दोहोरियो फिदिमवासीको पानी दुःख

आप्तावा खोलाको पानीमा लेदो मिसिएर आउन थालेपछि स्वच्छ पानी खोज्न मूल र जरुवा धारा चहार्नुपर्ने बाध्यता
लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१ की पवित्रा काफ्लेको निद्रा नपुगेको महिना दिन भयो । साँझ अबेरसम्म पानीका लागि पालो कुर्नुपर्ने र बिहान ३ बजे पँधेरा नपुगे थाप्नै नपाइने बाध्यताले निदाउनसम्म नपाएको उनी गुनासो गर्छिन् ।

दोहोरियो फिदिमवासीको पानी दुःख

फिदिम–४ स्थित सुखबोध मावि कक्षा १० मा अध्ययनरत भूमिका सापकोटा जरुवा धारामा पालो कुर्दाकुर्दै विद्यालय जान नै ढिला हुन थालेको पीडा पोख्छिन् । फिदिम–२ की भावना अधिकारी (अर्याल) साँझबिहान फिदिम–४ को बुलबुले धाराबाट पानी ल्याउँछिन् । अत्यधिक भीड लाग्ने भएकाले समयमा घर नपुग्दा उनलाई छोराछोरीलाई खाना बनाएर स्कुल पठाउन हम्मेहम्मे पर्न थालेको छ ।

फिदिम नगर क्षेत्रका नागरिकको यो समस्या साझा भइसकेको छ । फिदिम बजारदेखि १६ किलोमिटर टाढाको आप्तावा खोलाबाट ल्याइएको पानीमा लेदो मिसिएर आउन थाले पछि उपभोक्तालाई स्वच्छ पानी खोज्न मूल र जरुवा धारा चहार्नुपर्ने बाध्यता दोहोरिएको हो ।

‘मिटरमा आएको पानी पिउन त के चर्पीमा प्रयोग गर्न पनि योग्य छैन, कपडा धुँदासमेत दाग लाग्छ भने भाँडाकुँडा पहेंलो कस बस्छ,’ भावना अर्याल भन्छिन् । उनले यही समस्याले गर्दा घण्टौं लाममा लागेर भए पनि मूलको पानी बोकेर दैनिकी धानिरहेको बताउँछिन् । फिदिम बजार आसपासमा टैंकीधारा, बुलबुलेधारा, दमाईधारा, गोलधारा र चिसापानी जस्ता आधा दर्जन जरुवा र मूल धारा छन् । घरमा जडित धारामा प्रयोग गर्न नसकिने धमिलो पानी आउन थालेपछि यहाँका स्थानीयको मूल र जरुवामा बिहान ३ देखि राति १० बजेसम्म भीड लाग्छ ।

प्रायः धारामा स–साना बोतलदेखि जरकिन, गाग्री र जार लिएर दैनिक आधादेखि तीन घण्टासम्म लाम लाग्दै पालोमा पानी थापेर घर फर्किन्छन । ती धारामा बजार क्षेत्रबाट स्कुटर, मोटरसाइकल र टेम्पो लिएर पानी थाप्न आउनेको उपस्थिति पनि उत्तिकै हुन्छ । फिदिमका ज्येष्ठ नागरिक ९२ वर्षीय गंगाराम भट्टराईका अनुसार यहाँ २०५९ सम्म स्वच्छ पिउने पानीको हाहाकार अहिलेकै अवस्थामा थियो । त्यो बेला नजिकैको नाम्दु खोलाबाट ल्याइएको पानी धमिलो र दूषित भएकाले स्थानीय मूल र जरुवा धारामा पानी थाप्थे । २०६० मा पाँचथर उद्योग वाणिज्य संघले बजारमा चन्दा संकलन गरी नजिकैको कात्तिके मुहानबाट स्वच्छ पिउने पानी ल्याएर बजार क्षेत्रमा १७ सार्वजनिक धारामार्फत वितरण गरेपछि बजार क्षेत्रका उपभोक्ताले एक गाग्रो पानीकै लागि जरुवा धारा चहार्नुपर्ने अवस्था अन्त्य भएको थियो ।

‘२०७३ मा फिदिम साना सहरी खानेपानी योजना सञ्चालनमा आएपछि नगरपालिकाको वडा नम्बर १, २ र ४ का नागरिकलाई हाइसन्चो नै भयो, अहिले ती योजनाको पानीमा लेदो मिसिएर आउन थाले पछि दुःख दोहोरिए,’ भट्टराई भन्छन् । १७ करोड १४ लाख रुपैयाँ बजेट खर्चिएर बनेको खानेपानी आयोजनाबाट शुद्ध पानी नआउँदा खानेपानी समस्या जस्ताको त्यस्तैमा पुगेको हो । आयोजना सञ्चालन र खानेपानी वितरणको जिम्मा फिदिम साना सहरी खानेपानी आयोजनाको हो । फिदिमको माथिल्लो गाउँमा राखिएको फिल्टरले काम नगर्दा उपभोक्ताका धारासम्म लेदो मिसिएको पानी पुग्न थालेको समितिका अध्यक्ष गजाधर भट्टराई बताउँछन् ।

‘योजनाअन्तर्गत महभीर छेउमा बनाइएको रकिङ फिल्टर सञ्चालनमा आउन सकेको छैन भने पानीको मुहानभन्दा माथि ६ वटा सडक खनिएका छन, ती सडकबाट बगेको लेदो माटोले मुहान भरिएपछि समस्या दोहोरिएको हो,’ उनी भन्छन् । पहिले सङ्लो पानी आउने गरेकाले इन्टेकमा र्‍यापिट फिल्टर जडान नगरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ सिंह बताउँछन् । आयोजना सुरु गर्दा यो अवस्था आउँछ भन्ने पूर्वअनुमान नगरेकाले पनि समस्या भएको उनको भनाइ छ ।

दूषित पानीका कारण उपभोक्तामा शरीर चिलाउने र झाडापाखालालगायत समस्या बढ्न थालेको छ । स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा यो प्रकृतिका बिरामी बढ्न थालेको बताइएको छ । दैनिक १२ देखि १५ जना छाला र झाडापखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल प्रमुख डा. बुद्धिबहादुर थापाले बताए ।

प्रकाशित : असार १४, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?