र्‍यापको जादु- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

र्‍यापको जादु

नयाँ पुस्ता र्‍यापमा झुम्मिरहँदा नकारात्मक दृष्टिकोण राख्नेहरु पनि छन् । र्‍यापर कुलतमा फस्छन्, छाडा बोल्छन् भन्नेहरु पनि नभएका होइनन् । तर रिलिज भएकै दिन लाखौं दर्शक तान्ने र्‍यापको जादु आखिर के हो ? अनि यो संगीतको इतिहास, मर्म र सन्देश के हो ?
रीना मोक्तान

काठमाडौँ — नेपालमा र्‍याप ब्याटल सुरु गरेका यम बुद्ध (अनिल अधिकारी) भन्थे, ‘कोही व्यक्ति कवि नबने र्‍यापर बन्न गाह्रो छ ।’ अमेरिकन र्‍यापर टुप्याक साकुर पनि र्‍यापलाई ‘कविता’ कै रूपमा व्याख्या गर्थे । ‘स्टोरी टेलिङ, पोइट्री र्‍याप हो । बिट नै प्रयोग नगरिएका कविता पनि र्‍याप हुन सक्छन्, कुराकानीको शैली पनि र्‍याप हो,’ एक अन्तर्वार्तामा टुप्याकले भनेका थिए । 

राग, स्केल मिलाएर गाइरहनु नपर्ने हुँदा युवाहरूको ठूलो जमात र्‍यापमा आकर्षित हुने क्रम बढ्दो छ । र्‍यापर गिरीश खतिवडा भन्छन्, ‘अब र्‍यापमा हाई/लो स्केल हेरेर गीत गाउनु परेन । टाइमिङ मिलाए मात्र पुग्छ । यही माध्यममा आफ्नो कुरा राख्न सकियो भने त्यो व्यक्ति र्‍यापर भइहाल्यो । आफूलाई भन्न मन लागेको कुरा अभिव्यक्त गर्न पाउने सजिलो, छरितो माध्यम नै र्‍याप हो ।’

नयाँ पुस्ता र्‍यापमा झुम्मिरहँदा यसप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू पनि छन् । र्‍यापरहरू कुलतमा फसेका हुन्छन्, छाडा शब्द भएकाले परिवारसँग बसेर सुन्न सकिँदैन भन्नेहरू पनि नभएका होइनन् । तर रिलिज भएका केही दिनमै युट्युबमा लाखौं दर्शक झुम्मिनुले नयाँ पुस्तामा यसको लोकप्रियता पुष्टि गर्छ । तीन सातामै लिल बुद्ध (साकार अधिकारी) को ‘नो पिस इन लभ’ ले ३८ लाख, भिटेन (समीर घिसिङ) को ‘कुकुर’ बोलको र्‍यापले १६ लाख, अनि सातामै लाहुरे (आशिष राना) को ‘बिरामी’ ले २० लाखभन्दा बढी भ्यूज पाएको छ । लाखौंले सुन्ने अनि मन पराउने र्‍याप कस्तो संगीत हो त ?

र्‍यापर गिरीश यसखालको संगीतलाई अभिव्यक्ति माध्यमका रूपमा चर्चा गर्छन् । ‘खासमा बिट अनि रिदममा कविता भन्ने विधा हो र्‍याप । सबैलाई केही न केही भन्न मन लागिरहेको हुन्छ । त्यो कतै कुनै माध्यमले पोख्न पाउँदा त हलुको हुन्छ नि,’ उनी भन्छन्, ‘देशको अन्यायको विषयमा बोलौं भने भाषण दिएझैं हुन्छ । दुःखको कुरा गरे गनगन गरेजस्तो, त्यसैले हामी त्यस्ता कुरा भन्नका लागि कलाशैलीको प्रयोग गर्छौं । चित्रकारले रङबाट आफ्ना कुरा व्यक्त गरेजस्तै हामीले र्‍यापबाटै भन्ने हो ।’

र्‍यापलाई अधिकांशले बोलीचालीमा ‘रिदम एन्ड पोयट्री’ का रूपमा चर्चा गर्छन् । अर्थात् रिदममा कविता भन्ने शैली । ती कविता (विषयवस्तु) कसरी रिदम (फ्लो) मा कुन टोनमा गाइएको छ भन्ने कुराले र्‍यापलाई अर्थाइन्छ । र्‍याप सांगीतिक रागमा गाइरहनु पर्दैन, त्यो इन्स्ट्रुमेन्टको बिट व्यक्त हुन्छ ।

