कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रंगमञ्चमा मौलिक लहर

विदेशीका अनुवादित नाटकबाट नेपाली परिवेशमा आकर्षित रंगकर्मी भन्छन्– ‘अब बल्ल आएर विषयको कमी रहेन’
‘रंगमञ्चमा युवा पुस्ताको दरिलो उपस्थितिसँगै नेपाली परिवेशका नाटक आइरहेका छन्, नाटककै रूपमा अहिले भाषा, संस्कृति र पहिचानका पक्षहरु बुलन्द रूपमा उठान भइरहेका छन्’
सुशीला तामा‌ङ

काठमाडौँ — अवस्था अलिकति सहज भइरह्यो भने रंगमञ्चमा दर्शकले नेपाली नाटकहरू पर्याप्त हेर्न पाउने छन् । यसको संकेत रंगकर्मीहरूले गरेका हुन् । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा हालै मात्र अमजद प्रवेजसँगै घिमिरे युवराजको लेखन र निर्देशनमा नाटक ‘हिँउको पृथ्वी यात्रा’ को मञ्चन सकियो ।

रंगमञ्चमा मौलिक लहर

नदीलाई पात्र बनाएर नाटकले प्रकृति, मान्छे र अन्य जीवबीचको सम्बन्धलाई केलाउने प्रयत्न गरेको थियो । प्रकृति दोहन गर्दै अघि बढेको असन्तुलित विकासले जीवन जगत्लाई परेको असरलाई नाटकले विषय बनाएको थियो । शिल्पीले कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवदेखि देशका विभिन्न भागमा नाटकलाई मञ्चन गर्‍यो । शिल्पीको यस नाटकले नेपाली नाट्य क्षेत्रमा अर्को नयाँ नाटकको संख्या थप्ने कामसँगै समसामयिक जल्दोबल्दो मुद्दालाई रंगमञ्चको माध्यमबाट उठान गर्ने काम भयो ।

अहिले नेपाली रंगमञ्चमा दर्शकहरूले थिएटरमा महिनैपिच्छे नयाँ–नयाँ स्वादका नाटकहरू हेर्न पाइरहेका छन् । कुनै समय नेपाली रंगमञ्च उर्दू, हिन्दी तथा अन्य विदेशी नाटकहरू अनुवादमै भर पर्नुपर्ने अवस्था थियो । अहिले भने रंगमञ्चमा नाटक प्रदर्शन गर्नका लागि आफ्नै भाषाका मौलिक नाटकहरू सिर्जना भइरहेको रंगकर्मीहरू बताउँछन् । अहिले नाटक निर्देशन गर्ने मानिसहरूले नेपाली नाटक खोजी गर्ने युवराज बताउँछन् । ‘समसामयिक विषयका नाटक पहिला पनि लेखिन्थ्यो र अहिले पनि लेखिरहेकै छ,’ उनले भने, ‘पहिला नाटकारले घरमा बसेर नाटक लेख्थे भने अहिले टिम बसेर लेख्ने चलन छ ।’

२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा जलयातायात सञ्चालनका लागि खुवालुङलाई ‘क्रेन लगाएर फुटाउने’ बताएका थिए । अरुण, तमोर र दूधकोसीको संगमस्थलमा रहेको उक्त ठूलो ढुंगो केवल ढुंगा मात्रै नभएर किरातहरूको आस्थासँग जोडिएको छ । त्यसैले उक्त अभिव्यक्तिको विरोध भयो । सरकारका सबैले पनि खुवालुङबारे फेरि अनावश्यक बोलेनन् । तर उक्त घटनाले उदाएका अभियानकर्मी तथा किरात समुदायले सांस्कृतिक आन्दोलन अघि बढाए । त्यसकै रूपमा अहिले थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ को मञ्चन हुँदै छ । किरात समुदायको सांस्कृतिक बिम्ब र आदिम सभ्यतासँग जोडिएको सप्तकोसीका तीन नदीको संगमस्थलमा रहेको ‘खुवालुङ’ लाई बचाउने अभियानकै रूपमा नाटक प्रस्तुत भएको नाटकका लेखक राजन मुकारुङ सुनाउँछन् ।

