घर बेचेर 'सुनगाभा' बनाएँ, 'राधा'मा श्रीमतीको सुन - फिचर - कान्तिपुर समाचार

घर बेचेर 'सुनगाभा' बनाएँ, 'राधा'मा श्रीमतीको सुन 

'ब्याजमा पैसा खोजेर फिल्म बनाएँ । मैले पनि श्रीमतीको सुन बेचेको छु । मेरो जीवनको सम्पूर्ण लगानी फिल्ममा लाएको छु । मेरो जिन्दगी नै दाउमा लगाएँ । यो फिल्म राम्रो भयो भने मेरो करिअरको कमब्याक हुन्छ ।'
रीना मोक्तान

काठमाडौँ — बुवा र आमासँगै मामाघर चन्द्रनिगाहपुरबाट रजहर परासी फर्कँदै थिए, सुवर्ण थापा । त्यतिबेला त्यस्तै ५/६ वर्षका थिए । बीच बाटोमा ओर्लेका बुवा कतै जानुभयो । कता जानुभयो ? खबर थिएन । आमासँग झगडा गरेर गएका पनि होइनन् । बुवा हराए । 

त्यसरी हराएका बुवा एकदिन अचानक घरमा टुप्लुक्क आइपुगे । झ्याप्प दारी पालेका । त्यसरी दारी पाल्ने पनि गर्थेनन् । बुवा कहिले/कति समयपछि फर्किए अहिले पनि सुवर्ण यकिन भन्न सक्दैनन् । तर, त्यो समय र भोगाइलाई समेटेर सुवर्णले फिल्म नै बनाएका छन् । प्रदर्शनको तयारीमा रहेको 'द सिक्रेट अफ राधा' उनकी आमाले बुवाका लागि गरेको पर्खाइको कथा हो ।

'राधामा आफ्नो लोग्ने खोज्ने श्रीमतिहरुको कथा छैन । तर, लोग्नेको पर्खाइको कथा छ । मेरो आमाले बुवालाई कहिल्यै खोज्न जानु भएन । तर, बुवाको पर्खाइमा त्यो समय कसरी बिताउनु भयो त ! आमासँग मैले कहिल्यै सोधिन । सायद ८/९ महिनापछि बुवा फर्किनुभयो,' सुवर्ण विगत सम्झन्छन्, 'मलाई त बुवा फर्किनु हुँदाको क्षण पनि याद छैन । मेरो मामाकी छोरीले नै 'भिनाजु' एकदिन तगारोमा यसरी झुल्किनुभयो, जोगीकोजस्तो झप्प दारीमा फर्कनुभएको थियो भनेर मलाई सुनाउनुभएको थियो । सायद त्यतिबेला आफ्नो असहजताले आमालाई त्यसबारे सोधिन ।'

लेखक एवं निर्देशक सुवर्ण आफ्नो अनुभूति, अनुभव र अवलोकनभित्र बसेर फिल्म बनाउन रुचाउँछन् । 'द सेक्रेट अफ राधा' त्यसैको नतिजा हो । नजिकबाट देखेको विषयलाई न्याय दिन सकिन्छ भन्ने अनुभवपछि नै उनले फिल्ममा उक्त विषयलाई उठाए । सन् २००७ बनाएका लघु फिल्म 'मलामी'को कथा पनि उनको नजिक थियो । त्यतिबेला उनी फ्रान्समा बस्थे । बुवा बित्दा नेपाल आउन पाएनन् । त्यतिबेला जापानको फाउन्डेसनबाट बनाउन लागेको नाटकको अडिसनमा व्यस्त थिए । पत्नीले छोरो पाउनेवाला थिइन् । बुवाको 'मलामी' जान नपाउँदाको विषयले ट्रिगर गर्‍यो । अनि बन्यो, 'मलामी' । फिल्म सेलुलोइडमा खिचिएको थियो ।

त्यसपछि, समाजमा लुकेर बसेको यौनिक तथा अल्पसंख्यकको विषय समेट्दै 'सुनगाभा' बनाए । फिल्ममा अभिभावकसामु आफ्नो यौनिक पहिचान दिँदाको प्रभावलाई देखाइएको थियो । फिल्मलाई धेरैले 'समयभन्दा अगाडि आयो' भनेर भन्थे । तर, उनले 'मलामी' बनाउँदा मीन भाम, अविनाशविक्रम शाहहरू फिल्म क्षेत्रमा आएका पनि थिएनन् ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

