धरान : लाहुरेको सहर 

बेलायतले सन् २००४ देखि पूर्वगोर्खा र उनीहरुका सन्तानलाई आवासीय अधिकार दिएपछि भने धरानका हरेक गतिविधिमा उनीहरुको उपस्थिति घट्दै
प्रदीप मेन्याङ्बो

धरान — ब्रिटिस गोर्खा रेजिमेन्टमा ३८ वर्ष राइफल बोकेर विभिन्न युद्धमा परेर पनि बाँचेका झप्तमान पारघरी खजुम लिम्बू धरानका एक्ला गोर्खा मेजर हुन् । ८७ वर्ष पुगेका उनी ०१० सालमा भर्ती भएका थिए । त्यस बेला धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भइसकेको थिएन ।

धरान : लाहुरेको सहर 

ब्रिटिसले भारतको दार्जिलिङबाट गोर्खा भर्ती गराउँदै आएको थियो । जवान उमेरमा भर्ती भएर उच्च पदमा अवकाश पाएपछि लिम्बूले बसोबासका लागि धरान रोजे । ‘धरानमा पछि ब्रिटिस घोपा क्याम्प स्थापना भएपछि त्यहाँ पनि तीन वर्ष गोर्खा मेजरकै रूपमा काम गरें,’ उनी भन्छन्, ‘म पल्टन जाँदा गोरा अफिसरहरूलाई पनि तह लगाएर काममा लगाउन सक्ने एक मात्र वरिष्ठ गोर्खा मेजर थिए, रुकमान मेन्याङ्बो लिम्बू । उनको पालामा धेरै भर्ती भए ।’

०१६ सालमा धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भएपछि भर्ती हुनका लागि पूर्वका लिम्बू र राई समुदायको लस्कर लाग्न थाल्यो । रुकमानका पालामा एकै पटक २ हजारदेखि २ हजार ५ सयसम्म भर्ती गरिन्थ्यो । तिनै लाहुरेले १५ देखि २० वर्षमा अवकाश पाएर घर फर्किंदा धरानलाई बसोबासको थलो बनाए, झप्तमानले जस्तै ।

‘हामी भर्ती भएर तीन–तीन वर्षमा छुट्टी आउँदा यो धरान नगरपालिका त भनिन्थ्यो तर नगर जस्तो थिएन,’ मेजर झप्तमान भन्छन्, ‘भानुचोक, छाताचोक त पछि बनेका हुन् ।’ जब धरान र दार्जिलिङबाट अवकाश पाएर घर फर्किनेमध्ये १० प्रतिशत जतिले धरानमा जग्गा किनेर पक्की घर बनाए अनि सहरीकरणको रूपरेखा तयार भएको हो । धरानलाई लाहुरेहरूले ‘ट्रान्जिट’ बनाए । पहाड र मधेसको संगमस्थलमा रहेको धरानलाई गुलजार र व्यापारिक केन्द्र बनाउन पनि उनीहरूको योगदान छ ।

‘४० को दशकदेखि ब्रिटिस लाहुरेहरूले धरानलाई आवास क्षेत्र बनाएर बस्न थालेपछि व्यापक परिवर्तन आएको हो,’ विजयपुरवासी डा. राजेन्द्र शर्मा सम्झिन्छन् । ०५४ सालको स्थानीय चुनावपछि मेयर बनेका मनोजकुमार मेन्याङ्बोले जनसहभागितामा आधारित विकासको मोडल बनाएर सोही नीतिअनुसार सार्वजनिक सडक, ढल, सामुदायिक भवन, वडा कार्यालय, प्रहरी चौकी र खेल मैदान निर्माण गराए । फराकिलो सडक निर्माणका लागि उनले आफ्नो स्वामित्वको जग्गा काटेर जमिन दिए । सडक कालोपत्र गर्न आफ्नो भागमा परेको ५० हजारदेखि ५० लाख रुपैयाँसम्म दिए । त्यति मात्र नगरेर लाहुरेहरूले अरूलाई ठेक्का नदिई आफैं श्रमदान पनि गरे ।

तर बेलायत सरकारले सन् २००४ देखि पूर्वगोर्खा र उनीहरूका सन्तानलाई आवासीय अधिकार दिएपछि धरानका हरेक गतिविधिमा उनीहरूको उपस्थितिमा कमी देखिएको छ । दुई दशकअघिसम्म धरानमा ७ देखि १० हजार घरसंख्यामा ब्रिटिस लाहुरे रहेको अनुमान थियो । तर अहिले ७५ प्रतिशतभन्दा बढी ब्रिटिस लाहुरे बेलायत पलायन भएपछि उनीहरूले बनाएका पक्की घर मात्र छन् । ती घरमा उनीहरूका आफन्त बस्छन् ।

‘धरानमा जनसहभागितामा आधारित विकासको मोडल सफल बनाउनुमा ब्रिटिस गोर्खाहरूको योगदान अतुलनीय छ,’ पूर्वनगर प्रमुख मनोजकुमारले भने, ‘उनीहरूले धरानलाई आवास नबनाएका भए यति धेरै विकास हुँदैनथ्यो ।’ उनीहरूसँग क्रयशक्ति बढी भएको र मोलमोलाइ नगर्ने बानीले यहाँ अरूको व्यापार व्यवसाय पनि फस्टाउँदै गयो ।

