जाग्दै जनकपुर - फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मधेसको मान

जाग्दै जनकपुर 

फराकिला र चिल्ला सडक, पूर्वपश्चिम राजमार्ग जोड्ने ६ लेनको सडक, विमानस्थलमा नयाँ टर्मिनल र न्यारोगेजबाट रेलको ब्रोडग्रेज यात्रा जनकपुर हौसिएको छ
अजित तिवारी

जनकपुर — सन् १९७७ मा एमए पढ्दाताका मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा र राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ भारतको मद्रास (चेन्नई) स्थित एक विश्वविद्यालयको अन्तर्क्रियामा सहभागी भए । अन्तर्क्रियामा भारतका थुप्रै ठाउँबाट विद्यार्थी र प्राध्यापक आएका थिए । 

‘जनकपुरबाट आएको भनेपछि एक जनाले हामीलाई धकेलिदिए,’ झा सम्झिन्छन्, ‘धक्का दिएपछि रिस पनि उठ्यो । तर त्यसपछि अचम्मै भयो । ती मानिसले हामी उभिएको ठाउँबाट माटो उठाए र ढोगे । हामी छक्क पर्‍यौं ।’ उनी थिए, मुम्बई युनिभर्सिटीका तत्कालीन इकोनोमी विभाग प्रमुख । ती व्यक्तिमा जनकपुरप्रतिको अगाध आस्था झल्किन्थ्यो ।

धार्मिक, ऐतिहासिक र प्राचीन सहर जनकपुरसँग हिन्दु धर्मावलम्बीको आस्था त जोडिएकै छ । अब यो सहर मधेस प्रदेशको राजधानी पनि बनेको छ । राजनीति उथलपुथलमा धेरैथोक गुमाएको जनकपुर अब ‘कम्ब्याक’ को मुडमा छ । मधेस आन्दोलन र सशस्त्र समूहका गतिविधिले जनकपुरलाई राजनीति, जातीय र भाषिक रूपमा गिजोलिदियो । आधुनिक र समावेशी सहरतर्फ सुस्तरी उन्मुख जनकपुरबाट पहिलो चरणमा पहाडी समुदायको विस्थापन र अर्को चरणमा मधेसी समुदायकै हुनेखानेको काठमाडौं बसाइ मोहले यस सहरलाई अभिभावकविहीन बनायो ।

संघीयता अभ्यासपछि जनकपुरले भने ‘अक्सिजन’ पायो । विकास र राजनीतिबाट हेपिएको जनकपुर एकलकाँटे, कठोर र निष्ठुरी देखिन्थ्यो । संघीयताको अभ्याससँगै फराकिलो र चिल्ला सडक, पूर्वपश्चिम राजमार्ग जोड्ने ६ लेनको सडक, विमानस्थलको नयाँ टर्मिनल, न्यारोगेजबाट रेलको ब्रोडग्रेज यात्रा र काठमाडौंको बढ्दो अपनत्वले जनकपुर हौसिएको छ । तर जताततै फोहोर, फुटपाथमा व्यापारीको कब्जा, सडकमा तीन लेयरमा राखिने स्ट्रिट फुड स्टल, चर्को हर्न र सवारीसाधनको तीव्र गतिले अहिले पनि जनकपुरलाई गिज्याइरहेका छन् । अब सडक व्यवस्थित गर्ने र फुटपाथ खाली गराउने अभियान थालिने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

राजर्षि जनक विश्वविद्यालय, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जानकी मेडिकल कलेज, सरकारी र निजी थुप्रै स्कुल र कलेज । एउटा सहरलाई चाहिने शिक्षा र स्वास्थ्यका सबै पूर्वाधार जनकपुरमा छन् । तर, विश्वविद्यालय हाइस्कुल जस्तो, मेडिकल कलेज क्लिनिक जस्तो र सरकारी स्कुल–कलेज सर्टिफिकेट मात्रै बनाउने छापाखाना जस्तो हुँदा जनकपुरको शिक्षा क्षेत्र बदनाम छ । जनकपुर सहरको एउटा गजबको खुबी छ । यो गोलाकार सहर हो । गोलाइ आकारको सहरले सामाजिक सद्भावको संकेत गर्छ । लम्बाइ आकारको सहरमा समाजबीच अन्तर्क्रिया हुँदैन । १० वर्षे सशस्त्र द्वन्द्व, मधेस आन्दोलन र सशस्त्र समूहका गतिविधिले मानिसको पलायन बढ्दा जनकपुरप्रति जुन लगाव थियो, त्यो भंग भएको उनको भनाइ छ ।