र्‍यापमा गीत लेख्ने, संगीत भर्नेदेखि गाउनेसम्म र्‍यापरले नै गर्नुपर्ने हुँदा यो संगीत अरूभन्दा फरक रहेको बताउँछन् र्‍यापर एवं हाल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) । ‘अन्य सांगीतिक विधामा अरूकै गीतसंगीतमा अरूले नै गाइरहेका हुन्छन् । तर हिपअपमा आफैंले शब्द कोर्नुपर्छ, आफैंले गाउनुपर्छ, आफैंले संगीत संयोजन गर्नुपर्छ,’ उनी भन्छन् ।

पछिल्लो पुस्ताका र्‍यापर मिस्टर डी (सन्दीप विष्ट) र्‍यापलाई भावना र भोगाइसँग जोडेर परिभाषित गर्छन् । ‘र्‍याप भनेको भावना र भोगाइ नै हो । जसमा हाम्रो अनुभूति व्यक्त हुन्छ,’ उनी भन्छन् । उनले भनेजस्तै हालै लाहुरेले आफ्नो दुर्व्यसन अनुभव ‘बिरामी’ मार्फत पोखेका थिए । लागूऔषध दुर्व्यसन मुद्दामा पक्राउ परेका लाहुरेले रिहा भएसँगै सार्वजनिक गरेको यो र्‍यापमा लागूऔषध खान नपाउँदाको छटपटीदेखि, परिवारमा पार्ने प्रभाव समेटिएको छ ।

‘आँखा रसिलो, हड्डी चिलाउने, आङ हुने मेरो जिरिङ जिरिङ

मस्तिष्कको इन्जिन तातियो, मेरो टिनटिन

जब खान पाउँदिन मैले यसलाई छिनछिन... हरेक दिनदिन

दोबाटो, दोधारमा छु, अँधेरो ओडारमा छु

कहिलेकाहीँ आफैंलाई मैले चिथार्दै कोपार्दै छु

सुन कथा केटा हो, मनभित्रको बेथाको

***

सन् १९७० तिर न्युयोर्क सहरको ‘द ब्रंक्स’ मा डिजे बिट बक्सरले माइकमा बिटसँगै राइम गाउन थाले । उनीहरू आफैं पार्टी आयोजना गर्थे, कार्यक्रम उद्घोषण गर्ने शैलीमा बिट र राइम मिसाउँदै बोल्थे, गाउँथे । डिजेइङसँगै राइम मिलाउन थालेपछि न्युयोर्कको गरिब नगर ब्रंक्समा नयाँ संगीतको उदय भयो । त्यसैले उद्घोषण र डिजेहरूबाट हिपहप संगीत सुरु भएको मानिन्छ । सन् १९७३ तिर जमैकन आप्रवासी कुल हर्कले ब्रंक्समा पार्टी आयोजना गर्दै र्‍याप सुरु गरेको र त्यसैलाई हिपहप संगीतको सुरुवात भएको मान्नेहरू पनि छन् । विश्वमा हिपहपको तरंग छाएको २० वर्षपछि मात्रै नेपालमा र्‍यापको बिजारोपण भयो ।

सन् १९९२ मा गिरीश खतिवडा र प्रनिल तिमल्सिनाले पहिलो पटक ‘मिनिङलेस’ र्‍याप रेकर्ड गरे । जीपी (गिरीश–प्रनिल) ब्यान्डले सार्वजनिक गरेको यही सिर्जनालाई नेपालको पहिलो र्‍याप मान्ने गरिन्छ । कक्षा ८ पढ्दै गिरीशले र्‍याप गाउन थालेका थिए । उनलाई दाइहरूले हौस्याएपछि त्यसको एक वर्षपछि प्रनिलसँग ‘मिनिङलेस’ ल्याएका हुन् । त्यसअघि पनि गिरीशको ह्यांकी प्यांकी भन्ने ब्यान्ड थियो । तर, २/३ गीत गरिसकेपछि त्यो ब्यान्ड अगाडि बढेन । त्यतिबेला र्‍यापलाई प्रचार र मोर्चाका रूपमा बुझ्ने गरेको गिरीश सुनाउँछन् । ‘मैले गाउँदा कसैले बुझ्दैन थियो । प्रचार वा मोर्चाका रूपमा लिन्थे । धेरैले त गीत सिक्न जा पनि भन्थे,’ उनी तीन दशकअघिको समय सम्झन्छन्, ‘हेभी मेटललाई जसरी हल्ला गरेको, चिच्याएको भन्थे हामीलाई पनि मोर्चा गरे भन्थे । खासमा त्यतिबेला हामी हेभी मेटलमा र्‍याप गर्थ्यौं । ट्र्याकमा गाउन लाज हुन्थ्यो । त्यतिबेला एउटा गायकले सबै इन्स्ट्रुमेन्ट बुझ्न जरुरी थियो ।’

