कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मतदाता रिझाउन संगीत

चुनाव प्रचारमा निस्कँदा छुट्टै आकर्षण हुने बुझेका दलहरु धमाधम चुनावी गीत बनाउँदै
घोषणापत्रभन्दा गीत–संगीतले चुनाव प्रचार सजिलो हुने जुक्ति लगाएका दलहरु आ–आफ्नो पार्टी र नेताका गुनगानका गीत ल्याउँदै
सुशीला तामा‌ङ

काठमाडौँ — स्थानीय चुनाव नजिकिँदै गर्दा दल विशेषका गीत संगीतहरू गुन्जिन थालेका छन् । पार्टी निकट सांस्कृतिक समूहहरू चुनावी प्रचारका गीतसंगीतका साथै सर्ट फिल्म सार्वजनिक गर्ने चटारोमा छन् । त्यस्ता गीतसंगीतको प्रमुख उद्देश्य चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउनु र मतदाताको मत जित्नु रहेको प्रस्ट छ । गीतसंगीतलाई बढीभन्दा बढी मतदातासम्म पुर्‍याउन सामाजिक सञ्जाल फेसबुकदेखि टिकटिकसम्मलाई माध्यम बनाइएको छ ।

मतदाता रिझाउन संगीत

अहिले हातहातमा स्मार्टफोन छन्, मतदाता सामाजिक सञ्जालमा आएका कुरा हेर्छन्, प्रतिक्रिया दिन्छन् । दलहरूले यो बुझेर म्युजिक भिडियोहरू बनाएर युट्युबमा अपलोड गरिरहेका छन् । कांग्रेस पार्टी समर्थन गर्ने नवराज पन्थको शब्दमा विमलराज क्षत्री र प्रिती आलेको स्वरमा ‘छ्याप्पै रूखमा छाप लाउनी,’ बाबुराम बोहराको शब्द संगीतमा रामजी खाँण र राधिका हमालको स्वरमा ‘लोकतान्त्रिक समाजवाद’ जस्ता गीतहरू आएका छन् ।

चुनावी प्रचारकै लागि पार्टीको मुख्य सिद्धान्त, पार्टीले गरेका उपलब्धि, कार्यहरू समेटेर कांग्रेसलाई ‘किन भोट हाल्ने भन्ने’ देखाउन आधा दर्जनभन्दा बढी गीतसंगीत र झन्डै एक दर्जनको हाराहारीमा सर्ट फिल्महरू बजारमा ल्याउने तयारी गरिरहेको कांग्रेस निकट नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति तीर्थबहादुर थापाले बताए । कुनै पनि दलको घोषणापत्रभन्दा संगीत विधा अझ सशक्त हुने भएकाले चुनावी प्रचारमा सक्दो प्रयोग गर्ने प्रयास गरिएको उनको भनाइ छ । गीतसंगीत तथा संस्कृतिले समाजको जीवनपद्धति अँगाल्ने भएकाले यसको पहुँच राजनीतिमा समेत हुनुपर्ने थापाले प्रस्ट पारे । उनले भने, ‘हाम्रो संगीत, साहित्यले मतदाता रिझाउनुपर्छ भन्नेमा ध्यान दिएका छौं ।’ उनका अनुसार केन्द्रमा मात्र नभएर प्रदेश र स्थानीय निकायहरूमा समेत पालिका समिति गठन गरेर गीतसंगीत प्रचार सामग्री बनाइएका छन् । यसलाई चुनावी माहोलपछि पनि निरन्तरता दिने उनले सुनाए ।

