पाठ्यक्रममा पर्यावरण- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

पाठ्यक्रममा पर्यावरण

विज्ञ भन्छन्– ‘पर्यावरणमा दिनदिनै नयाँ मुद्दा र एजेन्डा विकास भइरहेकाले ती विषयका पाठ्यक्रम समयमै परिमार्जन गर्नुपर्छ’
सुदीप कैनी

काठमाडौँ — विद्यालयदेखि उच्च शिक्षासम्मै पर्यावरणलाई पठनपाठनको विषयवस्तु बनाइएको छ । तर, विज्ञ भन्छन्–ती कमजोरीमुक्त छैनन् । पाठ्यक्रम समयानुकूल परिमार्जन नहुनु, विश्वस्तरीय पाठ्यक्रम बनाउने नाममा अनावश्यक अन्तर्राष्ट्रिय सन्दर्भ समेट्दा स्थानीय पक्ष छुट्नु, यस क्षेत्रको समस्या पहिल्यै पहिल्याएर त्यसअनुसार पहिल्यै जनशक्ति तयार पार्न नसक्नु कमजोरीका रूपमा रहेको उनीहरू बताउँछन् ।

कक्षा १–३ को एकीकृत पाठ्यक्रममा बालबालिकालाई स्थानीय वातावरण चिनाउने कोसिस गरिएको छ । ‘मेरो सेरोफेरो’ विषयमा पर्यावरणका विषय उल्लेख छन् । आधारभूत तह (कक्षा ८) सम्म विज्ञान तथा प्रविधि विषयमार्फत पर्यावरणसम्बन्धी ज्ञान दिन खोजिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । कक्षा ९ र १० मा वातावरण र विज्ञान विषय ऐच्छिक रूपमा लागू गरिएको छ । यो विषयले विद्यार्थीलाई विश्वव्यापी रूपमा जल्दोबल्दो जलवायु परिवर्तन र पर्यावरणसम्बन्धी ज्ञान दिने केन्द्रले जनाएको छ । कक्षा ११–१२ मा पनि यी विषय ऐच्छिक रूपमा मात्रै विद्यार्थीले पठनपाठन गर्न सक्छन् । ‘कक्षा १ देखि १२ सम्मै पर्यावरणका विषयवस्तुबारे विद्यार्थीलाई ज्ञान सीप सिकाउने गरी पाठ्यक्रम तयार पारेका छौं,’ उनले भने ।

त्रिभुवन, काठमाडौं, कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा पनि पर्यावरण लक्षित पठनपाठन हुँदै आएको छ ।

तर, शिक्षण संस्थाको तल्लोदेखि माथिल्लो कक्षासम्म विषय समेटिए पनि विद्यार्थीलाई दिन खोजिएको ज्ञान पर्याप्त नरहेको त्रिभुवन विश्वविद्यालय जलवायु विज्ञान जलवायु विज्ञान विषयका विशेषज्ञ प्राध्यापक विनोद दवाडीले बताए । विज्ञान/प्रविधि, वातावरण विज्ञान, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन, वन तथा कृषि विज्ञान, जलवायु विज्ञान संकाय र विषयमा पर्यावरणका विषयवस्तु पाठ्यक्रममा समावेश छ । ‘पर्यावरणलाई पूरै बेवास्ता गरिएको भन्नचाहिँ मिल्दैन, तर हाम्रो पाठ्यक्रममा धेरै कमीकमजोरी भेटिन्छ,’ त्रिविमा पाठ्यक्रमसमेत बनाउन संलग्न दवाडीले थपे, ‘विद्यार्थीलाई सिकाउन खोजिएको कुरा पर्याप्त छ भनेर ढुक्क हुने अवस्था छैन ।’

विश्वविद्यालय तहको अध्ययन र पढाइमा समस्या पर्नुभन्दा अघि नै पहिचान हुने खालको विषय समावेश हुनुपर्नेमा प्राध्यापकहरू जोड दिन्छन् । ‘हामी जलवायु परिवर्तनका कारण बाढीपहिरो गयो, पानीको मुहान सुक्यो भनेर हल्लाखल्ला गरिरहेका हौं,’ उनले भने, ‘घटना घट्नुअघि नै के कारण पहिरो जान्छ, बाढी किन विनाशकारी छ, पानीको मुहान सुक्नुको कारण के हो ? प्रशस्त अनुसन्धान गरेर पहिल्यै रोकथाममा जान सक्दैनौं ।’ विश्वविद्यालयको पढाइ समस्या समाधानका लागि अनुसन्धान गर्न परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए । आफ्नै वरिपरि, छिमेकी देश, विश्वको समस्या र असरलाई मध्यनजर गरेर पाठ्यक्रम तयार पारी त्यहीअनुसार विद्यार्थीलाई अनुसन्धानमा केन्द्रित गराउनु चुनौतीपूर्ण रहेको दवाडीको भनाइ छ ।

पढाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउने नाममा पाठयक्रम हुबहु लागू गर्ने प्रचलन विश्वविद्यालयमा बढ्दो छ । पर्यावरण लक्षित पाठ्यक्रम पनि उक्त समस्याबाट मुक्त छैन । अन्तर्राष्ट्रिय मुद्दा समेट्ने नाममा स्थानीय परिवेश छुट्न गएको दवाडीको तर्क छ । ‘विश्वको नाम चलेका विश्वविद्यालयले प्राकृतिक स्रोत व्यवस्थापनलाई कसरी लिएका छन्, त्यसको अध्ययन गर्नु जरुरी छ तर विश्वसँगै क्षेत्रीय र देशभित्रकै समस्यालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ,’ उनले भने, ‘विश्वभर, क्षेत्रीय र देशको एक ठाउँ र अर्को ठाउँको समस्या पनि फरकफरक छ, पाठ्यक्रमले यी सबै विषय समेट्न सक्नुपर्छ ।’ विश्वका साझा समस्या, क्षेत्रीय र स्थानीय मुद्दालाई पाठ्यक्रममा समावेश गरिनुपर्नेमा उनले जोड दिए । दाता र अन्तर्राष्ट्रिय समुदायको स्वार्थमा कतिपय विषयवस्तु तय हुने गरेको पाठ्यक्रम निर्माणमा संलग्न विज्ञहरू बताउँछन् ।

कमजोरीका बीच पनि अन्तर्राष्ट्रिय बजारमा चाहिने यस क्षेत्रका जनशक्ति नेपालका शिक्षण संस्थाले उत्पादन गरिराखेको विश्वविद्यालयहरूको दाबी छ । स्थानीयदेखि अन्तर्राष्ट्रिय विषयलाई एकीकृत गरेर जलवायु परिवर्तन र पर्यावरणको ज्ञान दिनसके देशलाई नै चाहिने र विदेशमा समेत योग्य जनशक्ति तयार पार्न सकिने प्राध्यापक दवाडीको विश्वास छ । ‘बाढीपहिरो, प्रदूषणलगायत हाम्रा आन्तरिक मुद्दाहरू छन्,’ उनले भने, ‘भारतबाट वायु प्रदूषण नेपाल हुँदै तिब्बतसम्म पुग्यो, तिब्बतका नदीबाट आउने बाढीले नेपाललाई पनि असर गर्न थाल्यो । यस्ता मुद्दाको पहिचान गर्दै पाठ्यक्रम विकास गर्न सकिएको छैन ।’

वर्तमान र भविष्यको समस्या पहिचान गरेर विश्वविद्यालयमा अध्ययन र अनुसन्धानको काम हुनुपर्ने हो । तर सरकारले समेत त्यसमा ध्यान नदिएको सम्बन्धित अध्यापकहरू गुनासो गर्छन् । पाठ्यक्रम समयमा परिमार्जन हुन नसक्नु हाम्रा शिक्षण संस्थाका साझा समस्या हुन् । पर्यावरणलक्षित पाठ्यक्रमसमेत यसको चपेटामा परेका छन् । पर्यावरणमा दिनदिनै नयाँ मुद्दा र एजेन्डा विकास भइरहेकाले यी विषयका पाठ्यक्रम समयमै परिमार्जन हुन जरुरी रहेको उनीहरूको भनाइ छ । सामान्यतया स्नातक तहमा भर्ना भएका विद्यार्थीले स्नातकोत्तर तहसम्मको पढाइ पूरा गर्दा पाठ्यक्रम परिवर्तन हुनुपर्ने मान्यता छ । तर विश्वविद्यालयको पाठ्यक्रममा त्यो हुन सकेको छैन ।

