'लेखकलाई आर्थिक चाप छ, तैपनि उनीहरू फिल्ममा काम गरिरहेका छन्' [भिडियो]- फिचर - कान्तिपुर समाचार
पर्दा पछाडि

'लेखकलाई आर्थिक चाप छ, तैपनि उनीहरू फिल्ममा काम गरिरहेका छन्' [भिडियो]

'लेखकहरूलाई फिल्म क्षेत्रले बचाउनु पर्छ'
रीना मोक्तान

काठमाडौँ — जीवनको एउटा मोडमा अभिमन्यु निरवीलाई प्रेमिकाले भनेकी थिइन्,'बिहे गर्नुअघि थर चाहिँ परिवर्तन गर ल ! उनी, कथित ठूलो जातकी । प्रस्ताव स्वीकार्य भएन, अन्तरजातीय प्रेममा पूर्णविराम लाग्यो । अहिले आफूलाई बुझ्ने र विचार मिल्ने जीवनसाथीसँग खुसी छन्, अभिमन्यु । तर त्यही 'थर'को प्रसंग जोडेर अभिमन्यु फिल्म लेख्दैछन्, शीर्षक भने अझै फाइनल भइसकेको छैन ।

कथित माथिल्लो जातकी प्रेमिकाले प्रेमीलाई बिहेअघि थर परिवर्तन गर्नुपर्ने प्रेमीसँग प्रस्ताव राख्छिन् । प्रेमीले प्रस्ताव स्वीकार्छ, अनि सुरु हुन्छ थर परिवर्तन गर्ने उनको यात्रा । अन्तिममा प्रेमीले आफ्नो थर फेर्ला त ? जातीय विभेद् समेटिएको यो कथा अभिमन्युलाई जसरी पनि सुनाउनु नै छ । कथा भन्न रुचाउने अभिमन्यु फिल्म लेखक हुन् । उनले लेखेका कथा, पटकथा अनि संवादमा फिल्म बन्छन् ।

'कतिपय समय मलाई मन परेको विषयवस्तु निर्माता/निर्देशकलाई मन नपर्न सक्छ । कसैलाई हरर, कसैलाई लभस्टोरी विधा मनपरिरहेको हुन्छ,' अभिमन्यु सुनाउँछन्, 'तर, तपाईंलाई भन्न मन लागेको विषयमा अझै गहिराइमा गएर लेख्न सक्नुहुन्छ । त्यस्तो विषयको कुनै न कुनै दिन समय आउँछ । यो फिल्म त्यस्तै हो । यो कथा मलाई एकदमै भन्न मन लागेको विषय हो । यसमाथि फिल्म बन्नुपर्छ ।'

फिल्म लेखकहरूमा सक्रिय अभिमन्यु अहिले यही फिल्मका लागि निर्देशकको पर्खाइमा रहेछन् । धेरैजसो निर्देशक/निर्माता नै लेखक खोज्दै अभिमन्युकहाँ पुग्छन् । तर, यसपटकको दृश्य उल्टो छ, अभिमन्यु नै निर्देशक खोज्दैछन् । तर अझै यो कथालाई न्याय दिने निर्देशक दिमागमा क्लिक भइसकेका छैनन् । 'कुनै निर्देशक र निर्माता उनीहरूलाई मनपर्ने विषयमा फिल्म लेखिदियोस् भन्ने चाहन्छन् । तर मेरो चाहना मैले लेखेको स्क्रिप्टलाई न्याय दिने निर्देशक कोही आओस् भन्ने हो । अहिले कोही निर्देशक मेरो दिमागमा छैन । म अहिले राम्रो निर्देशक खोज्दैछु भनौं न,' हाँस्दै सुनाए ।

