कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
पर्दा पछाडि

'निर्माताले पैसा दिएन हात जोड्नुपर्‍यो, कलाकारलाई हजुर भन्नुपर्‍यो, सबैलाई मिलाउन गाह्रो' [भिडियो]

'पैसा जोगाइदिए निर्माता खुसी, भनेको सामान ल्याइदिए निर्देशक खुसी । भनेजस्तो होटलमा राखिदिए कलाकार खुसी । प्राविधिकलाई बेलैमा पैसा दिए खुसी । सबैलाई खुसी बनाउन सम्भव हुँदैन । तर सबैलाई मिलाएर व्यवस्थापन गर्नुको खुसी महत्त्वपूर्ण हो'
रीना मोक्तान

काठमाडौँ — फिल्मको कस्ट्युम भएन, उनै दौडनुपर्छ । सेटमा आवश्यक सामाग्री पुगेन ल्याउने जिम्मा उनकै । फिल्ममा प्रहरीको भ्यान देखाउनु पर्‍यो, भ्यान व्यवस्थापनमा खटिहाल्नुपर्छ । भनेको कुरा समयमै नहुँदा कलाकार उनैलाई भन्छन्, 'खोइ त मैले भनेको कुरा ?', समयमा कलाकार सेटमा नआइदिए निर्देशकले प्रश्न गर्छ,'खोइ त कलाकार ?' । फिल्मको खर्च बढ्दै जाँदा निर्माता भन्छ,'कति खर्च गर्नुभएको पाण्डे जी ?'

'निर्माताले पैसा दिएन हात जोड्नुपर्‍यो, कलाकारलाई हजुर भन्नुपर्‍यो, सबैलाई मिलाउन गाह्रो' [भिडियो]

प्रोडक्सन डिजाइनर/म्यानेजर शंकर पाण्डेलाई चौतर्फी दवावबीच काम गर्ने बानी परिसक्यो । स्वीकारिसके प्रोडक्सन म्यानेजरको यस्तो अस्तव्यस्त जिन्दगी । वर्षौंदेखि प्रोडक्सन म्यानेजरको जिम्मा सम्हाल्दै आएका पाण्डे राम्रो प्रोडक्सन नभए फिल्म पनि राम्रो नबन्ने तर्क गर्छन् । 'चाहेको खण्डमा फिल्मलाई डुबाउन र उठाउन पनि सक्छ प्रोडक्सनले । निर्देशकले यस्तो पर्दा चाहियो भनेका हुन्छन्, त्यस्तै पर्दा नभेटिँदा काम रोकिने भयो । प्रोडक्सनले निर्देशकले खोजेकोजस्तो सामग्री व्यवस्थापन गर्न नसक्दा बाध्य भएर जस्तोसुकै परिस्थितिमा फिल्म खिच्नपर्नेहुन्छ,' ४१ वर्षीय पाण्डेले भने, 'निर्देशकले भनेजस्तो चिज नपाएर पनि नेपाली फिल्म राम्रो बन्न नपुगेको हो । खोजेको जस्तो कुराहरू पाइएन भने निर्देशकको कन्सेप्टमा फिल्म बन्दैन । जबसम्म फिल्मकर्मीले राम्रो प्रोडक्सनलाई फिल्मको जिम्मा दिँदैन तबसम्म नेपाली फिल्म राम्रो बन्दैन ।'

शंकर प्रोडक्सन म्यानेजरलाई निर्देशकको पानीफोटोको रुपमा व्याख्या गर्छन् । निर्देशकले भनेका-कल्पेका सबै कुराको व्यवस्थापन गर्नुपर्ने जिम्मा प्रोडक्सनको जो हुन्छ । झन्डै २ दशकदेखि प्रोडक्सन म्यानेजरको अनुभव संगालेका शंकरलाई हिजोआज त लाग्छ, 'मेरा आँखाले देखेका सबैकुरा फिल्मका लागि मिलाइदिन सक्छु !' फिल्म निर्माणमा प्रोडक्सन म्यानेजको प्रमुख भूमिका रहने शंकरको अनुभवले बताउँछ । 'फिल्म बलियो हुन पाँच पक्ष बलियो हुनुपर्छ-पटकथा, निर्देशक, सिनेमाटोग्राफर, निर्माता, कलाकार अनि व्यवस्थापक । हो, फिल्म त टिमवर्कमा बन्छ । तर यी पक्षहरू बलियो हुन जरुरी देख्छु, 'उनले भने ।