कमजोरीका बीच पनि प्रशस्तै उपलब्धि हासिल भइरहेको दवाडी बताउँछन् । ‘पहिले जलवायु (घामपानी) कै कुरा गर्दा उल्टोउल्टो हुने गरेको थियो, अहिले पूर्वअनुमान मिल्दै जान थालेका छन्,’ उनले भने, ‘पाठ्यक्रम परिमार्जन गरेर पढाइ र अनुसन्धानलाई नै सुधार गरेपछि भरपर्दो अनुमान हुन थालेको हो, त्यसले गर्दा धनजनको क्षति जोगाउने काम पनि भएको छ ।’

विश्वविद्यालय तहमा करिब तीन दशकदेखि जलवायु र दुई दशकअघिबाट वातावरण विज्ञानको पठनपाठनमा जोड दिन थालिएको हो । त्यसपछि पाठ्यक्रम, पठनपाठनको शैली, अध्ययन/अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको विश्वविद्यालयहरूले जनाएका छन् । यी विषयमा विद्यार्थीको आकर्षण र सरकारको प्राथमिकता पनि बढ्दै गएको छ । स्थानीय सरकारले समेत विज्ञ नियुक्तिमा प्राथमिकता दिन थालेका छन् । ‘पर्यावरणको क्षेत्रमा विश्व खरायोको गतिमा अघि बढेको छ, हामी पनि कछुवाको गतिमा अघि बढिरहेकै छौं, तर गतिचाहिँ रोकिएको छैन,’ दवाडीले भने । विद्यालय तहको तल्लो कक्षादेखि नै वातावरण, स्थानीय पर्यावरणको चिनारी उल्लेख गरेको पाइन्छ । आधारभूत तहसम्म आइपुग्दा बालबालिकालाई वातावरण संरक्षण र दिगो विकासबीच अन्तरसम्बन्धको बोध र व्यवस्थापनमा सहयोग गर्ने, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत भई मानवीय मूल्य र मान्यताअनुकूल व्यवहार गर्ने, कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्ने उद्देश्य पाठ्यक्रममा समावेश गरिएको छ ।

सजीव, निर्जीव वस्तु, रूख, बिरुवा, अन्न बाली, सरसफाइ, प्रदूषण, हावा, पानी, माटो, भौगोलिक स्वरूपको चिनारी, वर्गीकरण, उपयोगगितालाई तल्लो कक्षाको पाठ्यक्रममा जोड दिइएको छ । यसअघि विद्यालय तहको पाठ्यक्रममा वातारणसँग सम्बन्धित मुद्दा ओझेलमा परे पनि २०७७ को पाठ्यक्रमपछि प्राथमिकता पाएको त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका सहप्राध्यापक रमेश सापकोटाले बताए । ‘अन्तर्राष्ट्रियस्तरमै जलवायु परिवर्तन र पर्यावरणको मुद्दा पेचिलो बन्दै गएको छ, विद्यालय तहदेखि पीएचडीसम्मै पठनपाठनमा जोड दिनु सकारात्मक कुरा हो,’ उनले भने । विद्यालय तहको पाठ्यक्रममा विज्ञानसँग जोडेर र ऐच्छिक रूपमा पर्यावरणका कुरा राखिएकाले ओझेलमा परेजस्तो देखिए पनि पाठ्यवस्तु सन्तोषजनक रूपमै तयार पारिएको उनले बताए । उनी वातावरण विज्ञानको पाठ्यक्रम तयारीका विषय विज्ञसमेत हुन् । सहप्राध्यापक सापकोटाले पाठ्यक्रममा उल्लेख गरिएका कुरालाई व्यावहारिक जीवन र प्रयोगात्मक अभ्याससँग जोडेर अध्यापन गराउन सके अझै प्रभावकारी हुने सुझाव दिए । ‘वातावरण विज्ञानको कुरा सोझै समाजसँग जोडिन्छ,’ उनले थपे, ‘विद्यार्थीलाई स्पष्टता हुने गरी पढाइलाई समाजमा जोड्न सके नतिजा अझै राम्रो आउँछ ।’

