कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
जलवायु परिवर्तन विशेष

चुरेमा घर छ, पहिरोको डर

बुटवलको उत्तरमा रहेका सबै चुरे पहाडका पत्रे चट्टान भासिएर तल खसेका छन्, कतिबेला कहाँबाट पहिरो खस्छ टुंगो छैन, वर्षामा मात्र होइन त्यस आसपासमा हिउँदमा पनि निरन्तर पहिरो खस्न थालेको छ
अमृता अनमोल

चुरे पहाडको फेदमा छ बुटवल । चुरेले बुटवललाई पानीमात्र होइन, शीतल र सौन्दर्य पनि दिएको छ । नदीजन्य पदार्थ, जडीबुटी, काठदाउरा चुरेकै कारण उपलब्ध छन् । बुटवलवासीको बरदान बनेको चुरे केही वर्षयता भने अभिसाप बन्दै गएको छ । जोखिम यति छ कि बुटवलको उत्तरमा रहेका आँखाले देखिने सबै चुरे पहाडका पत्रे चट्टान भासिएर तल खसेका छन् ।

चुरेमा घर छ, पहिरोको डर

कतिबेला कहाँबाट पहिरो खस्छ, टुंगो छैन । वर्षामा मात्र होइन बुटवल आसपासमा हिउँदमा पनि निरन्तर पहिरो खस्न थालेको छ । विज्ञहरूले चुरेछेउका बस्ती स्थानान्तरण गरेर मात्रै पहिरोको दीर्घकालीन संरक्षण गर्न सुझाव दिएका छन् तर न त जोखिमका बस्ती सर्न तयार छन् न तीन तहकै सरकारले दीर्घकालीन समाधानका उपाय खोजेका छन् । उनीहरू अल्पकालीन उपायमा मात्रै केन्द्रित छन् ।

यस वर्षामा बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको क्षेत्रमाथि पहिरो खस्यो । ज्योतिनगर क्षेत्रमा मात्रै ७० हेक्टर क्षेत्रफलमा पहिरो खसेको थियो । २०७८ भदौ १३ र १४ मा खसेको पहिरोले १० घर बगे । १४ घर विस्थापित भए । ३७ घरमा क्षति भयो । पहिरोको लेदोले बुटवल हिलाम्य बन्यो । लक्ष्मीनगरमाथिको डाँडो धसिएर तल झरेको छ । नुवाकोट क्षेत्रको डाँडो छियाछिया भएर फाटेको छ । भूक्षयले चुरेको फेदमा रहेका १० हजारभन्दा धेरै परिवार जोखिममा परेका छन् । भूक्षयको क्रम अहिले पनि जारी छ । ‘पहिरोले घरमाथिको भाग चिराचिरा परेको छ, कतिबेला खस्ने हो भन्ने डर छ,’ बुटवल ४ लक्ष्मीनगरको गैरीगाउँकी खिनकुमारी गुरुङ भन्छिन्, ‘वर्षामा त राति सुत्न पनि डर लाग्छ ।’ अघिल्लो वर्षामा गैरीगाउँमाथि चुरे क्षेत्रमा पहिरो जाँदा १५ घर विस्थापित भएका थिए ।

बुटवलमाथिको चुरे पहिल्यैदेखिको जोखिम क्षेत्र हो । पहिरोले छियाछिया बनेपछि आर्थिक वर्ष ०३४/३५ सालमा तत्कालीन राजा वीरेन्द्रले यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन दिएका थिए । तत्पश्चात सिद्धबाबानजिकको चिडियाखोला, ज्योतिनगर, भूताहा, चिसापानी, माकरलगायत गाउँका पूरै बस्ती स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयलाई जग्गा उपलब्ध गराइएको थियो तर सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराए पनि पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन । अर्थात् जोखिम क्षेत्रको जग्गा पनि स्थानीयका नाममा नै रह्यो । यही फाइदा उठाउँदै यहाँको जग्गा पुनः किनबेच भयो । बिस्तारै बस्ती बस्यो । २०५५ सालमा पुनः ठूलो पहिरो खस्यो । पहिरोमा २१ घर पुरिए भने ५७ घर प्रभावित भए । यो क्रम दोहोरिएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास कार्यक्रमको प्रतिवेदनमा उल्लेख छ ।

