'फिल्मको अनुहार फेरियो, विषयवस्तु कमजोर'

पहाडे र मधेसी सम्बन्धमाथि फिल्म बनाउँदै दीपक । भन्छन्, 'मधेसीलाई अझै मानिसका रुपमा हेरिँदैन' 
रीना मोक्तान

काठमाडौँ — 'हामीकहाँ पुरी-तरकारी पाउँदैन ?' ‍रेस्टुरेन्ट छिर्ने बित्तिकै दीपक रौनियार र आशा मगराती नमिठो वचनसँग ठोक्किए । 'तपाइँ इन्डियन होइन ?' ‍फिल्मका लागि क्रु खोज्ने क्रममा धेरैपटक दीपकले यस्तो प्रश्नको सामना गरेका छन् । पहिलोपटक बोल्ने धेरैले सुरुमा दीपकसँग हिन्दी भाषामै बोलिदिन्छन् ।

'फिल्मको अनुहार फेरियो, विषयवस्तु कमजोर'

दीपकका लागि यी कुरा सामान्य भइसकेका थिए । तर, रेस्टुरेन्टको त्यो घटनापछि 'मानिसलाई यसरी पनि घोचपेच हुँदो रहेछ' भन्ने आशाले पनि बुझिन् ।

त्यसयता उनी दीपकसँग हिन्दी बोलिदिनेहरूसँग झगडा गरिदिन्छिन् । बिहेपछि नै आशा र दीपकबीच यस्तो भोगाइमाथि छलफल भयो । पाँच वर्षअघि यो दम्पतीले लेखेको त्यही भोगाइहरूमाथि फिल्म बन्दैछ- 'द स्काई इज माइन' । फिल्मको नेपाली नाम अझै जुरेको छैन ।

'सेतो सूर्य'बाट अन्तर्राष्ट्रिय ख्याती कमाएको यो दम्पतीले 'द स्काई इज माइन'मार्फत् पहाडे र मधेसी समुदायलाई जोड्ने सोचेका छन् । 'आशाले पहिला मधेसी देख्दा 'ए भैया' भनेरै बोलाउँथिन् । उनी त्यसरी नै हुर्किइन् । तर‚ बिहेपछि उनले त्यसरी बोलाउनु गलत रहेछ भन्ने बुझिन् । बिस्तारै मधेसी समुदायलाई हेर्ने उनको नजरमा परिवर्तन हुँदै गयो । यो परिवर्तन हामी सँगै बसेर भएको हो,' गोग्राह कार्यशालाका लागि काठमाडौं आइपुगेका दीपकले भने, 'काठमाडौंमा बसेर हेर्दा मधेसकाहरू सबै जना यहाँ आएर हाम्रो उपलब्धिहरू खाइदिन लागे भन्ने मनस्थिति अझै व्याप्त देखिन्छ । तर, त्यो त सत्य होइन नि ! यो व्यक्तिको समस्याभन्दा पनि व्यवस्थाकै समस्या हो । मधेश आन्दोलनपछि अझै पनि पहाडे र मधेसीबीच एक किसिमको चिसोपना छ । त्यही दुई समुदायबीच यो फिल्म पुल बन्न सक्छ कि भन्ने हाम्रो चाहना हो ।'

दशैंपछि फिल्मलाई विराटनगर, वीरगन्ज र जनकपुरमा खिच्ने तयारी रहेछ । काठमाडौंबाट एउटा मुद्दाका लागि एक महिला प्रहरी मधेस पुग्छिन् । त्यहाँ उनको भेट हुन्छ अर्की महिला प्रहरीसँग । दुई महिला प्रहरीको सम्बन्धमार्फत दुई समुदायबीचको कथा फिल्मले भन्नेछ ।

'मधेस आन्दोलनले चिसोपना मात्रै होइन मधेसीको पहिचान विकास गरिदियो । तर‚ अझै पनि दुई समुदायले एकअर्कालाई बुझ्न सकेको छैन । पहाडेले मधेसलाई अझै बुझ्न सकेको छैन,' दीपक सुनाउँछन्, 'फिल्ममार्फत दुई समुदायबीचको मानव सम्बन्ध विकास गर्न सकिन्छ कि भन्ने हो । हामीले एकअर्काको कुरा सुन्यौं भने त बुझ्न सकिने हो । यो फिल्म त्यही मौका हो ।'