केही समयअघि आरोहण गुरुकुलमा मञ्चन भएको नाटक ‘सेमुना’ ले पूर्वका किरात समुदायको संस्कृति तथा जीवन पद्धतिलाई पृष्ठभूमिमा बाँधेर करिब तीन दशकअघिको जनजीवन र वियोगान्त प्रेमकथा प्रस्तुत गर्‍यो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र आरोहणले यही असार महिनामा सम्पन्न गरेको बहुभाषिक नाट्य उत्सवमा लोपोन्मुख जातिको सूचीमा रहेको लाप्चा समुदायले आफ्नो भाषा र सभ्यतालाई नाटकमार्फत नै काठमाडौंसम्म ल्याए । राजनीतिक व्यवस्था परिवर्तनसँगै नाट्य क्षेत्रले स्वतन्त्र रूपमा प्रस्तुतिको वातावरण दिएको नाट्यकर्मी अशेष मल्लको भनाइ छ । ‘रंगमञ्चमा युवा पुस्ताको दरिलो उपस्थितिसँगै नेपाली परिवेशका नाटकहरू आइरहेका छन्,’ उनले भने, ‘नाटककै फर्ममा अहिले भाषा, संस्कृति र पहिचानका पक्षहरू बुलन्द रूपमा उठान भइरहेका छन् ।’

नाटकमार्फत कुनै पनि समुदायको कथा प्रस्तुत गर्दा कविता, उपन्यास जस्ता साहित्यका विधाभन्दा अझ दायरा फराकिलो हुने मुकारुङको बुझाइ छ । कुनै पनि विषयप्रति कविता तथा उपन्यासमा पाठकले लेखकप्रति धारणा बनाए जस्तै नाटकमा पात्रमार्फत बनाउने उनले सुनाए । उनले भने, ‘नाटकमा दृश्य, स्क्रिप्टसँगै कथा भन्ने टिम हुन्छ । यसमा पात्रतिर नै हेर्ने दर्शकहरू प्रभावित हुन्छन् । लेखक, निर्देशक, कोरियोग्राफी, लाइट जस्ता थुप्रै पक्षहरू हुने भएकाले विषयवस्तुको दृष्टिकोण र हेर्ने दायरा फराकिलो नै हुन्छ ।’

अहिले रंगकर्मीहरूले भाषा, शरीर, मनोविज्ञान, समाज र तत्कालीन समयलाई नयाँ शैलीमा रंगमञ्चमा पस्किरहेका छन् । अघिल्लो महिना टेकुस्थित कौसी थिएटरमा मञ्चन भएको नाटक ‘ऐया ∕माया’ मा रंगकर्मी सुदाम सिकेले मानवीय भोगाइ र संवेदनालाई रंगमञ्चमा प्रस्तुत गरे । ‘रंगमञ्च भनेकै नयाँ भाषा, शैली, पद्धति बनाउने र मानिसले आफ्नो धारणा राख्न पाउने स्पेस हो,’ उनी भन्छन् । नाटकहरूमा सामाजिक परिवर्तनलाई जोड दिने विषयहरूसँगै विभिन्न समुदायका परम्परा र पहिचानका कुराहरू आउनु निकै सकारात्मक पक्षका रूपमा लिन्छिन्, नाट्य प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा रंगकर्मी निशा शर्मा । विभिन्न जातजातिका मौलिक संस्कृति तथा आवाजहरू बिस्तारै नाटकमा उठान भइरहेको उनले बताइन् । ‘हामीले नसुनेको, थाहा नभएको र ओझेल परेका कतिपय कुराहरू नाटकमा आइरहेका छन् । यसलाई राज्यले नै अझै अगाडि ल्याउन प्रोत्साहन गर्नुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भनिन् ।

