँग भाँडाकुटी खेल्न मानिन,’ मुनाले छोरीको स्वभाव सुनाइन्, ‘क्रिकेटमा लगाब बस्यो सानैदेखि । मध्यरातिसम्म टीभीमा क्रिकेट हेरेरै बिताउँथी ।’

मुनाका अनुसार रुविनाले स्थानीय दाइहरूले खेलेको हेरेरै क्रिकेट सिकिन् । क्रिकेटतिर उनको मन यसरी एकोहोरिएको थियो कि, कक्षा ९ मा पुग्दानपुग्दै उनले आफ्नै उमेरका केटाभन्दा राम्रो खेल्न थालिसकेकी थिइन् । उनको ब्याटिङ र बलिङ दुवै देखेर अरू छक्क पर्थे । छोरीको क्रिकेट मोहले आमा मुनालाई भने तनाव सुरु भयो । किनकि उनको आर्थिक हैसियत ब्याट र बल किन्ने अवस्थामा थिएन । छोरीको रहर हार्न नसकेर उनले पेन्सनको पैसा जोगाएर पहिलोपल्ट छोरीलाई ब्याट किनिदिइन् । उनका छिमेकीले खिसीट्युरीको भावमा भने, ‘काम नपाएर छोरीलाई क्रिकेट खेलाउन लागेकी ।’

मुनाका कान्छा भाइ गोपाल बस्नेतले भान्जीको खेल नजिकबाट नियालिरहेका थिए । उनले भान्जीलाई मनोज कटवालहरूले सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा भर्ना गराउन भूमिका खेले । पछि स्थानीय वीरु श्रेष्ठले सञ्चालन गरेको मिलन क्रिकेट क्लबमा पुगेपछि रुविनाको खेल कौशलतामा थप निखार आयो । संयोगले त्यसै वर्ष उनी राष्ट्रिय टोलीमा छानिइन् । सन् २००९ मा मलेसियामा भएको टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्धको रोमान्चक खेलबाट रुविनाले डेब्यु मात्रै गरिनन्, एक ओभरमा लगालग ५ विकेट लिँदै विश्व कीर्तिमान पनि गरिन् । ‘त्यसपछि छोरीले सफलता पाइरहिन्,’ मुनाले हर्षित भावमा सुनाइन्, ‘दुःख गरेको फल प्राप्त भएजस्तो लाग्यो ।’

रुविना अहिले नेपाल पुलिस क्लबमा आबद्ध छिन् । उनलाई क्लबले केही हजार तलब उपलब्ध गराउँछ । नेपाल क्रिकेट संघले पनि तलब दिन्छ । केही व्यापारिक कम्पनीहरूले स्पोन्सर गरेका छन् । करिब दुई दशकभन्दा लामो डेरा जीवन अब अन्त्य हुँदै छ । ‘दाजुबहिनी मिलेर घर बनाउन सुरु गरेका छन्,’ मुनाले थपिन्, ‘अब सुखका दिन सुरु भएजस्तो लागेको छ ।’ रुविनाका दाइ पवन भने कतारमा श्रमरत छन् ।

...

संगीताकी आमा धनकुमारी उमेरले ७० आसपास पुग्न लागिन् । तर, उनको सक्रियता युवावयकै जस्तो छ । बिहान ४ बजे उठेर घाँसदाउरा र पशुलाई दानापानीमा लाग्छिन् । कहिलेकाहीँ कोदोको ‘तीनपाने’ पार्छिन् । ‘बंगुर पालेर, रक्सी बेचेर गर्जो टारिरहेको छु,’ संघर्षशील धनकुमारीले खाजा कचौरा सिकुवामा राख्दै सुनाइन्, ‘छोरी आएको बेला रासनपानी पुग्दो किनिदिएर जान्छे । दुईचार बोतल रक्सी बेच्दा म एउटीलाई पुगिहाल्छ नि ।’

संगीताले गरेको मिहिनेत देखेर धनकुमारी दंग छिन् । नहुन् पनि किन, संगीता अहिले जहाँ पुगेकी छन्, त्यो उनको आफ्नै बलबुताले हो । ‘सक्दो मिहिनेत गर्नु कसैको गुलामी नगर्नु भनेको छु,’ धनकुमारीले हल्का रिसाएको भावमा थपिन्, ‘मिहिनेत नगर्नेले गरिखाँदैन जस्तो लाग्छ ।’