१४१७ सालमा भारत, मध्यप्रदेश लोहागढका सुरकिशोर दास सीताको स्वर्णमूर्ति खोज्दै जनकपुर आइपुगे । उनी साधु थिए । सपनामा सीतामाताले ‘मेरो स्वर्णमूर्ति जहाँ भेटिन्छ, त्यही नै जनकपुर हो’ भनेपछि उनी मूर्तिको खोजीमा निस्केका थिए । सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले कुटी बनाए । र, त्यहीं बस्न थाले । यसलाई कल्पना भनिए पनि जानकी मन्दिर रहेको अहिलेको स्थानमा कुटीचाहिँ थियो । त्यतिबेला घना जंगलभित्रको सानो बस्ती थियो, जनकपुर । सीताको स्वर्णमूर्ति भेटिएको खबर फिँजिएपछि भारत मध्यप्रदेशको टिकमगढकी रानी वृषभानु कुँवर जनकपुर आइन् । निःसन्तान उनले सन्तान प्राप्तिको भाकल गरिन् । सन्तान प्राप्तिपछि रानीले झुपडीमा रहेको सीताको मन्दिरलाई आलिसान बनाइदिइन् । ९ लाख चाँदीका असर्फी खर्चेर निर्मित जानकी मन्दिरलाई ‘नौलखा मन्दिर’ पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास गरिएको जानकी मन्दिरको निर्माण सन् १९११ मा सकियो ।

जंगलभित्रको सानो बस्ती जनकपुर मुगलशैलीको जानकी मन्दिर निर्माणपछि घनाबस्तीमा परिणत हुन थाल्यो । क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो मन्दिर र पवित्र धर्मस्थल जानकी मन्दिरकै कारण जनकपुरले सहरिया स्वरूप लियो । जानकी मन्दिर निर्माणपछि धार्मिक नगरीमा एउटा घरको चाहना राख्नेको संख्या बढ्यो । अनि खुले, स्कुल–कलेज । थपिए सरकारी कार्यालय । साधु–सन्तको सानो बस्ती बाक्लिँदै जनकपुर सहर बन्यो ।

जानकी मन्दिरका कारण जनकपुरले सहरी रूप लिए पनि यो घना बन्नुमा रेलवे र चुरोट कारखानाको महत्त्वपूर्ण भूमिका रहेको मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष झा बताउँछन् । ‘रेलवेले जनकपुरलाई भारतसँग जोड्यो, चुरोट कारखानाले रोजगारी दिँदा देशभरका मानिस यहाँ थुप्रिए,’ उनले भने, ‘शिक्षाको केन्द्र बनेपछि यहाँ पढ्न आउने विद्यार्थीले जनकपुर भरिभराउ भयो ।’ धर्म, शिक्षा, यातायात र उद्योगले आधुनिक बनेको जनकपुर राजनीतिक शक्तिको केन्द्र पनि बन्यो ।

मन्दिरै–मन्दिर र पोखरी–तलाउ भएको जनकपुर १ सय २८ वर्ष पुरानो सहर भए पनि जानकी र राम मन्दिरकै गुठीको जग्गामा बसालिएको जनकपुर सहरमा मठ–मन्दिरको जग्गा अतिक्रमण बढेको छ । जानकी मन्दिर बनेपछि त्यसलाई बीचमा राखेर चारैतिर जनकपुरमा बस्ती विस्तार भयो । ‘जानकी मन्दिर र रेल देखाएर मात्रै जनकपुरको वैभव र सहरीकरण टिकाउन सकिन्न,’ राजनीतिकर्मी रोशन जनकपुरी भन्छन्, ‘सहरलाई बाँध्ने एउटा कडी मात्रै हो, धार्मिकस्थल ।’ जनकपुरलाई विकसित र विशाल बनाउन ऐतिहासिक र धार्मिक पाटोसँगै व्यापारिक र सबैले रुचाउने समाजको विकास गर्नॅपर्ने उनको भनाइ छ । जानकी मन्दिरमा धार्मिक पर्यटक बढे पनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । मठ–मन्दिर र पोखरीको जग्गा च्यापेर घर बनाउने प्रवृत्तिले सहरको साख गिराएको छ ।

