'प्राविधिक क्षेत्रमा महिलालाई पत्याइँदैन' [भिडियो]- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पर्दा पछाडि

'प्राविधिक क्षेत्रमा महिलालाई पत्याइँदैन' [भिडियो]

रीना मोक्तान

काठमाडौँ — महिला पनि सिनेमाटोग्राफर ? ९ वर्षअघि सबनम मुखियाले फिल्म खिच्दा छायांकन हेर्न आउनेहरू अचम्म मान्दै प्रश्न गर्थे । क्रेन चढेर सट खिचिरहेकी सबनमलाई देखेर उनीहरू दंग पर्थे । त्यतिबेला प्राविधिक क्षेत्रमा महिलाहरूको सहभागिता निकै कम । महिलाहरूलाई प्राविधिक रुपमा कमैले पत्याउँथे । महिलाले पनि फिल्म खिच्न सक्छ र ? भन्ने समयमा सबनमले भने सिनेमाटोग्राफीमा आफ्नो करिअर देखिन् ।

फिल्म 'झेली'मार्फत् सिनेमाटोग्राफीमा डेब्यू गरिन् । जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण कुन हो ? भनेर सोधे सबनम त्यही पहिलो फिल्म खिच्दाको खुसी बताउँछिन् ।

फोटोग्राफीको रहर कसरी सिनेमाटोग्राफीतिर मोडियो हेक्कै भएन । सिनेमाटोग्राफर बन्न सबनमले गरेको संघर्षको कथा पनि सानो छैन । ल्यान्डस्केप र पोट्रेट फोटो सबनमलाई एकदमै मनपर्ने । कक्षा ८ मा पढ्दा उनी आफूलाई मनपर्ने फोटोहरू संकलन गरेर कापीमा टाँस्थिन् । कापी फोटोको एल्बम बन्थ्यो । घरमा एउटा सानो कम्प्याक्ट क्यामेरा पनि थियो । तस्बिर खिच्नुपरे उनी तम्सिहाल्थिन् । त्यतिबेला कलर फोटो बैंककमा धुलाइन्थ्यो । सबनमकी आमा छोरीले खिचेका तस्बिर धुलाउन बैंकक नै पठाइदिन्थिन् । आफूले खिचेको तस्बिर बल्ल हातमा पर्दा खुसीले उफ्रिन्थिन् सबनम ।

घरमा फोटो खिच्दाखिच्दै एकदिन नेपाल टेलिभिजनको कार्यक्रम 'खेलखेलमा'मा स्टिल फोटोग्राफरका रुपमा फोटो खिच्ने अवसर पाइन् । सबनमले खिचेको तस्बिर राख्दै गोर्खापत्रले कार्यक्रमको विज्ञापन छाप्थ्यो, फलानो दिन प्रशारण हुने ! त्यतिबेला भने आफूले खिचेको फोटो लगनखेलको ल्याबमा धुलाउन दिन्थिन् । फोटो धुलाउन दिइसकेपछि फोटो कस्तो आउला भनेर रातभर निन्द्रा नपरेर छटपटेको समय हिजै जस्तो लाग्छ उनलाई। त्यसपछि उनी फिल्म 'धुर्व तारा'मा स्टिल फोटोग्राफर भइन् । फिल्ममा आफ्नो नाम हेर्न उनी कलंकीको हाइभिजन हलमा फिल्म सकिने समय कुरिरहन्थिन् । रहरै रहरले उनी सिनेमाटोग्राफीमा तानिइन् ।

