कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

‘पुनर्जन्म’ पाएका शान्तनु भन्छन्– ‘जीवन सुन्दर रहेछ’

बुनु थारु

काठमाडौँ — शान्तनु शर्मा आफूलाई भाग्यमानी ठान्छन् । भाग्यले साथ नदिँदो हो भने उनी अहिले आफ्नो कथा भन्न सक्ने थिएनन् । फेब्रुअरी २०, २०१६ यो दिन उनी चाहेर पनि भुल्न सक्दैनन् । तर, त्यो दिनलाई वास्ता गर्न भने छाडेका छन् । राति करिब साढे ८ बजेको समय थियो । परिवारका सदस्यहरु किचेनमा खाना खाइरहेका थिए । उनले घरको साढे ३ तलाबाट हाम फाले । तुरुन्तै घरका सदस्यहरु बाहिर आए ।

‘पुनर्जन्म’ पाएका शान्तनु भन्छन्– ‘जीवन सुन्दर रहेछ’

शान्तनुका बुवाले ‘के गरिस् यस्तो मेरो बाबु’ भन्दै चिच्याउँदै, रुँदै उठाउन खोजेको उनी थोरै सम्झिन्छन् । तुरुन्त उनलाई नर्भिक अस्पतालको इमरजेन्सीमा लगियो ।

‘सायद भाग्यको लेखा थियो । आफूले बोकेको पीडाबाट मुक्त हुन्छु भनेर त्यस्तो निर्णय लिएको थिएँ । तर जीवनले फेरि मौका दियो । म चमत्कारिक रुपले बाँचे,’ उनले त्यो कहालीलाग्दो दिनको स्मरण गरे ।

पुरानो बानेश्वरका २७ वर्षीय शान्तनु ९ वर्षको उमेरदेखि नै अमेरिका बसेर पढ्ने मौका पाए । उनी सानैदेखि फुटबल खेल्न मन पराउँथे । भविष्यमा फुटबल खेलाडी बन्ने सपना थियो उनको । तर, खेल्दा उनको खुट्टामा समस्या आइराख्थ्यो । पटक–पटक चोट लागिरहन्थ्यो । खुट्टाको शल्यक्रिया गर्दा निको भएपछि खेल्न थाल्दा फेरि दुख्न थाल्थ्यो । तैपनि आफूलाई ढाडस दिँदै २० वर्षसम्म खेल्न प्रयासरत रहे ।

सोचेजस्तो भने भएन । २० वर्षको उमेरमा कलेजमा फिटनेस चेक गर्दा उनी टिमबाट निकालिए । फुटबल र पढाइमा मन लगाउने शान्तनुको जीवन त्यसपछि पुरै बदलियो । उनी निराश हुन थाले । त्यति मिहिनेत र समर्पित हुँदा पनि सफल नभएकोमा उनी दुःखी रहन थाले । क्रमशः उनको मुड सधैं डाउन हुन थाल्यो । उनले आफूलाई सम्हाल्दै २ हप्ताजति कलेजमा क्लास लिए । विस्तारै उनमा टाउको दुख्ने, भिडभाड देख्दा रिस उठ्ने हुन थाल्यो ।

‘टिमबाट निकालिएपछि हर्टब्रेक त भइहाल्छ नै । इमोसन्नली र मेन्टली ब्रेकडाउन भइसकेको थिएँ । मेरो सपना र यात्रा सकिएझैं महसुस भएको थियो,’ उनले आफ्नो अवस्था व्याख्या गरे ।

उनी त्यसपछि अमेरिका बस्न सकेनन् र २०१५ मा ब्याचलरको सेमेस्टर ब्रेकमा नेपाल फर्किए । त्यतिन्जेलसम्म उनमा फुटबलको मोह हराइसकेको थियो । जीवनप्रति नै नकारात्मक हुन थालेका थिए उनी । नेपालमा आएर मनोसामाजिक परामर्श लिए, औषधि खाए तर ठीक भएनन् । भन्छन्– ‘डिप्रेसन बढ्दै गयो । भित्रैबाट खुसी हुन सक्दिनथें । जिन्दगी अन्धकार र घुटन महसुस हुन्थ्यो । एक–एक सेकेन्ड नै बाच्न गाह्रो हुन्थ्यो ।’ उनमा ‘सुसाइडल थट्स’हरु आउँथ्यो तर फेरि सम्हालिन्थे ।