खासमा शंकर फिल्मको हिरो बन्न चाहन्थे । २०५६ तिरै 'हिजोआजका कुरा'मा देखिने मौका पनि पाए । उनलाई बन्नुथियो, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठजस्तो कमेडी हिरो । स्याङ्जा हुँदा आँधी खोलामा बिहे खिच्ने क्यामेराले भिडियोहरू खुबै बनाए । उनको यस्तो जोश देखेर धेरैले काठमाडौं जान सुझाए । तर शंकरको टिमसँग पोखरा जाने खर्च पनि बल्लतल्ल जुट्थ्यो । २०५८ तिर स्याङ्जामा ठूलै स्टेज कार्यक्रम हुने कुरा भयो । कार्यक्रमका लागि काठमाडौंबाट कलाकार ल्याउने जिम्मा थियो शंकरको । त्यही दौरान उमेश मायालुसँग शंकरको भेट भयो । त्यही भेटपछि 'मनमन्दिर' टेलिश्रंखला बनाउने शंकरले ठाने । निर्देशकमा रोजे उमेश मायालु, कार्यकारी निर्मातामा उनी आफैं । उमेशको सर्त थियो- 'टेलिश्रंखला म निर्देशन गर्छु, यदि तिमीले निर्माता खोज्छौ भने ।' शंकरले त्यही स्टेज कार्यक्रमकै एक आयोजकलाई निर्माता बन्न हौसाए । कार्यकारी निर्माताले के-के गर्छन् त्यतिबेलासम्म शंकरलाई पत्तो थिएन । उनी अभिनय पनि गर्थे, टेलिश्रंखलाका लागि आवश्यक सबै कुराको प्रबन्ध पनि गरिदिन्थे । उनको त्यही काम देखेर उमेशले एक दिन भने, 'तिमी त प्रोडक्सनमा पर्फेक्ट रहेछौ ।'

त्यसपछि विस्तारै फिल्मकर्मीहरूले प्रोडक्सन डिजाइनमा विश्वास गरिदिएको सम्झन्छन् शंकर । रमेश अधिकारी निर्देशित 'समयको डोरी' भन्ने फिल्मबाट शंकरले प्रोडक्सन म्यानेजर भएर काम सुरु गरे । त्यसपछि 'तेजाब', 'धमाका', 'तहल्का डटकम', 'दुई पल', 'शाषण' मा काम गरे । शाषणका निर्देशक मुकुन्द श्रेष्ठ भन्ने गर्थे, 'जीवनमा यो फिल्मबाट तिमीले नाम कमाउँछौ, कि पत्ता साफ हुन्छौ ।' एकपछि अर्को फिल्मबाट शंकरले आफूलाई प्रोडक्सन म्यानेजरमा साबित गर्न थाले । त्यसैले हुनुपर्छ, 'पशुपतिप्रसाद', 'कब्बड्डी कब्बड्डी कब्बड्डी', 'चंगाचैट', 'कोहीनूर', 'धनपति', 'लुट २', 'चिसो मान्छे', 'पानीफोटो', 'क्रृ' हुँदै बलिउड फिल्म 'उचाई'को प्रोडक्सन डिजाइनिङमा शंकर नै रोजाइमा परे ।

'फिल्ममा काम गर्दागर्दै प्रोडक्सन म्यानेजरको काम सिकें । कुनै स्कुलिङ थिएन,' उनले भने, 'सायद राम्रो समूहसँग जोडिँदै काम गर्दा अझ सिक्न पाएँ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसँग विज्ञापनमा काम गर्न पाएँ । राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतिदेखि अहिलेका प्रदीप खड्का, अनमोल केसी, विपिन कार्की, सौगात मल्ल, खगेन्द्र लामिछाने, रामबाबु गुरुङसँग काम गर्ने मौका पाएँ ।'