जनसहभागितामा धरानको विकास निर्माण भइरहेका बेला नेपाल सरकारले शतप्रतिशत आर्थिक सहयोग गरेको भए आधुनिक बसपार्क, हवाई मैदान, सर्दु र सेउती करिडोर, खहरे तटबन्ध, विभिन्न मनोरञ्जन पार्क, अत्याधुनिक सपिङ कम्प्लेक्स, तरकारी बजार, कृषि बजार पहिल्यै बनिसक्थे । ‘नगरपालिकाको वार्षिक अढाई करोडको बजेटले नधान्दा लाहुरेहरूले नै धरानलाई धानेका थिए,’ मनोजकुमारले भने ।

अरूले व्यापार व्यवसाय गरेको देखेर लाहुरेहरूले सामूहिक साझेदारी र कम्पनीका रूपमा नेपालमै पहिलो पटक धरानदेखि काठमाडौंसम्मको लामो रुटको यातायात सञ्चालन सुरु गरे । लेफ्टिनेन्ट अकलबहादुर मेन्याङ्बोको पहलमा दोस्रो पुस्तालाई स्वदेशमै केही गराऔं भनेर यो पहल थालिएको थियो । अवकाश पाएर धरान बस्न थालेपछि ०२७ सालमा पूर्वाञ्चल मोटर यातायात प्रालिको निर्देशक भएर अकलबहादुरले अरू लाहुरेहरूलाई पनि यातायात व्यवसायमा तानेका थिए ।

धरानमा लाहुरेहरूकै लगानीमा लाहुर रम फ्याक्ट्री र दन्तकाली छाला जुत्ता उद्योग स्थापना भएका थिए । तर व्यवस्थापकीय कमजोरीले उनीहरूको करोडौं लगानीबाट सञ्चालित यातायात व्यवसाय र अन्य उद्योगले निरन्तरता पाउन सकेनन् । पहिले सुरु गरेका उद्योग व्यवसायको व्यवस्थापकीय कमीकमजोरीलाई ध्यानमा राखेर ६० को दशकमा धरानमा फेरि लाहुरेहरूले गोर्खा बचत तथा ऋण सहकारी, गोर्खा सपिङ कम्प्लेक्स, गोर्खा कम्युनिटी हल, १२ बिघा क्षेत्रफल भएको गोर्खा स्मृति पार्कलगायतमा करोडौं लगानी गरेका छन् ।

उनीहरूले ‘वन डे पे स्किम’ मार्फत स्थापित डिपो स्कुल, भूपू सैनिक भवन, पेन्सन पेइङको दुई बिघाभन्दा बढी जग्गालाई अहिलेको मूल्यमा रूपान्तरण गर्ने हो भने अर्बौं रुपैयाँ हुन्छ । उनीहरूले भावी पुस्ताका लागि यतिका लगानी गरे पनि सम्हालिदिने नयाँ पुस्ता विदेश जान नरोकिएपछि लाहुरेका पुराना पुस्ता चिन्तित छन् । ब्रिटिस गोर्खा लाहुरेहरूकै कारण ५० को दशकदेखि धरानको सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधि चलायमान भएको हो ।

‘बेलायतले गोर्खाहरूलाई आवासीय अधिकार दिएपछि उनीहरूको रोजाइ बेलायत नै हुन थालेकाले त्यसको असर भने धरानमा परेको छ,’ सहप्राध्यापक डा. शर्माले भने, ‘लाहुरेहरूले धरानलाई आधुनिक बनाए । उनीहरूले नै यसलाई पूर्वकै सुन्दर सहरका रूपमा सजाए । पर्यटकीय बनाए ।

अब स्थानीय सरकारले लाहुरेहरूले कायम गरेको धरानको सुन्दरतालाई निरन्तरता दिन जरुरी छ ।’ धरानलाई आर्थिक रूपमा चलायमान बनाउने धेरैजसो लाहुरे बेलायत पलायन भएपछि विकल्पमा कोरिया, मलेसिया र खाडी मुलुकतिर वैदेशिक रोजगारीमा जाने युवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनेहरूले धाने पनि चित्तबुझ्दो नभएको आर्थिक विश्लेषक कृष्ण अग्रवालको बुझाइ छ ।

‘तुलनात्मक अध्ययन गर्दा १० वर्षअघि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३२ सय अर्बको थियो । त्यसबेला धरान र यसको पेरिफेरिको योगदान वार्षिक ७५ अर्बको थियो,’ उनले भने, ‘अहिले नेपालको जीडीपी ४८ सय अर्ब रुपैयाँको भएको छ । तर धरानको भने मुस्किलले सय अर्ब मात्र पुगेको छ । हुनुपर्ने १ सय २० अर्ब आसपास हो ।’

यो सबै हुनुका कारण क्रयशक्ति भएका ब्रिटिस गोर्खा लाहुरे र उनीहरूका सन्तान बेलायत जानु नै यसको कारण रहेको अग्रवाल बताउँछन् । यद्यपि पछिल्लो समय व्यापारको ट्रेन्डमा केही परिवर्तन आएको, धरान आसपास ग्रामीण क्षेत्रमा कृषि उत्पादन बढेको र प्रतिष्ठानमा बिरामी र कुरुवासहित दैनिक पाँच–सात हजार सेवाग्राही उपचारका लागि बाहिरबाट आउने गरेकाले केही राहत भएको छ ।

प्रकाशित : आश्विन ८, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?