बृहत् विष्णुपुराणको मिथिला महात्म्यमा पनि जनकपुरका मठ–मन्दिर र तलाउको चर्चा गरिएको छ । ‘यतिबिघ्न महत्त्व बोकेको सहर धार्मिक र समाजिक हिसाबले पछि परेको छ,’ सुन्दरसदन अग्निकुण्डका महन्थ नवलकिशोर यादवले भने, ‘फोहोर बढेको छ । मन्दिरको स्वरूप बिग्रिएको छ । मूर्ति र जग्गा बेचेर गुठी संस्थानका हाकिम–कर्मचारीले कमाउने मात्र भयो ।’

जनकपुर सहरलाई २० वर्षपछि कस्तो बनाउने ? उपमहानगरपालिकाले दुई वर्षअघि थालेको यो बहसमा धेरैजसोले धार्मिक, सांस्कृतिकसँगै आधुनिक सहरमा बदल्नुपर्ने विषयलाई जोडतोडका साथ उठाएका थिए । जनकपुरलाई आधुनिक सहर बनाउन पूर्वाधार, सहरीकरण र शिक्षा–स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउनुपर्ने र त्यसका लागि दूरगामी योजना बनाउनुपर्ने उनीहरूको सुझाव थियो ।

‘जनकपुरधाम २०४०’ लक्ष्य तोकेर उपमहानगरले विज्ञको सुझाव लिए पनि त्यसलाई कार्यान्वयनतिर लैजान सकेको छैन । आगामी २० वर्षमा त्रेतायुगीन झल्को दिने जनकपुरधामको परिकल्पना गर्नॅपर्नेमा धेरैजसोको जोड छ । धार्मिक र ऐतिहासिक महत्त्वको जनकपुरलाई रामायणकालीन झल्को दिने सहर बनाउन आवश्यक सहयोग गर्न आफू तयार रहेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बहसमा बताएका थिए । जनकपुरको अनियन्त्रित बस्ती विकास रोक्दै नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्र स्थापनाका लागि विशेष क्षेत्रसहितको अवधारणा ल्याउनुपर्ने उनले सुझाएका थिए ।

शिवको काशी, रामको अयोध्या र कृष्णको वृन्दावन— यी तीनै ठाउँ जनकपुरसँग जोडिएकाले यहाँको धार्मिक सम्बन्धको ‘ब्रान्डिङ’ गर्नुपर्ने विश्लेषक सिके लाल बताउँछन् । मिथिला र अवध जोड्ने सहर पनि जनकपुर रहेकाले प्रदेशको राजधानीसँगै यसको महत्त्व झनै बढेको उनको भनाइ छ । धार्मिक महत्त्व र मिथिला संस्कृतिलाई अन्तर्राष्ट्रियकरणमा ढिलाइ गर्न नहुने जनकपुरका स्थानीय एवं परराष्ट्र सेवाबाट अवकाशप्राप्त रामबाबु दाहालले सुझाए । जनकपुरको तत्कालको वातावरणीय प्रभाव र २० वर्षपछिको अवस्थाको चित्रण गर्दै जनकपुरलाई हरित सहर बनाउन सकिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ प्रमोदकुमार झा बताउँछन् ।

‘जनकपुरमा खुला ठाउँ धेरै छन् । पोखरीका डिल पनि खाली नै छन् । त्यहाँ वृक्षरोपण गरेर ग्रिन सिटी बनाउन सकिन्छ,’ झाले भने, ‘फोहोरमैलाको अवस्थामा सुधार ल्याउनु जरुरी छ ।’ जनकपुरमा प्रतिदिन १३ टन फोहोरमैला उत्पादन हुने तर त्यसको उचित व्यवस्थापन नहुँदा सहर नै फोहोर देखिएको उनको भनाइ छ । यातायातको पूर्वाधार बनेपछि जनकपुर सहरको विकास गर्न र सुन्दर बनाउन धार्मिक नगरी नै बनाउनुपर्ने अग्निकुण्डका महन्त यादव बताउँछन् ।