हुन त सन् १९९१ मा रेकर्ड भएको ‘बत्ती बालेर’ लाई गायक रतन सुवेदी पहिलो नेपाली र्‍याप भर्सन दाबी गर्छन् । तर, र्‍यापरहरू उनको गीतलाई ‘प्यारोडी’ बताउँदै र्‍याप मान्न अस्वीकार गर्छन् । ‘यदि रतनलाई र्‍यापरकै समूहभित्र राख्ने हो भने उनी नै पहिलो र्‍याप रेकर्ड गर्ने व्यक्ति हुन् । तर, र्‍याप मात्रै हेर्ने हो भने गिरीश र प्रनिल नै पहिलो र्‍याप रेकर्ड गराउने र्‍यापरहरू हुन्,’ लुरे (मानस घले) भन्छन् ।

र्‍याप रेकर्ड गराएको घरमा थाहा पाएपछि सुरुमा निकै गाह्रो भएको गिरीश सम्झन्छन् । ‘ट्युसन भन्दै म लुकीलुकी संगीत गर्थें । त्यतिबेला हाम्रो संगीतलाई खासै राम्रो मान्दैन थिए,’ उनले भने, ‘हाम्रो जमानामा पंक संगीत धेरै चल्थ्यो, त्यतिबेला यो क्षेत्रका लागि ड्रग्स र ब्यान्ड सबै नयाँ थियो ।’

गिरीश र प्रनिलपछि एनएसके (निर्णय श्रेष्ठ) ले ‘फर यु अल’ मार्फत डेब्यु गरे । उक्त र्‍याप अंग्रेजीमा थियो । ‘त्यतिबेला र्‍याप भन्ने विधा पनि आयो है भन्ने सुनिन थाल्यो । उनीहरू वेस्टर्न कल्चर संगीत गरिरहेका छन् भन्ने बुझिन्थ्यो,’ गिरीश सम्झन्छन् । त्यसपछि नेपसाइडज (किरण श्रेष्ठ, मानस घले, ग्यानोन चित्रकार) ले सन् २००२ मा ‘हेल रेजर’ ल्याए । त्यसपछि गिरीश र प्रनिलले त्यही वर्ष दोस्रो र्‍याप एल्बम सार्वजनिक गरे, ‘ब्याक अगेन’ ।

‘म यस्तो छु, म त्यस्तो छु

जस्तो सुकै भए पनि दामी छु

चारैतिर नामी छु, ताल परे हरामी छु...’

ब्याक अगेनको यो हुकलाइन र्‍यापप्रेमीबीच घन्किन थाल्यो । हिपहप संगीतको दृश्यमा यही संगीतले परिवर्तन ल्याइदिएको गिरीश दाबी गर्छन् । ‘यसपछि हाम्रो डिमान्ड बढ्न थाल्यो । त्यसपछि अंग्रेजी र्‍याप गर्नेहरूले नेपालीमा गाउन थाले,’ उनी भन्छन् । त्यसलगत्तै निर्णयले वैदेशिक रोजगारीका पीडालाई समेट्दै ‘दिन पनि बित्यो’, ‘हाम्रो गाउँले जीवन’ लगायतका र्‍याप निकाले । गिरीश एन्ड दि युनिटीको ‘सी इज द बम्ब’ ले पनि निकै चर्चा पायो । ‘मेड इन नेपाल’ एल्बमबाट ‘छुँदैन तिम्रो मायाले’, ‘माया ओ माया’ लगायतका गीत धेरैका मुखमा झुन्डिए ।

