गुफाभित्र फुटबल टिमको संघर्ष- फिचर - कान्तिपुर समाचार
असाधारण घटना फिल्मी पर्दामा

गुफाभित्र फुटबल टिमको संघर्ष

बेमौसमी वर्षा बेजोडको थियो, एकै छिनमा गुफा पानीले भरियो, उनीहरु बाहिर निस्कनै सकेनन्, ६ किलोमिटरभित्र थुनिए
थाइल्यान्डको चिनाङ राई प्रान्तमा पर्ने थाम नाङ गुफामा पहिलोपल्ट उद्धारकले ती खेलाडी र प्रशिक्षकलाई भेट्दा नौ दिन बितिसकेको थियो
हिमेश

काठमाडौँ — सन् २०१८ को जुन २३ । चार वर्षभन्दा बढी भइसकेछ । त्यो दिन उत्तरी थाइल्यान्डको चिनाङ राई प्रान्तमा जे भयो, त्यसले सारा विश्वको ध्यान खिचेको थियो ।फुटबल अभ्यासपछि टिमका किशोर खेलाडी र तिनका सहायक प्रशिक्षकले निर्णय गरे, थाम नाङ गुफा जाने र रमाइलो गर्ने । किनकि एक सदस्यको जन्मदिन थियो, मनाउन गुफालाई गन्तव्य बनाइएको थियो । त्यसपछि के हुनेछ भनेर कसैले सोचेका पनि थिएनन् ।

सहायक प्रशिक्षक थिए, एकफोन चान्थावङ । उनी आफैं २५ वर्षका थिए । फुटबलमा रमाउन थालेको तीन वर्ष मात्र भएको थियो । उनीको नेतृत्वमा थिए, १२ खेलाडी । उमेर थियो, ११ देखि १६ वर्ष । १३ जनाको टिम ‘वाइल्ड बोर्स’ गुफामा सजिलै पस्यो, तर फर्कनु उनीहरूको वशमा थिएन ।

दिउँसो ३ बजेको हाराहारीमा उनीहरू गुफा छिरे, मस्ती गर्दै केही किलोमिटर भित्रै पसे । गुफा आफैं १० किलोमिटरको थियो । खासमा थाइल्यान्ड र बर्माबीचको सिमानाको ठाउँ अनकन्टार थियो । गुफाको अर्थ नै हो– साँघुरा मार्ग, एकपछि अर्को कठिने घुम्ती । सासै फेर्न पनि गाह्रो स्थिति ।

भित्र रमाइलो गर्दागर्दै अँध्यारो हुन थालेपछि उनीहरू फर्कन थाले, केही किलोमिटरको दूरी अघि बढेका थिए, बाहिर घनघोर पानी पर्न थालेको थियो । बेमौसमी पानी थियो, तर बेजोडले परेको थियो । एकै छिनमा गुफा पानीले भरियो, उनीहरू बाहिर निस्कनै सकेनन्, छ किलोमिटरभित्र थुनिए । वास्तविक कथा यहाँबाट सुरु हुन्छ । यता जसको जन्मदिन मनाउन पारिवारिक जमघट भएको थियो, तिनीहरू कुरेको कुर्‍यै भए । टिमका हरेक सदस्यका परिवार पनि बिलखबन्दमा परे । तुरुन्तै आपत्कालीन सेवा प्रदान गर्ने सरकारी निकायमा सूचना पुगिहाल्यो । सबैलाई लागेको थियो, अरू आम दिनमा जस्तै सिंगै फुटबल टिम सजिलै गुफाबाट बाहिर निस्कनेछ । तर त्यस्तो भएन । शाही जल सैनिकले सुरुमै काम नगरेको पनि होइन, तर लगातार परेको वर्षाले पानीको सतह बढेपछि खोजी तथा उद्धार झन्झन् जटिल बन्दै गयो ।

प्रश्न हुन सक्छ, पूरा घटनाक्रमको चर्चा अहिले किन ? कारण विशेष नै छ । भर्खरै जसो हो, ‘थर्टिन लाइभ्स’ नामले एउटा हलिउड सिनेमा रिलिज भएको छ । अम्याजन प्राइममा रिलिज भएको छ, । अनि यो ‘बायोग्राफिकल सर्भाइभल’ सिनेमा तिनै १३ फुटबल खेलाडी र प्रशिक्षकको कथा हो । बडा दमदार छ, सिनेमा । संसारभर चर्चा पाइरहेको छ ।