एमालेले यस पटकको निर्वाचनका लागि पनि चुनावी गीत ल्याएको छ । पार्टीले चुनाव प्रचारका लागि कलाका विभिन्न विधालाई उपयोग गरेको छ । अध्यक्ष केपी शर्मा ओलीकै शब्द, संगीतमा प्रकाश सापकोटा र दीपा सापकोटाको स्वर रहेको गीत ‘सूर्यमा भोट, ड्याम कि ड्याम,’ नवराज वलीको शब्द संगीतमा कोमल वलीलगायतको स्वरमा रहेको ‘सूर्यमा भोट हालौं,’ सुजन लम्सालको शब्द, संगीतमा बद्री पंगेनी, पूर्णकला बीसीलगायतका स्वरमा रहेको ‘मेरो देशै एमाले म त यसै एमाले’ जस्ता गीतहरू भर्खरै बजारमा आएका छन् ।

एमालेले गीतसंगीतको अलावा सामाजिक सञ्जालदेखि सर्ट फिल्म सबैजसो माध्यमहरू प्रयोग गरेर चुनावी प्रचार गरिरहेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले साइबर सर्कल विभाग नै गठन गरेर टिकटकमार्फत प्रचारको थालनी गरेको छ । सर्कलले तीन लाख रुपैयाँ राशिको पुरस्कार राखेर टिकटक प्रतियोगिता सुरु गरेको छ । देशभरका जुनसुकै उमेरका प्रतिस्पर्धीले एमालेको विचारधारा, विकास निर्माण सिद्धान्तमा आधारित रहेर बनाएका गीतमा भिडियो वा अभिनयलाई सिर्जना र प्राप्त भ्युजका आधारमा पुरस्कृत गरिने विभागका सचिव परशु सुवेदीले बताए । उनका अनुसार युवाका लागि सामाजिक सञ्जाल मनोरन्जन मात्र नभएर राजनीतिप्रति सचेत बनाउने माध्यम होस् भन्ने हेतुले प्रतियोगिता सञ्चालन गरिएको हो ।

माओवादी पार्टीको चुनावी प्रचारका लागि सन्तोष देउजाको शब्दमा विष्णु खत्री र टीका पुनको आवाजमा ‘मेयरमा भोट रेनु दाहाललाई,’ राम खत्री र दिलीप कँडेलको शब्दमा चेतन गोतामे र गायिका पुनकै आवाजमा ‘आयो आयो मायोवादी हेर’ जस्ता गीतहरू बजारमा आएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघले चुनावकै छेको पारेर १० वटाको हाराहारीमा गीतहरू ल्याउने तयारी गरिरहेको उपाध्यक्ष भीम कुमाखीले सुनाए । उनका अनुसार महासंघले हिमाल, पहाड र तराई क्षेत्रको जाति र बसोबासअनुसार चुनावी प्रचारका गीतहरू तयार गरिएका छन् । ‘हामी मनोनयन दर्ता प्रक्रिया टुंगिनेबित्तिकै गीतसंगीत लिएर जनताका माझमा जान्छौं,’ उनले भने, ‘हामीले जनयुद्धको समयमा पनि आशा, निराशा, उत्साह र कुण्ठा गीतमा पोखेका थियौं ।’

गीतसंगीतले राजनीतिक दलको एकोहोरो पक्षधरताभन्दा जनताको समस्यालाई सम्बोधन गर्नुपर्ने महासंघका अध्यक्ष मातृका पोखरेल सुनाउँछन् । ‘राजनीतिक दलले गीतसंगीत र कलालाई बुझेका छैनन् । यसले प्रचारका नाममा जनतामा भ्रम पैदा गर्नुहुँदैन,’ उनले भने । दलहरूका विषयमा सिर्जना भएका गीतसंगीतले जनतालाई धोका महसुस हुन नहुने उनको तर्क छ ।