‘मेड इन नेपाल’ पछि हिपहप मन पराउनेको संख्या बढेको मानसको बुझाइ छ । गिरीश र एनएसकेहरूले र्‍याप गरिरहँदा मानसको टिम अन्डरग्राउन्ड र्‍याप गर्थ्यो । उनी साथीहरूसँग मिलेर र्‍याप कभर पनि गर्थे । तर, विस्तारै नेपहप डटकममा बोलेर, लेखेर र्‍याप ब्याटल गर्न थालेसँगै नेपसाइडजमार्फत र्‍याप सुरु गरेको मानस सम्झन्छन् । त्यतिबेला नै उनीहरूले हिपहपलाई नेपाली नामकरण गरे– नेपहप । ‘नेपहप भन्ने शब्द डिजे एजे र मैले मिलेर सुरु गरेका हौं । १९९९ तिर ब्याटल गर्नेहरू हामीलाई अंग्रेजी बोल्न आउँदैन भनेर सोच्थे । त्यो ब्रेक गर्न हामीले नेपालीले पनि हिपहप गर्न सक्छ भनेर नेपहप शब्द सुरु गर्‍यौं,’ मानसको व्याख्या छ, ‘नेपहप अर्थात् नेपाली हिपहप । यो टर्मिनोलोजीमा अझै विवाद छ । अन्डरग्राउन्ड र्‍यापरहरूले नेपहपलाई कमर्सियल मान्छन् । बिबोइङ गर्नेहरूले अझै पनि हिपहप नै प्रयोग गरिरहेका छन् ।’

सुरुवाती दिनमा र्‍याप अंग्रेजीमै हुनुपर्थ्यो भन्ने विश्वास मानसमा थियो । ‘राम्रो या नराम्रो होस् तर अंग्रेजीमै हुन्थ्यो । हामीले पनि डिक्सनरी हेर्दै शब्द छानेर पहिलो एल्बम सुरु गर्‍यौं । तर, वितरककहाँ पुग्दा अंग्रेजी मात्रै भयो भनेर एल्बम नै लिन्थेनन्,’ उनी पुराना दिन सम्झन्छन्, ‘दोस्रो एल्बम मेड इन नेपालमा ४ वटा नेपाली र बाँकी ६ वटा अंग्रेजी र्‍याप राख्न थाल्यौं । आयो नेपसाइडजमा ५ वटा नेपाली र अंग्रेजी र्‍याप निकाल्यौं ।’

नेपसाइडजको ‘मेडइन नेपाल’ लगत्तै म्याडजोनको ‘केटी तिमी कति राम्री देखेको’ निकै चल्यो । यसबीच नोर्बु शेर्पा, अपार गुरुङ, स्यामी, हाकिमहरू आए । त्यसपछि रिमिक्स गीतको ट्रेन्ड सुरु भयो । रिमिक्समा र्‍याप अनिवार्यजस्तै बन्यो । ‘च्याङ्बा होइ च्याङबा’, ‘कलकत्ते काइँयो’ लगायत गीतलाई रिमिक्स गर्ने अनि र्‍याप मिसाउने ट्रेन्डलाई थुप्रैले पछ्याए । सन् २००० मा भने प्रविधिले र्‍यापको गुणस्तर घटेको गिरीशको विश्लेषण छ । ‘त्यो समय र्‍यापका लागि मात्रै होइन फिल्म, विश्व संगीतको प्रभावकारिता घट्यो । त्यसपछि फेरि र्‍याप ब्युँतिँदै आयो,’ उनले भने । युट्युबमा पहुँच पुगेसँगै र्‍यापरहरूले त्यसलाई प्लेटफर्मका रूपले प्रयोग गर्न थाले । त्यसअघि एम्सी फ्लो, यम बुद्ध, रियल मोटे, मास्टर सुब्बाहरू अन्डरग्राउन्ड नै थिए ।