संगीता क्रिकेटको मैदानमा आउनुअघि फुटबलको सानोतिनो खेलाडी थिइन् । उनी गाउँले केटाहरूसँग बरोबर भिड्थिन् । एक दिन खै के भो कुन्नि घरमा आएर आमासँग भनिछन्, ‘आमा, अब म क्रिकेट खेल्छु ।’ आमाले भनिछन्, ‘जेसुकै खेल्, तेरो विचार ।’ रुविनाझैं संगीता पनि मिलन क्रिकेट क्लबमा आबद्ध भइन् । धनकुमारीले छोरीको रहर टार्न नसकेर रक्सी बेचेको पैसा जम्मा पारेर संगीताका लागि बल ब्याट किनिदिइन् । उनले संगीतालाई क्रिकेटर बनाउन एक डेढ लाख लगानी गरिन् ।

थाइल्यान्ड, दुबई, मलेसिया, कतारजस्ता दर्जनभन्दा बढी मुलुकमा आफ्नो खेल कौशल देखाएकी संगीता अहिले नेपाल पुलिस क्लबमा आबद्ध छिन् । ‘खेल सिकाउने सरले खेल्ने कि जागिर खाने भनेर सोधेछन्,’ धनकुमारीले आफ्नै लवजमा भनिन्, ‘उसले जागिर खाँदै खेल्छु भनेछ । अहिले उसले पैसा कति कमाउँछ, थाहा छैन । घर आको बेला रासनपानीको बन्दोबस्त गरेर जान्छ ।’ संगीता छुट्टीमा घर आउँदा आमालाई मनग्गे सघाउँछिन् । जंगल गएर दाउरा ल्याउन होस् या बंगुरलाई चारोपानी गर्न, सबै काम गर्न तम्तयार हुन्छिन् । ०५२ सालमा श्रीमान् बितेपछि धनकुमारीको संघर्षका दिन सुरु भएको हो । बाबु खस्दा संगीता १७ दिनकी मात्रै थिइन् । तीन लालाबाला हुर्काउन र जीवन चलाउन धनकुमारीलाई ज्यादै कठिन भयो । तर, कोही कसैलाई दुःख देखाउन नचाहने उनको स्वभाव छ । ‘अहिलेसम्म कसैको सहयोग मागिनँ मैले, कसैसँग हात फैलाइन,’ उनले सुनाइन्, ‘सधैं आफ्नै पाखुरामा विश्वास गरें ।’

...

भगवती राईका चार छोरी छन्, जेठी सवनम अहिले राष्ट्रिय महिला टोलीकी सदस्य हुन् । ‘चिन्ता नगरी र नडराई खेल भन्थें,’ भगवतीले सुनाइन्, ‘कहिलेकाहीँ टिममा नपर्दा निराश हुन्थी, म सम्झाउँथे । एक दिन सफल भइन्छ भन्थें । यो पालि नपरेर के हुन्छ, अर्को पालि पर्छेस्, हरेस खानु हुँदैन भन्थें ।’

होटल व्यवसाय गर्ने भगवतीले छोरीका लागि चाहिने क्रिकेटका किट किनिदिन कहिल्यै धेरै सोचिनन् । चार छोरीमध्ये तीनवटीको रुचि खेलकुदमा छ । ‘सानामा मेरो पनि खेलकुदप्रति रुचि थियो त्यही प्रभाव छोरीहरूमा परेको हुनुपर्छ,’ हाँस्दै भगवती थप्छिन्, ‘जुठा भाँडा माझेर छोरीलाई अन्तर्राष्ट्रिय खेलाडी बनाएँ, खुसी लाग्छ ।’ छोरीका कारण भगवतीले क्रिकेट पनि बुझ्न थालेकी छन् । चौका, छक्का, आउट, रनबारे उनलाई सबै थाहा भइसकेको छ । छोरीको खेल हुँदा होस् या इन्डियन प्रिमियर लिग (आईपीएल) हुँदा नै किन नहोस्, फुर्सदमा उनी टीभीको स्क्रिन अघि बसेर क्रिकेट नियाल्छिन् ।

कक्षा आठमा पढ्दै गर्दा सवनमले पहिलो पटक क्रिकेटको ब्याट र बल समातेकी थिइन् । स्थानीय मैदानमा अन्तर मावि क्रिकेट आयोजना भएको थियो, उनले नर्थ प्वाइन्ट स्कुलको प्रतिनिधित्व गरेकी थिइन् । भगवती सम्झिन्छिन्, ‘उसको रुचि क्रिकेटमै थियो, त्यसैले पैसा जोहो गरेर भए पनि निकै सहयोग गरें ।’ आमाको यही सहयोगले उनलाई क्रिकेटमा हौसला मिल्यो ।

...