हिम्मत गरेर पढाइ पूरा गर्नका लागि उनी पुनः अमेरिका गए । तर उनले पढाइलाई निरन्तरता दिन सकेनन् । साइक्याट्रिक वार्डमा पनि बसे । त्यसले पनि अवस्थामा सुधार आउन सकेन । ६ महिनाजति बसेपछि उनको अवस्था देखेर कलेजले घर फर्काइदियो । उनले नेपाल फर्किएको भोलिपल्टै आत्महत्या प्रयास गरे ।

६ वर्ष अघिको त्यो मानसिक र शारीरिक पीडा सम्झिँदा उनलाई अनौठो लाग्छ । हाम फालेर गम्भीर घाइते भएका उनलाई स्पनाइलकर्ड इन्जुरी भयो । उनी पूर्णरुपमा शारीरिकरुपमा निको हुन ६ महिना लाग्यो । उपचारको क्रममा विभिन्न थरी औषधिले उनको तौल बढ्दै गएको थियो । त्यसले पुनः डिप्रेसनको लक्षण देखिने हुन्थ्यो । तर उनी आफ्नो गल्ती महसुस गरिसकेका थिए । उनी सम्झिन्छन्– ‘त्यो शारीरिक पीडा अधिक थियो । म होसमा आएपछि परिवारको अनुहार हेर्दा के गरेछु भन्ने लाग्यो । एकदम रोएको थिएँ ।’

अब शान्तनु दुःखी हुँदैनन्, भलै उनी हिँड्न सक्दैनन् । हृवीलचेयरको सहारामा बाँचेका छन् । सुरु–सुरुमा उनलाई आफ्नो अवस्थालाई स्वीकार्न गाह्रो नभएको होइन तर उनले यो जीवनलाई पुनः खेर जान नदिने प्रण गरेका छन् । उनी अब आफूले जस्तै अरु व्यक्तिले त्यस्तो कदम नलिउन् भन्ने चाहन्छन् र आफ्नो कथाहरु विभिन्न फोरममार्फत सुनाउँछन् । आफूलाई ‘मेन्टल हेल्थ रेस्पोन्डर’ को रुपमा चिनाउँछन् उनी । आत्महत्या रोकथामसम्बन्धी जति धेरै जनचेतना जगाउन सक्यो नै त्यति नै मानसिक अवस्थाबाट गुज्रिरहेकालाई राहत मिल्ने उनको बुझाइ छ ।

साथै उनी सामाजिक सञ्जालमा विभिन्न प्रेरणादायी भिडियोहरु पनि बनाउँछन् । त्यसैगरी कविता तथा लेख पनि लेख्ने गरेका छन् । उनमा यो सकारात्मक परिवर्तन लकडाउनले ल्याइदिएको हो । उनले यस अवधिमा जीवनबोध गर्न सिके । भन्छन्– ‘आर्ट अफ लिभिङसँग जाेडिएकाे छु । मैले योग तथा ध्यान गर्न थालेँ जसले मलाई धेरै परिवर्तन गरायो । शारीरिक र मानसिक रुपमा माथि आउन सकेँ।’

उनी विगतमा जेजस्तो भएपनि अगाडि बढ्न सकिन्छ भन्ने स्वीकार्न थालेका छन् । उनले आफूले गरेको गल्तीलाई ‘राम्रो’ हुनका लागि भयो भनेर अर्थ्याएका छन् । ‘सबैको जीवनको फरक-फरक यात्रा हुन्छ, तर ती सबै आफैंमा सुन्दर हुन्छन् । जीवन हेर्ने दृष्टिकोण बदलिनुपर्ने रहेछ । विगतलाई कोट्यायो भने दुःखमात्र हुन्छ । जीवनलाई गहिराइमा पुगेर बुझ्ने मौका पाएँ । जीवन भनेको परिवर्तन हुँदै जाने यात्रा रहेछ । अनमोल अनि सुन्दर रहेछ जीवन । जीवनको हरेक क्षणमा नयाँ कुरा सिक्न पाइरहेको छु,’ उनले भने ।

प्रकाशित : आश्विन ३, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?