यमदेखि भिटेनसम्म

सन् २०११ मा आइपुगे, यम बुद्ध । उनीभन्दा अगाडिका अधिकांश र्‍याप मायाप्रेममै सीमित थिए । तर, यमले सामाजिक विषयवस्तुमाथि स्टोरी टेलिङको शैलीलाई स्थापित गराइदिए । यमको ‘साथी’ बोलको र्‍यापले हिपहप संगीतमा ठूलै तहल्का पिट्यो । माया प्रेमका र्‍याप सुनिरहेका दर्शकका लागि पनि यो धेरै अर्थमा नयाँ स्वाद बनेर आयो । त्यस्तै, ‘यो प्रशंसा’ मा छोरा र छोरीबीचको विभेद, बालविवाह र मानव बेचविखनको विषय समेटिएको थियो । आमाका ममता, संघर्ष र योगदानलाई मार्मिक शब्दको कवितात्मक लयमा ‘आमा’ सार्वजनिक गरे । गीतको कोरसले भन्छ–

‘तिम्रो मुहारमा सधैं हाँसो होस्

तिम्रो सदैवको आयु होस्

तिमीभन्दा ठूलो ईश्वर हुँदैन भो

तिमी देवी, तिमी नै मेरो दैव हौ...’

यमका ‘पागलपन’, ‘सिपाही’, ‘हिंसाको कालो बादल’, टुप्याकलाई दिएको ट्रिब्युट (समटाइम) लगायतका थुप्रै र्‍याप रुचाइयो । यमले समसामयिक विषय समेटेकाले र्‍याप क्षेत्रले उनलाई सम्मान दिएको मिस्टर डीको भनाइ छ । ‘यम आएपछि समसामयिक विषय र्‍यापमा उठाउन सकिँदो रहेछ भन्ने भयो । र्‍यापको इतिहासमा यम बुद्धलाई सबैभन्दा ठूलो मान्नुको खास कारण पनि यही हो । उनले जुन प्याटर्न ल्याए, आज सबैले त्यसलाई पछ्याइरहेका छन्,’ उनले भने, ‘महिलाको शरीर, मायाप्रेमका विषय र्‍यापमा चलेका थिए । यमले सामाजिक विसंगति र विकृतिलाई पनि स्थान दिए ।’

यम र्‍याप ब्याटल ‘रअ बार्ज’ सुरु गर्ने र्‍यापर पनि हुन् । अन्डरग्राउन्डमा गीत गाउनेहरूमात्रै होइन प्लेटफर्म नपाइरहेका धेरै र्‍यापर ‘रअ बार्ज’बाटै उदाए । बालेन, युनिक पोइट, लाहुरे, इजी टुवेल्भ, साकार, कविजीलाई यही प्लेटफर्मले चर्चामा ल्याइदियो ।

हुन त यमले झैं गिरीशले पनि आफ्ना भ्लगमार्फत नयाँ प्रतिभालाई स्थान दिए । सुरुवातदेखि नै एनएसकेले पनि हिपहपसम्बन्धी रेडियो कार्यक्रम चलाउँदै आए । तर, र्‍यापलाई मुलधारे मिडियासम्म पुर्‍याउनुमा ‘रअ बार्ज’को मुख्य भूमिका छ । यमले त प्रतिलिपि अधिकार र रोयल्टीको विषय पनि उठाइदिए । ‘रअ बार्ज’ का र्‍यापरले गालीगलौजका शब्द मात्रै प्रयोग गरेको भन्दै धेरैले यमलाई नै दोषी देख्थे । तर, यम र्‍यापरले प्रयोग गर्ने त्यस्ता शब्द समाजबाटै आएको बताउँथे । ‘र्‍यापमा गाली आवश्यक त होइन । तर, कतिले ज्ञानको अभावमा त्यस्तो गाइदिन्छन् । त्यसको बदलामा अरू शब्द नै प्रयोग गर्न सकिन्थ्यो,’ उनले एक भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘कहिलेकाहीं आफूभित्रको रिस, फ्रस्ट्रेसन निकाल्ने बेलामा त्यो आवश्यक हुन आउँछ । धेरैले र्‍याप ब्याटलमा मुख छाड्यो भन्दै गुनासो पनि गर्छन् । कतिले यमले र्‍याप ब्याटलमा गाली बोल्न सिकाए भन्थे । तर मैले उनीहरूलाई सिकाएको होइन नि, उनीहरूले त समाजबाट सिकेका हुन् ।’

