कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
पर्दा पछाडि

'प्राविधिक क्षेत्रमा महिलालाई पत्याइँदैन' [भिडियो]

रीना मोक्तान

काठमाडौँ — महिला पनि सिनेमाटोग्राफर ? ९ वर्षअघि सबनम मुखियाले फिल्म खिच्दा छायांकन हेर्न आउनेहरू अचम्म मान्दै प्रश्न गर्थे । क्रेन चढेर सट खिचिरहेकी सबनमलाई देखेर उनीहरू दंग पर्थे । त्यतिबेला प्राविधिक क्षेत्रमा महिलाहरूको सहभागिता निकै कम । महिलाहरूलाई प्राविधिक रुपमा कमैले पत्याउँथे । महिलाले पनि फिल्म खिच्न सक्छ र ? भन्ने समयमा सबनमले भने सिनेमाटोग्राफीमा आफ्नो करिअर देखिन् ।

'प्राविधिक क्षेत्रमा महिलालाई पत्याइँदैन' [भिडियो]

फिल्म 'झेली'मार्फत् सिनेमाटोग्राफीमा डेब्यू गरिन् । जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण कुन हो ? भनेर सोधे सबनम त्यही पहिलो फिल्म खिच्दाको खुसी बताउँछिन् ।

फोटोग्राफीको रहर कसरी सिनेमाटोग्राफीतिर मोडियो हेक्कै भएन । सिनेमाटोग्राफर बन्न सबनमले गरेको संघर्षको कथा पनि सानो छैन । ल्यान्डस्केप र पोट्रेट फोटो सबनमलाई एकदमै मनपर्ने । कक्षा ८ मा पढ्दा उनी आफूलाई मनपर्ने फोटोहरू संकलन गरेर कापीमा टाँस्थिन् । कापी फोटोको एल्बम बन्थ्यो । घरमा एउटा सानो कम्प्याक्ट क्यामेरा पनि थियो । तस्बिर खिच्नुपरे उनी तम्सिहाल्थिन् । त्यतिबेला कलर फोटो बैंककमा धुलाइन्थ्यो । सबनमकी आमा छोरीले खिचेका तस्बिर धुलाउन बैंकक नै पठाइदिन्थिन् । आफूले खिचेको तस्बिर बल्ल हातमा पर्दा खुसीले उफ्रिन्थिन् सबनम ।

घरमा फोटो खिच्दाखिच्दै एकदिन नेपाल टेलिभिजनको कार्यक्रम 'खेलखेलमा'मा स्टिल फोटोग्राफरका रुपमा फोटो खिच्ने अवसर पाइन् । सबनमले खिचेको तस्बिर राख्दै गोर्खापत्रले कार्यक्रमको विज्ञापन छाप्थ्यो, फलानो दिन प्रशारण हुने ! त्यतिबेला भने आफूले खिचेको फोटो लगनखेलको ल्याबमा धुलाउन दिन्थिन् । फोटो धुलाउन दिइसकेपछि फोटो कस्तो आउला भनेर रातभर निन्द्रा नपरेर छटपटेको समय हिजै जस्तो लाग्छ उनलाई। त्यसपछि उनी फिल्म 'धुर्व तारा'मा स्टिल फोटोग्राफर भइन् । फिल्ममा आफ्नो नाम हेर्न उनी कलंकीको हाइभिजन हलमा फिल्म सकिने समय कुरिरहन्थिन् । रहरै रहरले उनी सिनेमाटोग्राफीमा तानिइन् ।