पूरा घटनाक्रमबारे समाचार पढ्ने हो भने ती सबै प्रसंग हाम्रो अगाडि छरपस्ट भइहाल्छन् । हराएका सबैको कसरी उद्धार गरिएको थियो, त्यसबारे थाहा पाउन गाह्रो छैन । तर यत्ति धेरै जानकारी राखेर पनि सिनेमा हेर्नुपर्छ, रोमाञ्चकता किञ्चित पनि कम हुन्न । अझ बढी हुन्छ । किनकि मान्छेलाई सबैभन्दा बढी चाख मान्छेकै कथामा हुन्छ । त्यसमा मानवीय भावना, बहादुरी, प्रकृतिको क्रूरता । अझ अलिकति धर्म र विश्वास मिसिनुपर्छ, त्यो ‘क्या चाखलाग्दो’ बन्छ ।

त्यसै पनि रन होवार्ड यस्तैयस्तै ‘थ्रिलर’ सिनेमा बनाउन माहिर छन् । यसअघि उनले ‘एपोलो १३’ र ‘एभरेस्ट’ बनाइसके । यी दुवै सत्य घटनामा आधारित सिनेमा हुन् । उनलाई थाम नाङ गुफाको घटनाले पनि ठ्याक्कै छोयो र बनाइहाले, ‘थर्टिन लाइभ्स’ । मानवीय संवेदनालाई उनले खुबै ध्यानमा रोखेका छन् र प्रत्येक पललाई खुबै मज्जाले बुनेका छन् । सिनेमाका पारखीले यसलाई हेर्नै पर्छ, पारखी होइन भने झन् बढी हेर्नुपर्छ ।

सिनेमा अस्ट्रेलियाको क्विन्सल्यान्ड र थाइल्यान्डमा छायांकन गरिएको छ । सिनेमाका खासखास ठाउँमा थाई भाषा हुने नै भयो, तर ‘सब टाइटल’ आइहाल्छ । अनि अन्य पात्रले अंग्रेजी बोलिहाल्छ, त्यसमा समस्या भएन । त्यस्तै अडियो नै अंग्रेजी, स्पेनिस, फ्रेन्च, चाइनिज र हिन्दीसहित २८ भाषामा पनि छ ।

कथा यसरी अगाडि बढ्छ, गुफाबारे बडा ठूला जानकार बेलायती नागरिक भेरनन उन्सवर्थ घटना हुँदा थाइल्यान्डमै थिए । फुटबल टिम गुफामै फसेको समाचार सुनेपछि उनी कसरी चुपचाप बस्न सक्थे ? उनले तुरुन्तै स्थानीय सरकारी निकायलाई ब्रिटिस केभ रेस्क्यु काउन्सिललाई सम्पर्क गर्न सुझाइहाले । यद्यपि थाई जनसेनाले उद्धारको प्रारम्भिक काम गरेको पनि थियो । तर डेग चलेको थिएन । यसबीच पूरा घटनाक्रमको समाचारले अन्तर्राष्ट्रिय चासो लिइसकेको थियो । जताततैबाट सक्दो सहयोगको वाचा आइरहेको थियो । उन्सवर्थ सघाउन गुफाका अन्य जानकारहरू रिचर्ड स्टानटन र जोन भालानथेन आइहाले, बेलायतबाटै ।

उद्धारको शैली कस्तो हुने ? धेरै तनाव र अझ धेरै असमझदारीबीच काम सुरु भइहाल्यो । पानीले भरिएको गुफामा छिर्न प्रशिक्षित ‘ड्राइभर्स’ लाई पनि हम्मेहम्मे पर्थ्यो । तर खोज्दै जाँदा जसै बेलायती उद्धारकर्मीले पहिलोपल्ट पूरा टिमलाई एकै ठाउँमा भेटे, यो खबरले चारैतर्फ अथाह खुसियाली छायो । तर उद्धारकर्मी भने झन् बेचैन भए । जीवित भेटिएको टिमलाई बाहिर ल्याउन सम्भव देखिएन, बाहिर उम्लिएको विश्वासलाई निराशामा परिणत गर्ने आँट उनीहरूसँग थिएन । अनि उनीहरू गुफाको चार किलोमिटरभित्र थिए जहाँ पुग्न करिब पाँच घण्टा लाग्थ्यो । साँघुरा मोडबाट अघि बढ्न एक/एक जना ‘ड्राइभर’ लाई कठिन भइरहेको थियो, त्यसमाथि थाई जल सैनिकका एक ‘ड्राइभर’ को ज्यान उद्धारकै क्रममा गइसकेको थियो । अब ती किशोरलाई कसरी बाहिर निकाल्ने ? पहिलोपल्ट उद्धारकले ती खेलाडी र प्रशिक्षकलाई भेट्दा नौ दिन बितिसकेको थियो । लगत्तै उनीहरू केही खानेकुरा दिइएको थियो, अक्सिजनको अभाव नहोस् भनेर यसबाट भरिएका थानका थान सिलिन्डर पनि भित्र पठाइयो ।

