कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
डा. जागेश्वर गौतमसँग उपचार अनुभव 

'बिरामी निको भएर नमस्कार गर्दा कम्ती खुसी हुँदैन'

‘म त स्वास्थ्यले साथ दिए ७० वर्षसम्म काम गर्छु होला । बिरामीकै सेवामा रमाउने मान्छे मलाई अल्छी लाग्दैन’
बुनु थारु

काठमाडौँ — यही साउनमा ६० लागे प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम । अहिले पनि उत्तिकै सक्रिय र फिट छन् । जोश र जाँगरमा कुनै परिवर्तन आएको छैन । इमर्जेन्सीबाहेक दैनिक २ देखि ४ वटा शल्यक्रिया गर्दै आइरहेका छन् । सरकारी सेवामा २७ वर्ष बिताएका उनले यही वर्ष अवकासप्राप्त गरे र हाल फुलटाइम चिकित्सा पेसामा आबद्ध छन् ।

'बिरामी निको भएर नमस्कार गर्दा कम्ती खुसी हुँदैन'

बिहान साढे ५ सम्ममा उठिसक्ने उनी ब्रेकफास्ट खाएर ८ बजे ओम अस्पताल आइसक्छन् र साँझ ६ बजे घर फर्किन्छन् । भन्छन्–‘म त स्वास्थ्यले साथ दिए ७० वर्षसम्म काम गर्छु होला । बिरामीकै सेवामा रमाउने मान्छे मलाई अल्छी लाग्दैन ।’ शनिबारको दिन ओपीडी नहुँदा उनी घरपरिवारसँग रमाउँछन् । केही काम दिइएन भने एकदम छटपटी हुने उनले सुनाए । उनका अनुसार अहिले सरकारी जिम्मेवारी नभएकाले पनि सहज भएको छ । उनलाई आफू प्रशासनिकभन्दा पनि चिकित्सा पेसामा नै बढी उपयुक्त रहने व्यक्ति ठान्छन् । ‘प्रशासनिक कामलाई त्यति इच्छुक मान्छे होइन तर मलाई सरकारले जहाँ खटाए पनि कुशलतापूर्वक काम गरें तर बिरामीको उपचारको लागि नै ठीक मान्छे हो जस्तो लाग्छ,’ उनले भने ।

उनी आफू नथाक्ने व्यक्तिको रुपमा चिनाउँछन् । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहँदा पनि बचेको समयमा बिरामीको सेवामा लागे । बिहानै ६ बजे शल्यक्रिया गर्न अस्पताल पुग्थे, कहिले त ३ वटासम्म भए । ४ बजे पनि अस्पताल पुगेका छन् उनी । उनी प्रवक्ता रहँदा कोभिड महामारी थियो, शल्यक्रिया सिध्याएर साढे ८ बजेसम्म मन्त्रालय आइपुग्थे । उनी भन्छन्–‘कामको प्रेरणा म आफैंबाट लिन्छु । त्यतिबेलाको कामको निकै धपेडी हुन्थ्यो तर पनि बिरामीको सेवामा खटिएको छु । लगनशीलता छ भने बाधाले छेक्दैन ।'

उनलाई सबैभन्दा सन्तुष्टि मिल्ने क्षण बिरामीको खुसी हो । बिरामीको खुसीले नै काम गरिराख्न उर्जा र उत्साह पलाइराख्ने उनको बुझाइ छ । उनले मुस्कुराउँदै सुनाए–‘आज शल्यक्रिया गरेको बिरामी भोलि बिहान बेडमा बसेर सुप खाइरहेको हुन्छ । केही दिनमा डिस्चार्ज हुन्छ । निको भएर नमस्कार गर्दा कम्ती खुसी हुँदैन ।’

पर्वतको सामान्य किसान परिवारमा हुर्केका उनलाई आफ्नै गाउँघरमा कोही डेलिभरी हुन नसकेर बितेको, पाठेघरको समस्याले सताएको दृश्य देखिरहन्थे । मनमा चिसो पस्थ्यो । डा गौतम त्यतिबेला भर्खर एमबीबीएस सकाएर घुम्नका लागि जुम्ला पुगेका थिए । एक १६ वर्षीया किशोरीको व्यथा लागेर मुगुबाट जुम्ला फर्किँदै गर्दा बाटोमै मृत्यु भयो । आमा बिरामी हुँदा चिकित्सक बन्छु भन्ने सपना पालेका उनलाई त्यो किशोरीको घटनाले नै स्त्रीरोग विशेषज्ञ बन्ने प्रेरणा दियो ।

हालसम्म ४० हजारभन्दा बढी प्रसूतिसम्बन्धी शल्यक्रिया गरिसकेका उनले यी यात्रामा विभिन्न रोचक पात्रहरु भेटाएका छन् जुन उनको मानसपाटलमा घुमिरहन्छ । चाबहिलस्थित ओम अस्पतालमा २ वर्षअघि एक महिलालाई पाठेघर फुटेको अवस्थामा ल्याइएको थियो । उनको यसअघि दुई जना बच्चाहरु थिए । तेस्रो बच्चाको बेला भने केही जटिलता देखिए । पाठघेर फुटेको थियो । डा गौतमले तुरुन्त शल्यक्रिया गरे । बच्चा र आमा दुवैको स्वास्थ्यस्थिति केही हुन पाएन । डा गौतम खुसी हुँदै सुनाउँछन्–‘धन्यवाद त कति पटक भन्नुभयो नि ! मेरो जन्मदिनमा पनि थुप्रै गिफ्टहरु लिएर आउनुभएको थियो ।’ उनलाई ती महिलाले प्यान्ट, कमिज, बेल्ट र घडी ल्याइदिएकी रहिछन् ।