यमपछि बालेन, लाहुरे, साकार, भिटेन, युनिक पोइटदेखि जी–बबहरू आइपुगे । र्‍यापलाई क्रान्तिका रूपमा लिने बालेनले सामाजिक मुद्दा, विसंगति र राजनीतिको आलोचना गर्दै र्‍याप गाउन थाले । सन् २०१२ तिरै सडक बालबालिकाको विषय समेट्दै ‘सडक बालक’ सार्वजनिक गरे । २०१३ मा ‘रअ बार्ज’मा ब्याटल जितेका बालेनले ‘आम नेपाली बुबा’, ‘तथ्य’, ‘ओइ बूढा सरकार’, ‘नेपाल हाँसेको’, ‘मन यो उड्यो’ लगायतका र्‍याप सार्वजनिक गरे । उनका यी गीतमा राजनीतिक सरोकार र आलोचना भेटिन्छ । हिपहपले नै बालेनलाई राजनीतिमा पुर्‍याएकामा दुईमत हुँदैन ।

लाहुरेले ‘मेरो सोल्टा’ मा लाहुर जानेहरूको बाध्यता र पीडा समेट्दै पल्टनको कथा समेटिदिए । त्यसपछि ‘तीतो सत्य’, ‘लाहुरे’, ‘हाउडे’, ‘नेपहपको बाटो’ देखि ‘बिरामी’ लगायतमा सामाजिक समस्या र मुद्दा उठाउन थाले । युनिक पोइटका ‘मेरो देश बिरामी’, ‘कालो’, ‘माकस्सम’ लगायतका र्‍याप मन पराइए । साकार, भिटेनका र्‍यापहरूमा दर्शकहरू झुम्मिरहेकै हुन्छन् । भिटेनको ‘सिमसिमे पानी’, ‘गल्ली सडक’, ‘कथा’, ‘यात्रा’, ‘यस्तै त हो नि ब्रो’ लगायत गीतले र्‍यापलाई ठूलो संख्याका दर्शकबीच पुर्‍याउन मद्दत गरेको छ । भिटेन र्‍यापकै कारण प्रहरी हिरासतमा पनि परे । र्‍यापमा प्रयुक्त शब्दलाई लिएर थुप्रै पटक भिटेनको र्‍याप सडकदेखि सत्तासम्म पुग्यो । भिटेनकै गीत युट्युब ट्रेन्डिङमा परेका सुरुवाती र्‍यापहरू हुन् । अहिले र्‍याप संगीतले मुलधारे संगीतसँग प्रतिस्पर्धा गर्न थालिसकेको छ ।

पछिल्लो समय र्‍यापसम्बन्धी रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले भने भाइबर साइमन, एम्सी किङ, बाबु विलिभर, जेनिश क्षत्री, विशेष भट्टराईलगायत थुप्रै प्रतिभालाई उजागर गरिदिएको छ । नेपालको पहिलो हिपहप संगीतमाथिको रियालिटीले र्‍यापको विविधतासमेत देखाइदिएको गिरीश बताउँछन् । ‘नेपहपको श्रीपेचले र्‍यापको विविधता देखाइदिएको छ । दुई व्यक्तिबीचको झगडा मात्रै पनि र्‍याप होइन,’ उनी भन्छन्, ‘र्‍याप सबैका लागि हो, कुर्ता–सुरुवाल लगाएर पनि र्‍याप हान्न सकिन्छ ।’

शोकै कारण र्‍यापरहरूले फरक–फरक स्वाद पस्कन थालेको मिस्टर डीको बुझाइ छ । ‘लाहुरेले पोखराको स्वाद र्‍यापमा ल्याएका छन् । काठमाडौंको स्वाद काठमाडौंका र्‍यापरहरूले ल्याइरहनुभएको छ,’ उनी भन्छन्, ‘तराईबाट भ्योमाले त्यहाँको स्थानीय स्वाद मिसाइरहेको छ ।’ दुई वर्षअघि सुरज क्षत्री (भ्योमा) र दीपक कहार (डी–१) ले ‘ढाका धोती’ मार्फत पहाडिया र मधेसीबीचको भेदभाव समेट्दै र्‍याप भिडियो सार्वजनिक गरेका थिए ।

