१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
पर्दा पछाडि

'मलाई काठमाडौंका गल्ली र भित्ताले चिन्छन्' [भिडियो]

'सबैले माया गरेर काम लगाउँथे । दाम चाहिँदा दु:ख दिन्थे । अहिले भुवन केसी विकास बोर्डको अध्यक्ष हुनुहुन्छ । उहाँले पनि कति फिल्मबाट पैसा दिनु भएको छैन । हिसाब गर्दा १०/१५ लाख होला उठाउन ।'
रीना मोक्तान

काठमाडौँ — कुनैबेला काठमाडौंका गल्ली अनि खम्बाहरुले पनि चिन्थे राजेश सिंहलाई । जब काठमाडौं सुनसान हुन्थ्यो, तब उनी माड र पोस्टर लिएर ती भित्ताहरू पुग्थे । रातभरमै गल्ली अनि खम्बाहरू फिल्मका पोस्टरले सजिन्थे । ती भित्ताहरूले पनि 'आज मलाई डिस्टर्ब नगर, बल्ल कोलाहलबाट मुक्त भएँ' भने झैं लाग्थ्यो ।

'मलाई काठमाडौंका गल्ली र भित्ताले चिन्छन्' [भिडियो]

वर्षौं फिल्मका पोस्टर टाँस्ने काम गरेका राजेशसँगै पोस्टरको जमाना हराउँदै गयो । पोस्टर हराएसँगै राजेशको पेसा पनि हरायो । अहिले फाट्टफुट्ट भित्ताहरूमा फिल्मका पोस्टर देखिन्छन्, डिजिटल भित्ताहरूको दाँजोमा कम । झन्डै १२/१३ वर्ष भयो, काठमाडौंका भित्ता अनि गल्लीहरूमा त्यतिबेलाका झैं पोस्टर देखिन छाडेको । राजेशलाई लाग्छ, महानगरपालिकाको कडाई अनि डिजिटल प्रविधिको फड्कोले पोस्टरको जमाना सकियो ।

सम्भु प्रधानको 'स्वर्ग'को पोस्टर टाँस्दै राजेशले यो काम सुरु गरे । खासमा उनी गायक बन्न चाहन्थे । त्यही सपनाले काठमाडौं प्रवेश गरायो, अनि सम्भु प्रधानको घरसम्म डोर्‍यायो । सम्भुकै घरमा काम गर्दै पोस्टरको कामतिर लागे । त्यतिबेला पुतली सडकका एक जना बाजेले पोस्टर टाँस्ने गर्थे । सम्भुले नै राजेशलाई उक्त वृद्धालाई सघाउन पठाएपछि उनी पोस्टरतिर आकर्षित भए । पहिलो पटक नक्सालको भाटभटेनीतिर पोस्टर टाँस्दाको क्षण अझै राजेश सम्झन्छन् । 'बाजेले पोस्टरमा माड लगाइदिएर पोस्टर टाँसेर आउ भन्नुभयो । म भित्तामा यसो टाँसेर आउँदा उहाँ बेस्सरी हाँस्नुभयो, 'राजेशले सम्झे,'किन त्यसरी हाँस्नुभयो भनेर सोच्दा, उहाँले पछाडि हेर्न लगाउनु भयो । मैले लगाएको पोस्टर त भुइँमा खसिसकेछ । बाजेले नै मलाई केटाहरू जम्मा गरेर ठेक्कामा पोस्टर टाँस्न थाल, ढेबा आउँछ भन्नुभएको थियो ।'

ती वृद्धालाई सघाउँदा सघाउँदै राजेशले पोस्टर टाँस्नेहरूका दु:ख पनि देखे । पोस्टर सजिलै टाँस्न पाइँदैन थियो, लुकीलुकी काम गर्नुपर्ने रहेछ । नगरपालिकाले भेटे माड र पोस्टर उठाएर लगिदिन्थ्यो । राजेशले त्यतिञ्जेल जानिसकेका थिए पोस्टर टाँस्ने काम रातभरमा फत्ते गर्नुपर्छ । सम्भु प्रधानका अधिकांश फिल्मका पोस्टरको काम राजेशले नै गरे । त्यसपछि किशोर राणा र अशोक शर्माका फिल्मका काम पाए । विस्तारै राजेशले पोस्टर टाँस्ने आफ्नो समुह नै बनाए । उनको टिमले काठमाडौंलाई २ रातमै झिलिमिली बनाइदिन्थे ।