२०६१ तिर हो सबनमले सिनेमाटोग्राफी पढ्ने सोचेको । त्यसबीच बिहे भयो, छोरी जन्मिन् । विद्युत् प्राधिकरणको जागिरे भइन् । फोटो खिचाइ प्राधिकरणभित्रै हुन्थ्यो । तर प्राधिकरणको जागिरमा उनलाई कहिल्यै सन्तुष्टि भएन । झुकाव फिल्मतिरै थियो । उनी सिनेमाटोग्राफीमै केही गर्न चाहन्थिन् । पुणे इन्स्टिच्युटमा सिनेमाटोग्राफी पढ्ने तयारीमा थिइन् । तर, पढाइका लागि स्नातक पूरा गर्नुपर्ने रहेछ । पाटन क्याम्पसमा स्नातक पढ्न थालेकी मात्रै के थिइन् फिल्म कलेज खुल्न लागेको विज्ञापन पत्रिकामा पढिन् । फिल्म सम्बन्धी कलेज ओस्कार आफ्नै लागि खोलेजस्तै भयो । नीर शाहलाई हत्त न पत्त भेट्न पुगिन् । फिल्म पढ्न वार्षिक शुल्क ५० हजार, सुन्ने बित्तिकै उनको सात्तो गयो । हुन त त्यतिबेला सबनम विद्युत् प्राधिकरणमा काम गर्थिन्, पैसा जोहो गर्न अप्ठ्यारो नहुनु पर्ने । तर, त्यही समयतिर घर बन्दै थियो, पैसा उतै सकियो । फिल्म पढ्न पैसा पुगेन । नीर शाहसँग छुट पनि मागिन्, तर मिलेन । निराश भएर घर फर्किन् । त्यसको केही दिनपछि फेरि विज्ञापन आयो, 'फिल्म पढ्न ५० प्रतिशत छुट' । त्यसपछि कलेज भर्ना भइन् । पढाइ छोडेको १६ वर्षपछि सबनमले फिल्म पढिन् । उनकी छोरी नै कक्षा ९ मा पढ्थिन् । सुरुवातमा परिवारमा दाइबाहेक अरुले खासैले फिल्म पढ्ने निर्णयमा साथ दिएनन् ।

सिनेमाटोग्राफी पढ्न सहज थिएन । घरको काम, छोरीलाई स्याहार्नैपर्ने । त्यसमाथि जागिरे । कक्षामा एनालग क्यामेराबारे पढाइन्थ्यो । कक्षामा सिनेमाटोग्राफी पढ्ने महिला २ जना मात्रै । दीपक ढकाल सरले उनीहरूलाई कहिले ट्रली धकाल्न लगाउँथे, कहिले लाइटहरू उठाउन लगाउँथे । रिफ्लेक्टरहरू समात्न पनि सिकाउँथे । एनालग क्यामेरा बोकेर दौडन लगाउँथे । थाकेर लखतरान हुँदा दीपक सर जिस्काउँथे,'के गर्छौ त दुखिया काम रोज्यौ ।'

प्राविधिक क्षेत्रमा धेरै खट्नु पर्ने हुन्छ । शारीरिक बल पनि धेरै खर्चिन्छ । ब्याडमिटन खेलाडी भएर होला सबनम फुर्तिली थिइन् । क्रेन पनि सजिलै चढिदिन्थिन् । क्रेनका लागि चाहिने २० किलोको ढक बोकिदिन्थिन्, सिनेमाटोग्राफर बन्नु जो थियो । त्यो अभ्यास डेब्यू फिल्ममै काम लाग्यो । 'झेली'को सुटिङको पहिलो दिन नै क्रेनबाट सट खिच्नु पर्‍यो । बानेश्वर चोकैमा फिल्मको सुटिङ भइरहेको थियो । ढक नपुगेर क्यामेराको फोकस पुलर मिलेन । सुटिङ हेर्न आउने दर्शकको भीड बढ्दै थियो । त्यसपछि सबनमले एउटा क्यारेक्टरलाई फलो गर्दै दुई सट एक बनाएर खिचिन् ।