२०६१ तिर हो सबनमले सिनेमाटोग्राफी पढ्ने सोचेको । त्यसबीच बिहे भयो, छोरी जन्मिन् । विद्युत् प्राधिकरणको जागिरे भइन् । फोटो खिचाइ प्राधिकरणभित्रै हुन्थ्यो । तर प्राधिकरणको जागिरमा उनलाई कहिल्यै सन्तुष्टि भएन । झुकाव फिल्मतिरै थियो । उनी सिनेमाटोग्राफीमै केही गर्न चाहन्थिन् । पुणे इन्स्टिच्युटमा सिनेमाटोग्राफी पढ्ने तयारीमा थिइन् । तर, पढाइका लागि स्नातक पूरा गर्नुपर्ने रहेछ । पाटन क्याम्पसमा स्नातक पढ्न थालेकी मात्रै के थिइन् फिल्म कलेज खुल्न लागेको विज्ञापन पत्रिकामा पढिन् । फिल्म सम्बन्धी कलेज ओस्कार आफ्नै लागि खोलेजस्तै भयो । नीर शाहलाई हत्त न पत्त भेट्न पुगिन् । फिल्म पढ्न वार्षिक शुल्क ५० हजार, सुन्ने बित्तिकै उनको सात्तो गयो । हुन त त्यतिबेला सबनम विद्युत् प्राधिकरणमा काम गर्थिन्, पैसा जोहो गर्न अप्ठ्यारो नहुनु पर्ने । तर, त्यही समयतिर घर बन्दै थियो, पैसा उतै सकियो । फिल्म पढ्न पैसा पुगेन । नीर शाहसँग छुट पनि मागिन्, तर मिलेन । निराश भएर घर फर्किन् । त्यसको केही दिनपछि फेरि विज्ञापन आयो, 'फिल्म पढ्न ५० प्रतिशत छुट' । त्यसपछि कलेज भर्ना भइन् । पढाइ छोडेको १६ वर्षपछि सबनमले फिल्म पढिन् । उनकी छोरी नै कक्षा ९ मा पढ्थिन् । सुरुवातमा परिवारमा दाइबाहेक अरुले खासैले फिल्म पढ्ने निर्णयमा साथ दिएनन् ।

सिनेमाटोग्राफी पढ्न सहज थिएन । घरको काम, छोरीलाई स्याहार्नैपर्ने । त्यसमाथि जागिरे । कक्षामा एनालग क्यामेराबारे पढाइन्थ्यो । कक्षामा सिनेमाटोग्राफी पढ्ने महिला २ जना मात्रै । दीपक ढकाल सरले उनीहरूलाई कहिले ट्रली धकाल्न लगाउँथे, कहिले लाइटहरू उठाउन लगाउँथे । रिफ्लेक्टरहरू समात्न पनि सिकाउँथे । एनालग क्यामेरा बोकेर दौडन लगाउँथे । थाकेर लखतरान हुँदा दीपक सर जिस्काउँथे,'के गर्छौ त दुखिया काम रोज्यौ ।'

प्राविधिक क्षेत्रमा धेरै खट्नु पर्ने हुन्छ । शारीरिक बल पनि धेरै खर्चिन्छ । ब्याडमिटन खेलाडी भएर होला सबनम फुर्तिली थिइन् । क्रेन पनि सजिलै चढिदिन्थिन् । क्रेनका लागि चाहिने २० किलोको ढक बोकिदिन्थिन्, सिनेमाटोग्राफर बन्नु जो थियो । त्यो अभ्यास डेब्यू फिल्ममै काम लाग्यो । 'झेली'को सुटिङको पहिलो दिन नै क्रेनबाट सट खिच्नु पर्‍यो । बानेश्वर चोकैमा फिल्मको सुटिङ भइरहेको थियो । ढक नपुगेर क्यामेराको फोकस पुलर मिलेन । सुटिङ हेर्न आउने दर्शकको भीड बढ्दै थियो । त्यसपछि सबनमले एउटा क्यारेक्टरलाई फलो गर्दै दुई सट एक बनाएर खिचिन् ।

त्यतिबेला महिलाहरू मेकअपतिर कि त हेयर ड्रेसरमा मात्रै हुन्थे । डेब्यू फिल्मको समाचारहरू आउन थालिछि आफू नै नेपालको पहिलो सिनेमाटोग्राफर भन्ने सबनमले चाल पाइन् । 'पहिलो र दोस्रो हुने त्यतिबेला सोच आएन । कसरी हुन्छ एउटा राम्रो सिनेमाटोग्राफर बन्नुपर्छ भन्ने जुनुन थियो, 'उनले भनिन्, 'तर मिडियाले पहिलो महिला छायाँकार भनेर समाचार लेखेपछि नै थाहा पाएँ । पहिलो पटक काम गर्दा त स्पटमा कसरी काम गर्ने, सट कसरी खिच्ने, युनिटका मानिसहरूसँग कसरी सहकार्य भन्ने कुरामै ध्यान हुन्थ्यो ।'