नेपाली फिल्मको कमजोर पक्ष नै पटकथा हो भन्नेमा दुईमत छैन । अभिमन्युहरूलाई सँधै आरोप लाग्छ-तिमीहरूले फिल्म राम्रो लेख्दैनौ । के कमजोरी लेखनमा मात्रै हो त ? अभिमन्यु पटकथामा मात्रै समस्या देख्दैनन्, निर्माणको विभिन्न तहहरूमै फिल्म बिग्रने गरेको बताउँछन् । 'म मान्छु, पटकथामा प्रसस्तै कमजोरी छन् । तर हामीले लेखेको पटकथालाई पर्दासम्म ल्याउने विभिन्न तहमा फिल्म बिग्रिरहेको हुन्छ । सिनेमाटोग्राफी, पार्श्व संगीत, कलाकारका अभिनय र प्रस्तुतिकरणले त्यसमा प्रभाव पार्छ,' उनले भने, 'कहिलेकाहीँ कलाकारले बोलेको संवाद नै अनौठो सुनिन्छ, लेख्दाखेरी त्यसरी लेखिएको हुँदैन । लेखिएकै संवाद विश्वासिलो ढंगमा पर्दामा नआउनु त फिल्ममेकिङमै कमजोरी हो नि ।'

पटकथा कमजोर बन्नुको पछाडि समयले पनि प्रभाव पार्ने गरेको अभिमन्युको अनुभवले भन्छ । नेपाली फिल्मकर्मी लेखकलाई छोटो समयमै फिल्म सक्न दवाव दिन्छन् । अभिमन्युजस्ता पूर्णकालीन लेखकका लागि बाँच्ने आधार नै लेखन हो । निर्माता/निर्देशकले भनेकै समयमा फिल्म लेखेर दिने बाध्यतामा पनि पटकथा लेखिन्छन् । अभिमन्युले डेब्यू फिल्म 'अन्तराल' तीन महिनामै लेखे । पहिलो ड्राफ्ट लेखेको १५/२० दिनमै 'सुश्री सम्पति'को अन्तिम ड्राफ्ट तयार पारे । उनी समयसिमा मात्रै नभई आर्थिक पक्ष, विषयवस्तुमाथिको अध्यन र लेखकको समाज अध्ययनले पनि पटकथालाई असर गर्ने धारणा राख्छन् । भन्छन्, 'एउटा लेखकले आफू चलेको बेलामा अफर आएका ५/७ वटा फिल्म आफैं लेख्ने कोसिस गर्छ । आखिरमा ती फिल्म नै उनका लागि बाँच्ने आधार हुन्छ । समयसीमा, आर्थिक अनि लेखकको अध्ययन र समाज अध्ययनले पनि पटकथालाई असर गरिरहेको हुन्छ । सबै लेखक यी पक्षहरूमा बुलन्द छन् म भन्दिनँ ।'

'शिरिषको फूल', 'तीन घुम्ती', 'समर लभ'को उदाहरण दिँदै थप्छन्,'पुस्तकमा रुचाइएका कथा फिल्ममा परिणत भइसकेपछि दर्शकले त मन पराइदिएनन् । त्यस्तोमा लेखन नै कमजोर त भन्दिनँ । हामीकहाँ फिल्ममेकिङमै पनि कमजोरी छन् नि । हो, कुनै पटकथा झुर नै हुन्छन् । कमजोर पटकथामा फिल्म बिग्रन्छ नै तर, बलियो पटकथामा पनि फिल्म बिग्रिरहेको हुन्छ । निर्देशक/निर्माताले रुचाइसकेको पटकथामै फिल्म बनाएर बिग्रँदा लेखकलाई दोष दिनु बेकार छ । उचित समय र उचित पारिश्रमिक दिए लेखकले फिल्मकर्मीको चित्त बुझ्दो पटकथा लेख्छन् ।'

