२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०
जलवायु परिवर्तन विशेष

हिमालपारि बढ्दै छ वर्षा

चार दिनको मुस्ताङ यात्राबाट थाहा भो, यसपालि पहिलाभन्दा धेरै पानी परेको थियो, स्थानीयका अनुसार ४ वर्षदेखि पानी पर्ने क्रम बढेको छ
दिनेश रेग्मी

मुस्ताङको भ्रमणका लागि हामीले असोज–कात्तिकलाई छानेका थियौं । यो त्यस्तो मौसम हो, जुन बेला हिलो र धूलो खानुपर्दैन । न गर्मी न ठन्डी । हावाहुरी, झरी र पानी पनि सहनु पर्दैन । त्यसमा पनि नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँ मुस्ताङ जान हाम्रा लागि यो नै उत्तम मौसम थियो । आकाश छर्लङ खुल्ने हुँदा मुस्ताङ यात्रा रमणीय हुने, हिमाली शृंखला र अद्भुत भौगोलिक दृश्यपान गर्न पाउनेमा हामी ढुक्क थियौं ।

हिमालपारि बढ्दै छ वर्षा

दसैं–तिहारका बेला पोखराबाट मुस्ताङ जानेको ताँती थियो । गाडी पाउन मुस्किल । पोखराबाट एउटा जिप लिएर मुस्ताङका लागि पहिलो यात्रा सुरु गर्‍यौं । भ्रमण पारिवारिक थियो– जोमसोम, कागबेनी, मुक्तिनाथ, मार्फा र आपपास ठाउँका लागि । पोखराबाट कात्तिक १ गते बिहान हिँड्ने बेला पानी परेको थियो । पोखरामा पानी पर्नु अनौठो लाग्दैन । लाग्नु पनि कसरी– नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ नै त्यही हो ।

कास्कीको लुम्ले, पर्वतको कुस्मा, मालढुंगा हुँदै म्याग्दीको बेनीबजारसम्म यात्रा सहज भयो । अलिअलि पानी पर्ने, छोड्ने सामान्य नै थियो । गलेश्वर मन्दिर कट्नासाथै दलदले हिलोमा गाडी फसेर अगाडि बढ्न सकेका थिएनन् । त्यसपछि कालीगण्डकीको किनारैकिनार तातोपानी, रुप्से छहरा हुँदै साँघुरो बाटो भएर म्याग्दी सीमा छिचोल्दै थियौं । सीमा कट्न अझै ३/४ किमि बाँकी हुँदो हो, आपतै आइलाग्यो । काप्रे–बाँदरजुंग भन्ने भीरमा पुग्दा बस, ट्रक, कार, जिप, ट्याक्सी, मोटरसाइकल, स्कुटरको ताँती छ । रातको ७ बजेको छ, गाडी न मुस्ताङतर्फ जान सकेका छन्, न म्याग्दीतर्फ आउन । झमझम अकासेपानी परेको छ । तल कालीगण्डकी उत्तिकै उर्लेर आएको छ । हामी भीरमुनि रोकिएका छौं ।

खासमा काप्रे–बाँदरजुंग भीरमा ठाडो खोलाको बाटो पार गर्न नसकेर एउटा बसले सबैको बाटो छेकेको थियो । म्याग्दी सहकर्मी घनश्याम खड्कालाई फोन गरें, उनले यताउता बुझेर सुनाए, ‘आज खुल्ने छाँट छैन ।’ लौ, अब समस्यामा परियो । चालक धन सुनाउँदै थिए, ‘यो बाटो सम्झिँदा आउनै मन लाग्दैन तर मुस्ताङ पुगेपछि छोड्न मन लाग्दैन ।’ हामीले चित्त बुझायौं– सधैं भनेजस्तो कहाँ हुन्छ र ? यात्रा कहिले सजिलो हुन्छ, कहिले अप्ठ्यारो ।

राति ११ बजेतिर प्रहरी आए, टर्च बाल्दै यता र उता हेरे । बाटो खुल्ने आसमा बसेका यात्रुले मोबाइलको लाइटले प्रहरीलाई बस अड्केको ठाउँमा पुर्‍याए । एकछिन यताउता हेरे र ‘आज सकिँदैन, सुरक्षित भएर बस्नुहोला’ भनेर प्रहरी फर्किए । हामीहरू जिल्लाराम । यात्रुहरूको बिजोक छ– खानु, सुत्नु केही छैन । डेढ सयजति गाडी होलान् बाटैभरि । माथिबाट पहिरो खस्ने हो कि तलबाट कालीगण्डकीले तान्ने हो, पत्तो छैन । नजिकै बस्ती पनि छैन । धन्न, यात्राका लागि राखेको पानी, खाजा, फलफूलले ठूलो राहत दियो । बल्लतल्ल रात कट्यो ।