कुनै विषयमा कथा भन्न एउटा झिल्को चाहिँदो रहेछ । बुवाको मलामीमा आउन पाएका भए सायदै उनले 'मलामी' बनाउने थिएनन् । यसरी आफ्नो भोगाइलाई फिल्ममार्फत व्यक्त गर्न पाउँदा उनी आफूलाई भाग्यमानी पनि ठान्छन् । 'मसँग घटेको कुनै कुरा भन्ने माध्यम र स्रोत मसँग छ । त्यसमा भाग्यमानी नै ठान्छु । फिल्ममेकिङ मेरो लागि डेमोक्रेटिक पेसा हो,' सुवर्ण सुनाउँछन्, 'हामीसँग कति आइडियाहरु हुन्छ । सबै आइडिया लेखिन्छ भन्ने पनि हुँदैन । सायद म फिल्ममेकर नभइदिएको भएँ बाल्यकालको यो घटनालाई राधामा यसरी प्रस्तुत गर्दिन थिएँ होला । मैले सुनाएको कथामा कसैले फिल्म बनाउँथ्यो होला ।'

सुवर्णले आफ्नो फिल्म करिअरमा व्यावसायिक रूपले सफल निर्देशक बन्ने भन्ने सोचसहित 'फन्को', 'बाटोमुनिको फूल २' बनाए । तर, दुवै व्यवसायिक रुपले असफल फिल्मको सूचीमा थपिए मात्र । 'राधा'सम्म आइपुग्दा सुवर्णले बुझिसके, 'म कस्तो फिल्म बनाउन सक्षम रहेछु, मैले गर्नुपर्ने के रहेछ, कसरी अगाडि बढ्नुपर्ने भन्ने कुरा यही फिल्मले निर्क्यौल गर्नेछ ।'

'राधा'लाई बुसानमा ग्रान्ट

सुवर्णले सन् २०१४ तिरै 'राधा'को कथा लेख्न सुरु गरेका थिए । बाल्यकालको त्यो घट्ना दुस्वप्न बनेर उनको मनमा गढेको थियो । त्यही अनुभव स्क्रिप्टमा उतारे । निर्माणाधिन स्क्रिप्टलाई बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलभित्रको एसीएफ(एसियन सिनेमा फन्ड)मा पठाए । २०१७ मा स्क्रिप्टले १० लाख अनुदान(ग्रान्ट) पायो । अहिले बनिसकेको फिल्मलाई पनि बुसानमा पठाएका छन् । तर, नतिजा आइसकेको छैन । 'स्क्रिप्टलाई बुसानले छनोट गरिसकेपछि फिल्मलाई पनि छनोट गरिहाल्छ नि ! साथीहरु सुवर्णलाई सुनाउने गर्छन् । तर, उनलाई थाहा छ, 'सबै स्क्रिप्ट राम्रो फिल्म बन्छ भन्ने हुँदैन । ग्रान्ट पायो भन्दैमा छान्छन् भन्ने पनि हुँदैन । फिल्म कस्तो बनेको छ भन्ने फरक कुरा हो ।'

'राधा'को कथा अलि अगाडि नै लेखिएको भए पनि फिल्म निर्माणको काम सहजै अगाडि बढेको थिएन । अन्य प्रोजेक्टमा व्यस्त भइदिँदा 'राधा'को काम पछाडि धकेलिन्थ्यो । तर, जब कोभिडले सुवर्ण घरभित्र थुनिए, गर्ने भनिएका सबै कामहरु रद्द भए । पहिलो लकडाउन र दोस्रो लकडाउनबीच भने उनले 'राधा'लाई बनाउने निर्णय गरे । १७ वर्ष फ्रान्स बसेर २०१७ मा नेपाल फर्केका सुवर्णले फिल्मलाई आफ्नो कम ब्याकका रुपमा हेरेका छन् । 'नेपाल फर्केपछि आफूलाई कसरी स्थापित गर्ने भन्ने प्रश्न थियो । १७ वर्ष फ्रान्समा बिताउँदा आफूँ कहाँको हो भन्ने पहिचानको संकट महसुस गरें,'उनले भने,'फ्रान्समा हुँदा नेपाली भनेर चिन्थे म, अनि नेपालमा हुँदा फ्रान्सको । नेपाल आउँदा फ्रान्स कहिले फर्कन्छौ भनेर सोध्थे। त्यसैले मलाई पनि म कहाँको हुँ त भन्ने सँधै भइरहन्थ्यो । त्यसैले पनि यो फिल्मलाई कमब्याकको रूपमा लिएको छु ।'