नेपालमा राम्रा पटकथाकार को-को छन् त ? सायद गन्ती गर्दा पाँचै औंला भाँचिन्न । लेखनमा लामो अनुभव बटुलेका लेखक नै भेटिन मुस्किल छ । लेखकलाई लामो समय टिक्ने वातावरण भए पटकथा परिपक्व र बलियो हुने अभिमन्यु तर्क गर्छन् । 'लेखनमा लामो समय टिक्ने लेखकहरू चाहिन्छ हामीलाई । लेखक लामो समय टिक्ने वातावरण बन्नुपर्छ भन्ने लाग्छ । मैले पनि यो क्षेत्रमा काम गरेको ७/८ वर्ष भयो । म यो क्षेत्रबाट पलायन भएँ भने नयाँ लेखक आउँछन् । उनीलाई यहाँसम्म आइपुग्न फेरि यति नै समय लाग्ने भयो । त्यसरी त लेखकको अनुभव लामो हुनै पाउँदैन,'तर्क गर्दै भने,'त्यसैले लेखक टिकिरहने वातावरण भयो भने उसको अनुभवले पनि लेखन बलियो हुन्छ । लेखक लेखनमा अनुभवी भयो भने एउटा परिपक्व फिल्म बन्छ । त्यसैले फिल्म क्षेत्रले लेखकलाई बचाउनुपर्छ।'

लेखकलाई कसरी टिकाउने त ? नेपालमा पटकथाकारको अझै कुनै संगठन बनिसकेको छैन । उनी फिल्म क्षेत्रले लेखकलाई पनि निर्माण टिममै सहभागी गराउनुपर्ने बताउँछन् । 'कतिपय फिल्मकर्मीले लेखकलाई फिल्मको टिममै राख्दैनन् । लेखकले फिल्म लेखिसकेपछि उसलाई छोडिदिन्छन् । फिल्मकर्मीले बल्ल लेखन सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने बुझ्न थालेका छन्,'उनी सुनाउँछन्,'लेखकलाई टिकाउन आर्थिक र उत्साहका कुरा आउँछन् । लेखकलाई फिल्म निर्माण टिममा राख्नुपर्‍यो । फिल्म लेखिसकेपछि निर्माण टिमको हिस्सा नै होइनजस्तो गर्नु भएन ।'

लेखनमा अभिमन्युले अपनाउने प्रक्रिया खासै फरक छैन । उनी कथाको झिल्को पाइसकेपछि लेख्न बस्छन् । सुरुको संरचना बनाउन संघर्ष हुन्छ, तर त्यसपछि संरचनाभित्र बसेर लेख्न सहज बन्दै जान्छ । 'आफूसँग भएको कथा वस्तुको आधारमा आफू परिवर्तन हुन सकिन्छ । जस्तो अफिसमा म कर्मचारीको भूमिकामा हुनसक्छु, घरमा म कसैको श्रीमान् हुनसक्छु । त्यसरी नै फरक-फरक विषयवस्तुमा लेखिरहेको हुन्छु । जस्तो 'ह्यारीकी प्यारी' के हो भनेर मलाई थाहा हुन्छ, त्यसरी नै लेखन अगाडि बढ्छ,' उनले भने । व्यवसायिक रुपले चर्चित 'छक्का पञ्जा' श्रृंखलामा सह-लेखकका रुपमा अभिमन्युले सँधै योगदान पुर्‍याउँदै आएका छन् । उनको सह-लेखन रहेको 'छक्का पञ्जा ४'को हालै छायांकन सकियो । उनकै लेखनमा तयार भएको 'ह्यारीकी प्यारी' पनि छायांकन सकियो । 'डिग्री माइलो' लेखेर निर्माण टिमलाई बुझाइसके । 'छक्का पञ्जा' श्रृंखलाको लेखन समुहमै हुने हुँदा उनी त्यसमा त्यसरी नै काम गर्छन् तर अन्य फिल्म लेख्दा एकान्तमा लेख्न रुचाउँछन् ।