किरात, लिच्छवि, मल्ल, राणाकाल तथा लोक डबली हुँदै आजसम्म आइपुगेको नेपाली नाट्य क्षेत्रको यात्रा त्यति सहज नभएको रंगकर्मी मल्लले सुनाए । सरकारीभन्दा गैरसरकारी क्षेत्रबाट नै रंगमञ्च आजसम्म बाँचिरहेको उनको दाबी छ । २०३५ सालमा पञ्चायत शासनको विरोधस्वरूप त्रिभुवन विश्वविद्यालय हातामा रंगकर्मी मल्लको नाटक ‘मुर्दावादमा उठेका हातहरू’ मञ्चन भएको थियो । मञ्चनको सुरु भएको तीन दिनमै तत्कालीन सरकारले बन्द गराएको स्मरणमा ताजै छ । त्यो बेला नाटक पनि अञ्चलाधीश कार्यालयबाट सेन्सर भएर मात्र मञ्चन अनुमति दिइन्थ्यो । त्यतिबेला जति नाटकमा प्रतीकात्मक बिम्बहरू प्रयोग गरियो त्यति नै सेन्सर नहुने सम्भावना रहने उनले स्मरण गरे । २०३९ मा बिम्बहरू प्रयोग गरी लेखिएको ‘हामी वसन्त खोजिरहेछौं’ लाई कुनै रोकतोक भएन । ‘नाटकमा शब्दहरू सिधै लेखियो भन्ने अञ्चलाधीश कार्यालयका कर्मचारीहरूले बुझेर काट्ने वा रोकिदिने गर्थे’, उनले भने ।

नेपाली रंगमञ्चको इतिहास हेर्दा वि.सं. १९८६ मा नक्सालका उस्ताद नारायण दासले सर्वप्रथम जनसाधारणलाई पब्लिक रंगमञ्चमा हिन्दीबाट अनूदित नाटक देखाएका थिए । नेपाली आधुनिक नाट्यकलाको युग बालकृष्ण समको समयमा नै सुरु भयो । संस्कृतबाट नेपाली अनुवादसँगै उर्दू तथा हिन्दी भाषामा बनेका नाटकहरू राणाकालीन समयमा दरबारभित्र नै सीमित भएको अवस्थामा समले आधुनिक नाट्य क्षेत्रमा एक खालको क्रान्ति नै ल्याएका थिए । वि.सं. १९८६ मा प्रकाशित समको नाटक ‘मुटुको व्यथा’, त्यस्तै १९९५ मा मञ्चित समको ‘मुकुन्द इन्दिरा’ नाटकले परम्परागत नाटकको धार नै परिवर्तन गरेको रंगकर्मीहरू सुनाउँछन् । बालविवाह तथा श्रीमान्/श्रीमतीबीचको बिछोड जस्ता सामाजिक समस्यालाई नाटकले सर्वसाधारणले बुझ्ने सरल भाषामा बुझाएको थियो । समको ‘मुकुन्द इन्दिरा’ नाटकले नाट्य क्षेत्रमा रंगमञ्चको शैली सरलीकरण गरेको रंगकर्मी प्रचण्ड मल्लको लेख ‘काठमाडौं उपत्यकाको रंगमञ्चीय परम्परा र स्त्री पात्रका रूपमा पुरुष’ मा उल्लेख छ ।

नाट्य क्षेत्रमा अहिले रंगकर्मीहरूले आफ्नै धारणा, शैली तथा पद्धति बनाउने स्वतन्त्रता रहे पनि स्वअनुशासन पालना गर्नुपर्ने अशेष मल्लको राय छ । आम मानिसले भोगेको युद्ध, भूकम्प, नाकाबन्दी, कोरोना महामारीमा थप पीडा दिनेभन्दा पनि उत्साह र आशा जगाउने नाटकहरू अबको समयमा सिर्जना जोड दिनुपर्ने उनको मत छ । भन्छन्, ‘नाटक भनेको मनोरन्जन मात्र होइन । जनमानसमा जनजागरण र जनचेतना जगाउनु नाटक र रंगकर्मीहरूको सामाजिक दायित्व पनि हो ।’

रंगमञ्चमा विदेशीभन्दा नेपाली नाटक नै बढी

नेपालमा अन्य विधाभन्दा नाटक सिर्जना न्यून भएको देखिन्छ । उपत्यकामा सबैभन्दा बढी नाटक चल्ने मण्डला, शिल्पी, आरोहण गुरुकुल, कौसी जस्ता थिएटरमा नाटकहरू पनि मञ्चन भइरहेका हुन्छन् । तथापि नेपाली नै बढी मञ्चन हुने गरेको शिल्पीका घिमिरे युवराज बताउँछन् । शिल्पीमा पछिल्लो समय मञ्चन भएको विदेशी नाटक ‘अनुपस्थित–३ (नो एक्जिट)’ हो ।

