इसाराको सहारा

परिवारका ११ जनामा सुस्तश्रवण अपांगता देखिँदा सामाजिक घुलमिलमा समस्या
दीपक परियार

पोखरा — परिवारका १२ जनामध्ये बोल्न र सुन्न सक्ने भनेका १० वर्षीय अञ्जल उपाध्याय मात्रै हुन् । उनलाई पनि परिवारका अन्य सदस्यको प्रभावले सांकेतिक भाषा प्रयोगमा बानी परिसकेको छ । किनकि अरू ११ जना नै इसाराले कुरा गर्छन् । बुबा, आमा, ३ दाइ, ३ दिदी, एक बहिनी, माइला बुबा र कान्छा बुबामा सुस्तश्रवणको समस्या छ ।

इसाराको सहारा

बुबा ४९ वर्षीय टेकबहादुर, आमा ४९ वर्षीया खुसीमाया, दिदीहरू २९ वर्षीया मनिता, २५ वर्षीया विनिता, १५ वर्षीया सरिता, दाइहरू २२ वर्षीय सन्तोष, १३ वर्षीय विशाल, १२ वर्षीय प्रदीप र बहिनी ९ वर्षीया मिनिता बोल्न र सुन्न सक्दैनन् । माइला बुबा शेरबहादुर र काका गोविन्दमा पनि श्रवण अशक्तता छ । परिवारमा अञ्जल र दिदी २३ वर्षीया जमुनाले मात्रै प्रस्ट बोल्न र सुन्न सक्छन् । ठूली मनिता र साइली जमुनाको बिहे भइसकेको छ । घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग कास्कीको अन्नपूर्ण–११ कत्रुमा छ उपाध्याय परिवारको घर । उनीहरूले खुद्रा पसल चलाएका छन् ।

जेठो छोरा सन्तोष खेतीपातीको मौसममा कृषिकर्ममा व्यस्त हुन्छन् । अरू बेला ज्यामी हुन् । पोखराको सिर्जना बहिरा आवासीय विद्यालयमा विशाल र सरिता कक्षा ४, प्रदीप कक्षा २ र मिनिता कक्षा १ मा पढ्छन् । बोल्न र सुन्न सक्ने एक मात्र दिदी जमुना बिहे गरेर गएपछि १० वर्षीय अञ्जल स्थानीय र परिवारबीचको दोभाषेजस्तै भएका छन् । उनी घान्द्रुकमै पढ्छन् । उनका काका गोविन्दका अनुसार तीन दाजुभाइको बुबामा समेत सुस्तश्रवणको समस्या थियो । उक्त समस्या छोराहरू हुँदै नातिनातिनीमा सर्‍यो ।

ठूली छोरी मनिताले परिवारका धेरै जना सुस्तश्रवण अपांगता भएकाले समाजमा घुलमिल हुन गाह्रो भएको बताइन् । दोभाषे अर्चना रोक्कामार्फत मनिताले भनिन्, ‘हामीले समाजमै विभेद भोग्नुपर्छ । काम पाउन पनि गाह्रो छ । काम नपाउँदा घर परिवार चलाउन समस्या छ ।’ पहिला आफूले जानेको इसारामा परिवारबीच संवाद हुने गरेकामा अहिले सांकेतिक भाषा सिकेर सहज भएको उनले सुनाइन् ।

गाउँपालिकाले दिएको तीनमहिने नेपाली सांकेतिक भाषा तालिममा उनको परिवार पनि सहभागी भयो । तालिम लिएपछि सञ्चारमा पहिलेभन्दा सजिलो भएको उनको अनुभव छ । अन्नपूर्ण बहिरा संघको समन्वयमा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले तालिम प्रदान गरेको हो । ०७८ माघ ९ बाट ०७९ वैशाखसम्म बोल्न नसक्ने, सुन्न नसक्ने र कम सुन्ने ३० जना सहभागी भए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख निर्मला कुँवरका अनुसार गाउँपालिकामा ३ सय ५० ले अपांगता परिचयपत्र लिएका छन् । तीमध्ये २ सय जना सुस्तश्रवण भएका व्यक्ति छन् । वडा १० र ११ मा झन् संख्या धेरै छ ।

जन्मेदेखि नै सुस्तश्रवण भएका अन्नपूर्ण–११ नैचेका दिदीबहिनी ६५ वर्षीया आइतकुमारी र ६२ वर्षीया बुद्धिशुभा परियारले पहिलोपल्ट सांकेतिक भाषा तालिम लिए । नैचेको गोठमा बस्ने उनीहरूसँग न आफ्नो जग्गाजमिन छ, न आम्दानीको स्रोत । गाउँमा छरछिमेकको घरायसी काम गरेर दुई दिदीबहिनीले गुजारा चलाउँछन् । तालिमका सहजकर्ता ज्ञानुबहादुर भित्रकोटीले उमेर बढ्दै जाँदा सांकेतिक भाषा सिकाउन पनि गाह्रो हुने बताए । त्यसो त, उनकै घरका दुई दाजुभाइमा सुस्तश्रवणको समस्या छ । उनका भाइ विश्वमित्र बोल्न र सुन्न सक्दैनन् । उनी अन्नपूर्ण बहिरा संघको अध्यक्ष हुन् । दुई दाजुभाइकै पहलमा गाउँमा सांकेतिक भाषा तालिम आएको हो ।

घान्द्रुक डाँडागाउँका २५ वर्षीय सन्दिप मगर कान कम सुन्छन् । उनले पढ्न नपाए पनि छोरीलाई राम्रो विद्यालय पढाउने इच्छा छ । तर हातमा सीप नहुँदा भरपर्दो आम्दानीको स्रोत छैन । ज्याला मजदुरीबाट हुने आम्दानी खानलाउन ठिक्क हुन्छ । गाउँपालिका प्रमुख विष्णुबहादुर केसीले अपांगता भएका व्यक्तिको रुचि, योग्यता र क्षमताअनुसार सीप सिकाउने योजना गरेको सुनाए ।

अन्नपूर्ण बहिरा संघका अध्यक्ष विश्वमित्र भित्रकोटी सरकारी कार्यालयमा दोभाषे नहुँदा सुस्तश्रवण भएका व्यक्तिले सेवा लिन असहज भएको बताउँछन् । संघले दोभाषे व्यवस्थाका लागि गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको छ । पत्रमा दोभाषेको व्यवस्था गर्नुपर्ने, सुस्तश्रवण भएका बालबालिकालाई सांकेतिक भाषाबाट पठनपाठन, सीपमूलक तथा आयआर्जनमूलक कार्यक्रमलगायत माग गरिएको छ ।

प्रकाशित : असार १७, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?