त्यतिबेला महिलाहरू मेकअपतिर कि त हेयर ड्रेसरमा मात्रै हुन्थे । डेब्यू फिल्मको समाचारहरू आउन थालिछि आफू नै नेपालको पहिलो सिनेमाटोग्राफर भन्ने सबनमले चाल पाइन् । 'पहिलो र दोस्रो हुने त्यतिबेला सोच आएन । कसरी हुन्छ एउटा राम्रो सिनेमाटोग्राफर बन्नुपर्छ भन्ने जुनुन थियो, 'उनले भनिन्, 'तर मिडियाले पहिलो महिला छायाँकार भनेर समाचार लेखेपछि नै थाहा पाएँ । पहिलो पटक काम गर्दा त स्पटमा कसरी काम गर्ने, सट कसरी खिच्ने, युनिटका मानिसहरूसँग कसरी सहकार्य भन्ने कुरामै ध्यान हुन्थ्यो ।'

छायांकनस्थलमा आफ्नो सट दिइसकेपछि कलाकारले छुट्टी पाउँछन् । नृत्य र द्वन्द्व हुँदा निर्देशकले पनि फुर्सद पाउने भए । तर, सिनेमाटोग्राफर त सुटिङ सुरु भएदेखि र्‍यापअप नहुँदासम्म पनि खट्नुपर्ने हुन्छ । म्युजिक भिडियो खिच्दा त खाना/खाजा खानेबेला मात्रै फुर्सद हुने । सर्ट फिल्म 'इन्डलेस राइड' खिच्दा २४ घण्टासम्म पनि खटेकी थिइन् सबनम । प्राविधिक क्षेत्रमा धेरै खट्नुपर्ने हुँदा यो क्षेत्रमा अझै महिलाहरूको संख्या बढ्न नसकेको सबनम बताउँछिन् । 'खटाइ धेरै हुन्छ । सुटिङमा सबैले छुट्टी पाउनु हुन्छ । सुटिङमा क्यामेरा अन भएदेखि अफ नभएसम्म सिनेमाटोग्राफर बस्नु पर्‍यो । फिल्मको सुटिङ सेड्युल ४०/४५ दिनको हुन्छ, समय छुट्टाउनै पर्‍यो,' उनले भनिन्, 'शारीरिक क्षमताको चुनौती हुन्छ । फिल्म मेकिङ पनि बुझेको हुनुपर्‍यो । सट, कलर कम्बिनेसन बुझ्नुपर्‍यो । मलाई चुनौती लाग्ने कामहरू एकदमै मनपर्ने । त्यसैले मलाई सिनेमाटोग्राफी गर्दा आनन्द लाग्छ ।'

अन्तत: सिनेमाटोग्राफी चुनौतीपूर्ण रहे पनि महिलाहरू कम छैनन् भन्ने उदाहरण बनिन् सबनम । पछिल्लो समय थुप्रै महिला यस क्षेत्रमा बढ्दै छन् । सबनम आफूले रोजेको क्षेत्रमा महिलाहरूको संख्या बढ्दै जाँदा उत्साहित हुन्छिन् । 'सिनेमाटोग्राफीमा एकछिन पनि आराम गर्न नपाउँदा महिलाहरूलाई गाह्रो त हुन्छ, तर गर्न नसक्ने भन्ने नै होइन । महिलालाई अरुले सहयोग र विश्वास नगरिदिने मात्र हो । मौका दिए महिलाहरूले पनि आफूलाई सिनेमाटोग्राफीमा प्रमाणित गर्न सक्छन् ,'उनले सुनाइन्, 'अहिले त धेरै नयाँ बहिनीहरू सिनेमाटोग्राफीमा आउनु भएको छ ।'

एनालगमा भन्दा डिजिटलमा सिनेमाटोग्राफरलाई फिल्म खिच्न सहज हुने उनी बताउँछिन् । भन्छिन्,'एनालगमा रिटेक गर्नुपर्‍यो भने निर्देशकको अनुहार अँध्यारो हुने । निर्माता खङरङ्ग ! त्यतिबेला सिनेमाटोग्राफरलाई नै निर्देशकको आँखा भन्थे । तर, अहिले त डिजिटलमा जति टेक गर्दा पनि हुने भयो ।'