महिला चरित्र चित्रणका बहसमा कहिल्यै नछुट्ने 'सुनगाभा'मा निशा अधिकारी र दिया मास्के प्रमुख भुमिकामा छन् । 'राधा'मा सृष्टि श्रेष्ठ प्रमुख छिन् । 'सुनगाभा', 'राधा'मा महिलालाई प्रमुख भूमिकामा देखाउनु नियतवस नै हो कि कथाको माग ?

'म आमा दिदीसँग हुर्कें । म उनीहरुसँग धेरै नजिक छु, उनीहरुको समस्या देखेको छु । आफैं पनि बुवा बनिसकें । हाम्रो समाजमा समस्या घरबाट सुरु हुन्छ । घरको मुली महिलाहरुले त्यसको सामना गर्छन् । पुरुषहरु कमाउन बाहिर जालान, तर घर चलाउने त महिला नै हुन् । समस्या नभइ फिल्म बन्दैन । समस्यामाथि फिल्म बनाउने क्रममा मेरो खोजमा महिलाहरु आउनुहुन्छ,' सुवर्णले जवाफ दिँदै भने, 'महिलाको आवाज दबिएका छन् । हामीले आवाज उठाउने उनीहरुका लागि नै हो नि । उनीहरुकै आवाज सुनिनुपर्छ भनेर फिल्म बनाउने हो ।'

केही फिल्महरुमा पति विदेसिँदा महिलालाई पर पुरुषसँग हिँडेको परम्परागत चरित्र चित्रणमा देखाइए । तर, सुवर्ण आफ्नो पतिको पर्खाइमा बस्ने ती तमाम महिलाहरुको भावनालाई 'राधा'मा देखाउन चाहन्थे । 'केही फिल्महरुमा लोग्ने विदेश जाने बित्तिकै पर पुरुषसँग लसपस गरेको देखाइन्छ । के त्यति मात्र हो त हाम्रो समाज ? अन्य महिलालाई पनि त्यही सूचीमा राख्न भएन नि । त्यस्ता महिलाहरु पनि छन्, जो कुनै दिन आफ्नो जिन्दगीले नयाँ रूप लिन्छ भन्ने आसमा छन्,' उनले भने, 'राधामा बिहेपछिको प्रेमलाई देखाइएको छ । आफ्नो पतिको आस्था र प्रेम छ । फिल्म हेरिसकेपछि यतिसम्म पनि हुन्छ र भन्ने प्रश्न दर्शकले गर्न सक्लान् ।'

फिल्मको ट्रेलरमा हेर्नुभएको छ भने एउटा दृश्यमा राधाले तिलहरी बेचेको देखाइएको छ । 'राधा' बनाउन पनि सुवर्णले पत्नीको सुन बेचेको बताउँछन् । 'ब्याजमा पैसा खोजेर फिल्म बनाएँ । मैले पनि श्रीमतीको सुन बेचेको छु,' गम्भीर भावमा सुनाए, 'मेरो जीवनको सम्पूर्ण लगानी फिल्ममा लाएको छु । मेरो जिन्दगी नै दाउमा लगाएँ । यो फिल्म राम्रो भयो भने मेरो करिअरको कमब्याक हुन्छ । मेरो आमा, भाउजू, श्रीमती र सारा महिलालाई समर्पित गरेर फिल्म बनाएँ । मेरो जीवनलाई नै फिल्म बनाएँ ।'