'धेरै विषयलाई सँगसँगै लेख्दा गोलमाल हुनसक्छ । तर, समय सिमा बनाएर काम गर्न सकिन्छ । एउटा फिल्ममा एक महिना काम गरे अर्को महिना अर्को फिल्ममा काम गर्ने । एउटा फिल्म गर्न मलाई तीन महिना चाहिन्छ । एक महिनामा तयार पारेको फस्ट ड्राफ्ट निर्मातालाई दिएर म अर्को विषयमा लाग्छु । अर्को फिल्मको ड्राफ्ट त्यति नै समयमा सक्छु । त्यो सकेर फेरि अगाडिको फिल्मको गल्तीहरू छाँट्दै जान्छु,' अभिमन्यु आफ्नो लेखनको प्रक्रिया सुनाउँछन्,'त्यसरी ६ महिनामा २ वटा फिल्म लेख्न सक्छु । फुलटाइम दियो भने २ वटा सकिन्छ, सामान्यतय: एउटा फिल्म सक्न एक वर्ष लाग्छ ।'

पटकथाकारले फिल्म लेखनमा समय खर्चँदैनन्, छोटो समयमै फिल्म लेखिदिँदा पर्दामा नतिजा राम्रो नआएको आरोप पनि लेखकहरूलाई लगाइन्छ । अभिमन्यु समयसीमा र सिर्जनशिलतालाई फरक तरिकाले बुझ्नुपर्ने बताउँछन् । 'तीन महिनामा फिल्म सक्नुपर्छ भनेपछि त्यही समयमै हामीले लेखेर दिनुपर्ने हुन्छ । तर त्यसरी काम गरेर पनि राम्रो नतिजा आउन सक्छ । सिर्जनशिलता भनेको कुरा कहिलेकाहीँ एक वर्ष लेख्दा पनि आउँदैन । कहिलेकाहीँ २ मिनेटमै आइदिन्छु, 'उनले भने, 'त्यसैले कहिलेकाहीँ समयसीमाले भन्दा पनि तपाइँले भन्न खोज्नु भएको कुरा राम्रोसँग भन्न सक्नुभयो कि भएन महत्त्वपूर्ण हो । मैले कुनै फिल्म १ वर्ष लगाएर लेखेको छु, नतिजा राम्रो आएन । मेरो पहिलो फिल्म अन्तराल ३ महिनामा लेखें, समीक्षकले रुचाइदिए पनि । खासमा आफूले लेख्न खोजेको विषयवस्तुमाथि तपाइँको बुझाइ कत्तिको छ, त्यसको गहिराइमा जाने सम्भावना कत्तिको छ र तपाइँले त्यो लेखनमा आफ्नो पूरा ध्यान लगाएर लेख्नुभयो भने राम्रो नतिजा आउँछ ।'

'वडा नम्बर छ', 'छ माया छपक्कै', 'फिर्के', 'भैरे', 'साइनो', 'सुभ लभ', 'चौका दाउ', 'सुश्री सम्पति', 'हुतुतु', 'ह्यारीकी प्यारी'सम्म आइपुग्दा अभिमन्युले झेल्दै आएको अर्को समस्या हो, पारिश्रमिकमा बार्गेनिङ । पटकथालाई फिल्मको मेरुदण्ड भनिए पनि फिल्मकर्मीले भने यही महत्त्वपूर्ण पाटोमा खासै खर्च गर्दैनन् । स्क्रिप्टको सहि मूल्यांकन नहुने ठाउँमा पनि लेखकले लेखिरहनुलाई साहस मान्छन् उनी । 'कुनै कार्यालयमा आबद्ध भएर लेख्ने काम होइन स्क्रिप्ट राइटरको । कुनै अफिसमा काम गरेको भए मासिक तलब पाउँथ्यो होला । त्यस्तै सेवा-सुविधा हुन्थ्यो होला । तर, हामीकहाँ त स्क्रिप्ट दिँदै गर्दा पनि बार्गेनिङ हुन्छ । भनेजति पैसा पनि लेखकले पाइरहेको हुँदैन, 'अभिमन्यु गुनासो पोख्छन्, 'लेखकलाई आर्थिक चाप छ । यति हुँदाहुँदै पनि नेपाली फिल्म क्षेत्रमा लेखकहरू काम गरिरहेका छन्, त्यो क्षेत्रप्रतिको उनीहरूको लगाव हो, अर्को त साहस पनि हो ।'