भोलिपल्ट बिहान ८ बजेतिर बाटो खुल्यो । अर्कै एक बसका चालकले अड्किएको बसलाई यसरी निकाले कि उनी त त्यहाँ ‘हिरो’ नै भए । त्यो ठाडो खोलामा उनको साहसलाई मान्नैपर्छ । १३ घण्टा पहरामुनिको बासपछि मुस्ताङतर्फ अघि बढ्यौं । बल्ल ढुक्कले श्वास फेरियो । मुस्ताङको घाँसा पुगेपछि यात्रा सहज भयो । बेनी–जोमसोम ७६ किमिमध्ये जोमसोम पुग्न अझै करिब आधा बाटो थियो ।

अब ‘मुस्ताङमा पानी पर्दैन, बाटोमा जे भए पनि यात्रा रमाइलो हुन्छ’ भन्नेमा थियौं । मुस्ताङकै मित्र सुन्दरकुमार थकालीले सुझाएका केही जानकारीबाट ढुक्क थियौं । घाँसाबाट जोमसोमसम्म कुनै ठाउँमा बाटो पिच छ, कुनै ठाउँमा पुल बन्दै छ । मुस्ताङ यात्रा रमाइलो हुँदै थियो– कतै हिमाल देखिन्थ्यो, कतै बादल, कतै स्याउबारी त कतै पाखोबारी । कतै नदी र कतै ठाडा खोला । लेते, चुकुचे, मार्फाका बस्ती हेर्दै जोमसोम पुग्यौं । गाडीबाट सामान निकाल्दा पो थाहा भो– छतमा त्रिपालले छोपेका सबै कपडा भिजेछन् ।

जोमसोममा कतिखेर पानी पर्ने, कतिखेर छोड्ने गरेको थियो । लज साहुले भन्दै थिए, ‘चार दिन भो, पानी पर्न छाडेको छैन ।’ जोसमोस बजारका खाल्डाखुल्डीमा पानीको ताल थियो । कुदेर आएका गाडीले छरर्र पानी छ्याप्थे । नेपालमै सबैभन्दा कम पानी पर्ने भनेर सानैदेखि थाहा पाएको तथ्य जोमसोम आएपछि त ‘होइन मज्जाले पर्दो रहेछ’ भन्नुपर्ने थियो, त्यसमा पनि अझै बेमौसममा । जोमसोमबाट पारि २,७६० मिटर उचाइको रमणीय धुम्बा तालमा पनि पानी टनाटन थियो । जोमसोम आएर वर्षाबारे केही जान्न मन लाग्यो । घुम्नै त छँदै थियो ।

२,७४३ मिटर उचाइको जोमसोम आएको भोलिपल्ट बिहान ३,८०० मिटर उचाइको मुक्तिनाथतर्फ लाग्यौं । जोमसोम–मुक्तिनाथ २१ किमिको बाटोमा अलिअलि पानी थियो तर हिलो थिएन । गाडी कालीगण्डीकीको किनार आसपास भएर कुद्यो । कागबेनीबाट गाडी उकाले लागेर मुक्तिनाथ बसपार्क पुगेर रोकियो । मन्दिरतर्फ लाग्दा भने हिलोले बाटो बिजोकै रै’छ । करिब १ किमि बाटोमा यस्तो हिलो थियो कि छेउ लागेर बल्लबल्ल हिँड्नुपर्थ्यो । जब मुक्तिनाथ मन्दिरतर्फको ढुंगे सिँढीको बाटो आयो, त्यसपछि पानी र हिलोसँग भिड्नुपरेन । मुक्तिनाथ मन्दिर परिसरका धारा र कुण्डहरूमा त पानी सदाबहार नै भैगो । खुला आकाश र जता हेरे पनि हिमालै देख्दा मुस्ताङ यात्राको रमाइलोको सीमै भएन ।

चार दिनको मुस्ताङ यात्राबाट के थाहा भो भने यसपालि पहिलाभन्दा धेरै पानी परेको थियो । स्थानीयका अनुसार ४ वर्षदेखि पानी पर्ने क्रम पहिलाभन्दा बढेको छ । मार्फाको स्याउबारीमा जाँदा एक युवकले यो वर्ष आफ्नो स्याउ राम्रो फल्न नसकेकामा दुःख व्यक्त गरे । भुइँमा टन्नै स्याउ झरेका थिए । तर उनलाई त्यति फिक्कर थिएन, ती स्याउ रक्सी बनाउन लगिहाल्छन् रे । ‘स्याउलाई हिउँ चाहिन्छ तर यहाँ पानी पर्‍यो,’ उनले भुइँमा झरेका स्याउ देखाउँदै सुनाए, ‘पानीले नै स्याउ झरे, दाना पनि साना भए र पहिला जस्तो मीठो पनि भएन ।’