२०/२५ जना युवाको टोली पोस्टरको कामका लागि खट्थे । उनीहरू बिहानदेखि नै माड बनाउने, पोस्टर मिलाउने, धागो काट्ने गर्थे । रातको ९/१० बजेसम्म खाना खाइसकेपछि टोली पोस्टर टाँस्न छरिन्थ्यो । 'काठमाडौंको छहलपहल कम भइसकेपछि फरक-फरक रुटका लागि केटाहरूलाई बाँडिदिन्थें । त्यसपछि कलंकी, बसपार्क, चावहिल, कोटेश्वर र ललितपुरतिर कोही साइकल अनि गाडीमा पुग्थ्यौं,'राजेशले सुनाए,'२ वटा गाडी रिङ्गरोड मात्र घुम्थ्यो । एउटा गाडीले पोस्टर र माड चोक-चोकमा छोडेर हिँड्थ्यो । मोबाइलको जमाना थिएन । काम सकेको भोलिपल्ट आफ्नो फौजलाई खर्च दिइहाल्थें ।'

राजेशको टिमले बुधबार र बिहीबारसम्म लगभग हजार पोस्टर टाँसिसक्नु पर्थ्यो । शुक्रबार त फिल्म प्रदर्शनमा आउँथ्यो । रातभर टाँसेको पोस्टर हेर्न २ वटा गाडी भोलिपल्ट उपत्यका घुम्थे । निर्माता पनि भोलिपल्टै आफ्नो फिल्मको पोस्टर हेर्न निस्कन्थे । २/३ वटा फिल्मको प्रदर्शन एकै दिन भए राजेशलाई पोस्टर मिलाउन गाह्रो पर्थ्यो । सबै फिल्मको पोस्टर बराबर लगाउनै पर्‍यो । घटिबढी भइहाले गाली सुन्नु पर्थ्यो । पोस्टरको काम सकेपछि राजेश विश्वज्योति पुग्थे । त्यतिबेला विश्वज्योति फिल्मकर्मीहरूको जमघट हुने हब नै बनिसकेको थियो । त्यहीँ उनले फिल्मकर्मीलाई भेट्थे, प्रदर्शनमा आउने फिल्महरूको काम पाउँथे ।

राजेशले पोस्टरको काममा आफूलाई यति व्यस्त बनाएका थिए कि सबैको रोजाइमा उनी पर्थे । तुलसी घिमिरे पनि उनलाई खोज्दै आइपुग्थे । विश्वज्योतिका सञ्चालक मोहन सराफले दुईको भेट गराइदिए । 'दर्पण छायाँ'ले झापामा ५१ दिन मनाइसकेपछि काठमाडौंमा प्रदर्शन गर्ने तय भएको थियो । त्यतिबेला अशोक शर्मासँग मिलेर काठमाडौंमा होर्डिङ बोर्ड लगाउन राजेशले जानिसकेका थिए । तुलसी त्यस्तै ठूल्ठूला होर्डिङ बोर्ड लगाउन चाहन्थे । राजेशले 'दर्पण छायाँ'का पोस्टरले काठमाडौंको रंगिबिरंगी बनाइदिए । पारिश्रमिक पाए, एक लाख । फिल्मले काठमाडौंमा ५१ दिन मनायो ।

राजेशले पोस्टर टाँसेको 'ठूल्दाई'ले सय दिन मनायो । 'दर्पण छाया', 'जे भो राम्रै भो', 'आफ्नो मान्छे', 'कोहीनुर', 'चपलीहाइट'लगायत फिल्महरूका काम गरिसकेका राजेशसँग आफूले कति फिल्ममा काम गरे भन्ने हिसाब छैन । भन्छन्,'मैले पूरा इन्डस्ट्रीको पोस्टर टाँसेको छु । २०/२२ वर्ष लगातार फिल्मको पोस्टर मात्रै टाँसें ।' पोस्टरको कामले राजेशलाई वर्षौं व्यस्त बनायो । २/३ वटा फिल्म एकसाथ प्रदर्शनमा आउँदा भ्याइनभ्याइ हुन्थ्यो । 'खाली भित्ता त देख्नै हुन्थेन, पोस्टर टाँसिहाल्थें,' मुसुक्क हाँस्दै भने ।