चुनावी प्रचार गीतमा चल्तीका लोक सर्जकहरू पंगेनीदेखि एकनारायण भण्डारीसम्मका छन् । अघिल्लो स्थानीय चुनावी गीतमा देखिएका पंगेनी र भण्डारी यस पटक पनि छाएका छन् । राजनीति दलले जनताका लागि गीत तयार गरे पनि सर्जकले श्रोता, दर्शकका लागि सिर्जना पस्केको भण्डारीले सुनाए । उनले भने, ‘राजनीतिमा लामो समयदेखि गीतसंगीतको प्रयोग हुँदै आएको पाइन्छ । राजामहाराजाले पनि उपयोग गर्थे । हामी पार्टीगतभन्दा पनि कलाकारका रूपमा मात्र छौं ।’ अघिल्लो स्थानीय चुनावमा उनको शब्द, संगीतमा रहेको ‘मै पनि एमाले सय पनि एमाले’ गीत अत्यधिक रुचाइएपछि उनलाई सबैजसो पार्टीका लागि गीतसंगीत सिर्जनाका लागि अनुरोध आउँछ । उनका अनुसार उनले एमाले मात्र नभएर कांग्रेस पार्टीका लागि पनि सिर्जना गरेका छन् । संगीतकै कारण पार्टी, दलीयजस्ता आक्षेप आएको सुनाउँदै उनले थपे, ‘म कुनै पार्टीमा आबद्ध छैन । संगीत सिर्जना मेरो काम हो ।’

जुनसुकै पार्टी तथा दलले संगीतको दुरुपयोग गरेर मूल मर्मलाई मार्न नहुने रायनको सुझाव छ । उनले जोडे, ‘राजनीतिमा यसको ऐतिहासिक पृष्ठभूमिअनुसार यसको प्रयोगमा सचेत हुनपर्ने समय आएको छ ।’

दलहरूले चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउन र मतदातालाई आकर्षित गर्न गीतसंगीतको सहारा लिइएको पहिलो पटक भने होइन । नेपालको राजनीतिक पृष्ठभूमि केलाउने हो भने प्रजातन्त्र, बहुदल, लोकतन्त्र तथा गणतन्त्रको स्थापनासम्ममा साहित्य, संगीत, रंगमञ्चजस्ता कलाका सबैजसो विधाले अहम् भूमिका खेल्दै आएको छ ।

पञ्चायतविरुद्धका जनतालाई झकझकाउने गीतसंगीत जनयुद्धकालमा समेत उत्तिकै प्रयोग भएका थिए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा कला र कलाकारले सिर्जनाका माध्यममा देखाएको अग्रसरताका साक्षी हुन् प्रगतिशील गीतकार तथा गायक नारायण भक्त श्रेष्ठ रायन (हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति) । उनी आफैं पनि पारिजातको नेतृत्वमा स्थापना भएको ‘राल्फा आन्दोलन’ का सदस्य थिए । राल्फाले तीनताक पञ्चायती शासन व्यवस्थाविरुद्ध विरोधस्वरूप गीत तथा साहित्य सिर्जना गर्ने वामपन्थी सांस्कृतिक समूह गठन गरेको थियो ।

राजनीतिमा जनतालाई जागरुक र सचेत बनाउन प्रयोग गर्दै सिर्जनाहरू अहिलेका राजनीतिक दलले भने आ–आफ्नो पार्टी, विकासका योजना तथा नेताका गुनगान गाउने माध्यम बनाउँदै आएकोमा रायनलाई चित्त बुझेको छैन । पञ्चायतकालको विरुद्धमा स्रष्टाहरूले गीतसंगीत तथा साहित्यमा थुप्रै सिर्जनाहरू गरेको स्मरण गर्दै रायनले अहिलेको चुनावी प्रचारका लागि तयार गरिएका सिर्जनाहरूप्रति दुःखेसो गरे । ‘संगीतले मानिसको धारणा परिवर्तन गर्न सक्छ,’ उनले भने, ‘समाज रूपान्तरणका लागि गीतसंगीतको प्रयोग हुनुपर्छ ।’ दल विशेष बनाएर सिर्जना गरेको गीतसंगीतले जनतालाई गर्न सक्ने मात्र यथार्थ कुरा बाहिर ल्याउनुपर्ने उनको मत छ ।

प्रकाशित : वैशाख १२, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?