प्रोडक्सन म्यानेजरको काम सहज हुँदैन । 'आमा' फिल्मका लागि 'आईसीयू'मा राखिएको बच्चा खोज्न अनि अस्पताललाई मनाउन शंकरले निकै कसरत गर्नुपरेको थियो । 'चिसो मान्छे'को छायांकन सडकमै गर्नुपर्ने । उनी छायांकन गर्ने टोलीभन्दा अघि-अघि पुग्थे । निर्देशकले सोध्थे, 'पाण्डेजी सडकमा जाम छ ?' उनले दिएको निर्देशनमा निर्देशक छायांकन गर्दै अगाडि बढ्थ्यो । 'लुट २'का डीओपी पुरुषोत्तम प्रधानले काठमाडौं भरीको लाइट उनैलाई खोज्ने जिम्मा दिएका थिए । दवावका बीच पनि आफ्नो काममा रमाउन जानेका छन् शंकरले ।

प्रोडक्सनको जिम्मेवारीबारे नेपाली फिल्मकर्मीले अझै बुझ्न नसकेको शंकरको दाबी छ । 'प्रोडक्सनको काम के-हो भन्ने कुरा त नेपाली फिल्मका धेरैलाई अनुभव नै छैनजस्तो लाग्छ मलाई । त्यो अनुभव भएको भए नेपालमा थुप्रै प्रोडक्सन अझै रहिरहन्थ्यो होला। प्रोडक्सन नेपाली फिल्मको एउटामध्येको बलियो खम्बा हो,'उनले भने,'प्रोडक्सन भनेको नेपाली फिल्मको चुस्त, दुरुस्त व्यवस्थापन हो ।'

प्रोडक्सन म्यानेजर फिल्मको सुरुवातदेखि फिल्ममा जोडिन्छन् । जब निर्देशकले फिल्मको स्टोरी बोर्ड बनाइसक्छ तबदेखि नै छलफलहरूमा प्रोडक्सन म्यानेजर जोडिन्छन् । फिल्म कहाँ सुटिङ गर्ने ? त्यहाँको हावापानी, कलाकारसँगको सम्झौताहरूमा प्रोडक्सन नै अगाडि सर्नुपर्छ । उनी फिल्मकर्मीले नबुझीकनै प्रोडक्सनको पद आफूहरूलाई दिइरहेको बताउँछन् । 'प्रोडक्सन डिजाइनिङमा अझ हामी पनि पर्दैनौं । हामीलाई प्रोडक्सन डिजाइनरको पद दिनु गलत हो । धेरै ठाउँमा प्रोडक्सन डिजाइनरले नै फिल्मको रंग संयोजन, फिल्मको बजेट अनि फिल्मको नतिजा कस्तो निस्कन्छ भन्ने कुरा पनि निर्धारण गर्छ,'उनले भने,'तर यहाँ त आजसम्म कुनै प्रोडक्सनले हिरो साइन गर्न सकेको छैन । तर, बलिउड/हलिउडमा प्रोडक्सन कम्पनीले नै निर्देशक रोजिरहेको हुन्छ । यहाँ त निर्देशक/निर्माताले प्रोडक्सन म्यानेजरलाई बोलाइरहेको हुन्छ । खासमा हामी त प्रोडक्सन असिस्टेन्ट भइरहेका हुन्छौं । ए भाइ २/३ वटा लोकेसन भनिदेउ त, २/३ जना कलाकार मिलाइदेउ । घरबाटै काम गरे हुन्छसमेत भनिदिन्छन् ।'

निर्देशकहरूमा दीपेन्द्र के खनालको काम शंकरलाई साह्रै मनपर्छ । उनकै कारण अहिलेसम्म आफू फिल्म क्षेत्रमा टिकिरहेको शंकर सुनाउँछन् । 'म अहिलेसम्म टिक्नुमा धेरै राम्रा निर्देशकको हातमा परेर हो । सायद म पनि विदेश पलायन भइसक्थें । दीपेन्द्र के खनाललाई त्यो श्रेय जान्छ । उहाँले पशुपति प्रसादमा ब्रेक दिनुभयो, 'उनले भने, 'पशुपति प्रसादपछि उहाँले गर्नु भएका थुप्रै फिल्ममा मैले काम गर्ने अवसर पाएको छु । निर्देशकहरूमा उहाँको काम अलि फरक हुन्छ । जति फिल्ममा आवश्यक हुन्छ, उहाँले प्रोडक्सन डिजाइनरसँग त्यति नै माग्नुहुन्छ ।'