सुना कान खोली तोरा बोली, हिमाल, पहाड, तराई के

देशके छोरा, भेदभाव जे करेला, ओका हिचके लपेटा

अब सुनल जा मधेस मे, हिपहप कैसन होगा ? देख चल

र्‍यापरलाई हेयको नजरमा हेर्नेहरूको दृष्टिकोणमा परिवर्तन आउन थालेको मिस्टर डीको अनुभव छ । भन्छन्, ‘र्‍याप गाउनैहरू अहिले घरपरिवार सम्हाल्न सक्ने भएका छन्, समाजका उदाहरण बनेका छन् ।’ उनको भनाइमा सही थप्दै मानस पनि र्‍यापप्रति समाजको बुझाइ बदलिएकामा खुसी छन् । ‘बालेनका कारण हिपहप सिस्टममा छिरेको छ, हिपहपले नै उनलाई एउटा जिम्मेवार पदमा पुर्‍याएको छ,’ उनले भने ।

त्यसो त सबै र्‍यापमा छाडा शब्द प्रयोग हुँदैनन् । कतिपय गम्भीर र सामाजिक मुद्दाका विषय पनि र्‍यापमा अट्ने गरेका छन् । ‘अभिभावकलाई सुनाउने हो भने गिरीशको र्‍याप सुनाउनुपर्‍यो । साथीहरूसँग चिल गर्ने मुड भए भिटेनको र देशभक्ति गीत सुन्ने भए बालेनको सुन्नुपर्‍यो,’ उनी भन्छन् । मानस भने नेपाली समाज छाडा शब्दमै अल्झिएको देख्दा अचम्म मान्छन् । ‘सबले छाडालाई पचाइसके । हामी किन त्यसमै अड्किएका हौं,’ उनी प्रश्न गर्छन्, ‘के ती शब्द कुनै मुडमा समाजले प्रयोग नै गर्दैन त ?’

र्‍यापरका लागि अहिले थुप्रै प्लेटफर्मको विकास भएको मानसको अनुभव छ । ‘पहिला त हाम्रा लागि प्लेटफर्म थिएन । अहिले त आमाबुबालाई कसैले र्‍याप गर्छु भन्दा पनि उनीहरूलाई सजिलै दिन्छन्,’ उनले भने, ‘अबको ४/५ वर्षमा नेपाली हिपहपले संसारमा छुट्टै परिचय बनाउँछ । अहिले पनि विदेशीहरूले नेपाली हिपहपमा रियाक्ट गर्न थालिसके । हामी पनि कुनै दिन अमेरिकन म्युजिक अवार्डहरूमा मनोनीत हुन पाउँछौं होला ।’

र्‍यापमा छाडा बोल्न आवश्यक नठान्ने बालेन अहिले र्‍यापको अवस्था राम्रो भएको बताउँछन् । ‘र्‍याप संगीत नबुझ्ने त छँदै छैन । नेपालमा सबैभन्दा चलेको विधा नै हिपअप हो । हरेक प्लेटफर्मले १/२ जना र्‍यापर ल्याइरहेको छ । ब्रेकबाजमा जिबव हिट भयो,’ उनी भन्छन्, ‘कविता बुझ्नेले र्‍याप बुझिहाल्छ, र्‍यापमा कविता हुन्छ । राइम र लेखन फरक होला, तर अहिले सबैजनाले बुझ्न थालेका छन् ।’

पछिल्लो समय महिलाहरूको उपस्थिति पनि र्‍यापमा बढ्न थालेको छ । हाल २१ वर्षीया दिमृति विश्वकर्मा सक्रिय छिन् । उनीअघि समन्थ मगर, परी, स्यामुनलगायत सक्रिय देखिन्थे । ‘महिला र्‍यापर थोरै छौं । पितृसतात्मक समाजमा महिलाहरूले त्यस्तो स्वतन्त्रता पाइरहेको हुँदैन,’ उनी भन्छिन्, ‘महिला र्‍यापरहरू आइरहे पनि अगाडि बढ्न गाह्रो छ । तर, मैलेचाहिँ परिवारको साथ पाएँ । हिपहपमा महिलाहरू स्थापित समय त लाग्छ नै ।’

प्रकाशित : श्रावण १२, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

बर्सेनि चट्याङको चपेटा खेप्दै खोटाङ

पछिल्लो पाँच वर्षमा जिल्लामा चट्याङ परेर ६ जनाको मृत्यु र ४१ जना घाइते 
डम्बरसिं राई

खोटाङ — चट्याङमा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का बाबुछोरा महन्तबहादुर, ६४ र ढाकमशेर राई, ३४ को मृत्यु हुँदा तेजेन्द्र ११ र सुरेन्द्र १० वर्षका मात्रै थिए । आँखै अगाडि चट्याङले बाबु ढाकमशेर र बाजे महन्तबहादुर तथा अर्का आफन्त मरेको दिन उनीहरूले अझै सम्झिन्छन् ।

