३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
पर्दा पछाडि

राम्रो मेलोडीको पर्खाइमा कोरियोग्राफर कमल [भिडियो]

रीना मोक्तान

काठमाडौँ — त्यसबेला संगीतकार, गीतकार, निर्देशक, निर्माता, ड्रेसम्यानदेखि कोरियोग्राफर सबै एउटै कोठामा बसेर छलफल गर्थे । निर्देशक गीतकारलाई फिल्मको दृश्य सुनाउँदै गीत लेख्न लगाउँथे । गीतकारले त्यहीँ गीत रचना गर्थे । त्यसपछि संगीतकारले संगीत भर्ने गर्थे । त्यतिबेलै सुरु हुन्थ्यो कोरियोग्राफीको छलफल । छायांकनस्थलदेखि कोरसहरु कति राख्ने भन्नेसम्म पक्का भइसकेपछि मात्र छायांकनमा हिँड्थ्यो टोली ।

राम्रो मेलोडीको पर्खाइमा कोरियोग्राफर कमल [भिडियो]

र, हिजोआज त सुटिङ सेटमै पुगेको दिन मात्र कोरियोग्राफरको हातमा गीत पर्छ । कोरियोग्राफर कमल राई यसरी टिममा बसेर गरिने छलफलको अभाव देख्छन्, अहिलेका गीतमा । रिहर्सलका लागि यथेस्ट समय नदिनु, राम्रो मेलोडीका गीतहरू नबन्दा दर्शक ४०/५० वर्षअघिकै गीतमा रमाउनु परेको कमलको विश्लेषण छ ।

'त्यतिबेला गीतकार किरण खरेल, गोपाल योञ्जन, प्रकाश गुरुङ, शक्ति बल्लभहरू हुन्थे । गीत लेख्न क्रममा थुप्रिएका कागजहरूको चाङ लाग्थ्यो । पहिला त कुनै गानामा कोरियोग्राफी गर्दा मुटुमा छुन्थ्यो । हिजोआज त टाउको माथिबाट उडेर जान्छ । पहिला त गाना सकेर आउँदा बसमा त्यही गीत गुनगुनाउँथ्यौं । भान्सामा पनि गाउँथ्यौं । सबै सुटिङ युनिटले गाइरहेको हुन्थ्यो त्यो गीत,'कमलले सुनाए,'अहिले पनि युवाहरू पूरानै गीतमा टिकटक बनाउँछन् । त्यो गीतहरूको मेलोडी राम्रो हुन्थ्यो । पहिला गीतले सिधै मुटुमा हक जमाउँथ्यो । त्यतिबेला हामीलाई समय दिइन्थ्यो, रिहर्सल गर्ने । स्याड सङ होस् या रमाइलो गीत हामीले केही दिन रिहर्सल गर्न पाउँथ्यो । अहिले त सुटिङ गर्न गएकै दिन गाना पाउँछौं ।'

सुटिङ सकेर घर फर्कँदासम्म कमल आफूले गरेको गीत बिर्सिसक्छन् । 'सुनको बिहानी', 'सपना भइ आँखामा आउने', 'यो गाउँको ठिट्टो म', 'आफ्नै गाउँ फर्कि आएँ', 'बिजुलीको तारतार', 'बाँजो खेतमा', 'चिट्को साडी', 'सपनाको बाटो कोर तिमी'लगायत शब्द-शब्द भने अझै कण्ठस्तै छन् । राम्रो मेलोडी नभएकै कारण गीतहरू सार्वजनिक भएको भोलिपल्टै हराउने गरेको कमल बताउँछन् । 'अहिले पनि कति गानाहरू गरिरहेको छु म । तर, खोइ मेरो गीत चलेको । ती गीतहरूको मेलोडी नै राम्रो छैन,'कमलले भने, ' सपना भइ आँखामा आउनेको सुटिङ कालिङपोङमा भइरहेको थियो । त्यतिबेला कट भन्दा पनि किन कट भन्नुभएको, सुन्न दिनुस् न भन्थे सुटिङ हेर्न आउनेहरू ।'

'सुनको बिहानी' घान्द्रुकमा खिचिएको थियो । त्यसअघि कमलले 'दुई चोल्ठी बाँटेर, १६ साल काटेर' त्यहीँ खिचेका थिए । 'सुनको बिहानी' खिच्न जाँदा हिँडेर ८ घण्टा लाग्यो । निरुतालाई १२ घण्टा । 'त्यतिबेला हरेक शब्दको मर्म अनुसार डाँडापाखामा गीत खिच्थ्यौं । तर अहिले एकतिर गाना, एकतिर ड्रेस अर्कोतिर लोकेसन भयो । अहिले त्यो सबै भत्कियो । अहिलेको डान्स मास्टर त यस्तो शब्दहरू बुझ्दैनन् । डान्सको स्टेप्स मात्रै गर्छन् । अहिले त डान्स स्टेप्स सर्कस भयो,'कमले सुनाए । कमलले नै 'दुई चोल्ठी बाँटेर, १६ साल काटेर' गर्दा चार महिनाको सुत्केरी करिश्मालाई नचाएका थिए । 'हिजोआजका कलाकारलाई मिहेनत भन्दा पनि राम्री हुनुछ,'उनले व्यंग्य गरे, 'उहाँहरू कमल राई पूरानो भयो भनिदिन्छन् । डान्स मास्टर नै परिवर्तन गरिदिन्छन् । जुन एक्सप्रेसन हामी खोज्छौं उनीहरू दिन सक्दैनन्।'