'सेतो सूर्य'को प्रिमियरपछि नै यो दम्पतीले 'द स्काई इज माइन'मा काम गर्न थालेका रहेछन् । फिल्ममा लेखक आशा र दयाहाङ राईसँगै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय अभिनेत्री तन्निष्ठा च्याटर्जीको प्रमुख भूमिका रहनेछ । च्याटर्जी अहिले नेपाली र मैथली भाषा सिक्दैछिन् । मधेसी चरित्रका लागि कलाकार खोज्ने क्रममा उनीहरूले च्याटर्जी फाइनल गरेका हुन् । च्याटर्जीलाई रोज्नुको दुई प्रमुख कारण छन् । पहिलो-राम्रो कलाकारसँग काम गर्नु । दोस्रो- भारतीय बजारमा पहुँच पुर्‍याउनु ।

'फेस्टिभलको क्षेत्रमा तन्निष्ठा चिनिएकी कलाकार हुन् । भारतमा उतिकै चर्चित छिन् । अब हामीले नेपाली फिल्मको क्षितिज बढाउनु पर्‍यो नि । भारतीय फिल्म हामीकहाँ सधैं प्रदर्शनमा आउँछ तर भारतमा हाम्रो फिल्म जाँदैन,' दीपक कारण खुलाउँछन्, 'त्यसैले यसलाई कसरी बढाउन सकिन्छ भनेर हामीले उनलाई रोजेका हौं । भारत आफैंमा हाम्रो लागि ठूलो बजार हो, जहाँ हामी अझै पुग्न सकेका छैनौं । डार्क स्किन अभिनेत्री खोज्दै थियौं, तन्निष्ठा त्यसमा फिट भइन् ।'

फिल्म क्षेत्रले अझै पहाडे र मधेसीलाई जोड्न नसकेको दीपकको ठहर छ । भन्छन्, 'हामीकहाँ कयौं फिल्म बन्छन् तर, मधेसी कलाकारले त्यही कमेडी भूमिका नै पाइरहेको हुन्छ । भूमिका अझै पाउन सकेको छैन । मधेसका कथामा फिल्म बन्न सकेको छैन । एक समय यस्तो थियो‚ फिल्ममा जुत्ताको पालिस लगाएर समेत मधेसी पात्र देखाइन्थ्यो । दुई समुदाय जोड्ने काम त अझै भइसकेको छैन ।'

गह्रौं विषयलाई थ्रिलरमार्फत् देखाउँदा सजिलो होला भन्ने सोचले उनीहरू थ्रिलर विधामा 'द स्काई इज माइन' बनाउँदैछन् । दीपक फिल्मलाई अभिव्यक्तिको माध्यम मान्छन् । 'आफूलाई केही भन्न मन लागेर त फिल्म बनाउने हो । केही भन्नु नै छैन भनेर फिल्म, पेन्टिङ वा कथा लेख्ने भन्ने त हुँदैन । कलाकारले कुनै न कुनै माध्यमबाट आफूलाई अभिव्यक्त गर्न ती माध्यम रोजेको हुन्छ नि,' दीपकले छेउको कफी पिउँदै सुनाए, 'अल्फान्सो कुरानको रोमा र ह्यारी पोर्टर भनौं, उनले दुवै फिल्ममार्फत् अभिव्यक्त गर्न खोजेका हुन् नि । मलाई अहिले गढेको विषय यही दुई समुदायको हो ।'

दीपक फिल्मकर्मीले समाजलाई प्रश्न गर्नुपर्ने बताउँछन् । 'फिल्मकर्मीका हिसाबले हाम्रो काम समाजलाई प्रश्न गर्ने हो । हामी बसेको समाजलाई देखाउने हो नि त । हामीले बलात्कारलाई फिल्ममा सामान्यीकरण गरिदियौं भनेदेखि त्यसले समाजमा पार्ने असर के हो? फिल्म त धेरै दर्शकमा पुग्ने माध्यम हो । त्यो फिल्म हेर्नेहरुले त्यसलाई सामान्य ठानिदिन्छन्,' उनले भने, 'फिल्मकर्मीको दायित्व त्यस्ता कुरामा संवेदनशील बन्ने हो नि त ! अर्को समुदायलाई नउडाउने, समाजमा भइरहेको विकृति, चित्त नबुझेको कुरालाई प्रश्न गर्ने हो; सँगसँगै मनोरञ्जन दिने त भइहाल्यो ।'

