कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मानेभन्ज्याङका अन्तिम मुखिया

२०४५ मा स्थानीय विकास शुल्क एक कित्ता जग्गा बराबर दुई रुपैयाँ उठाउने अनुमति मुखियालाई थियो । त्यो रकम उनले आफ्नो तलबसरह खर्च गर्न पाउँथे ।
कुम्भराज राई

ओखलढुंगा — कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षका भए । उनले बनाएका घरहरू गाउँभरि छन् । तर मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुरका कमलसिंलाई गाउँमा अझै मुखिया भनेर चिन्छन् । उनी साबिक मानेभन्ज्याङ गाविस क्षेत्रका अन्तिम मुखिया हुन् ।

मानेभन्ज्याङका अन्तिम मुखिया

राणाकालसम्म पनि मुखिया गाउँका प्रशासकसरह थिए । जग्गाजमिनको तिरो (राजस्व) संकलन गर्नेदेखि झैंझगडा निरूपण र न्याय सम्पादनसम्मका काम जिम्मावाल मुखियाले गर्थे । कमलसिंले पञ्चायतको उत्तराद्र्धमा दुई वर्ष मुखियाको काम गरे । २०४४ मा जग्गाजमिन नापी भयो । सोही नापीका आधारमा उनले २०४६ सम्म तिरो संकलन गरे । त्यसपछि बहुदल आयो । पञ्चायती शासन समाप्तिसँगै मुखिया, जिम्वाल, गौरङ, थरी, कार्बारीले काम गर्ने चलन अन्त्य भयो ।

कमलसिं रहरले वा क्षमताले मुखिया भएका चाहिँ होइनन् । सयौं वर्ष पहिले उनका जिजुहरू यस भेगका शासक थिए । १८ औं शताब्दीमा उनका जिजु घमण्ड राई यस क्षेत्रका राजा थिए । उनले पृथ्वीनारायण शाहसँग विभिन्न सर्तसहित मुखिया पदमा रहने सम्झौता गरेर आफ्नो राज्य नेपाल एकीकरणमा गाभे । त्यसपछि मुखियाका जेठा छोरा मुखिया रहने परम्परा कायम हुँदै आयो । उनका हजुरबुबा पञ्चध्वज राई मुखियाका रूपमा चर्चित थिए । बुबा नरमान राई मुखिया भए । नरमानका जेठा छोरा शरणजित मुखिया हुनुपर्ने थियो । तर उनी पिता जीवित छँदै छुट्टिएर बसे । माइला कमलसिंलाई २७ वर्षको उमेरमै मुखियाको जिम्मेवारी आइलाग्यो ।

राणा शासनकालपछि मुखियाको अधिकार क्षेत्र साँघुरिँदै गएको थियो । पृथ्वीनारायण शाहसँग घमण्ड राईले दक्षिणमा उदयपुरको जहडी रिस्कु, उत्तर पूर्वमा सोलुखुम्बुको काँकु मुक्ली, देउसा, पञ्चन, पूर्वमा रोम्दु खोला र पश्चिममा मोलुङ खोलासम्म रैतीबाट सिक्सार (अनिवार्य कोसेली) उठाउन पाउने सम्झौता गरेका थिए । सिक्सारमा मधेसको धानचामलदेखि, हिमालको चौंरी घिउ, तामाखानीको काँचो तामासम्म उठाउन पाउने सम्झौता थियो । कतिपय तत्कालीन लिखतहरू अझै मुखियाको घरमा छन् । तत्कालीन लिपिलाई अध्ययन गर्न सके अझै प्रमाणित गर्न सकिने कमलसिंले बताए । उनको पालासम्म आइपुग्दा त्यो चलनको अवशेष मात्र थियो ।

गाउँ आसपासकाले दसैंमा कोसेली लिएर टीका थाप्न आउँथे । उनीहरूको जग्गा तत्कालीन नेपाली सेनाले लिएका थिए । त्यसैले सेनाले दसैंमा मार हानेर पूजा गर्दा अनिवार्य राँगाको फिला ल्याइदिने चलन कमलसिंका बुबा नरमानको पालासम्म थियो । कमलसिंले जग्गाको तिरो संकलन गरी प्रत्येक वर्षको जेठदेखि असारको पहिलो सातासम्म जिल्ला मालपोत कार्यालयमा एकमुष्ट रूपमा बुझाउँथे । सुरुमा यसरी संकलित तिरो बुझाउँदा मालपोतले बाटो खर्च भनेर १० रुपैयाँसम्म दिन्थ्यो । २०४५ मा स्थानीय विकास शुल्क भनेर एक कित्ता जग्गा बराबर दुई रुपैयाँ उठाउने अनुमति मुखियालाई थियो । त्यो रकम मुखियाले आफ्नो तलबसरह खर्च गर्न पाउँथे । उनले सबैभन्दा बढी दुई हजार रुपैयाँसम्म स्थानीय विकास शुल्क संकलन गरेका थिए । त्यतिखेर काट्ने रसिदमा पित्तलको छाप लगाइन्थ्यो । औंठी जस्तै छापमा मुखियाको नाम लेखिएको हुन्थ्यो ।

बहुदलसँगै व्यवस्था फेरियो । लेखपढ खासै नभएकाले कमलसिं डकर्मी काम थाले । त्यसैले जीविका गर्दै आएका छन् । बाउबाजे त्यतिखेरका हर्ताकर्ता भए पनि उनले रवाफ देखाएनन् । ‘गाउँमा जाँदा मुखिया आए है भनेर मानमनितो गर्ने चलन थियो,’ उनी विगत सम्झिँदै भन्छन्, ‘त्यो समयअनुसारको व्यवस्था थियो ।’ उनलाई गणतन्त्रको बारेमा थाहा छैन । गाउँका काम गर्नुपरे वडाध्यक्ष र गाउँपालिका अध्यक्ष कहाँ पुग्नुपर्छ भन्ने थाहा छ । नेपालको इतिहासमा सयौं वर्ष प्रथाका रूपमा रहेको मुखिया जिम्वाल परम्पराको प्रतिनिधिपात्र हुन् कमलसिं । तीन दशकअघिसम्म मुखिया काम गरेका उनी जस्ता सयौं मुखियाहरू गाउँघरमा छन् । उनीहरूसँग ऐतिहासिक दस्ताबेज, लिखत, तमसुकहरू छन् । जसको बारेमा उचित अध्ययन हुन सकेको छैन ।

प्रकाशित : असार १९, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?