‘मठ–मन्दिरको सौन्दर्यीकरण, कुण्ड–तलाउको संरक्षण र सौन्दर्यीकरण तथा जनकपुरलाई मासु–मदिरा निषेधित क्षेत्र बनाएपछि यहाँको धार्मिकताले सबैको मन छुन्छ,’ यादवले भने, ‘धार्मिक सहरका लागि हुनुपर्ने सबै मान्यता कायम गरिए विश्वभरका पर्यटक यहाँ तान्न सकिन्छ ।’ जनकपुरमा हुने ठूला धार्मिक उत्सव विवाह पञ्चमी, रामनवमी, मिथिला माध्यमिकी परिक्रमा, झुला महोत्सवलाई मात्रै व्यवस्थित गरे यहाँ थाम्नै नसक्ने गरी पर्यटकको चाप बढ्छ  । ‘यति धेरै पोखरी भएको जनकपुर नै संसारको पहिलो सहर हो,’ लाभले भने, ‘जनकपुरलाई सिटी अफ पोन्ड बनाउन सकिन्छ ।’

त्रेतायुगमा राम र सीताको विवाह भएको प्रतीकका रूपमा मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरमा विवाह उत्सव आयोजना गरिन्छ । नेपाल र भारतमा हजारौं श्रद्धालु सहभागी हुने यो उत्सव मानिस जमघट हुने ठूलो धार्मिक मेला हो । चार दिनसम्म मनाइने विवाह उत्सवमा जनकपुरको जानकी र राममन्दिर तथा रंगभूमि मैदान भरिभराउ हुन्छन् ।

अर्को धार्मिक उत्सव हो, झुलनोत्सव । साउन शुक्ल तृतीया तिथिबाट सुरु हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति मनाइन्छ । यसमा सीता–राम र राधा–कृष्णलाई झुलामा राखेर झुलाइन्छ । यो उत्सव हेर्न पनि हजारौं संख्यामा श्रद्धालु जनकपुर आउँछन् । फागुनमा जनकपुर सेरोफेरोमा घुमिने १५ दिने परिक्रमा पनि यहाँको ठूलो धार्मिक यात्रा हो । मिथिला महात्म्यअनुसार १८औं शताब्दीमा परिक्रमा थालिएको थियो । यो परिक्रमामा खाली खुट्टा नेपाल र भारतका हजारौं श्रद्धालु सहभागी हुन्छन् । रामनवमीमा पनि जनकपुरमा ठूलो मेला लाग्छ । रामनवमीका दिन जनकपुरस्थित राम र जानकी मन्दिरमा मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो हुन्छ । गंगासागर पोखरीमा स्नान गरी श्रद्धालुले जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजापाठ गर्ने चलन छ ।

यतिका धार्मिक गन्तव्य र ऐतिहासिकता रहे पनि जनकपुरमा पर्यटक एक रात पनि बस्न रुचाउँदैनन् । कारण, अनेक होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि जनकपुरमा आन्तरिक र बाह्य पर्यटकको चाप बढेको छ । जानकी मन्दिर दर्शन मात्रै जनकपुर भ्रमणको उद्देश्य बन्दा अन्य धार्मिक एवं ऐतिहासिक स्थल ओझेलमा परेका छन् । पछिल्लो समय जनकपुरमा रोकिने पर्यटकको संख्या बढेको जनकपुरका होटल व्यवसायी विजय झुनझुनवाला बताउँछन् ।

‘जनकपुरमा दुई रातसम्म बस्ने पर्यटक बढेका छन्,’ होटल वेलकमका सञ्चालक झुनझुनवालाले भने, ‘जनकपुरका विविध पक्षले अहिले पर्यटकलाई आकर्षित गरेका छन् ।’ जनकपुरमा रात बिताउन पर्यटकलाई बाध्य पारेको एउटा स्थल हो, गंगा आरती । वातावरण अभियन्ता रामआशिष यादवले २०७० फागुन ११ मा गंगासागर पोखरी सफाइ अभियान थाले । त्यहींबाट यादवलाई फुर्‍यो, गंगा आरतीको अवधारणा । अनि २०७१ जेठ २५ देखि थालिएको गंगा आरती जनकपुरको आकर्षणको केन्द्र मात्र बनेको छैन, पर्यटकलाई जनकपुरमा रोक्ने कडीसमेत बनेको छ ।

