मदिरासँग चित्रको नाता

कलाकार छिरिङ शेर्पाले नेपाली ब्रान्ड ८८४८ भोड्काको नयाँ उत्पादनका लागि ‘माउन्टेन स्पिरिट’ थिममा चित्र बनाए, राय भोड्काका ३० हजार बोतलमा त्यो चित्र छापिएर आएको छ
सजना बराल

काठमाडौँ — मदिराको बोतलमा चित्रकला बनाउने चलन हामीकहाँ त्यति छैन । यसलाई कतिपय कलाकारले त्यति सकारात्मक दृष्टिले हेर्दैनन् पनि । अशुद्ध झैं मान्छन् । तर, हालै कलाकार छिरिङ शेर्पाले नेपाली ब्रान्ड ८८४८ भोड्काको नयाँ उत्पादनका लागि ‘माउन्टेन स्पिरिट’ थिममा चित्र बनाए । राय भोड्काका ३० हजार बोतलमा त्यो चित्र छापिएर आएको छ । कलाकार शेर्पा उत्साहित छन् ।

मदिरासँग चित्रको नाता

‘हाम्रो निजी वा कर्पोरेट क्षेत्रले चित्रकलालाई यसरी महत्त्व दिन थालेको पाउँदा खुसी लागेको छ,’ शेर्पाले भने, ‘चित्रकलाका दर्शक बढाउन यसले मद्दत गर्छ । कलाकारलाई काम देखाउने र आर्थिकोपार्जन गर्ने अर्को एउटा माध्यम थपिन्छ । यसले समग्र कला क्षेत्रकै विकासमा सहयोग पुर्‍याउँछ ।’ करिब दुई दशक संयुक्त राज्य अमेरिकामा चित्रकलामा सक्रिय रहँदा उनले जुस, पहिरन, गीति एल्बम र पुस्तकका कभर आदिका लागि यस्तै ‘कमिसन्ड’ चित्र बनाएका थिए । मदिराको बोतलमा चित्र बनाएको चाहिँ यो उनको र नेपालका लागि पनि नौलो प्रयास थियो ।

विश्वमा ठुल्ठूला कम्पनी र उद्योगले चित्रकलालाई आफ्ना उत्पादन र कार्यक्रममा समावेश गर्न थालेका छन् । सन् २०१३ मा क्यानडाको ओन्तारियोमा स्थापना भएको ‘कलेक्टिभ आर्ट्स ब्रुअरी’ ले युवा चित्रकारहरूलाई विशेषतः मदिरा र अन्य पेय पदार्थका बोतल तथा क्यानहरूमा छाप्न चित्र कोर्न लगाउँछ । सिर्जनशीलता प्रवर्द्धन गर्नुका साथै ‘क्राफ्ट ड्रिंकर्स’ (चित्रकला छापिएका बोतलको पेय सेवन गर्न रुचाउने) लाई प्रोत्साहन गर्न यस्तो गरिएको कलेक्टिभ आर्ट्स ब्रुअरीका टोनी सेल्टनले बताउने गरेका छन् ।

हालसम्म ४० देशका २ हजारभन्दा बढी कलाकारले जिन, भोड्का, बियर, वाइन, रमलगायत विभिन्न किसिमका मदिराका बोतल तथा क्यानमा अनेक कलाकृति बनाएका छन् । यो चलनले आर्ट र प्रोडक्ट (कला र उत्पादन) लाई एक ठाउँमा ल्याई उपभोक्तालाई नौलो अनुभूति दिने सेल्टनको भनाइ छ । अमेरिकी कलाकार लरेन्स एलिसले सन् २०१९ मा बनाएको एक डिजाइन लाभेन्डर र जुपिटर जिनका केही बोतलमा देखिन्छन् । यसले आफ्नो कला अनेक देशका अनेक घर र अनेकौं हातमा पुर्‍याएको एलिसले ‘अल्कोहल प्रोसेफर’ नामक ब्लगमा उल्लेख गरेकी छन् ।

मदिरा कम्पनीहरूसँग सहकार्यका लागि चित्रकला सिर्जना गर्ने चलनलाई कलेक्टिभ आर्ट्सले एकीकृत ढंगले अघि बढाइरहेको छ । यस्तो सहकार्यमा सीमित संख्याका उत्पादनमा मात्रै चित्रकला उपलब्ध हुन्छन् । शेर्पाका अनुसार संख्या सीमित गर्नुको कारण कलालाई एक्सक्लुसिभ (विशेष) बनाउन हो । जति पनि छाप्यो भने त्यसको महत्त्व नहुने उनको भनाइ छ ।

उहिले पिकासो र सेगलजस्ता विख्यात कलाकारले समेत सातो मुतोँ रथस्चाइल्ड (वाइन)को बोतलमा चित्र डिजाइन गरेको ‘अन्डर द इन्फ्लुएन्स : द आर्ट एन्ड अल्कोहल कनेक्सन’ नामक लेखमा भनिएको छ । सन् १९८५ मा कलाकार एन्डी वारहोलले एब्सोलुट भोड्काको बोतलमा ‘प्रोडक्ट अफ स्विडेन’ भनी डिजाइन बनाइदिएका थिए । त्यसको निकै चर्चा भएको थियो । सन् १९८५ देखि १९८८ को बीचमा भोड्काको बिक्री प्रतिवर्ष ४२ प्रतिशतले बढ्नुमा सोही डिजाइनलाई जस दिइन्छ । सन् १९९० मा वाल स्ट्रिट जर्नलले एब्सोलुटलाई अमेरिकाको ‘सर्वाधिक प्रख्यात आयात’ भनी लेखेको थियो ।

