कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

४५ वर्षदेखि निरन्तर सार्वजनिक बहस

प्रकाश बराल

बागलुङ — जनआन्दोलन २०६२ को लहर चल्दा सडकबाटै उनी नागरिक समाजको संयोजक बने । सबै राजनीतिक दलका नेता र कार्यकर्ताले अधिवक्ता काजी गाउँले श्रेष्ठलाई नागरिक समाजको अगुवा मान्न तयार भए । 

४५ वर्षदेखि निरन्तर सार्वजनिक बहस

गणतन्त्रपछि सुशासन कायम गर्ने सवालमा पनि उनको पहल निरन्तर छ । त्यसपछि उक्त समाजको साधारणसभा र अधिवेसन केही भएको छैन । तर सबैकोलागि उनी अझै पनि नागरिक समाजको अगुवाकै रुपमा परिचित छन् । उनी औपचारिक र अनौपचारिक रुपमा सामाजिक रुपान्तरणमा सक्रिय छन् । वर्षले ७० टेके । गत महिना सर्वोच्च अदालतले उनलाई वरिष्ठ अधिवक्ताको उपाधि दियो । बर्षौ वकालतबाट करोडौं सम्पत्ति जोडे होला भन्ने अनुमान धेरैको हुन्छ । तर उनको जीवनशैली भने सामान्य छ ।

बिहान उठेर खेतबारीमा जाने, काम गर्ने, तरकारी टिपेर घरमा आउने । खानापछि फर्म र अदालत धाउने । उनको यो नियमित कार्य ४५ वर्षदेखि उस्तै छ । करोडपति बन्न नसके पनि उनले सार्वजनिक हितका लागि करोडौंको काम गरेका छन् । उनकै पहलमा करोडौंको सरकारी सम्पत्ति व्यक्तिको हुनबाट जोगिएको छ । मालढुंगा, फर्से र मिलनचोक स्थित कालीगण्डकी नदी किनारको सयौं रोपनी जमिन सार्वजनिक रुपमै कायम गर्न उनी सफल भएका हुन् । बागलुङ कालीका भगवती गुठीको सयौं रोपनी जमिन पत्ता लगाएर सार्वजनिक गर्न पनि उनले आफ्नो अभियान चलाए । त्यसमा अदालतले उनको अभियानलाई साथ दियो ।

सामाजिक काम र वकालतकै माध्यमबाट वर्षौं जेलजीवन बिताएका नेता तथा सामाजिक अगुवालाई उनी छुटाउन सफल भएका छन् । यति धेरै काम सबै उनले निःशुल्क गरेका थिए । त्यसैले उनको जीवनमा कुनै तडक भडक नदेखिएको हो बताउँछन् अर्का वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा । जतिबेला उनी वकालत पेशामा आए, त्यतिबेलै उनलाई राजकाज मुद्दा लागेको थियो । २०३४ सालमा श्रेष्ठ राजकाज मुद्दामा ७ महिना २० दिन जेल बसेर छुटेका थिए । क्याप्टेन यज्ञबहादुर बस्नेत र भीमनारायण श्रेष्ठलाई सरकारले मुद्दा चलाएर जेलमै मारेको घटनामा देशव्यापी विरोध गर्दा उनी पनि पक्राउ परेका थिए । बागलुङ नगरपालिका ३ को कम्पुटोलका चार जना साधारण युवाको हातबाट प्रहरीले बरामद गरेको पर्चाको जिम्मा लिएर श्रेष्ठ जेल परेका थिए । साधारण युवालाई दु:ख नदिन उनले पर्चाको जिम्मा लिएर आफू जेल गएर चार युवाालई बचाएका थिए ।

बिनाकारण राजकाज मुद्दा आफैंले खेपेकाले राजनीतिक बन्दीप्रति उनी उदार थिए । त्यसैले बागलुङ, पर्वत र म्याग्दी जेलमा परेका धेरै बन्दीका मुद्दा लेख्ने र बहसपैरवीमा उनले साथ दिन्थे । ‘उहाँले राजनीतिक आस्था फरक परेकालाई पनि मुद्दा लेखेर, निःशुल्क बहस गरेर साथ दिनुभयो,’ कांग्रेस नेता जगदीशचन्द्र उपाध्यायले भने, ‘सार्वजनिक जमिन फिर्ता ल्याउन पनि उहाँले धेरै पहल गर्नुभएको छ ।’ कांग्रेस नेता रामचन्द्र पौडेल बागलुङ जेल बस्दा छुटाउन गाउँलेले निःशुल्क मुद्दा लडेका थिए ।