सवनमकै दौंतरी हुन्, काजोल । उनकी आमा टीकादेवी श्रेष्ठले पनि छोरीलाई क्रिकेटर बनाउन धेरै संघर्ष गरिन् । संघर्षको पहिलो खुड्किलो उनैको घर थियो । श्रीमान् चन्द्रले सुरुमा छोरीलाई क्रिकेट खेल्न जानै दिँदैनथे । ‘बाबुले जानै नदिने, हत्ते गरेर खेल्थी । एक दिन खेल्न जाँदा बुवाले कराएपछि रुँदै आई,’ टीकादेवीले सुनाइन्, ‘मैले थम्थमाएँ, सम्झाएँ ।’

बुवाले त पढाइमै जोड गराउन खोजेका थिए । तर, उनको ढिपीसामु कसैको जोर चलेन । आमाको उकेराले काजोल हौसिएर क्रिकेटमा लागिन् । स्कुलमा खेल्दाखेल्दै वीरु श्रेष्ठले उनलाई प्रशिक्षण गराउन थाले । त्यसपछि उनको क्रिकेट यात्रा सहज बन्न थाल्यो । ‘छोरी लामो मिहेनतपछि राष्ट्रिय खेलाडी त बनेकी छ तर, इज्जत भए पनि पैसो चाहिँ नहुने रैछ,’ टीकादेवीले गुनासो पोखिन्, ‘मेरी छोरी यदि भारतकी क्रिकेट खेलाडी थिई भने मनग्य पैसा हुने थियो होला ।’ रुविना, संगीता, सवनमझैं नेपाल पुलिस क्लबमा काजोलले घरमा आर्थिक सहयोग गर्न पनि थालेकी छन् । बुवा बिरामी परेका बेला ८/१० लाख ऋण लागेको थियो । उनले ऋण तिर्न सघाएकी थिइन् । ‘बुवाको उपचारमा सहयोग गरी,’ टीकादेवीले थपिन्, ‘बाबुछोरी मिलेर घरपरिवार चलाएका छन् ।’ काजोलले पनि रुविनासँगै सन् २००९ बाट क्रिकेटमा डेब्यु गरेकी हुन् ।

...

रायमा बेगमका आमाबुवा बीसको दशकतिर भारतबाट आएका हुन् । मेची खोलामा पुल नबन्दै यता आएका उनीहरूले यो सीमा सहरलाई नै स्थायी थलो बनाए । त्यही बेला आएका बर्मेनी नेपालीहरूले जमिनसँगै वंशजको नागरिकता पाउँदा रायमाका आमाबुवाले जन्मसिद्ध नागरिकता मात्रै पाए । रायमा र उनका श्रीमान् दुवैको नागरिकता पनि जन्मसिद्ध नै छ ।

रायमाकी छोरी अप्सरी सन् २०१९ मा थाइल्यान्डमा आयोजना भएको आईसीसी वुमन एसिया क्वालिफाई खेल्ने टोलीमा छानिइन् । तर, अनागरिक हुनुका कारण थाइल्यान्ड उड्न उनले गरेको संघर्षको कथा कारुणिक छ । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिन नमिल्ने प्रावधानले उनलाई जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता दिन इन्कार गर्‍यो । सञ्चारमाध्यमहरूले बारम्बार उनीबारे समाचार लेखे, उनको प्रतिभाको कदर गर्न पनि नागरिकता दिन उपयुक्त हुने आम खेलप्रेमीको समेत ठहर थियो । नेपाल क्रिकेट संघ (क्यान) ले पनि राम्ररी पहल गरेपछि ट्राभल डकुमेन्ट बनाएर उनी बल्ल थाइल्यान्ड उडेको रायमाले बताइन् । उनले सम्झिइन्, ‘नागरिकता नहुँदा मेरी छोरीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर नै झन्डै गुमेको ।’ थाइल्यान्डबाट फर्केपछि अनेकन संघर्ष र प्रयास पनि उनले नागरिकता पाइनन् ।