जोमसोममा एटीएम खोज्दै जाँदा भेटिएका एक सुरक्षा गार्डले पानीका कारण धेरै परिवर्तन देखेको सुनाए । उनले प्रत्यक्ष अनुभव गरेको भनेको, माटोका छाना हटाएर जस्तापाताले छाउने, पक्की घर बनाउने क्रम बढेको छ । हुन पनि जोमसोममै एक घरमा जस्ताले माटोको छाना छोपिँदै गरेको देखियो । सोधखोज गर्दै जाँदा घरधनीको नम्बर पत्ता लाग्यो । त्यो घर सेवा निवृत्त स्वास्थ्यकर्मी ६३ वर्षीय सकबहादुर लालचनको रहेछ । हामी यात्रामा हुँदा उनीसँग भेट हुन सकेन । फर्केपछि फोनमा कुरा हुँदा उनले छाना हालिसकेछन् ।

‘३/४ वर्षयता यति वर्षा बढ्न थाल्यो कि छाना चुहिएर भत्किने भएकाले मैले टिनले छोपेको हुँ,’ लालचनले आफ्नो बाध्यता पोखे, ‘माटोको छानामा हिउँ पर्दा पो सोहोरेर फाल्न मिल्छ, अकासे पानीलाई कसरी फाल्नु ?’ जिजु-बाजेका पालादेखि बनाएका माटाका छानाका घर भत्काएर ढलान घर बनाउने क्रम बढेकामा उनलाई दुःख लागेको छ । ‘मलाई यस्तो गर्न मन थिएन तर बाध्यता भयो,’ उनले सुनाए, ‘तैपनि परम्परागत छाना जोगाऊँ भनेर त्यसलाई ढाकछोप गर्न टिन हालेको हुँ ।’ मुस्ताङको तल्लो क्षेत्र टुकेचे, मार्फा, जोमसोम, कागबेनीसम्म तीव्र गतिमा घरहरू ढलान हुन थालेका रहेछन् । ‘मेरो बाउबाजेले पनि यस्तो वृष्टि भएको सुनाएका थिएनन्, यो वर्ष त्यति अचाक्ली भयो,’ उनले भने ।

यसपालि असोज मसान्तदेखि कात्तिक ४ गतेसम्म लगातार पाँच दिन सिमसिमे वर्षाले मुस्ताङका कतिपय ठाउँ हिलाम्मे भएका थिए । खोला–नाला बढेका थिए । त्यो अनुभव त जोमसोममा मैले पनि गरें– लामखुट्टे देखेर । जोससोमको गेस्ट हाउसमा एक रात त कोठामा कम्तीमा ३ वटा लामखुट्टे भुनभुनाए । हिमालपारिको जिल्ला, चिसो मरुभूमि भनिने चिनिने मुस्ताङमा लामखुट्टे देख्नु अनौठो लाग्यो । उनको अनुभवमा मुस्ताङमा ‘छाला रोग पनि पहिलोभन्दा बढेको छ ।

मुस्ताङमा मौसम परिवर्तनबाट कस्तो असर परेको छ भनेर थोरै भए पनि बुझ्न मन लाग्यो । केही पालिकाहरूमा र बागबानी केन्द्रमा फोन गरेर सोध्दा उपल्लो मुस्ताङ होस् वा तल्लो मुस्ताङ पहिलेको तुलनामा जता पनि बढी पानी परेको छ । कतिपयलाई अति वृष्टि, सुक्खा, तापक्रम वृद्धिले रोगब्याधि बढ्ने र परम्परागत बाली बिग्रिने हो कि भन्ने चिन्ता थपिएको छ । मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुखले वर्षा र तापक्रम वृद्धिबाट मुस्ताङमा स्याउ र तरकारी उत्पादनमा प्रतिकूल असर भएको सुनाए । ‘पानी र तापक्रम वृद्धिले स्याउमा ढुसीजन्य रोग बढेको छ, झर्ने समस्या पनि छ,’ केन्द्रका प्रमुख पझ्मनाथ आत्रेयले भने, ‘यसपालि जेठ–असारतिर रायो, बन्दा, गाजर, मूला, धनिया पाक्ने बेला वर्षा भयो । त्यसले १५ देखि ३० प्रतिशत उत्पादन घट्न पुग्यो ।’ आत्रेयले स्थानीय वृद्धहरूबाट पाएको जानकारीअनुसार करिब ४० वर्षपछि उक्त क्षेत्रमा गत वर्ष हिउँ परेको थिएन । उता, उत्तरी सीमा क्षेत्र लोमान्थाङ गाउँपालिकामा साउने भेल २ वटा बस्तीका केही घरमा पसेको त्यहाँ सूचना अधिकारी विकास केसीले सुनाएका थिए ।

जल तथा मौसम विज्ञान विभाग बुझ्दा साँच्चै यो पालि वर्षा बढेकै रहेछ । भुक्तभोगीलाई चिन्ता छ– वर्षा किन यसरी बढ्दै छ ? यसले जनजीवनमा के असर गर्छ ? पशुपन्छी, फलफूल, खाद्यान्न र तरकारीलाई के हुन्छ ? अझ, हिमाली भेगमा हिउँको सट्टा वर्षा र तापक्रम वृद्धि रोक्न के गर्नुपर्छ ?

प्रकाशित : फाल्गुन ७, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?