एन्टेना फाउन्डेसनको राम्रै तलब छोडेर फिल्म लेखनमा होमिँदा अभिमन्यु यो समस्याबारे अन्जान थिए । २०६२/६३ मा एन्टेना फाउन्डेसनले 'अल नेपाल स्टोरी कम्पिटिसन' आयोजना गर्‍यो । त्यतिबेला अभिमन्यु ब्याचलर तेस्रो वर्षको अध्ययन गर्दै थिए । विद्यालय जीवनदेखि नै कथा लेखनमा रुची । आफूलाई लागेको कुरा डायरीमै टिपोट पनि गर्थे । 'अल नेपाल स्टोरी कम्पिटिसन' प्रतिस्पर्धा मात्रै थिएन, जागिर पाउने अवसर थियो । प्रतिस्पर्धाका पाँच विजेताले नाटक लेख्न पाउने कुरा थियो, त्यसैमा उनी लोभिए । 'आवेदनको चिठ्ठी रजिस्ट्री गर्ने कि २ रुपैयाँ खर्चमा चिठ्ठी पठाउने भन्ने दुविधा थियो । त्यतिबेला होस्टलमा बसेर पढ्थें, गोजीमा १० रुपैयाँ थिएन । होस्टेलमा खासै खर्च हुन्थेन,' उनी सम्झिन्छन् ।

उनी शीर्ष पाँचमा छनोट भए, त्यसपछि नाटक लेख्ने जिम्मा पाए । त्यसैक्रममा भेटिएका कलाकार जीवनसाथी बस्नेतले उनलाई फिल्म लेखक बनायो । 'मैले लेखिरहेको विषयवस्तुको कथा पढेर जीवनसाथी बस्नेतले यो विषयमा फिल्म बन्नुपर्छ भन्नुभयो । उहाँले यो कथा मलाई देउ भन्नुभयो, त्यो कथा आजसम्म पनि हामीसँग छ । फिल्म बनिसकेको छैन,'हाँस्दै सुनाए । जीवन साथिले नै ७/८ महिनापछि फेरि फिल्म गरौं भनेर अर्को विषयमा स्क्रिप्ट लेख्न लगाए । 'अन्तराल' त्यसैको नतिजा हो । पहिलो फिल्म 'अन्तराल'पछि अभिमन्युले फर्केर हेर्नुपरेन ।

फिल्म लेखनमा आफ्नो छुट्टै पकड हुँदा पनि पछिल्लो समय अभिमन्यु 'गोग्राह कार्यशाला'मा सहभागी भए । दीपक रौनियार र आशा मगरातीको छत्रछायामा फिल्म लेखनका नयाँ आयाम सिके । व्यवसायिक बजारले नपत्याउने तर, आफूलाई भन्न मन लागेको विषयमा कलम चलाउन उनले त्यहीँ उर्जा पाए । जातीय विभेदको विषयमाथिको कथालाई गोग्राहमै मेन्टरसीप पाएका हुन् । यही कथालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अभिमन्युको लक्ष्य छ ।

 ।

प्रकाशित : कार्तिक ५, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्

टेलिश्रृंखलाभन्दा माथि उठ्न नसकेको 'हिजो आजका कुरा' 

रीना मोक्तान

काठमाडौँ — हास्य टेलिश्रृंखलाहरुमा ब्रान्ड बनिसकेको नाम हो, 'हिजो आजका कुरा' । सन्तोष पन्तको यही टेलिश्रृंखलाको शीर्षक सापटी लिएर बनाइएको फिल्म 'हिजो आजका कुरा' अहिले हलमा प्रदर्शनरत छ । फिल्मलाई सन्तोषकै छोरा साकार पन्तले निर्देशन गरेका हुन् ।