तर हरेक रात नगरपालिकाको फन्दामा पर्थे राजेश । 'नगरपालिकाले हामीले टाँसेको पोस्टर छाम्दै छाम्दै खोइ कसरी मलाई समाइहाल्थे । तिमीहरू फोहोर गर्ने अनि हामी पानी लगाएर सफा गर्ने भन्दै गाली गर्थ्यो । यस्सो हातमा ४/५ हजार दिन्थें, अनि छोडिदिनुहुन्थ्यो,' राजेशले भने, 'म हप्तै पिच्छे नगरपालिकालाई २० हजार दिन्थें । तै पनि दु:ख दिन्थ्यो मलाई। नगरपालिकाले मलाई कति समायो कति !' काठमाडौंका तत्कालीन मेयर केशव स्थापितले त एक भेटमा राजेशलाई काठमाडौंलाई फोहोरी बनाएको भन्दै पोस्टरको काम बन्द गर्न सुझाव दिए । 'दर्पण छायाँ'ले ५१ दिन मनाएको अवसरमा २०५८ तिर काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित थिए, स्थापित । तुलसीले केशवलाई राजेशको परिचय गराइदिए ।

'धेरै राम्रो काम गर्नुभयो । काठमाडौं त निकै सफा देखिन्छ होइन ? भनेर उहाँले भन्नुभयो,' राजेश केशवका भनाइ सम्झँदै भन्छन्,'त्यतिबेला उहाँले तपाईंहरूका लागि पोस्टर टास्न पाउने ठाउँ तोकिदिन्छौं भन्नु भएको थियो । त्यसपछि उहाँ पदबाट हट्नुभयो ।'

पोस्टरले राजेशलाई थुप्रै पटक कुटाइ खुवायो । 'बीचमा मेरा केही केटाहरू छुटेर गए । ती केटाहरूले मैले टाँसेको पोस्टर च्यातिदिन्थे । अनि फिल्मकर्मी मैले पोस्टर नटाँसेको भन्दै पिट्न आउँथे । म नगरपालिकालाई मेरो पोस्टर किन च्यात्नुभयो भनेर सोध्थे । केही फिल्मका टिमले रिसाउँदै मलाई कुटे पनि । एक जना फिल्मकर्मीले त आर्मी ल्याएर पिट्न खोजे,' राजेशले पूराना दिन सम्झे ।

पोस्टर नै प्रचारको माध्यम

त्यतिबेला फिल्म प्रचारको सशक्त माध्यम मानिन्थ्यो, पोस्टर । पत्रिका र टेलिभिजनको त्यो जमानामा मोबाइल भित्रिसकेको थिएन । कुनैबेला फिल्मको पोस्टर नटाँसेसम्म फिल्म चल्दैन भन्ने मान्यता हुन्थ्यो । फिल्म फ्लप हुँदा कतिले राजेशलाई पोस्टर राम्ररी टाँस्न नसकेको भन्दै दोष लगाउँथे । 'फिल्मका पोस्टर रंगीविरंगी हुने, दर्शक त एकछिन टक्क उभिएर पोस्टर हेर्थे । त्यतिबेला बिहारका चन्द्रिका भन्नेले राजेश हमालको चित्र दुरुस्तै कोरिदिन्थे । राजेशको ठूलो पोस्टर हलमा ब्यानर बन्दा मान्छे तीन छक पर्थे, 'राजेशले भने, 'कुनैबेला त मानिसहरू पनि हाम्रो घरको भित्तामा पोस्टर टाँसिदिनुस् न भन्थे । त्यति सम्मान गर्थे हामीलाई पहिला । पछि जहाँ पायो त्यही पोस्टर टाँस्न थालेपछि दिक्क मान्न थाल्नुभयो । पोस्टर टाँस्नेहरूलाई भगाउन जुठो पानी माथिबाट खन्याउन थाल्नुभयो ।'

यसबीच २०६७ तिर राजेशको टिमका एक जना भाइ पोस्टरको कामकै क्रममा दुर्घटनामा परेर बिते । त्यसपछि भने राजेशको कामको रफ्तार धिमा भयो । त्यसै क्रममा २०७५/७६ तिर नगरपालिकाले पोस्टर टाँस्न कडाइ गर्न थालेसँगै पोस्टरको जमाना हराउँदै गएको राजेशको भनाइ छ । हुन त हिजोआज पनि भित्ताहरूमा फाट्टफुट्ट पोस्टर देखिन्छन् । अहिले पोस्टर त्यो क्रेज भेटिन्न जुन त्यतिबेलाका दर्शकमा थिए ।