नेपालमा अझै पनि बलिउड शैलीका फर्मुलामा फिल्म बन्ने गर्छन् । फिल्मकर्मी गम्भीर नहुँदा हाम्रा फिल्मले समाजलाई प्रश्न गर्न नसकिरहेको दीपक सुनाउँछन् । 'हिजो र अहिलेको फिल्मको अनुहार फेरिएको छ । तर‚ विषयवस्तु बलियो छैन । फिल्मको अनुहार त फेरियो तर हामीले देखाउने चरित्रहरूले समाजलाई प्रश्न गर्दैन । अहिले बलात्कार र दुर्व्यवहारका मुद्दामा लडिरहेको समाज । तर‚ फिल्मले त्यही कुरालाई सामान्यीकरण गरिदिएको छ । त्यसमा हामी असंवेदनशील भएकै हौं,' उनले सुनाए ।

'फोर नाइट्स'को बर्लिन प्रिमियर

'फिल्म बनायौं भने पाँच फिल्म फेस्टिभल (बर्लिन, कान्स, भेनिस, टोरोन्टो र बुसान)मा फिल्म पुग्नुपर्छ । अनि मात्र करिअर राम्रो हुन्छ' फिल्म मेकिङमा आउनुअघि निर्देशक नवीन सुब्बा दीपकलाई यही बताउने गर्थे ।

'हाइवे' र 'सेतो सूर्य'मार्फत दीपकले विश्वका यी चर्चित फेस्टिभल घुमिसके । हालै उनीहरुको फिल्म 'फोर नाइट्स' बर्लिनमा प्रिमियर भयो । खासमा आशा र दीपक 'द स्काई इज माइन'लाई २०२० तिर खिच्ने तयारीमा थिए । तर, कोभिडले उनीहरुलाई अरुलाई झैं कोठाभित्रै थुनिदियो । 'द स्काई इज माइन'को काम रोकियो । त्यही ग्यापमा उनीहरुले 'फोर नाइट्स'माथि फिल्म बनाए । लघु फिल्मको कथा उनीहरुको व्यक्तिगत जीवनको भोगाइसँग नजिक थियो ।

'द स्काई इज माइन छायांकन गर्न पाइरहेका थिएनौं । त्यसबीच केही गरौं न भन्ने भइरहेको थियो । त्यसिछि पति पत्नीको सम्बन्धमा आधारित फिल्म बनायौं । हाम्रो भोगाइलाई थप परिस्कृत गरेर फिल्म बनाएका थियौं । फिल्मले बर्लिनमा राम्रै प्रतिक्रिया पायो,' दीपक सुनाउँछन् ।

सन् २०१३ मा अल्फान्सो कुरानसँग दीपकको भेट भएको थियो । त्यतिबेला 'ह्यारी पोर्टर' गरिसकेपछि आफूसँग कुनै फिल्म नभएको कुरा कुरानले सुनाएका रहेछन् । कोभिडबीच जीवन अस्तव्यस्त बन्दा उनीहरुसँग पनि गर्ने काम भएन । फिल्म मेकरका यस्तै अप्ठ्यारा परिस्थिति 'फोर नाइट्स'मा देखाइएको छ ।

'बाहिरबाट हेर्दा हामी फिल्ममेकरको जिन्दगी चिटिक्क देखिन्छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको देखिन्छ । तर‚ हाम्रो डार्क साइड पनि छ नि । कहिले जीवन कसरी चलाउने भन्ने हुन्छ । फेस्टिभलमा जाँदा फाइभ स्टार होटलमा बसिरहेका हुन्छौं । त्यो हेर्दा त गज्जब देखिन्छ । त्यही कुरालाई १६ मिनेटको फिल्ममा हामीले देखाएका छौं,' दीपकले भने ।

नयाँ फिल्मकर्मीलाई हुर्काउँदै 'गोग्राह'

सन् २०१९ यता दीपक र आशाले फिल्मसम्बन्धी कार्यशाला 'गोग्राह' आयोजना गर्दै आइरहेको छ । फिल्ममेकिङको सुरुआती दिनमा आफूहरुले भोगेको दु:ख नयाँ फिल्ममेकरले नभोगुन् भन्ने सोचसहित 'गोग्राह'ले लेखन/निर्देशनको कार्याशाला गर्दै आइरहेको छ । समाजको विविधता फिल्म मेकिङमा पनि झल्कियोस् भन्ने उद्देश्यका साथ उनीहरुले 'गोग्राह' सुरु गरे । हालै कार्यशालाका सहभागीहरुले काठमाडौंमा आयोजित 'स्टोरी पिचिङ' कार्यक्रममा आफूहरुले लेखिरहेको फिल्मको कथा पनि सुनाए ।