विद्यालय तहको पाठ्यक्रममा पनि अन्तर्राष्ट्रिय सन्दर्भ र विषयले अनावश्यक रूपमा स्थान पाएको उनले टिप्पणी गरे । ‘कतिपय कुरा अनावश्यक रूपमा थोपरिएको छ, हाम्रो सन्दर्भमा छुट्न गएको छ, प्रदूषण, फोहोरमैला व्यवस्थापनको कुरा गर्दा विदेशका कुरा ल्याउने गरिएको छ,’ उनले भने, ‘हाम्रै परिवेश, अवस्थाअनुसार पाठ्यक्रम भए पो त्यसको उपयोगिता झनै बढ्छ ।’ पर्यावरणसँग जोडिएका समस्या बढ्दै गएकाले यसलाई ऐच्छिक विषयभन्दा पनि अन्य विषयसँग जोडेर पठनपाठन गराउनुपर्ने विषय विज्ञहरू तर्क गर्छन् । ‘स्थानीय वस्तुगत स्थितिलाई अझै पाठ्यक्रममा प्राथमिकता दिनुपर्छ, अयन्त्रको सन्दर्भ पनि ल्याउँदा सिक्न, सिकाउन खोजिएको कुरा प्रभावकारी हुन जान्छ,’ उनले भने । जनसमुदायमा आधारित पाठ्यक्रम तयार गर्न अझै मिहिनेत जरुरी रहेको प्राध्यापकहरू बताउँछन् । त्यसका लागि सरकार र शिक्षण संस्थाले नै ती विषयको पठनपाठन र पाठ्यक्रम निर्माणमा जोड दिनुपर्ने उनीहरूको सुझाव छ । नेपाल, छिमेकी मुलुक र विश्वभर नै पर्यावरणमा चुनौती थपिँदै गएकाले विद्यालय तहदेखि नै पठनपाठन थालेर रोकथामको उपाय खोज्नुपर्ने उनीहरूको निष्कर्ष छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

फेदीमा सुक्दै पानी

खानेपानी र सिँचाइको समस्याले दशकयता जानकीनगरको ५० बिघाभन्दा बढी खेतीयोग्य जग्गा बाँझो छ, यही समस्याले थुप्रै परिवार बसाइँ सरिसके
शंकर आचार्य

चितवन र पर्सा राष्ट्रिय निकुन्जले घेरिएको छ, पर्साको ठोरी गाउँपालिका । चुरेको सिरानमा रहेको ठोरी वरिपरि घना जंगल पनि छ । तर यहाँका बासिन्दाले सहज रूपमा खानेपानी र सिँचाइको सुविधा पाएका छैनन् । 

ठोरी–१ सरस्वतीनगर फायरलाइनकी ६८ वर्षीया कान्छी तामाङ्नीले ५ वर्षअघिसम्मको खानेपानीको पीडा अझै भुलेकी छैनन् । गाउँभन्दा ५ किमिमाथि चितवन निकुन्जस्थित चुरे पर्वतको फेदीबाट ल्याएको पानीले अहिले टोललाई राहत त दिएको छ तर कहिलेसम्म भन्नेमा स्थानीय चिन्तित छन् । ‘कहिले वन्यजन्तुले पाइप नष्ट पार्ने हुन् र पानी आउन छोड्छ भन्ने चिन्ताले हामीलाई सताइरहन्छ,’ उनले भनिन्, ‘टोलका १ सय घरधुरीका लागि ढिलै भए पनि पानी आएको छ ।’

५८ वर्षीया सन्जमाया तामाङ्नीलाई पनि ५ वर्षअघिसम्म पनि आफूहरूले कुवा र अमुवा खोलाको पानी खाएको सम्झँदा अत्यास लागेर आउँछ । अब सरकारले खानेपानीको दिगो व्यवस्था गर्नुपर्ने उनले बताइन् । ‘अहिले पनि ५ किलोमिटर परबाट पाइपमा तानेर ल्याएको अस्थायी पानीको के भर,’ उनले भनिन् ।

सरस्वतीनगरको पूर्वमा रहेको जानकीनगरमा पानीको व्यथा झनै कष्टकर छ । यहाँका स्थानीयले गाउँबाट करिब ७ किमि टाढा चितवन निकुन्जस्थित अमुवा खोलाको मुहानबाट पानी ल्याएका छन् । त्यही विकल्प पनि भरपर्दो छैन । करिब ३५ घरधुरी सातायता काकाकुल छ । निकुन्जमा हात्तीले ठाउँठाउँमा पाइप चुँडाएपछि खानेपानीको संकट भोग्नुपरेको भीमसेन श्रेष्ठ सुनाउँछन् । ‘त्यसो त महिनामा १५ दिन हामीले यो समस्या भोग्दै आएका हौं,’ उनले भने, ‘अब दुःख र पीडा भोग्ने बानी नै परिसक्यो ।’