केपिलासगढी–१ फेदीको तोमानेमा चट्याङमा परी घाइते भएका ६ वर्षीय आसन विश्वकर्मालगायत जिल्ला अस्पताल दिक्तेलमा । फाइल तस्बिर : डम्बरसिं/कान्तिपुर

२०७० असोज ७ को त्यो घटना पछि उनीहरू बालखैमा टहुरो बने । दिक्तेलस्थित फुपाजूकोमा बसेर अध्ययन गरिरहेका तेजेन्द्र दिक्तेल बहुमुखी क्याम्पसमा बीए पहिलो वर्षमा अध्ययनरत छन् भने सुरेन्द्र सरस्वती माविमा १२ कक्षाको परीक्षा दिएर बसेका छन् ।

२०७७ चैत २८ मा परेको चट्याङले केपिलासगढी गाउँपालिका–१ फेदीको तोमानेका १५ वर्षीय राजमणि राई र ३८ वर्षीया निर्मला सेन्चुरी विश्वकर्माको ज्यान गयो । उक्त घटनामा निर्मलाका ६ वर्षीय छोरा आसन, १४ वर्षीया छोरी मनकला र श्रीमान् ४१ वर्षीय सन्तकुमार, भान्जी १६ वर्षीया मनीषा रसाइली र स्थानीय ४६ वर्षीय धनराम राई घाइते भए । अकस्मात्को यो घटनापछि हप्तौंसम्म सिंगो गाउँ शोकमग्न बन्यो । पहाडी जिल्ला खोटाङमा चट्याङ परेर स्थानियको मृत्यु भएका कैयौं घटना छन् । कहिलेकाहीं त एकैदिन धेरै चट्याङ पर्ने घटना पनि भएका छन् ।

२०७० जेठ २९ को मध्याह्नमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ खाल्लेकी १५ वर्षीया इन्दिरा कटवालको ज्यान लियो । सोही दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चित्रबहादुर थापाको घरमा परेको चट्याङले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले घर भएकी सामाजिक परिचालक २८ वर्षीया अनिता राई र बाम्राङकी सहजकर्ता मिला राई घाइते भए । सोही दिन बाम्राङकै नारायण परियारको घरमा परेको चट्याङले स्थानीय २७ वर्षीया सुनिता हिङमाङ परियार, ३० वर्षीय जीरा हिङ्माङ परियार, उनकी तीन वर्षीया छोरी सरस्वती र खार्मी साब्रु घर भएका ५७ वर्षीय खड्ग महरा घाइते भए ।

जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार पछिल्लो पाँच वर्षमा जिल्लामा चट्याङ परेर ६ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा दुई जनाको मृत्यु भयो भने ६ जना घाइते भए । आव २०७५/७६ मा एक जनाको मृत्यु र १५ जना घाइते भए । आव २०७६/७७ मा दुई जनाको मृत्यु र १३ जना घाइते भए । आव २०७७/७८ मा एक जना घाइते र आव २०७८/७९ मा एक जनाको मृत्यु भएको थियो । पछिल्लो पटक गत असार १७ को चट्याङमा परेर बराहापोखरी गाउँपालिका–४ फाक्टाङ कोछाले भन्ज्याङकी ४६ वर्षीया चन्द्रमाया राउतको मृत्यु भयो । गोठमा सुतिरहेकै अवस्थामा चट्याङमा परेर चन्द्रमायाको मृत्यु भयो भने उनीसँगै सुतेकी १६ वर्षीया छोरी यशोदा घाइते भईन् ।

खोटाङमा बढी चट्याङ पर्ने गरेको र यसको वैज्ञानिक अनुसन्धान गरेर न्यूनीकरणको उपाय खोज्नुपर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने राईको भनाइ छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले चट्याङबाट भएका मानवीय क्षतिमा दुई लाख र भौतिक क्षतिमा सर्जमिन मुचुल्का तथा मूल्यांकनका आधारमा क्षतिपूर्ति पाउने व्यवस्थाबाहेक अन्य नीतिगत प्रावधान नभएको बताए ।

प्रकाशित : श्रावण १२, २०७९ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×