अझै पनि सबनमलाई फिल्म खिच्ने धोको पुगेको छैन । तर आँखामा समस्या आएपछि उनले फिल्म खिच्न छोडेकी छन् । निर्देशनतर्फ होमिएकी उनी पटकथा लेखनकै क्रममा आफूलाई चाहिने एंगल, सटहरू लेखेर सिनेमाटोग्राफीको प्यास मेट्छिन् । उनले निर्देशन गरेको 'टियर्स अफ फियर'ले किम्फमा जुरी अवार्डसमेत जित्यो । डकुमेन्ट्री 'अ वर्ल्ड लस्ट इन दि हेज अफ स्मोक', लघु फिल्म जभेनाइल, सलुट, लखपति माग्ने लगायतमा निर्देशक भएर काम गरिसकिन् । डेब्यू फिल्म 'झेली'सँगै उनले लघु फिल्म 'द लास्ट फिट', 'एन्डलेस राइड'लगायत आफूले निर्देशन गरेको फिल्महरूमा आफैं सिनेमाटोग्राफर भएर काम गरिन् । अहिले उनी 'द हिमालयन भिगन फिल्म फेस्टिभल'की जुरी पनि छिन् ।

प्रकाशित : आश्विन १, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकता विधेयक कुनै बहानाबिना छिटो जारी गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए/गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले यो इतिहासले सुम्पिएको जिम्मेवारी हामीबाट कति पूरा भयो समीक्षा गर्ने बेला हो भने । 'जनताले कसरी हेरिरहेको छ त्यो हेर्न जरुरी छ । राजनीतिक विकृतिहरुका समाचार आइरहेको अवस्थामा आफैंलाई हेर्न जरुरी छ । यही संसद्‌बाट निर्वाचित सरकारले संसद्लाई दुई पटक विघटन गर्न पुगे । धन्न हामीले जोगाउन सफल भयौं', उनले भने ।

अध्यक्ष भट्टराईले न्यायपालिका कति खोक्रो भएको रहेछ भन्ने अहिलेको महाभियोग छानबिन समितिमा भइरहेको बयानका क्रममा सुनिएका कुराले थाहा हुन्छ भने । कतिपय काम नभएका होइन उपलब्धि भएका छन् तर जनअपेक्षाअनुसार काम हुन नसकेको उनले उल्लेख गरे ।

नागरिकता विधेयकका सम्बन्धमा दलीय आधारमा लम्बिनु नहुने धारणा व्यक्त गर्दै उनले नागरिकता विधेयक कुनै बहाना नगरीकन छिटो जारी गर्नुपर्ने बताए ।

उनले भने, 'यसअघि वैवाहिक अंगीकृत नागरिकता पनि दिएकै हो । महिलालाई संवैधानिकरुपमा विभेद गर्न मिल्दैन । आफ्नो बाबुको पहिचान नखुलेको अवस्थामा स्वघोषित आमाले भन्दा नागरिकता दिनुपर्छ ।'

संक्रमणकालीन दुई आयोगका विषय कुनै पार्टी विशेषको नभई समग्र शान्ति प्रक्रियाको हिस्सा भएको बताउँदै उनले यसलाई किन लम्ब्याएर राखियो भनी प्रश्न गरे । यसमा हजारौं पीडित जनताले न्याय पाउनु पर्दैन भन्दै उनले यो विस्तृत शान्ति सम्झौतापछि सबैको साझा समस्या हो भने ।

अध्यक्ष भट्टराईले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नक्सामा समावेश गरेर मात्र नहुने भन्दै नक्साअनुसार जमिन प्राप्त गर्न के काम भयो त्यो बारेमा सोच्न जरुरी रहेको बताए । संविधान जारी हुँदा आफूले भनेको आधा गिलासभरि आधा खाली भनेको विषयलाई पूरा गर्न त्यसलाई पूर्णता दिन अझै कार्य गर्न जरुरी रहेको उनले उल्लेख गरे ।

संवैधानिक आयोगलाई पनि पारदर्शी र प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले जनजीवनमाथि उकास्न कृषिमा क्रान्ति र अन्य धेरै काम गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन १, २०७९ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×