बहुदल आएपछि सबै बन्दी रिहाइ भएपनि पौडेल, उपाध्याय र तनहुँका अर्का नेता लक्ष्मीप्रसाद आचार्य कारागारमै थिए । श्रेष्ठले मुद्दा लडेर रिहाइका लागि पहल गरेपछि मन्त्रिपरिषद्ले पनि निर्णय गरेर उनीहरू छुटेका थिए । राष्ट्रिय नेताको मुद्दा लेखिदिए पनि गाउँलेले शुल्क लिएनन् । बरु यहाँका धेरै पीडितको निःशुल्क मुद्दा लेखिदिने र बहस गर्ने काम उनले गरेका छन् ।

श्रेष्ठ धौलागिरि क्षेत्रका सार्वजनिक जग्गा संरक्षण कर्ताको रुपमा बढी चिनिन्छन् । उनकै पहलमा कालीगण्डकी नदी किनारका कयौं व्यक्तिगत दर्ताका जमिन सार्वजनिक भएका छन् । उनले अदालतमा सार्वजनिक महत्त्वका धेरै मुद्दा लडेको बताए । गलकोटका क्याप्टेन पूर्ण सिंह राना, म्याग्दीका बामपन्थी नेता गोविन्द पौडेलसहित राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी सहितका नेता विरुद्ध पर्ने राजनीतिक मुद्दामा पनि उनले बहस गरेका थिए । ‘जनयुद्धका धेरै मुद्दा उहाँले हेरिदिनुभएको थियो’ उच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष केशवराज पराजुलीले भने, ‘जोखिम उठाएर काम गर्ने भएकाले सबैले सम्मान गर्छन् ।’ गाउँलेले मावनअधिकारको क्षेत्रमा कलम समेत चलाउने गर्छन् ।

राघवलाल वैद्य, राधेश्याम कमारो र कृष्णनन्द न्यौपानेको नेतृत्वमा कानुनी अध्ययन र बहस पैरवी सिकेका ७० वर्षीय श्रेष्ठ नागरिक समाज बागलुङका संयोजक समेत हुन् । २०६२/०६३ को जनआन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए । बागलुङ बारका पूर्वअध्यक्षसमेत रहेका गाउँलेले २०३२ सालमा राजमोको संयुक्त राष्ट्रिय जनमोर्चाको क्षेत्रीय समितिमा बसेर पनि काम गरे । यतिबेला उनी सक्रिय राजनीतिमा छैनन् । तर क्रान्ति, प्रगतिशील र लोकतन्त्रको पक्षमा उनी निरन्तर लडिरहेका छन् ।

जैमिनीघाटमा प्रहरी निरीक्षकको मृत्यु भएको घटनामा पनि उनले बहस गरे । उक्त घटना हुँदा शेरबहादुर देउवा गृहमन्त्री थिए । प्रहरीले निर्दोष गाउँलेलाई घरघरमा पुगेर कुट्यो । यातना दियो । उक्त घटनाबारे अन्तर्राष्ट्रिय मानवअधिकार समितिले समेत गृहमन्त्रीलाई स्पष्टीकरण सोधेको थियो । जीवनमा ३ हजार २ सय मुद्दा लडेका श्रेष्ठले दर्जनभन्दा बढी एकल महिलालाई अंश दिलाएको बताए । ‘अनाथहरूलाई अंश दिलाउन सकेकोमा आत्मसन्तुष्टि हुन्छ,’ उनले भने, ‘निष्ठावान् राजनीतिक कार्यकर्ताको मुद्दा अझै पनि निःशुल्कै हेरिदिन्छु ।’ कठेखोला र कालीगण्डकी नदी किनारमा व्यक्तिले दर्ता गरेको सयौं रोपनी जमिन बागलुङ कालीका भगवती गुठीको नाउँमा ल्याउन सकेकोमा उनी खुसी छन् ।

प्रकाशित : आश्विन १८, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?