अमेरिका, बेलायत, इटाली, हङकङलगायत विभिन्न देशमा चित्रकला प्रदर्शनी गर्नुका साथै त्यहाँका विश्वविद्यालयहरूमा गेस्ट लेक्चररका रूपमा पुगेका समकालीन कलाकार शेर्पा पछिल्लो समय ठुल्ठूला कम्पनीले आर्टिस्टहरूसँग सहकार्य गर्ने क्रम बढेको पाउँछन् । कलाअंकित वस्तुको माने, मूल्य र महत्त्व बढ्ने हुँदा यसतर्फ कम्पनीहरूको चासो दिएको उनको बुझाइ छ । ‘यसले कलाकारलाई हौसला दिन्छ,’ उनले भने, ‘कला क्षेत्रको विकास हुने एउटा तरिका यो पनि हो । आजको युगमा कला र अर्थतन्त्र एक सिक्काका दुई पाटा हुन् । कुनै पनि देशमा कला फस्टाउन त्यहाँको अर्थतन्त्र मजबुत हुनैपर्छ ।’

मूर्तिकला र इन्स्टलेसन आर्टमा पनि संलग्न कलाकार शेर्पा पछिल्लो समय नेपालमा आम जनमानसमा चित्रकलासम्बन्धी सचेतना फैलिरहेको पाउँछन् । उनका अनुसार कलामा खर्च गर्ने मानिसको जमात बढ्दो छ । सन् १९९८ मा उनले नेपाल छाड्दा यहाँका रेस्टुरेन्ट, क्याफेहरूमा भारतीय र नेपाली अभिनेता/अभिनेत्रीको तस्बिर टाँस्ने चलन थियो । सन् २०१५ मा उनी फर्किंदा ती भित्तामा सानै भए पनि म्युरल (ग्राफिक आर्ट) कोरिएको देखेर उनी दंग परेका थिए ।

‘चित्रकलाबारे बोल्न वा चित्रकलालाई मानिसको जीवनमा जोड्न अहिले नेपालमा उचित समय छ,’ उनी भन्छन्, ‘यहाँ कला खरिद गर्ने र कलाको महत्त्व बुझ्ने क्रम बढ्दो छ । यसको हामीले सदुपयोग गर्नुपर्छ ।’ यही सोचले उनी सन् २०१५ यता स्वदेशमै छन् । यहीँ बसेर बनाइएका चित्रकलाहरू उनी न्युयोर्क, लन्डन र हङकङमा अनेक साखा रहेको रोसी एन्ड रोसी ग्यालरीमार्फत विश्वभर बिक्री–वितरण एवं प्रदर्शनी गर्छन् । उनले निकै लामो समय खर्चिएर बनाएको ‘हिमालयन स्पिरिट’ नामक चित्र २ लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार करिब साढे २ करोड रुपैयाँ) मा बिक्री भएको थियो ।

शेर्पा र उनका बुबा प्रसिद्ध थांका कलाकार उर्गेन दोर्जेले बनाएका दुई छुट्टाछुट्टै चित्र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको कमलादीस्थित कमलकुञ्ज निवासमा राखिएको छ । अन्तर्राष्ट्रिय चित्रकला क्षेत्रमा शेर्पा परिचित र निकै सम्मान आर्जन गरेका कलाकार हुन् । उनका चित्रको शैली परम्परागत थांकाको जस्तो देखिने भए तापनि तिनमा अभिव्यक्त भाव वा कथा समकालीन समाजबाट टिपिएका हुन्छन् । यस्तै भावको ‘टेल्स अफ म्युटेड स्पिरिट्स–डिस्पर्ड थ्रेड्स–ट्विस्टेड सांग्रि–ला’ शीर्षकमा शेर्पाका कलाकृति यस वर्षको भेनिस बिएन्नाले २०२२ मा प्रदर्शन गरिएका थिए ।

इटालीको भेनिसमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो चित्रकला प्रदर्शनी भेनिस बिएनाले सन् १८९५ देखि सुरु भएर अहिलेसम्म चलिरहेको छ । त्यसमा विश्वका रहेक देशले भाग लिने गरेका छन् । तर नेपालले भने प्रतिनिधित्व जनाउन सकेको थिएन । यसपालि पहिलो पटक नेपाली कलाकार शेर्पाका चित्रकला त्यहाँ प्रदर्शन भए । ‘अन्तर्राष्ट्रिय कला क्षेत्रमा नेपालको पहुँच बढिरहेको छ,’ शेर्पाले भने, ‘विदेशमा ख्याति कमाउन स्वदेशमै हामीलाई प्रोत्साहन हुनुपर्छ । चिनियाँ र भारतीय कलाकार विश्वभर लोकप्रिय हुनुमा उनीहरूलाई स्वदेशमा गरिने प्रोत्साहनले भूमिका खेलेको छ ।’ यस्ता प्रोत्साहन सरकारी र निजी स्तरबाट हुनुपर्ने उनले बताए । यती डिस्टिलरी जस्ता कर्पोरेट क्षेत्रले पहलकदमी चालेकोमा उनी आशावादी छन् ।

प्रकाशित : आश्विन १३, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?