‘गंगा आरती प्रकृति र संस्कृति रक्षाको संगम हो,’ अभियन्ता यादवले भने, ‘गंगासागरको संरक्षणसँगै निजी क्षेत्रलाई पनि गंगा आरतीले टेवा पुर्‍याइरहेको छ ।’ अर्को आश्चर्यलाग्दो स्थल हो, जनकपुरको स्वर्गद्वारी । गंगासागरको दक्षिणी डिलमा रहेको स्वर्गद्वारीलाई आकर्षक र पर्यटकीय स्थल बनाउनुमा जनकपुरका समाजसेवी पवन सिंघानियाको योगदान छ । फोहोर र अव्यवस्थित स्मसानघाटलाई सिंघानियाले व्यवस्थित मात्र बनाएनन्, सजावट र बगैंचाको सजावटले मानिस सद्गत गर्ने ठाउँलाई पर्यटकीय स्थल नै बनाइदिए ।

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा जनकपुर पनि समेटिएको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न सर्किटको अवधारणा ल्याइएको हो ।

रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्त्वपूर्ण मानिएको यो सर्किटको उद्घाटन २०७५ वैशाख २८ मा नेपाल र भारतका प्रधानमन्त्रीले गरे । सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई जोड्न ‘ट्वीन सिटी एग्रिमेन्ट’ भएको थियो । भारतले सोही एग्रिमेन्टलाई रामायण सर्किटअन्तर्गत विस्तार गरेको छ ।

‘रामायण सर्किटअन्तर्गत मिथिला र अवधको सम्बन्धलाई विश्वव्यापी बनाउन खोजिएको हो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भने, ‘मिथिला र अवधको बीचमा सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार गर्नु यसको उद्देश्य हो ।’ रामायण सर्किटअन्तर्गत नेपाल र भारतका धार्मिक रुटमा विकासका पूर्वाधार निर्माण गरिनेछ । भारतले उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्र गिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोडेको छ ।

अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४/१५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो । यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थल जोड्ने भारतको योजना छ । यसमा श्रीलंकाले पनि चासो देखाएको छ । रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगिकीकरण, सडक, शिक्षा र पर्यटनका पूर्वाधार पनि तयार पारिनेछ । ‘राम र सीताको चरण (पाउ) जहाँ–जहाँ पुगेको छ, त्यो सबै क्षेत्रलाई समेट्ने र त्यो रुटमा पूर्वाधार विकास गर्नॅ नै रामायण सर्किटको लक्ष्य हो,’ मिथिला–अवध सांस्कृतिक संरक्षण परिषद्का उपाध्यक्ष सुनील चौधरीले भने । जनकपुर–अयोध्या दूरी ६ सय ५० किमि छ ।

२०२१ पुस २९ देखि व्यावसायिक उत्पादन थालेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) स्थापनाले पनि जनकपुर सहरलाई फराकिलो बनायो । तत्कालीन सोभियत संघ रुसको सहयोगमा स्थापित जचुकालि १५ वर्षअघिसम्म मुलुकलाई सबभन्दा बढी राजस्व तिर्ने उद्योग थियो ।

कारखानामा काम गर्ने देशभरका धेरै कर्मचारीले जनकपुरमा बसोबासका लागि घर बनाए । जचुकालिले जनकपुरको आर्थिक अवस्थामा सुधार ल्यायो । ‘जनकपुरको विस्तारमा जचुकालिको पनि ठूलो भूमिका छ,’ नीति आयोगका उपाध्यक्ष झाले भने, ‘ट्रेडिङ, पर्चेजिङ र हाउजिङ जनकपुरमा बढ्नुको कारण जचुकालि नै हो ।’ निजी कम्पनी सूर्य टोबाकोसँग प्रतिस्पर्धा गर्न नसक्नु, राजनीतिक हस्तक्षेप र ट्रेड युनियनमा बढ्दो राजनीतीकरणले जचुकालि धराशायी बन्यो । अन्ततः उत्पादन महँगो हुन थालेपछि सरकारले २०७० असार २० मा जचुकालि बन्द गर्ने निर्णय गर्‍यो । यसपछि जनकपुर सहरलाई ठूलो झट्का लाग्यो ।

जचुकालिको आवास परिसरमा प्रदेश सरकारको प्रशासनिक कार्यालय स्थापनापछि रौनक त फर्किएको छ । तर कारखानाभित्रका उपकरण र मेसिन कवाड बन्दै छन् । कारखानालाई चुरोट उत्पादनकै लागि फेरि सञ्चालनमा ल्याउने राजनीतिक ‘गफ’ मा भने दम छैन ।

प्रकाशित : वैशाख ७, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा गठबन्धन कठिन

धनगढी उपमहानगरपालिकासहित ३३ नगरपालिका र ५४ गाउँपालिकामा उम्मेदवार छनोट अन्योलमा
प्रदेश ब्युरो