यहाँनिर सिनेमाका दुई दृश्यले सबैको आँखा रसाउँछन् । पहिलो, गुफा जुन पहाडमा रहेको थियो, अविरल वर्षाको पानी चुहिएर गुफाभित्र नजाओस् भन्नका लागि हजारौं स्वंयसेवक गुफामाथिको जमिनी सतहको पानी प्वालहरूबाट खेततर्फ मोड्न रातदिन जुटिरहेका थिए । लगातार भइरहेको वर्षाबीच पनि गुफाभित्रको पानीको सतह नियन्त्रित गर्न नसकिएको भए यो उद्धार अकल्पनीय थियो । यद्यपि मोडिएको पानीले फाँटको धानबाली सखाप भयो ।

अर्को दृश्य । थाई संस्कृतिमा दृश्यले मानवताप्रति अगाध आस्था जगाउँछ । खेलाडीका परिवारले अनेक प्रार्थना गर्छन्, फेरि गुफा छेउमै सुतेको बुद्धको मूर्तिलाई सचेत रूपमा साक्षी राखेर निर्देशकले कथामा आस्थाको पाटो बलियो बनाएका छन् ।

अनेक आमाहरूजस्तै एक खेलाडीकी आमा पनि फुच्चे छोराको जीवनलाई लिएर साह्रै बेचेन छिन् । प्रशासनका अधिकारीहरूसँग झगडा गर्छिन् । तर उनी धार्मिक पनि छिन्, बुद्धका विशेष सूत्रबीच पवित्र बनाइएको धागो उद्धारकलाई दिन्छिन् र यो तिनै खेलाडी पनि दिन अनुरोध गर्छिन् । यो त्यही धागो हो जसले अकल्पनीय संकटबीच पनि अभिभावक र किशोरहरूलाई आशावादी जीवनप्रति डोर्‍याइरह्यो ।

फेरि उद्धारमै फर्कने हो भने यसका लागि अनेक उपाय सुझाउने काम हुन्छ । मतहरू बाझिन्छन् । यो ठीक हो, यो ठीक होइन । जति ठीक थिए, ती सजिला पनि थिएनन् । अन्त्यमा एउटा यस्तो उपायमा निर्णायक सहमति बन्यो । त्यो मानवीय र कानुन रूपमै नैतिक हो कि होइन भन्ने प्रश्न थियो तर सरकारको अनुमतिमा खेलाडी र प्रशिक्षकलाई बेहोस पारेर, अचल बनाएर निर्जीव वस्तुजस्तै पालैपालो बाहिर ल्याइनेछ । ‘फ्लोटिङ किट’ को व्यवस्था गरियो । दुई ड्राइभरमध्ये एक त्यस किटको अगाडि रहन्थ्यो भने अर्को पछाडि । सुरुमा ‘एनेस्थेसिया’ दिएर चार खेलाडीलाई बाहिर ल्याइयो, बाहिर ल्याउँदा होस खुल्न थालेपछि पनि खेलाडीलाई फेरि सुईमार्फत ‘एनेस्थेसिया’ दिइरहने । सबैभन्दा अन्त्यमा बाहिर निस्कने थिए, तिनै प्रशिक्षक, चान्थावङ । त्यति घडीसम्म, अठार दिन र केही घण्टा बितिसकेको थियो ।

दिन थियो, ठ्याक्कै १० जुलाई । तिनलाई तुरुन्तातुरुन्तै अस्पतालमा भर्ना पनि गरियो र सघन उपचार सुरु गरियो । अनुमान के छ भने उद्धारमा पाँच हजार स्वयंसेवक संलग्न थिए । सबै कथाको अन्त्य सुखद हुन्न, एक थाई उद्धारक समन कुलनले भने ज्यान गुमाए । जसको सालिक पछि गुफा बाहिर निर्माण गरियो ।

सिनेमाको सुखद अन्त्य भने यसरी भएको छ, थाई सरकारले एउटा के निर्णय गरेर घोषणा पनि गर्छ भने सबै १३ जनालाई नै त्यहाँको नागरिकता प्रदान गरिनेछ । खास कुरा के हो भने ती खेलाडी र प्रशिक्षक त्यस्तो दुर्गम स्थानका थिए, जसका अधिकांश बासिन्दा राष्ट्रियताविहीन आदिवासी छन् । अर्थात् उनीहरू न थाई हुन्, न बर्मेली ।

अनि सिनेमाको सन्देश हो, जस्तै परिस्थितिमा हार नखानेलाई भनिन्छ, मानिस । वास्तवमा पूराका पूरा घटनाक्रम चमत्कारी देखिन्छ । गुफामा त्यति धेरै दिन खान नपाएकालाई सकुशल बचाउनु पनि चमत्कार त हो । त्यस्तो विषम परिस्थितिमा आस कायम राख्नु त चमत्कार नै भयो, यस्तोमा सिनेमा पनि विशेष रह्यो ।