छायांकनस्थलमा आफ्नो सट दिइसकेपछि कलाकारले छुट्टी पाउँछन् । नृत्य र द्वन्द्व हुँदा निर्देशकले पनि फुर्सद पाउने भए । तर, सिनेमाटोग्राफर त सुटिङ सुरु भएदेखि र्‍यापअप नहुँदासम्म पनि खट्नुपर्ने हुन्छ । म्युजिक भिडियो खिच्दा त खाना/खाजा खानेबेला मात्रै फुर्सद हुने । सर्ट फिल्म 'इन्डलेस राइड' खिच्दा २४ घण्टासम्म पनि खटेकी थिइन् सबनम । प्राविधिक क्षेत्रमा धेरै खट्नुपर्ने हुँदा यो क्षेत्रमा अझै महिलाहरूको संख्या बढ्न नसकेको सबनम बताउँछिन् । 'खटाइ धेरै हुन्छ । सुटिङमा सबैले छुट्टी पाउनु हुन्छ । सुटिङमा क्यामेरा अन भएदेखि अफ नभएसम्म सिनेमाटोग्राफर बस्नु पर्‍यो । फिल्मको सुटिङ सेड्युल ४०/४५ दिनको हुन्छ, समय छुट्टाउनै पर्‍यो,' उनले भनिन्, 'शारीरिक क्षमताको चुनौती हुन्छ । फिल्म मेकिङ पनि बुझेको हुनुपर्‍यो । सट, कलर कम्बिनेसन बुझ्नुपर्‍यो । मलाई चुनौती लाग्ने कामहरू एकदमै मनपर्ने । त्यसैले मलाई सिनेमाटोग्राफी गर्दा आनन्द लाग्छ ।'

अन्तत: सिनेमाटोग्राफी चुनौतीपूर्ण रहे पनि महिलाहरू कम छैनन् भन्ने उदाहरण बनिन् सबनम । पछिल्लो समय थुप्रै महिला यस क्षेत्रमा बढ्दै छन् । सबनम आफूले रोजेको क्षेत्रमा महिलाहरूको संख्या बढ्दै जाँदा उत्साहित हुन्छिन् । 'सिनेमाटोग्राफीमा एकछिन पनि आराम गर्न नपाउँदा महिलाहरूलाई गाह्रो त हुन्छ, तर गर्न नसक्ने भन्ने नै होइन । महिलालाई अरुले सहयोग र विश्वास नगरिदिने मात्र हो । मौका दिए महिलाहरूले पनि आफूलाई सिनेमाटोग्राफीमा प्रमाणित गर्न सक्छन् ,'उनले सुनाइन्, 'अहिले त धेरै नयाँ बहिनीहरू सिनेमाटोग्राफीमा आउनु भएको छ ।'

एनालगमा भन्दा डिजिटलमा सिनेमाटोग्राफरलाई फिल्म खिच्न सहज हुने उनी बताउँछिन् । भन्छिन्,'एनालगमा रिटेक गर्नुपर्‍यो भने निर्देशकको अनुहार अँध्यारो हुने । निर्माता खङरङ्ग ! त्यतिबेला सिनेमाटोग्राफरलाई नै निर्देशकको आँखा भन्थे । तर, अहिले त डिजिटलमा जति टेक गर्दा पनि हुने भयो ।'

अझै पनि सबनमलाई फिल्म खिच्ने धोको पुगेको छैन । तर आँखामा समस्या आएपछि उनले फिल्म खिच्न छोडेकी छन् । निर्देशनतर्फ होमिएकी उनी पटकथा लेखनकै क्रममा आफूलाई चाहिने एंगल, सटहरू लेखेर सिनेमाटोग्राफीको प्यास मेट्छिन् । उनले निर्देशन गरेको 'टियर्स अफ फियर'ले किम्फमा जुरी अवार्डसमेत जित्यो । डकुमेन्ट्री 'अ वर्ल्ड लस्ट इन दि हेज अफ स्मोक', लघु फिल्म जभेनाइल, सलुट, लखपति माग्ने लगायतमा निर्देशक भएर काम गरिसकिन् । डेब्यू फिल्म 'झेली'सँगै उनले लघु फिल्म 'द लास्ट फिट', 'एन्डलेस राइड'लगायत आफूले निर्देशन गरेको फिल्महरूमा आफैं सिनेमाटोग्राफर भएर काम गरिन् । अहिले उनी 'द हिमालयन भिगन फिल्म फेस्टिभल'की जुरी पनि छिन् ।

प्रकाशित : आश्विन १, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?