धनगढी — सत्ता साझेदार दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भने पनि सुदूरपश्चिममा अनिश्चित छ । गठबन्धन आबद्ध दलहरूका प्रदेश समितिले उम्मेदवारको अझै टुंगो लगाउन सकेका छैनन् । दलहरूका कतिपय जिल्ला र प्रदेश समितिको बैठक नै बस्न नसकेर उम्मेदवार छनोट अन्योलमा परेको हो ।

उम्मेदवारकै टुंगो नलागेका कारण चुनावी माहोल बन्न सकेको छैन । उम्मेदवार छनोट गर्ने निर्णायक ठाउँमा बसेका नेताहरू पछि हुने प्रदेश र संघीय निर्वाचनमा आफैंलाई घाटा हुन सक्ने आकलन गरी तैं चुप मै चुपको अवस्थामा देखिन्छन् । सात पहाडी र २ तराईका समेत ९ जिल्ला भएको सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह छन् । जसमध्ये कैलालीमा प्रदेशकै एकमात्र धनगढी उपमहानगरपालिकासहित ९ जिल्लामा ३३ नगरपालिका र ५४ गाउँपालिका छन् । कुल वडाको संख्या ७३४ छ ।

मिल्ने ठाउँमा गठबन्धन

सात वटा स्थानीय तह रहेको कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरामा आइतबार बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले आवश्यकताअनुसार सहमति गरेर जाने निर्णय गरेका छन् । माओवादीले ५० प्रतिशत स्थानीय तहमा दाबी गरेपछि विवाद उत्पन्न भएको डडेलधुरामा सत्ता साझेदार दलहरूले जहाँ जसको उपयुक्त हुन्छ, त्यहाँ गठबन्धन गर्ने निर्णय गरेको हो ।

‘सत्ता गठबन्धन बाहिरका दलसँग मिलेर चुनाव नलड्ने तर गठबन्धनभित्रका दलले कुनै पनि पालिकामा एकअर्काबीच गठबन्धन गर्ने निर्णय भएको हो,’ कांग्रेस नेता रघुवर भट्टले भने । परशुराम नगरपालिकाको विषयमा माओवादीसँग कुरा मिल्न नसकेका कारण कुनै निर्णय हुन सकेको छैन । परशुराम नगरपालिकामा सबैभन्दा बढी मतदाता छन् । यो नगरपालिका कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद मेयर रहेको पालिका पनि हो । सबै पार्टीले आफ्नो आफ्नो दलबाट सम्भावित उम्मेदवारको नाम सिफारिससमेत गरिसकेका छन् । कांग्रेस, माओवादी र समाजवादीले आफ्नो दलभित्र उम्मेदवार सिफारिस गरे पनि गठबन्धनको निर्णय पर्खिएका छन् ।

गठबन्धन जटिलतातिर

केन्द्रबाट जारी समयतालिकाअनुसार सुदूरपश्चिममा कुनै पनि जिल्लामा गठबन्धनका जिल्ला तहका संयन्त्रले भागबन्डाको निर्क्योल गर्न सकेका छैनन् ।

१३ स्थानीय तह रहेको प्रदेशको सबैभन्दा ठूलो कैलालीमा पनि गठबन्धनका विषयमा ठोस सहमति हुन सकेको छैन । प्रदेशको एकमात्र उपमहानगरमा केन्द्रबाटै निर्णय हुने भए पनि अन्य स्थानीय तहमा अहिलेसम्म कुनै निर्णय हुन नसकेको हो ।

‘गठबन्धन जटिलतातिर छ,’ प्रदेश संयन्त्रका संयोजक एवं कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले भने, ‘प्रगति हुन सकेको छैन । बैठक अनिश्चित छ । केही प्रगति भयो भने बैठक हुन सक्छ ।’ जित्नका लागि गठबन्धन हुनुपर्ने उनको भनाइ छ ।

एकीकृत माओवादीले पनि सत्तारूढ दलबीचको चुनावी गठबन्धन अनिश्चयतर्फ उन्मुख रहेको बताएको छ । माओवादीका प्रदेश सचिव जनक बुढाले भने, ‘आजका मितिमा गठबन्धन टुटिसक्यो भन्नु हतार हुन्छ । हामी जोगाउने पक्षमा छौं तर सहज छैन ।’ सत्तारूढ गठबन्धनभित्रको अर्को दल एकीकृत समाजवादीले पनि सुदूरपश्चिममा गठबन्धन धरापमा पर्न सक्ने आकलन गरेको छ ।