अर्का स्थानीय कृष्णमान श्रेष्ठ तत्काललाई बस्तीभन्दा १ किमि दूरीमा रहेको कुवाबाट पानी ल्याएर तिर्खा मेटाइरहेको बताउँछन् । बस्तुभाउलाई खुवाउन पानीको चरम अभाव झेलिरहेको उनले पीडा पोखे । बस्तीमा खानेपानी र सिँचाइको समस्याले १० वर्षदेखि ५० बिघाभन्दा बढी खेतीयोग्य जग्गा बाँझो रहेको उनले बताए । ‘यही समस्याले थुप्रै परिवार बसाइँ सरेर पानीको सुविधा भएको ठाउँमा गइसके,’ उनले भने ।

त्यसो त सिँचाइ अभावले सरस्वतीनगरमै पनि जग्गा बाँझो छ । सिँचाइ अभाव र वन्जयन्तुले बाली नष्ट गर्दा यहाँको झन्डै ४० हेक्टर जग्गा बाँझो रहेको स्थानीय बताउँछन् । दशकयता करिब सय घरधुरी बसाइँ सरेर अन्यत्र गएपछि उनीहरूको जग्गा बाँझो बसेको स्थानीय नवराज फुयाँलले बताए । बाँझो खेतमा झाडी र बुट्यान उम्रेर ससानो जंगल नै बनिसकेको छ ।

वर्षैंभरि सिँचाइ सुविधा उपलब्ध गराउन डिप बोरिङ र स्यालो ट्युबवेल तत्कालको विकल्प रहे पनि महँगो भएकाले लगानी जुटाउनै समस्या हुने स्थानीय बासिन्दाको भनाइ छ ।

सरस्वतीनगर र जानकीनगर मात्र नभई ५ हजार उपभोक्तालाई लक्षित गरी यसै वडामा ३ वर्षअघि ५ लाख लिटर क्षमताको होभरहेड ट्यांकी बनाइएको थियो । तर स्थानीयको घरमा अझै पानी पुग्न सकेको छैन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा/पर्साले सरस्वती खानेपानी सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा ट्यांकी बनाएको हो । तर कार्यालय परिसरमा पाइप थन्क्याइएको छ । उपभोक्ता समितिका सचिव कमलविक्रम तिमल्सेना बजेट अभावले आयोजनाले पूर्णता पाउन नसकेको बताउँछन् । ट्यांकीमा पानी चढाउने मोटर चलाउन हालको २ फेजको विद्युत्को तारले पावर नपुग्ने र ३ फेज तार तान्न कम्तीमा १५ देखि २० लाख रुपैयाँ लाग्ने भएकाले त्यो समितिको क्षमताभन्दा बाहिरको कुरा भएको उनले बताए ।

ठोरी–५ सुवर्णपुरवासीको पीडा पनि कम्ता छैन । चितवन निकुन्ज स्थापना हुँदा २०२१ सालतिर निकुन्जबाट मानवबस्ती स्थानान्तरण गरी यहाँ ल्याइएपछि सुवर्णपुरवासीले खानेपानी समस्या भोग्दै आएका हुन् । खानेपानी तान्न उनीहरू डिप बोरिङ र स्यालो ट्युबवेलकै भर पर्नुपरेको छ । ‘वर्षे बाली आकाशे वर्षाकै भरमा हुन्छ,’ सुवर्णपुर गाविसका तत्कालीन अध्यक्ष जरी लामा पीडा सुनाउँछन्, ‘हिउँदमा सिँचाइ नचाहिने तोरी, सुर्ती लगाउनु हाम्रो बाध्यता हो ।’

गाउँभन्दा १७ किमि उत्तर निकुन्जस्थित घोरे मसान खोलाको मुहानबाट नहर ल्याउने योजना थियो । तर निकुन्जले आफ्नो क्षेत्रमा निर्माण कार्य हुन नदिने भएपछि बीचमै रोकिन पुग्यो । चार वर्षअघि गाउँमा ओभरहेड ट्यांकी निर्माण भइसके पनि खानेपानी वितरण हुन नसकेको स्थानीय देवीप्रसाद दाहालले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७८ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×