संयोगवश अन्तर्वार्ताको समयमा डा गौतमले सोही सर्ट र प्यान्ट लगाएका थिए । उनले आफ्नो लुगा हेर्दै केही कुरा स्मरण गरे र भने–‘यही त बिरामीले दिने खुसी रहेछ । उनीहरुले मायाले ल्याएका चिज सहर्ष स्वीकार्छु । जस्तोसुकै गुणस्तरको किन नहोस् सिलाएर लगाउँछु । गिफ्ट रहँदा उनीहरुको सम्झना हुन्छ । उनीहरुको हार्दिकतालाई सम्मान गर्छु ।’ उनले उपचार गरेका बिरामीहरु कसैले घिउ, गुन्द्रुक, फलफूल लिएर भेट्न आएका हुन्छन् । उनले उपचार गरेका नवलपरासीकी एक महिला त विगत २२ वर्षदेखि आँप फल्ने सिजनमा डा गौतमलाई भेट्न आइराख्छिन् ।

उनी कहाँ आउने बिरामीलाई उनले सकेसम्म खुसी बनाएर पठाउने गर्छन् । ती खुसीका कथाहरु उनीसँग हजारौं छन् । २०५७ सालमा उनी चितवनमा काम गर्थे । एक महिलाको १२ पटक गर्भपतन भएको रहेछ । त्यसैको उपचारमा ५ बिघा खेत सिद्धिएर १० कठ्ठामा सीमित भएको रहेछ । उनले त्यो घटना सम्झँदै भन्छन्–‘धेरै ठाउँमा हार खाएर मेरोमा आउनुभएको रहेछ । पाठेघरमा समस्या थियो । उनी गर्भवती भएपछि पाठेघरको मुखमा टाँका लगाइदिएँ । उनको शल्यक्रिया गरेर बच्चा निकालियो ।

जिउँदो बच्चा दिएर पठाउँदा खुसी भएँ।’ उनले चितवनकै अर्को घटना सम्झिए । चितवनको भरतपुर अस्पतालमा ५५ वर्षीया महिला पाठेघर खसेको उपचारका लागि आएकी थिइन् । उनको पाठेघर घुँडासम्म झरेको थियो जुन भलिबल जत्रो थियो । डा गौतमले ती महिलाको घटना सुनाउँदै भने–‘६ महिनासम्म उभिनसकेकी रहेनछिन् । घाउ भएको थियो । उनको एक हप्तापछि शल्यक्रिया गरियो । निको भइन् ।’ उनलाई ४ दिनपछि नै डिस्चार्ज गरियो। ‘डाक्टरसाब म त अहिले भंगेराजस्तै भएको छु । हिँड्नमात्र होइन उड्न पनि सक्छु होला’ बिरामीको यो शब्द अहिले पनि डा गौतमको मनमा गुन्जिरहन्छ र आह्लादित बनाउँछ ।

बिरामीलाई उपचार गरेर उनीहरुको खुसी नै चिकित्सकको ठूलो सफलता हो भन्ने लाग्छ उनलाई । त्यसैले त बिरामी पनि उनको सेवाप्रति कृतज्ञ रहन्छन् । केही समयअघि ओम अस्पतालमा भक्तपुरमा बस्ने एक गर्भवती महिलालाई पेटमा पानी धेरै भएपछि उठ्न बस्न नै गाह्रो बनाएको अवस्थामा आएकी थिइन् । उनको गर्भमा जुम्ल्याहा बच्चा थियो ।

धेरै चिकित्सकहरुले बच्चा काम लाग्दैन फाल्नुपर्छ भनेर भनेका रहेछन् । ‘त्यो चमत्कार नै भयो । दुवै बच्चा जन्मिए । त्यो केशले मलाई निकै रोमान्चित बनाउँछ,’ उनले प्रफुल्ल हुँदै सुनाए । केही दिनअघि मात्र ती महिला दुवै बच्चा बोकेर डा गौतमसँग फोटो खिचाउनकै लागि आएकी थिइन् । दुवै हातमा बच्चा बोकेको फोटो डा गौतमले फेसबुकमा पनि पोस्ट गरेका छन् ।

डा गौतम पहिलेभन्दा अहिले महिला स्वास्थ्यमा सुधार हुँदै गएको देख्छन् । उनका अनुसार विकट जिल्लाको सरकरी अस्पतालमा पनि प्रसूतिसम्बन्धी शल्यक्रिया हुन थालेका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रमको अवधारणा ल्याउनमा पनि सहयोग गरेका डा गौतमले यो सुविधा सबै जिल्लामा विस्तार गर्नुपर्ने राय राख्छन् । भन्छन्–‘हाल २६ जिल्लामा मात्र छ जुन सबै जिल्लामा गर्नुपर्छ । जहाँ एम्बुलेन्स जान्छ त्यहाँ एम्बुलेन्स लाने र नजाने ठाउँमा हेलिकप्टर प्रयोग गर्नुपर्छ ।’

प्रकाशित : भाद्र २६, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?