'मैले मात्र फिल्म बनाएर त हुँदैन नि त । एउटा समुदाय त चाहियो नि । हिजो जसरी हामीले दु:ख गरेर सिक्यौं । हामीलाई सहयोग गर्ने केही व्यक्तिहरु, हाम्रो मिहेनतका कारण हामी यहाँसम्म आयौं । सबै त्यसरी एक्लै यात्रा गर्न सक्छ भन्ने छैन नि त । त्यो कसरी गर्न सकिन्छ त? भनेर हामीले गोग्राह सुरु गर्‍यौं,' गोग्राहका संस्थापक अध्यक्षसमेत रहेका दीपकले भने, 'हामीलाई सबैभन्दा बिझ्ने कुरा त समाज जति विविध छ, त्यो फिल्म क्षेत्रमा देखिँदैन । फिल्म क्षेत्रमा अझै धेरैजस्तो पुरुषहरु फिल्म मेकिङमा छन्, त्यो पनि एउटै समुदायका । दलितको फिल्म बनेन भन्छौं, तर हामीले दलित फिल्ममेकर बनाउन प्रयास नै गरेनौं । महिला मुद्दामा फिल्म बनाउन महिला नै फिल्म मेकिङमा आउनुपर्‍यो । यस्तो प्लेटफर्म राज्यले बनाउनु पर्थ्यो ।'

'गोग्राह'ले फिल्ममेकिङमा इच्छुकहरुलाई सिर्जनात्मक वातावरण निर्माण गरिदिने, संस्थागत सहयोगसहित उनीहरुको प्रोजेक्ट फाइनल गर्न बौद्धिक स्रोतसाधन उपलब्ध गराउँदै आएको छ । सन् २०१९ देखि सुरु भएको गोग्राहले केही फिल्मकर्मीलाई अनुदानसमेत दिएको छ । यसअघि शान्ता नेपालीको 'मुना', ज्योत्सनासिंह ठकुरीको 'एलेक्सिया' र सुनील गुरुङको 'विन्ड हर्स'ले पाँच-पाँच लाखको अनुदान पायो ।

'गोग्राह'का सहभागीहरुलाई विश्व बजारसम्म पुग्न मद्दत गर्छन् दीपक र आशा । दीपक विश्व बजारमा नेपाली फिल्म पुग्न जरुरी ठान्छन् । 'ग्लोबल मार्केटमा हामीले हाम्रो फिल्म बेच्न सक्ने भयौं भने बजार बढाउन सक्छौं, रोजगारी बढाउन सक्छौं । अहिलेको समयमा विश्व बजारमा जाने हाम्रो क्षमता छ । जान सक्यौं भने त्यसले फिल्म क्षेत्रको विकास हुन्छ । कसैको चाहना घरेलु उद्योगमै फिल्म चलाउने भन्ने छ भने त्यो पनि गलत होइन । ग्लोबल बजारमा गयौं भने ठूलो लगानी बढाउन सक्छौं,'दीपकले आफ्नो अनुभव सुनाए,'त्यो फोर्टिन पिक नथिङ इज इम्पोसिबल भन्ने डकुमेन्ट्रीको कन्टेन्ट नेपाली थियो तर त्यसलाई त सारा विश्वले हेरे । त्यसको अर्थ हाम्रो कन्टेन्ट विश्वले हेर्न चाहँदो रहेछ नि ।'

विराटनगरमा हुर्केका दीपकले मोरङ क्याम्पसमा कमर्स सिद्ध्याउने बित्तिकै पढाउन थाले । स्नातक पढ्न काठमाडौं आउँदा 'पकेटमनि'का लागि पत्राकारिता सुरु गरे । शिक्षणमा झैं पत्रकारितामा उनको मन लागेन । तर त्यसबीच भेटेका फिल्मकर्मीहरुसँग नजिकिँदै गएपछि उनलाई फिल्म क्षेत्र आफ्नो लाग्न थाल्यो ।

त्यसपछि छिरिङ रितार शेर्मासँग 'कर्मा'मा साहयक निर्देशक भएर काम गरे । बीबीसीमा साढे तीन वर्ष काम गर्दा २ वटा फिल्म बनाए । त्यसपछि 'हाइवे' बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाए । 'अहिले अमेरिकामा फिल्म पढाउँछु । फेरि पूरानै पेसामा फर्किएको छु,' ४४ वर्षिय दीपकले मुसुक्क हाँस्दै सुनाए,'फिल्ममा व्यवसाय मात्र हेर्नेका लागि त अर्को काम नचाहिएला । तर एउटा फिल्म गरिसकेपछि अर्को गर्नलाई समय लाग्ने हामीजस्ताका लागि ब्याकबोनका रुपमा एउटा यस्तो काम चाहिँदो रहेछ ।'

प्रकाशित : असार २२, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?