फ्रान्सेली नाटककार जाँ पल सार्त्रको नाटकलाई युवराजले नेपाली रूपान्तरण तथा निर्देशन गरेर मञ्चन गरेका थिए । उनका अनुसार शिल्पीमा हालसम्म तीन दर्जनको नाटक मञ्चन हुँदा ‘द एप्पल कार्ट’, ‘तार्तुफ’ लगायतका आधा दर्जनको हाराहारीमा मात्र विदेशी नाटक मञ्चन भएका छन् । भन्छन्, ‘नेपाल नाटक नै नभएर विदेशी नाटकहरू मञ्चन गरेको चाहिँ हुँदै होइन । हामीले जति पनि नाटक गर्छौं, विश्व प्रख्यात भएकाहरूमा छानेर गर्छौं र संसारमा कस्ता नाटकहरू रहेछन् भन्ने कुरा थाहा हुन्छ ।’

यसबाट विदेशी नाटक लेखनदेखि, संवाद, पात्र, प्रस्तुति हरेक कुराहरू सिक्न र बुझ्ने अवसर मिल्ने उनको मत छ । मण्डलाले असार महिनामा मात्र वान वर्ल्ड थिएटर नेपालको प्रस्तुतिमा डेबोरा मेरोलको निर्देशनमा अंग्रेजी नाटक ‘द राइड अक्रस लेक कन्स्टेन्स’ मञ्चन गरिएको थियो । थापागाउँस्थित कुञ्ज थिएटरमा आरोहण गुरुकुलको पुनरागमनसँगै गत पुसमा हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’ (पुतलीको घर) लाई रंगकर्मी सुनील पोखरेलले निर्देशन गरेका थिए । नाटकमा मुख्य महिला पात्र नोराको भूमिकामा रंगकर्मी नीशा शर्मा थिइन् । गुरुकुलमा मञ्चन भएका नाटकहरूमध्ये झन्डै ४० प्रतिशत नाटकहरू विदेशी नाटकहरू रहेको उनले सुनाइन् । विदेशी नै भए पनि नेपाली परिवेश, संस्कृति र विषयवस्तु हेरेर यहाँको वातावरणलाई सुहाउँदो नाटकलाई अनुवाद गरेर मञ्चन गरिएको शर्माको भनाइ छ । उनले भनिन्, ‘हामीले डल्स हाउसमा क्रिसमसको सट्टामा तिहार पर्वलाई राखेका थियौं । अनुवाद गर्दा मूल भावलाई नमर्ने गरी शब्द, भाषा सबैमा हाम्रो मौलिकतालाई नै जोड दिएका हुन्छौं ।’

मण्डला, थिएटर मल कीर्तिपुर रंगमञ्च तथा सर्वनामले नेपाली मौलिक नाटकलाई नै जोड दिएको दाबी गर्छन् । थिएटर मलले हालसम्म २० वटाभन्दा बढी मञ्चन गरिएकोमा नाटककार सेमुयल बकेटको नाटक ‘क्रयाप्स् लास्ट टेप’लाई नेपाली रूपान्तरण गर्दै ‘एकलव्यको अन्तिम टेप’का रूपमा मञ्चन गरिएको थियो । २०७३ मा उक्त नाटक रंगकर्मी चे शंकरले निर्देशन गरेका थिए ।

त्यस्तै भारतीय लेखक कृष्ण चन्दरको कथामा आधारित रहेर रंगकर्मी केदार श्रेष्ठको नाट्य रूपान्तरण, परिकल्पना तथा निर्देशनमा २०७६ मा नाटक ‘जामुनको रूख’ मञ्चन गरिएको थियो । विदेशी नाटकहरू मञ्चन गर्दा मूल कथालाई आधार बनाएर नेपाली माटो, सामाजिक तथा राजनीतिक जीवनमै ढालेर नाटक प्रस्तुत हुने श्रेष्ठको अनुभव छ । नेपाली भाषासँगै संस्कृतिमा ढाल्दा भने नाट्य रूपान्तरण प्रक्रियामा केही कठिनाइ आउने उनले सुनाए । ‘विदेशी नाटक भनिए पनि मूल कथालाई हाम्रो परिवेशमा मिलाउँदा पूरै नाटक नै लेख्ने जस्तै प्रक्रिया हुन्छ,’ उनले भने ।