प्रोडक्सन डिजाइनरले के-के गर्ने निश्चित रेखा कोरिएको छैन । त्यसैले फिल्मका सबै कामहरूमा प्रोडक्सन नै दौडिरहेका हुन्छन् । फिल्म बन्ने भएदेखि सुरुमा निर्माण टिमको अफिस बन्छ । अफिसभित्रको सबै व्यवस्थापन प्रोडक्सनकै । त्यसपछि कलाकारहरूसँगको सम्झौता पत्र तयार पारिदिनु पर्‍यो । विकास बोर्डमा फिल्मको शीर्षक दर्ता गर्न जाने प्रोडक्सन नै । कलाकारसँग सम्झौता गर्नेदेखि छायांकनका लागि लोकेसन हन्टिङमा जानै पर्‍यो । छायांकनका क्रममा केही मिलेन सबैले देख्ने प्रोडक्सन म्यानेजर नै । डबिङका क्रममा कलाकारलाई खाजा खुवाउनेदेखि प्रचारमा कलाकार बोकेर हिँड्नसम्मको सबै जिम्मा प्रोडक्सनकै । फिल्मको पोस्टर टाँस्नसमेत प्रोडक्सन नै तातिनुपर्छ । सबैको चित्त बुझाउँदै काम गर्नुपर्ने हुँदा प्रोडक्सन म्यानेजरले जीवनमा धेरै नै 'नमस्कार' गर्ने गरेको शंकर सुनाउँछन् । 'पैसा जोगाइदिए निर्माता खुसी । भनेजस्तो सामान ल्याइदिए निर्देशक खुसी । कलाकारलाई भनेजस्तो ठाउँमा खाना दियो, राम्रो होटलमा राखिदियो खुसी । प्राविधिकलाई बेलैमा पैसा दिए खुसी । सबैलाई खुसी बनाउन सम्भव हुँदैन । तर सबैलाई मिलाएर व्यवस्थापन गर्नुको खुसी महत्त्वपूर्ण हो, 'उनले भने, 'प्रोडक्सनले धेरै हात जोड्नुपर्छ । निर्माताले पैसा दिएन, दाई लौ न भन्दै हात जोड्नुपर्‍यो । कलाकारलाई उता हजुर भन्नुपर्‍यो । यता-उता नमस्कार गर्नुपर्ने हुन्छ । सबैजनालाई मिलाएर व्यवस्थित गर्न गाह्रो कुरा हो ।'

केही समय अगाडि वीरगंज महोत्सवमा पनि शंकर व्यवस्थापनमा खटेका थिए । होटल व्यवस्थापन उनको काँधमा परेको थियो । काठमाडौंदेखि नाम टिपाएर पुगेका कलाकारका लागि त सजिलै होटल व्यवस्थापन गरिदिएका थिए । तर आउने टुंगो नै नभएका कलाकारलाई पनि होटल व्यवस्थापन गरिदिनुपर्दा वीरगंजको गर्मीले भन्दा झन्झटले उनको पसिना छुट्यो । हालै फिल्म 'उचाई'को छायांकनका लागि नेपाल आएका कलाकार परिणिति चोपडा, अनुपम खेर, बोमन इरानीसम्मलाई शंकरले आफ्नो कामले रिझाउने मौका पाए । विमानस्थलदेखि मनाङसम्मको यात्रामा व्यवस्थापनको जिम्मा शंकरले नै पाएका थिए । 'अनुपम खेरले शंकर पाण्डे अच्छा प्रोडक्सन है भनेर भन्नुभएको थियो, त्यसैले परिणिति खानेकुराको कुरा मसँग मात्र गर्नुहुन्थ्यो । एकदिन बोमनलाई मनाङको तालपारिबाट वारि लैजाने जिम्मा पाएँ । उहाँलाई हँसाउँदै होटलसम्म पुर्‍याइदिएँ,' उनले उचाईमा काम गर्दाको क्षण सम्झे ।

उनै शंकर, जो फिल्मको हिरो बन्न निस्केका थिए । अहिले फिल्म क्षेत्रका वास्तविक हिरो बनेका छन् । उनीबिना फिल्मको व्यवस्थापन फितलो बन्छ । शंकरको काम पर्दा अगाडि देखिन्न तर पर्दा पछाडिका हिरो हुन् उनी।

प्रकाशित : आश्विन २९, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?