१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सारंगी सिक्दै युवा

हरिराम उप्रेती

गोरखा — बाबुबाजेले बजाएको सारंगीको धुनमा रम्ने निरञ्जन गान्धारी उमेरले ३० वर्ष लाग्दै गर्दा अहिले आफैं सारंगी बजाउन सिक्दै छन् । पालुङटार नगरपालिका–५ मा निरञ्जन सारंगीको धुनसँगै राग सिक्न एक महिना व्यस्त बने । भन्छन्, ‘सानोमा बजाउन सिकिएन, अहिले रहर जाग्यो, अब फुर्सदको समयमा सिकेर पोख्त बन्छु ।’ 

सारंगी सिक्दै युवा

दुई दशकअघिसम्म पालुङटार–५ क्षेत्रमा सारंगीका धुन गुन्जन्थे । पछिल्लो समय नयाँ पुस्ताले चासो नदिँदा सारंगी बजाउनेको संख्या घट्दै गएको छ । परम्परागत लोकबाजा सारंगीलाई गुन्जयमान बनाउन स्थानीय १० युवाले लगाव बढाएका छन् । पालुङटारका ऋषिराम देवकोटाले सारंगीको राग सिके । गीतको लयमा सारंगी बजाउन उनले निरन्तर प्रयास गरिरहेका छन् । ‘सारंगी गन्धर्व जातिले बजाउनुहुन्थ्यो, आम्दानी कम हुने भएपछि नयाँ पुस्ताले यसलाई निरन्तरता दिएनन्,’ उनले भने, ‘फेरि गन्धर्व समुदायले मात्र बजाउनुपर्छ भन्ने पनि छैन, जुनसुकै जातिले बजाउँदा पनि उचित हुन्छ, तर इच्छा हुनुपर्‍यो ।’ सारंगी बजाउनु सजिलो नभए पनि लगाव जति बढायो, त्यति सिकिने सारंगी बजाउने तालिम लिएको अनुभव छ । दिनदिनै फरक/फरक लोकभाकाका गीतलाई निरन्तरता दिने, रागहरू सिक्ने गरेको तालिममा सहभागी अशोक देवकोटाले बताए । ‘गन्धर्व समुदायबाट सारंगी संस्कृतिको बारेमा बुझ्ने अवसर पनि पायौँ,’ उनले भने । लोकबाजाको अस्तित्व हराउन नदिन पनि नयाँ पुस्तामा सीप हस्तान्तरण हुनुपर्ने स्थानीय बताउँछन् ।

५३ वर्षीय नरबहादुर गान्धारी नयाँ पुस्तालाई सारंगी सिकाउन ब्यस्त छन् । पानको पात, रेसम फिरिरिलगायत लोक भाकामा उनले सारंगी बजाउन नवप्रवेशीलाई जोड गरिरहेका छन् । ‘चार घोरबाट तीनवटा स्वर निक्लन्छ, सारंगीको धुनमात्र भन्दा पनि लय मिलाउनुपर्‍यो, त्यसैमा जोड दिएको छु,’ उनले भने । अहिले सारंगी सिक्ने युवा बढी भएकाले सीपमूलक तालिमले फाइदा पुग्ने गान्धारी बताउँछन् । ‘यसरी तालिम नै दिएर सारंगी वादनको संरक्षण गर्न लागेको पहिलो अभियान हो,’ उनले भने, ‘विदेश गए पनि अरुलाई देखाउन पाइयो, फुर्सदको समयमा सारंगी बजाउँदा समय काट्न पनि सजिलो ।’ पालुङटार–५ ठाटीपोखरीमा जेठ १३ बाट सुरु भएको एक महिने सारंगी प्रशिक्षण तालिम सोमबार सकिएको छ । गन्धर्व गुठी समाजको आयोजनामा भएको तालिममा प्रशिक्षक र प्रशिक्षार्थीसमेत गरी १५ जनाको सहभागतिा रहेको थियो ।

प्रकाशित : असार १४, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?