विदेशी नाटकहरू मञ्चन गर्दा नेपालको अनुकूल कथाहरू नै बढी प्राथमिकता राखिने भएकाले दर्शकले आफ्नोपनको महसुस गर्ने मण्डलाका रंगकर्मी विजय बरालको भनाइ छ । ‘विदेशी नाटकबाट उनीहरूको संस्कृति र परम्परा थाहा पाउन सकिन्छ,’ उनले भने । मण्डलामा नै पछिल्लो समय मञ्चन भएका नाटकहरू ‘चोरको स्वर’, ‘खुवालुङ’ मा भने दर्शक तथा रंगकर्मीहरूको नै छुट्टै लगाव र अपनतत्वको भावना देखिएको बरालले महसुस गरेका छन् ।

रंगमञ्चका लागि नेपाली परिवेशका विषय समेटिएका नाटक नै सिर्जना हुनु राम्रो हुने रंगकर्मीहरू सुनाउँछन् । पात्र, दृश्य र रंगमञ्चसँगको नियमित संगतले मात्र नाटक लेख्न सकिने भएकाले अन्य विधाभन्दा कठिन रहेको मल्लको भनाइ छ ।

कोरोना महामारीयता जे मञ्चन भए

सर्वनाम

  • सपना अनेक अनेक (नाट्य परिकल्पना तथा निर्देशन अशेष मल्ल)

शिल्पी थिएटर

  • हिँउको पृथ्वी यात्रा (लेखन–निर्देशन : अमजद प्रवेज र घिमिरे युवराज)
  • अनुपस्थित ३ (रूपान्तरण–निर्देशन : घिमिरे युवराज)
  • ६ पात्रको एकलाप (लेखन–निर्देशन : घिमिरे युवराज)

मण्डला थिएटर

  • रोगन (निर्देशन : राजन खतिवडा)
  • तीन ट्रान्जिट (निर्देशन : सोमनाथ खनाल)
  • मीतज्यू (निर्देशन : दयाहाङ राई)
  • चोरको स्वर (निर्देशन : अनिल सुब्बा र अन्वेश थुलुङ राई)
  • इनसाइड–आउटसाइड (निर्देशन : रामहरि ढकाल)
  • द राइड अक्रस लेक कन्स्टेन्स (निर्देशन : डेबोरा मेरोल)
  • खुवालुङ : ढुंगाको बाटो (निर्देशन : किरण चाम्लिङ)

थिएटर मल कीर्तिपुर

  • शिरीषको फूल (निर्देशन : अन्जान प्रदीप)

पुरानो घर थिएटर

  • म (लेखन तथा निर्देशन : सुलक्षण भारती)
  • खत (लेखन तथा निर्देशन : सुलक्षण भारती)
  • लाटीको छोरा (निर्देशन : सुलक्षण भारती )
  • कनन हरलता (लेखन/निर्देशन : कुन्दन थारू)
  • सिटामोल (निर्देशन : जयराम ढकाल)

आरोहण गुरुकुल

  • पुतलीको घर (निर्देशन : सुनील पोखरेल)
  • कोही किन बर्बाद होस् (निर्देशन : चे शंकर)
  • स्कुल (निर्देशन : सुरज तमु)
  • सेमुना (निर्देशन : नीता राई)

कौसी थिएटर

  • हरेक बबाल कुरा (रूपान्तरण : आकांक्षा कार्की र क्षितिज पराजुली)
  • एनिमल फार्म (अनुवाद : आकांक्षा कार्की)
  • ढल्केको सालैजो (लेखन–निर्देशन : आशान्त शर्मा)
  • उलार (निर्देशक : चे शंकर)
  • ऐया माया (निर्देशक : सुदाम सिके)

प्रकाशित : श्रावण २६, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?