कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
फिटनेसका कुरा

‘बिरामीलाई समय दिँदा आफ्नो स्वास्थ्यको ख्याल गरेको रहेनछु’

बुनु थारु

काठमाडौँ — डा. अनन्त श्रेष्ठलाई बिरामीको सेवामा लागिरहँदा आफू अस्वस्थ्य हुँदै गएको पत्तै भएन । ३५ वर्षको उमेरमा उनले नियमित रगत परीक्षण गर्दा कोलोस्ट्रल एकदमै उच्च र तौल पनि बढेको देखियो । तौल थियो ८० केजी । उनी एकछिन दौँडिदा पनि स्याँ-स्याँ हुने र छोरासित राम्ररी फुटबल पनि खेल्न सक्दैनथे ।

‘बिरामीलाई समय दिँदा आफ्नो स्वास्थ्यको ख्याल गरेको रहेनछु’

सन् २०१६ को अन्त्यतिर उनलाई आत्मबोध भयो कि अब त आफ्नो शरीरका लागि सोच्नैपर्छ । कलेजोरोग विशेषज्ञ डा. श्रेष्ठ भन्छन्‚‘म त कहाँ पुगेको रहेछु ! काममा ध्यान दिँदा आफैँलाई बिर्सिएको रहेछु । बिरामीलाई यो गर‚ त्यो नगर भनेर सल्लाह दिने म आफ्नो शरीर देखेर लाज पनि लाग्यो । त्यसपछि मैले आफ्नो र परिवारका लागि समय निकाल्छु भन्ने ठानेँ ।’ र उनी फिटनेस सेन्टर धाउन थाले । २ महिनापछि उनमा बिस्तारै परिवर्तन आउन थाल्यो ।

विद्यालयमा उनी मार्सल आर्ट्स खुब खेल्थे‚ जसले उनको शारीरिक तन्दुरुस्ती बढाएको थियो तर पछि पढाइ अनि कामले उनी व्यस्त रहन थाले । शारीरिक व्यायाम टुट्यो । तर‚ अहिले उनी आफूलाई समय दिन थालेका छन् । हप्तामा ५ दिन दैनिक व्यायाम गर्छन् । खानेकुरामा उत्तिकै ध्यान दिन थालेका छन् । प्रशोधित खाना र मैदा पटक्कै छुँदैनन् । कहिलेकाहीँ विकेन्डमा साथीहरूसँग र पारिवारिक जमघटमा डाइट टुट्ला तर अरु बेला भने उनी कडा रुपले फलो गर्छन् । बिहान ६ बजेसम्म उठिसक्ने उनी फ्रेस भएर सवा ६ बजेदेखि लगभग १ घण्टा ध्यान गर्छन् । ध्यानले आफूलाई तनावमुक्त र तनावसँग सहने शक्ति प्रदान गरेको डा. श्रेष्ठको बुझाइ छ । त्यसपछि उनी ब्रेकफास्ट खाएर पौने ९ बजेसम्म अस्पताल पुगिसक्छन् । ब्रेक फास्टमा उनी हल्का उमालेको हरियो सागसब्जी र अन्डाको सेतो भाग खान रुचाउँछन् । दिउँसो ३ बजे खाना खाने उनी प्राय: ३ बजेतिर रोटी, फलफूल तथा ओट्स वा गहुँको मोमो ६ वटा जति खान्छन् ।

उनी शारीरिक व्यायाम भने साँझ सुरु गर्छन् । हल्का केही खान्छन् र वर्कआउट सुरु गर्छन् । कोभिड देखिएपछि उनी जिम सेन्टर धाउन छाडे र अहिले घरमै जिमको सेटअप बनाएका छन् । ३ तल्ले घरको माथिल्लो तल्लामा उनको जिम सेटअप छ‚ जहाँ पहिले स्टोरेज रुम थियो । ‘बिहान ध्यानका लागि नै छुट्याएको छु साँझ समय मिल्छ वर्कआउट गर्न । कोभिडको बेला सबै बन्द भएपछि १ वर्षअघि वर्कआउट गर्ने सामान जोडेँ,’ उनले भने । उनीसँग ट्रेड मिल, मल्टी जिम मसिन, डम्बबेललगायत छन् । उनी ५ बजेतिर वर्कआउट सुरु गर्छन् । ट्रेड मिलमा ३० मिनेट कुद्छन् र २० मिनेट एब्सको वर्कआउट गर्छन् । हप्तादिनलाई ३-४ थरि व्यायाम उनले दिन बिराई-बिराई गर्छन्, जस्तै: खुट्टाको एक दिन त अर्को दिन छाती र ढाडको । गीत गाउन अनि गितार तथा ड्रम बजाउन मन पराउने उनी एक महिनायता साइक्लिङ पनि सुरु गरेका छन् । शनिबारको दिन उनी साथीहरूसित साइक्लिङ गइरहेका भेटिन्छन् ।

उनले आफ्नो तौलको टार्गेट ७३-७४ केजी राखेका छन् । कोभिड हुँदा उनी मोटाउन पुगे । उनी आफूलाई तन्दुरुस्त रहन प्रयासरत छन् । डा. श्रेष्ठले आफू स्वस्थ्य रहन तौल घटाउनुपर्छ भन्ने लाग्यो भने आँटिहाल्नुपर्ने सुझाउँछन् । भन्छन्‚ ‘मलाई लागिरहन्थ्यो; गर्नुपर्छ अब त भनेर तर नआँटी नहुने रहेछ ।’ व्यायाम सुरु गर्दा ३-४ दिन हातखुट्टा दुखेर निकै गाह्रो भएको अनुभव उनले सुनाए ।तर बिस्तारै अभ्यस्त र त्यही पीडामा मजा लाग्दै गयो उनलाई । मुस्कुराउँदै उनले भने‚ ‘व्यायाम गर्दा शरीरबाट केही केमिकल निस्कन्छ‚ जसलाई हामी एन्डरफिन भन्छौँ । व्यायाम गर्दा प्राकृतिक रुपमा त्यो निस्कन्छ र खुसी मिल्ने रहेछ ।’

व्यायामले शरीरको तौल घट्दै गएपछि दराजमा भएका उनका लुगा ठिक लाग्न छाडे । प्यान्ट कुनै पनि ठिक भएनन् ।‘एक किसिमले झ्याउ पनि लाग्यो । लुगा सबै काम नलाग्ने भयो तर सपिङ गरेर रमाइलो पनि भयो,’ उनले हाँस्दै भने । डा श्रेष्ठले ध्यानले मन एकाग्र र सहनशील बनाउन सहयोग गरेको अनुभव गरेका छन् भने व्यायामले शारीरिक स्फूर्ति । मेडिकल फिल्डमा २ दशक बिताइसकेका ४२ वर्षीय डा. श्रेष्ठलाई फिट भएपछि हरेक क्षण इन्जोय गरेको अनुभव हुन्छ । ‘दैनिक ४ किमि ५ दौडिँदा पनि हुन्छ वा साइक्लिङ गर्ने । व्यायामले शरीर हलुका बनाउँछ,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?