बम्बईदेखि काठमाडौं

सिंगापुरमा जन्मिएका कमल दार्जलिङमा हुर्के । विद्यालय जीवनदेखि नै नाच्नमा रुची । एसएलसी दिन २ वर्ष बाँकी हुँदै उनी नेपाल प्रवेश गरे । उनका बुवा पूर्वब्रीटीस आर्मी । खासमा १६/१७ वर्षको उमेरमै बम्बईमा कोरियोग्राफीमा सहायक बन्न सुरु गरे । स्टेज कार्यक्रमहरू गर्थे । आर्थिक चपेटामा पर्दा वेइटर पनि बने । डान्स मास्टर सुरेश भट्ट, माधव किसनसँग सहायक बनेर काम गरे । त्यसै क्रममा बिएस थापा, गोपाल भुटानी, किशोर राणा, कमल लामासँग उनको भेट भयो । 'कान्छी' भन्ने फिल्म बन्न लागेको थियो । त्यतिबेला बम्बईबाट बसन्तजंग रायमाझीको सहायक बन्दै उनी नेपाल आए । 'बसन्तजंग र गोपाल भुटानीले कमल जाने हो नेपाल भनेर सोध्नु भएको थियो,'उनी नोस्टाल्जिक बने । त्यसपछि उनले एसएलसी दिए । 'बासुदेव'मा काम गर्दासम्म पनि उनी बम्बईदेखि नेपाल गरिरहन्थे । तर, २०४५/४६ तिर गरेको 'झुमा'ले कमललाई बम्बईको मुख हेर्नु परेन । उनले कोरियोग्राफी गरेको 'बोलबोल' गीत यति चर्चामा आए कि निरन्तर फिल्महरू पाउन थाले । 'के घर के डेरा', 'भुमरी', 'तिलहरी'लगायत फिल्महरूको कामले उनलाई व्यस्त बनायो । झन्डै ४० वर्षदेखि फिल्महरूमा कोरियोग्राफी गर्दै आइरहेका कमलले अहिलेसम्म ३ सय बढी फिल्ममा काम गरे ।

'झुमा' फिल्मकै अर्को गीत 'घामभन्दा प्यारो'लाई कमलले तिलिचोमा खिचेका थिए । तनहुँको डुम्रेबाट हिँडेर ७ दिनमा मनाङ पुग्यो टिम । त्यतिबेला बाटो थिएन । तिलिचो पुग्न ९ दिन लाग्यो । 'अहिलेकाहरूले तिलिचोमा पहिलो पटक खिचेको दाबी गर्छ । तर होइन, त्यतिबेलै उनीहरू त्यहाँ पुगेका । थोरङ्ला पास हुँदै मुक्तिनाथ फर्केका थिए । तीजको व्रतमा छमछम नाचेको मौसम अझै याद छ,' उनले पूराना दिन सम्झे । एनालगको त्यो जमानामा कमलले गीत खिच्न २ क्यान पाउँथे । त्यसैले थुप्रैपटक रिहर्सल गरिसकेपछि मात्र उनीहरू ओके सट खिच्थे । मोनिटरमा सट हेर्ने जमाना थिएन । 'लोकेसनमा पुग्न ५/६ घण्टा लाग्थ्यो त्यतिबेला । बाटो थिएन । प्रविधिको विकास भइसकेको थिएन । पहिला २ क्यान दिन्थ्यो । अहिले त जति टेक लिँदा पनि भयो । मोनिटर थिएन । पूरा कन्फिडेन्ट भइसकेपछि मात्र सट खिचिन्थ्यो । कन्फ्युजन हुन्थेन, 'उनले भने, 'अहिले त सबै सट प्रिन्ट हन्छ । सम्पादक नै कन्फ्युज हुन्छ कुन ओके सट हो भनेर । अहिले त मनिटर भएन भने काम गर्न सक्दैन । हामीलाई त अहिले पनि सट लिँदा मनिटर चाहिँदैन । अनुभव नै ठूलो कुरा रहेछ । त्यतिबेला सिनिमेटोग्राफरले कुन लेन्स/फिल्टर लगाउँ मास्टर जी भनेर सोच्थें । अहिलेका सिनिमेटोग्राफरलाई त्यो थाहा छैन । मलाई त उनीहरू समाचार खिच्ने क्यामेरा पर्सन होजस्तो लाग्छ । उनीहरूलाई लेन्स, फिल्टर, कलर के हो केही हेर्दैन ।'