गुफामा रहुन्जेल प्रशिक्षक चान्थावङलाई साह्रै चिन्ता थियो, खेलाडीका आमाबुबाले उनलाई कति सराप्दा हुन् ? आमाबुबा मात्र किन र, सायद दुनियाँले गाली गरिरहेको होला । जुन दिन उनीहरू जन्मदिन मनाउन गुफा छिरेका थिए, त्यही एक दिन उनलाई टिम हेर्ने जिम्मा एक्लै परेको थियो । मुख्य प्रशिक्षक नोपाराट खनथाभोङ त्यस दिन कतै विशेष काममा थिए, त्यसैले आफ्नो सहायक चान्थावङलाई भनेका थिए, ‘केटाहरूलाई राम्रोसँग हेर्नु ।’

अझ साइकलमा कतै जाँदा पनि आफू सधैं पछाडि रहनु भन्ने निर्देशन थियो, ता कि पछाडिबाट उनले सबैलाई देख्न सकोस् । तर त्यही दिन यो घटना भयो । त्यसैले उनलाई आत्मग्लानि थियो । उनी साह्रै दुःखी थिए, खेलाडीका अभिभावकले उनलाई मनाउन निकै मेहनत गरे । जुन दिन उनी गुफाबाट बाहिर आए, खेलाडीका आमामध्ये एकले थाई टेलिभिजनमा भावविह्वल हुँदै भनेकी थिइन्, ‘प्यारो चान्थावङ, हामी कोही पनि तिमीलाई दोष दिन्नौं ।’

खासमा उद्धारमा जो सहभागी भए, ती सबै नायक भए नै । गुफाभित्रका नायक प्रशिक्षक चान्थावङ नै हुन् । त्यति धेरै दिन साना साना खेलाडीको हेरविचार गर्नु कम्ती गाह्रो थिएन् । बाहिर निस्किसक्दा १३ जनामध्ये सबैभन्दा कमजोर उनी थिए, किनभने उनले त्यहाँ रहुन्जेल सबैभन्दा कम खाए । कम सुते । उनको ध्यान खालि खेलाडीमा मात्र थियो ।

चान्थावङ आफैं १० वर्षको मात्र हुँदा परिवारका लगभग सबै सदस्य गुमाएका थिए । आमा बुबाको स्नेह उनले बाल्यकालमै गुमाए । त्यसैले पनि ती किशोर खेलाडीहरूमाथि उनको विशेष लगाव थियो । फेरि पनि प्रश्न उठ्छ, त्यति धेरै दिन गुफाभित्र उनीहरू कसरी बाँच्न सके ? अझ त्योभन्दा पनि ठूलो प्रश्न, यति धेरै समय उनीहरू के गरिरहे त ? यसको उत्तर हो, उनीहरू ध्यानमा मस्त रहे, सास बाहिर फाल्ने र भित्र तान्ने । यो प्रक्रियाले उनीहरूलाई व्यस्त र विश्वासी बनाइरह्यो ।

खासमा फुटबल प्रशिक्षक हुनुअघि चान्थावङ बौद्ध भिक्षु थिए । आफ्नो परिवारलाई गुमाएपछि विरक्तिएका चान्थावङ बौद्ध संघको शरणमा गएका थिए । तर बिरामी बज्यैको स्याहार सुसार गर्नुपरेपछि उनले भिक्षु जीवन छाडे । अनि यही क्रममा उनको जीवन फुटबल प्रशिक्षकतर्फ मोडिएको थियो । तर भिक्षु हुँदा सिकेको ध्यान कलाले गाह्रो परेको बेला काम गर्‍यो, ध्यानमा बसेकै कारण ऊर्जामा कम क्षति भयो, जीवितै उद्धार सम्भव भयो । उद्धारको इतिहासमा अर्को उदाहरणीय कीर्तिमान बन्यो ।

प्रकाशित : भाद्र १, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

विश्वप्रकाश शर्मा भन्छन् : झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने बताएका छन् । महामन्त्री शर्माले काठमाडौं-५ बाट चुनाव लड्न चाहेको भनेर आएका समाचारहरुप्रति स्पष्ट पार्दै आफू झापा-१ बाटै चुनाव लड्ने बताएका हुन् ।

०७४ मा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित थिए । शर्माले कार्कीलाई साथै लिएर झापामै उम्मेदवार बन्ने बताएका छन् ।

'फेरि प्रस्ट्याउँ - वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं-५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु,' शर्माले ट्वीट गर्दै भनेका छन्, 'प्रेम उता घरजम यता कुरै हुन्न ।'

झापा-१ मा माओवादी केन्द्रका नेता कार्कीले पनि आकांक्षा राखेका छन् । गठबन्धनमा सिट बाँडफाँड हुँदा झापा-१ कुन दलको भागमा पर्ने भन्ने निश्चित छैन ।

प्रकाशित : भाद्र १, २०७९ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×