हिजोआज सञ्चारकर्मीलाई भेला गर्दै अथाव डिजिटल माध्यमबाट पोस्टर सार्वजनिक गरिन्छ । डिजिटल फड्कोसँगै डिजिटल भित्तामा पोस्टर लाग्न थालेसँगै आफूहरूको काममा असर पुगेको पनि राजेशको अनुभव छ । 'अहिले त फेसबुक, समाचारमा फिल्मको प्रचार भइरहेको छ । डिजिटलले हाम्रो कामलाई असर परेको छ । असर पर्‍यो भन्दैमा दु:ख मान्नु भएन । अहिले त दर्शकले मोबाइलमै फिल्मको जानकारी पाउँछन्, यो त राम्रो प्रगति हो, 'उनले भने, 'अहिले त अनलाइनमा प्रचार हुन्छ । कलाकार बोलाएर पोस्टर, टिजर र ट्रेलर सार्वजनिक हुन्छ । कतिले हेर्छ, कतिले हेर्दैन । हामी त्यतिबेला प्राकृतिक प्रचार गर्थ्यौं । त्यतिबेला कलाकार हल पुग्दा कस्तो सम्मान हुन्थ्यो, अहिले त्यस्तो सम्मान नै छैन ।'

अहिले कसैले पोस्टरको काम अह्राए राजेशले दिने एउटै जवाफ छ, 'अरुलाई भन्नुस्, म रिटायर्ड भइसकें' । पोस्टरसँग राजेशको बेग्लै लगाव थियो । पोस्टरको कामबाट ब्रेक लिए पनि लामो समय राजेशले आफूले काम गरेका पोस्टरहरू संकलन गरेर गोदाममा राखेका थिए । उनलाई त्यो पोस्टरहरूको खुबै माया लाग्थ्यो । तर, सधैँ त्यसरी संकलन गरेर राख्न नसक्ने भएपछि बेचिदिए । त्यो पोस्टरहरू सम्झँदा अहिले पनि राजेशको आँखा रसाउँछ । 'नेपालभरबाट प्रदर्शनमा आइसकेको फिल्मको पोस्टर चाहिन्थ्यो भने सबैले मलाई सम्पर्क गर्थे। म त्यही गोदामबाट निकालेर दिन्थें । मैले ती सबै पोस्टर कुनै समयमा काम लाग्न सक्छ कि भनेर धेरै समयसम्म संरक्षण गरेर राखें, अहिले ती मसँग छैन,'भावुक हुँदै भने,'धेरै नै माया लाग्थ्यो मलाई पोस्टरको ।'

आफूले काम गरेका थुप्रै फिल्मबाट राजेशले अझै पारिश्रमिक पाएका छैनन् । उठाउन बाँकी १०/१५ लाख पारिश्रमिक रहेको राजेश बताउँछन् । 'टंक लम्सालले चाँदनी बनाउँदा सबै पैसा सकाए । त्यतिबेला चावहिलबाट पोस्टर माड बोकेर काठमाडौं उपत्यकाभित्र सितैमा पोस्टर टाँसेको छु । फिल्म हिट पनि भयो । तर फिल्मले कमाइसकेपछि पैसा दिनु भएन । मन भएन सायद । यसरी फोकटमा काम गरेको धेरै फिल्म छ, 'राजेशले भने, 'मलाई सबैले माया गरेर काम लाउँथे । दाम चाहिँदा दु:ख दिन्थे । अहिले भुवन केसी विकास बोर्डको अध्यक्ष हुनुहुन्छ । उहाँले पनि कति फिल्मबाट पैसा दिनु भएको छैन । हिसाब गर्दा १०/१५ लाख होला उठाउन ।'

राजेशसँग काम गर्नेहरू कोही कोही विदेश पलायन भए, कसैले आत्महत्या गरे । उनी भने अहिले पनि फिल्म क्षेत्रमै छन् । अहिले उनी फिल्मकर्मीको अनुरोधमा गोपीकृष्णलगायत केही हलका रिपोर्ट बुझाउने काम गर्छन् । ती फिल्मकर्मीले त्यसबापत ५ सय दिइरहेका हुन्छन् । पोस्टरको कामको दाँजोमा यो निकै कम रकम हो । तर, उनी फिल्म क्षेत्रसँगै जोडिरहन चाहन्छन् । आफूले फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन हुने दिनको पर्खाइमा छन् राजेश । 'मैले यो क्षेत्रमा दिएको योगदानको मूल्यांकन छैन । दु:ख लाग्छ । कुनै दिन यो कुरा बुझेर कसैल सम्मान गर्छ कि भनेर म कुरिरहेको छु,' उनले भने ।

प्रकाशित : भाद्र २५, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?