१३ स्थानीय तह रहेको प्रदेशको सबैभन्दा ठूलो कैलाली जिल्लामा पनि गठबन्धनका विषयमा ठोस सहमति हुन सकेको छैन । प्रदेशको एकमात्र उपमहानगरमा केन्द्रबाटै निर्णय भए पनि अन्य स्थानीय तहमा अहिलेसम्म कुनै निर्णय हुन नसकेको हो । कैलालीमा सत्ता साझेदार दल जनता समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने निर्णय गरिसकेको छ । कांग्रेस, माओवादी, समाजवादी र जनमोर्चाबीच पटकपटक बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आफ्नो प्रदेशस्तरको कमिटीलाई जिम्मा दिएका छन् ।

कांग्रेस प्रदेश अध्यक्ष वीरबहादुर बलायरले कैलालीमा सहमतिको नजिक पुगेर पनि सहमति हुन नसकेको बताए । बलायरले भने ‘माओवादी र समाजवादीसँग बेग्लाबेग्लै प्रदेशस्तरमा बैठक भएका छन्, सामूहिक बैठक पनि भएको छ ।’ कैलालीका केही स्थानमा मिल्ने वातावरण बनेको पनि उनले जानकारी दिए । बलायरले भने, ‘एक/दुई दिनभित्रै ठोस निर्णय हुन सक्छ ।’

बझाङमा गठबन्धनको सम्भावना टर्दै

सत्ताधारी पाँच दलबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि चुनावी गठबन्धनको सम्भावना कम हुँदै गएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये कांग्रेसले यसअघि जितेका चार पालिकासहित थप दुई पालिकामा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । बाँकी रहेका ६ पालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई नेतृत्व दिने कांग्रेसले प्रस्ताव ल्याएको हो । माओवादी केन्द्र र समाजवादीले छबिस पाथीभेरा गाउँपालिका नछोड्ने बताएपछि गठबन्धनमा थप सकस देखिएको नेताहरूले बताएका छन् ।

कांग्रेस र अन्य दल तथा समाजवादी र माओवादीको आआफ्नै अडानका कारण गठबन्धन नहुने अवस्था सिर्जना हुँदै गएको नेताहरू बताउँछन् । गठबन्धन भंग भइसक्यो भनेर घोषणा नभएको तर गठबन्धन हुने सम्भावना न्यून रहेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले बताए । माओवादीले एकल उम्मेदवार उठाउन तयारी सुरु गरिसकेको उनको भनाइ छ ।

कञ्चनपुरमा उम्मेदवारको टुंगो लागेन

कञ्चनपुर जिल्लामा कुनै दलले पनि उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् । गठबन्धन दलहरू अझै पनि छलफलमै छन् । प्रमुख प्रतिपक्षी एमालेले पनि केही वडाध्यक्ष र एउटा पालिकाबाहेकमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उनले गठबन्धन दलभित्र नियमित रूपमा छलफल चलिरहेको बताए ।

‘गठबन्धन दलभन्दा बाहिरको दलले जितेको ठाउँमा भागबन्डा नमिल्दा केही ढिलाइ भएको हो,’ माओवादी केन्द्र कञ्चनपुरका अध्यक्ष खेमराज पाण्डेयले भने, ‘सबैले आ–आफ्नो दाबी गरेका छन् ।’ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जीवन थापाले आन्तरिक रूपमा उम्मेदवारको छनोट भइरहेको बताए । नौ स्थानीय तह रहेको कञ्चनपुरमा पछिल्लो निर्वाचनमा एमालेले ५ मा तथा माओवादी र कांग्रेसले २/२ पालिकामा चुनाव जितेका थिए । एमालेबाट निर्वाचित पुनर्वास र वेदकोट नगरपालिकाका प्रमुखहरू अहिले समाजवादीमा लागेका छन् । गठबन्धन दलबीच भागबन्डा को मोडालिटीमै सहमति हुन सकेको छैन ।

(धनगढीबाट डीआर पन्त र अर्जुन शाह, बझाङका वसन्तप्रताप सिंह र कञ्चनपुरका भवानी भट्टको सहयोगमा)

प्रकाशित : वैशाख ७, २०७९ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×