सुवर्णलाई अहिले हलसम्म दर्शकलाई कसरी ल्याउने भन्ने डर छ । पछिल्ला समय फरक ढंगबाट कथा भनिएका फिल्महरुले खासै हलसम्म दर्शक तान्न सकेको छैन । 'राधा'लाई नेपाली बजार लक्षित गरेर नै बनाइएको हो । पछिल्लो समय फरक धारका फिल्मले दर्शक हलसम्म तान्न नसक्नुमा कथा वाचनमै समस्या रहेको सुवर्णको बुझाई छ । 'ती फिल्महरुमा फिल्मकर्मी इमान्दार थिएनन् । ती फिल्मकर्मी कथा भन्न मै चुकेका हुन् । सायद त्यो कथाहरुमा किताब बन्थ्यो होला । सुनाउँदा मात्र पनि राम्रो सुनिन्थ्यो होला । तर, फिल्म त अर्कै विधा हो नि । कथाजस्तो हो त्यस्तोले काम गर्दैन, कथालाई बनाउनुपर्छ । कुलोलाई जसरी कथालाई बगाउन सकिन्छ । दर्शक त बाठा छन् । उनीहरुले फिल्मकर्मीको कमजोरी देखिहाल्छन्,'सुवर्णले सुनाए,'यो फिल्ममा मेकिङका हिसाबले निकै मिहेनत गरेको छु । अब यत्ति गर्दा पनि दर्शक हलमा आइदिएनन् भने पोर्न फिल्म बनाउने पो हो कि ?' सायद लार्जर द्यान लाइफका फिल्महरु बनाउनु पर्ने हो कि ?'

फिल्ममा लगभग १ करोड ८० लाखको लगानी भएको सुवर्णको भनाइ छ । त्यसैले पनि व्यावसायिक रूपले फिल्म चल्दियोस् भन्ने उनको आसा छ । हालै सुवर्णको टिमले हताहतार गरेर 'पावैमा पाउजू'बोलको तीजको गीत छायांकन गरेर सार्वजनिक समेत गरे । प्रचारका हिसाबले सार्वजनिक गरिएकोजस्तो देखिए पनि फिल्ममा उक्त प्रसंग आवश्यक भएकाले नै खिचिएको सुवर्णको तर्क छ । 'कथाको एउटा कालखण्ड हुन्छ, त्यो हिसाबले तीज पर्‍यो । त्यसैले यो गीत राख्यौं । हामी कहिलेकाहीँ फिल्ममा दशैं/तिहार बिर्सिदिन्छौं । लोग्नेको विरहमा राधालाई रुवाएर मात्र देखाउनु भएन । उनको त्यो भावनालाई देखाउन तीजको प्रंसग जोडेका हौं ।'

सन् १९९४ देखि थिएटरबाट अभिनय सुरु गरेका सुवर्ण कलाकार हुँदै निर्देशनमा लागेका हुन् । सन् १९९७तिर फ्रान्समा पुगेका उनले त्यहीँको फिल्म विद्यालयमा 'इनिसियसन इन फिल्म डारेक्टिङ' पढेपछि 'मलामी' बनाए । फिल्मका लागि फ्रान्सको सीएनसी(सेन्टर नेसन अफ सिनेमेटोग्राफी)बाट अनुदान पनि पाएका थिए । 'मलामी'बाट निर्देशनमा होमिएका उनी आफूलाई समयभन्दा अगाडि नै निर्देशक बनेको विश्लेषण गर्छन् । 'समय भन्दा अगाडि नै निर्देशकीय फाँटमा म आएँ । त्योभन्दा अगाडि त कलाकार थिएँ नि त,'हाँस्दै सुवर्णले सुनाए ।

प्रकाशित : श्रावण २६, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

श्रीमती र सासुलाई मट्टितेल छर्केर आगो लगाएको आरोपमा एक जना पक्राउ

सन्तोष सिंह

धनुषा — श्रीमती र सासुलाई आगो लगाएर फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।


सदालाई भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको उनले बताए ।

भंगहा नगरपालिका-१ कञ्चनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया श्रीमती प्रमीलादेवी सदालाई औरही नगरपालिका-८ का शंकर सदाले शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाएका थिए । आगोले जलेर सिकिस्त आमा-छोरीको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २६, २०७९ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×