कुनैबेला बसन्त श्रेष्ठका प्रतिस्पर्धी रहेका कमल थप्छन्,'त्यतिबेला अनुशासन थियो । एकअर्कामा डर थियो । अहिले त्यो खट्किन्छ । त्यतिबेला कोही निर्देशक आउँदा हामी जराकजुरक उठ्थ्यौं, शान्त माहोलमा काम हुन्थ्यो । अहिले त्यस्तो छैन । अहिले त्यस्तो सँस्कार छैन । समय तालिका छैन । मिहेनत छैन । यस्तो व्यक्तिहरूसँग काम गर्न गाह्रो पर्छ ।'

कमलका अनुसार शर्मिला मल्ल नाच्नमा अलि कमजोर थिइन् । तर, मिहेनत गर्न कहिल्यै पछाडि पर्थिनन्। अभिनेतातर्फ धिरेन शाक्यलाई नचाउन गाह्रो पर्थ्यो । मिथिला शर्मा, मौषमी मल्ल, गौरी मल्ल, साराङ्गा श्रेष्ठ एकदम राम्रा नृत्य गर्ने कलाकारमा पर्थे । कमललाई सानो देखेर त्यतिबेला गौरी मल्लले 'उहाँ नै हो र हाम्रो डान्स मास्टर' भनेर प्रश्न गरेको अझै कमलको मानसपटलमा ताजै छ । राजेश हमाल उनीसँग सुरुमा नाच्नै मानेको थिएनन् । चट्टानको 'यो फूलजस्तै त्यो मन भए'मा राजेशलाई नृत्य सिकाउनु थियो । राजेशले 'सक्छ उहाँले ?' भनेर प्रश्न गरे । त्यतिबेला गीत खिचिसकेपछि 'कमल एकदमै प्रतिभाशाली छ भन्दै' राजेशले उनलाई उचाले । हमाललाई थुप्रै फिल्ममा कमलले नचाए । कुनैबेला गीतको शब्दहरू बुझ्न गाह्रो हुँदा राजेशले नै अर्थ बताइदिन्थे । नृत्यमा माहिर अभिनेताको नाममा दीलिप रायमाझी र श्रीकृष्ण श्रेष्ठको नाम लिन छुटाउँदैनन् । 'यीनीहरूलाई नचाउनु पर्थ्यो भने म पनि बेलुका अभ्यास गरेर जानु पर्थ्यो । डान्स मास्टर र हिरोको सेटमा प्रतिस्पर्धा हुन्थ्यो । उनी दुई खुबै राम्रो नाच्थे,'उनले भने,'पहिलाको कलाकारहरू यति दुख गर्थ्यो । अहिलेको कलाकारहरू एकैदिनमा हिट हुन खोज्छन् । एकैदिनमा को हिट हुन्छ, एकैदिनमा त बर्बाद हुन्छ ।' श्रीकृष्णसँग 'चुनौति', 'सितैमा लौ सितैमा', 'नाता रगतको'लगायतमा काम गरे ।

कमलले नचाउन बाँकी खासै कलाकार अब बाँकी छैनन् । मौसमी मल्लदेखि सृष्टि श्रेष्ठसम्मलाई उनले नृत्य सिकाइसके । जल शाहले कमलसँग ६ महिना नृत्य सिकिन् । रेखा थापालाई 'तिम्रो मन त चक्कु छुरी'का लागि एक महिना रिहर्सल गराए । गीतमा राजेश हमालको ढाँडमा चढ्नुपर्ने एउटा दृश्य खिच्नु थियो । कमल र रेखाबीच उक्त दृश्य गर्ने छलफल त भयो । तर, राजेशलाई त्यसबारे पत्तो थिएन । 'त्यसरी रेखा ढाँडमा चढ्दा राजेश तर्सेको थियो । तर, उसले पछि बुझ्यो सट रहेछ भनेर,'नोस्टाल्जिक हुँदै भने । उनले नचाएका कलाकारहरूमा सबैभन्दा धेरै सट लिएका अभिनेत हुन् जय श्रेष्ठ । 'रक्षा'को छायांकनमा जयलाई नचाउन कमललाई सकस ने भयो । 'जयले त्यतिबेला २५ टेक लिँदा कृष्टिले 'लौन प्रभु यो मान्छेले मलाई पनि मार्ने भयो' भनेको कुरा सम्झँदा अझै कमलको हाँसो थामिन्न । त्यतिबेला गौरी, मौसमी मल्ल, तृप्ती नाडकर एक टेकमै ओके सट दिन्थे । नयाँ पुस्ताका कलाकारमा आर्यन खड्का, पुष्प खड्का, आकाश खड्कामा त्यो खुबी देख्छन् उनी । 'यही खाल्डोभित्र छन् शाहरूख खान, माधुरी दीक्षित, आलिया भाट पनि,' कमलले सुनाए ।

प्रकाशित : भाद्र १८, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?