मुस्लिम समुदायमा छोरीलाई खेलाडी बन्नु सजिलो काम हैन । तर, रायमाकै अठोटले अप्सरी अन्तर्राष्ट्रिय क्रिकेटर बन्न पुगिन् । ‘मुस्लिमको छोरीलाई राष्ट्रिय खेलाडी बनाउनुपर्छ भनेर म लागें,’ रायमाले सुनाइन्, ‘सधैं प्रेरणा दिएँ ।’ छोरीलाई क्रिकेट खेलाडी बनाउँदा रायमाले उठाएको संघर्ष सानोतिनो छैन । यस्तो संघर्ष सुरुमा ब्याट, बल किन्ने पैसा नभएपछि सुरु हुन्थ्यो । तर उनले दुःखमा हिम्मत हारिनन् । अर्कैका सामान खोला तार्ने ‘वारिपारि क्यारियर’ को काम गरेर पनि उनले छोरीको रहरलाई मर्न दिइनन् । नाकामा सामान ओसारपसार गर्दा उनलाई प्रहरीले समात्न सक्थ्यो तर छोरीको पखेटा हालिरहेका रहरलाई बल दिन उनले जोखिम मोलिरहिन् ।

‘अहिले पुलिस क्लबबाट पनि खेल्न थालेकी छ,’ रायमाले खुसीको भावमा थपिन्, ‘हाम्रो समुदायबाट छोरीलाई क्रिकेट खेलाडी बनाउनु नै ठूलो युद्ध जित्नु जस्तै हो ।’ नेपाली महिला क्रिकेट टिमकी ‘हार्ड हिटर’ अप्सरी मुस्लिम समुदायकी देशकै एक्ली क्रिकेटर हुन् । ‘आम मुस्लिम महिलाले जस्तो दुःख मेरी छोरीले भोग्नु नपरोस् भनेर म लागें,’ रायमाले सगर्व सुनाइन्, ‘जीवनको सबभन्दा ठूलो खुसी नै यही हो ।’

...

अप्सरीकी छिमेकी अर्की राष्ट्रिय क्रिकेटर रोमा थापाकी आमा मीनाकुमारी घरको तल्लो तलामा रहेको फ्रेस हाउसमा सधैं भेटिन्छिन् । ब्रोइलर कुखुरा भुत्ल्याउने, काट्ने अनि तौलेर ग्राहकलाई दिँदै उनको दिनचर्या बित्छ । रोमाको परिवार मध्यम वर्गीय हो । वैदेशिक रोजगारीमा रहेको छोराले पठाएको रेमिट्यान्सबाट बनेको दुईतले पक्की घरको माथिल्लो तलामा मीनाकुमारीले सुनाइन्, ‘छोरीको प्रगति देखेर हामी त दंग छौं ।’

सशस्त्र प्रहरीको क्रिकेट टोली (एपीएफ) मा आबद्ध रोमा पहिला संगीताझैं फुटबल खेल्थिन् । ७ कक्षामा पढ्दै गर्दा संगीताले जस्तै खेल फेरिन् । ‘के मुड चल्यो थाहा छैन, फुटबल खेल्दा खेल्दै क्रिकेटतिर लागिन्,’ मीनाकुमारीले भनिन् । काँकडभिट्टा माविमा पढ्दा पढ्दै एक्कासि क्रिकेट खेल्न थालेकी रोमको रुचिप्रति आमाबुवाको कुनै हस्तक्षेप रहेन । ‘जेसुकै खेले पनि पढ्न चाहिँ पढोस् भन्ने थियो,’ उनले थपिन्, ‘तर, पढाइ र खेलकुद सँगै लैजान कठिन हुने रहेछ ।’

रोमा ११ पढ्दै थिइन्, पोखरामा प्रतियोगिता थियो, परीक्षा छुट्यो । अन्ततः आमाले रोमालाई भनिन्, ‘पढ्न सक्दैनौ भने क्रिकेट नै खेल न त ।’ अरू आमाहरूले झैं उनले पनि सुरुमा क्रिकेटमा धेरै लगानी गरिन् । अहिले छोरीको प्रगति देखेर उनलाई लाग्छ, लगानी खेर गएन । ‘अहिले छोरीले आफ्ना लागि खर्चको जोहो आफैं गर्छिन्,’ मीनाकुमारीले भनिन् । अरू साथी टिममा पर्दा कहिलेकाहीं रोमाको नाम पर्दैनथ्यो, उनी ज्यादै निराश हुन्थिन् । एक पटक खेल्नै छाड्ने स्थितिमा पनि पुगेकी थिइन् । तर, मीनाकुमारीले उनलाई सधैं सम्झाइरहिन् । पिठ्युँमा धाप मार्दै भन्थिन्, ‘एक पटक हार हुँदैमा हरेस नखानू, आशा नमार्नू ।’

प्रकाशित : कार्तिक ६, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?