समसामयिक विषयवस्तुमाथिको व्यंग्यात्मक प्रस्तुति रहेको टेलिश्रृंखला दर्शकबीच निकै रुचाइयो । ६ सय ९९ भाग प्रसारण भएको टेलिश्रृंखलालाई टेलिभिजनमा पर्खने दर्शकको कमी थिएन । विडम्बना डेब्यू फिल्ममार्फत साकारले आफ्नो बुवाको त्यही विरासतलाई भने फर्काउन सकेनन् ।

अपरिपक्व कथा वाचन र कमजोर पटकथाले यो फिल्मलाई टेलिश्रृंखलाभन्दा माथि उठ्न दिएको छैन । पटकथाको ट्रिटमेन्टमा ध्यान पुर्‍याइएको भए, फिल्मले टेलिश्रृंखलाको साख जोगाउने थियो । फिल्मको मेरुदण्ड मानिने पटकथा नै बलियो नभएपछि वैदेशिक रोजगारीको मोह अनि त्यसले परिवार, सम्बन्धमा पारिरहेको प्रभावजस्तो संवेदनशील विषय नै खल्लो बनाइदिएको छ । प्रमुख कथासँग सम्बन्धित नभएका दृश्य अनि पात्रहरुको उपस्थितिले नेपाली समाजसँग नजिक रहेको यो विषयसँग दर्शकलाई जोड्न असफल छ फिल्म ।

फिल्मको कथा तीन वृद्धा अनि उनीहरुका परिवारबाट सुरु हुन्छ । योगेश्वर जो आफ्नो श्रीमतीसँग अमेरिका जान आतुरमा छन् । अविनाशका छोरा अद्वेत (दिभ्य देव) भने भर्खरमात्र अमेरिकाबाट फर्किएका हुन्छन् । अविनाशकी पत्नीलाई छोरोको बिहे गराइदिने चटारो छ । फिल्ममा अर्का वृद्धा छन् जसका छोरा र बुहारी अस्ट्रेलिया छन् । बिरामी श्रीमतीको एक्लैले स्याहार गर्नुपरेको छ । छोरा बुहारीसँगसँगै बस्ने उनीहरुको चाहना अधुरो छ । घरमै भएका कान्छो छोरो माइकल पनि अस्ट्रेलिया जाने धुनमै छ । यी तीन वृद्धाहरुको कथासँगै जोडिँदै जान्छन् फिल्ममा अन्य थुप्रै पात्रहरु ।

फिल्ममा यति धेरै पात्रहरु देखाइएका छन् कि, ती पात्रको स्थापनामै लामो समय खर्चिएको छ । ती पात्रहरुको स्थापना लामो समय खर्चिँदा पहिलो हाफसम्म पनि फिल्मको केन्द्रीय द्वन्द्व के हो प्रस्ट हुँदैन । केन्द्रीय द्वन्द्व नै प्रस्ट नभएपछि फिल्मको कथा तीन परिवार अनि जोडिने नयाँ पात्रहरुमा छरिएको छ । लामा-लामा दृश्य अनि भारी भरकम संवाद देखाइएका छन् जुन दृश्य हटाउँदा पनि '‍हिजो आजको कुरा' अपूरो हुने थिएन ।

प्रमुख कथालाई खासै प्रभाव नपार्ने पात्रहरुलाई पनि फिल्ममा महत्त्वका साथ देखाइएको छ । अभिनेत्री केकी अधिकारी एउटै दृश्यमा देखिएकी छिन्, उनको उपस्थितिले खासै कथामा प्रभाव पार्दैन । उनी देखिएको उक्त दृश्य हटाइदिँदा पनि फिल्मको कथा अगाडि बढ्ने थियो । स्वर्गीय अभिनेता जयनन्द लामाको भूमिका पनि केकी देखिएको दृश्यझैं फिल्मको कथामा अनावश्यक लाग्ने किसिमको नै छ । फिल्ममा यस्ता थुप्रै दृश्य अनि पात्रहरु छन् जसले प्रमुख कथामा खासै प्रभाव पार्दैन ।

'ड्रिम सिक्वेन्स'को दृश्य त दर्शकलाई अलमलमै पार्ने किसिमको छ । उक्त दृश्य 'ड्रिम सिक्वेन्स' हो/होइन भन्ने छुट्याउन पनि दर्शकलाई गाह्रो पर्छ । बिहे भोजमा गरिने गुनासोको दृश्य निकै क्लिसे र लामा छन् । पटकथकारले यी कमजोरीहरुमा मिहिनेत गरिदिएको भए फिल्मले उठाउन खोजेको विषयमाथि बहस हुने थियो । तर, पटकथाकार धेरै पात्रहरुमै अलमलिँदा फिल्मको केन्द्रीय द्वन्द्व नै स्थापित हुँदैन । फलस्वरुप फिल्मले दर्शकलाई बाँधेर राख्न सक्दैन ।

अमेरिका बुझाउन प्रयोग गरिएका भीएफएक्सले अब नेपाली दर्शक झुक्किँदैनन् । योगेश्वरकी पत्नीलाई अमेरिकामा देखाउन जस्तो भीएफएक्स प्रयोग गरिएको छ, त्यसले दर्शकको आँखालाई बिझाउँछ मात्रै । त्यस्तै, अद्वेतलाई अमेरिकामा देखाउन प्रयोग गरिएको भीएफएक्स पनि विश्वासिलो लाग्दैन । विश्व बजारका फिल्म हेर्ने दर्शकले नेपाली फिल्मकर्मीको यस्तो चलाखीलाई पचाउन सक्दैनन् ।

पार्श्व ध्वनी यो फिल्मको सबैभन्दा कमजोर पाटो हो । दृश्य अनि पात्रहरुको भावनासँग तादम्य नमिल्ने पार्श्व ध्वनी फिल्ममा प्रयोग गरिएका छन् । यस किसिमको पार्श्व ध्वनीले पात्रको भावनासँग दर्शकलाई जोड्न सक्दैन । संवाद र सिनेमेटोग्राफीमा खासै नौलो काम देखिन्न । तीन वृद्धाहरुको व्यायामको दृश्यपछि जुन ट्रान्जिसन प्रयोगमा आएको छ, त्यसले दर्शकलाई टेलिश्रृंखला हेरे झैं अनुभव पनि गराउँछ । जेहोस्, 'माया जदौ' र 'तिमी पहिले' गीतको प्रयोग भने प्रशंसालायक छन् ।

फिल्ममा सानो भूमिकामा देखिएका कलाकारहरुले लाउड अभिनय गरेका छन् । अभिनेत्री केकी अधिकारीले भने एउटै दृश्यमा पनि आफ्नो अभिनय कला पस्केकी छिन् । तर, उनीजस्ता कलाकारलाई एउटै दृश्यमा खुम्चिएको सुहाउँदैन । अभिनेता दिभ्य देवले भने अद्वेतको चरित्रलाई पर्दामा विश्वासिलो ढंगले बाँचिदिएका छन् । त्यस्तै अभिनेत्री ऋचा शर्माले एकल आमाको संघर्ष र आत्मविश्वासलाई आफ्नो अभिनयमार्फत प्रस्तुत गरिदिएकी छन् । अभिनेता सन्तोष पन्त भने लाउड चरित्रमा देखिएका छैनन् । अविनाशको भूमिकामा उनले गरेको अभिनय दर्शकका लागि नयाँ लाग्न सक्छ ।

संवेदनशील विषयलाई हाँसोरसमा व्यंगात्मक प्रस्तुत गर्न कठिन छ । यसअर्थमा डेब्यू निर्देशक साकारले फिल्ममार्फत प्रस्तुत गर्न खोजेको विषय सार्थक अनि संवेदनशील देखिन्छ । तर, कमजोर पटकथा, क्लिसे संवाद अनि पुरानै शैलीको प्रस्तुतिकरणले यो फिल्मलाई कमजोर सावित गरिदिएको छ ।

प्रकाशित : कार्तिक १, २०७९ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×