पहिरोले बुटवल नै जोखिममा परेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष पुनः बुटवल केन्द्रित अध्ययन गरेको छ । अध्ययनमा चुरे क्षेत्रमा भएको पानीको मूलको सही व्यवस्थापन नहुनु, चुरेको दोहन र कमजोर क्षेत्रमा पूर्वाधार निर्माणले खलबलिएर पहिरो झर्ने र भासिएर पहाड तल खस्ने गरेको उल्लेख छ । रूपन्देहीको उत्तरी भेग उच्च भूस्खलन संवेदनशील क्षेत्र हो । संवेदनशील क्षेत्रमा मानवबस्ती बसाउन उपयुक्त नहुने अध्ययनको निष्कर्ष छ । प्रयास निष्प्रभावी भए पनि समितिले समेत रोकथामको प्रयास जारी राखेको छ । अध्ययन सहजीकरणमा खटेका बुटवल कार्यान्वयन इकाइका तत्कालीन प्रमुख अजय कार्की चुरेको भूबनोट कमजोर रहेकाले दीर्घकालीन रूपमा बुटवलको भिरालो क्षेत्र ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र बसोबासका लागि उपयुक्त छैन । अपेक्षित प्रतिफल प्राप्त हुने सम्भावना नभएकाले उक्त क्षेत्रमा लगानी गर्नुको सट्टा विकल्प खोज्नु उपयुक्त हुन्छ । ‘हामीले यही रायसहितको प्रतिवेदन बुझाएका थियौं तर तीन तहकै सरकारले विकल्पभन्दा रोकथामको प्रयासमै जान सुझाव दिए,’ उनी भन्छन्, ‘राजनीतिक दल र नागरिक जसरी हुन्छ, बस्ती जोगाउने कसरतमा छन् ।’

गत आर्थिक वर्षमा पहिरो व्यवस्थापनमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास कार्यक्रमले साढे ५ करोड बजेट छुट्याएको थियो । त्यसमध्ये २ करोड ११ लाख रुपैयाँ खर्च भयो । केही पर्खाल निर्माणका काम भए तर पर्खालले पहिरोको बेग थामेनन् । यस वर्ष पनि चुरे क्षेत्रबाट खसेको पहिरो व्यवस्थापन गर्न क्षेत्रगत बजेट बाँडफाँट भएको छ । दुई करोड ४५ लाख रुपैयाँ बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीका लागि क्षेत्रगत रूपमा बाँडफाँट गरिएको हो । ज्योतिनगरका लागि एक करोड २५ लाख, लक्ष्मीनगरका लागि एक करोड ५ लाख र पाखापानीका लागि १५ लाख रुपैयाँ विभाजन गरेको छ । बुटवल उपमहानगरपालिकाले यस वर्ष पहिरो प्रभावित क्षेत्रको माटो सफाइ र बस्तीभित्रको कल्भर्ट निर्माणका लागि ८५ लाख लगानी गरिसकेको छ । हाल १५ लाख रुपैयाँ थप विनियोजन गरी खोल्सी सुधारका लागि काम गरिरहेको छ ।

प्रदेश सरकारलको सिफारिसमा यस वर्ष थप ४ करोड बजेट पठाइदिन आग्रह गरेको तिनाउ चुरे संरक्षक समितिका अध्यक्ष कमल गौतम बताउँछन् । ‘जोखिमबाट बस्ती बचाउन तत्काल गर्नुपर्ने कामका लागि उक्त रकम मागिएको हो,’ उनले भने । अध्यक्ष गौतमका अनुसार वर्षामा पहिरो खसेर बीचमा अडिएको भाग हिउँद लागेपछि पनि खसिरहेको छ । चुरेको पहिरोले बस्ती जोखिममा परेपछि स्थानीय अघि सरेर बचाउ अभियान सुरु गरेका छन् तर उनीहरूको प्रस्ताव बस्ती जोगाउने गरी पहिरो व्यवस्थापन गर्नुपर्नेछ । जुन विज्ञको रायभन्दा गलत छ ।

भूगर्भविद् भोजराज कडेरिया बुटवलमाथिको चुरेको समस्या समाधान बेलैमा नगरे यसले सिंगो बुटवल नै सखाप पार्ने बताउँछन् । ‘चुरे पहाड त्यसै पनि कमजोर हुन्छ । यसमाथि पहिरोले चिराचिरा परेर तल खसेको छ,’ उनी भन्छन्, ‘ढिलोचाँडो पहिरो खस्छ । रोक्न सकिँदैन ।’ यसको साटो तल खसेको पहिरो काटेर दीर्घकालीन समाधान गरे बुटवलमा हुन सक्ने ठूलो क्षति जोगाउन सकिने उनी सुनाउँछन् ।

विज्ञहरूका अनुसार चुरे करिब चार करोड वर्षपहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड हो । खुकुलो पत्रे चट्टान र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भएर तराईतर्फ बग्छन् । यसैले प्राकृतिक रूपले चुरे अत्यन्तै संवेदनशील मानिन्छन् । देशभरका ३७ जिल्लाका चुरे नजिकका बस्ती जोखिममा छन् । त्यसमध्ये बुटवल बढी जोखिमयुक्त छ । योजना आयोगका पूर्वउपाध्यक्ष इश्वर गौतम थोरै लगानी गरेर छिटो नतिजा खोज्ने सरकारको अदूरदर्शी नीतिका कारण जोखिम बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘प्रदेश योजना आयोगले एक वर्ष लगाएर चुरे व्यवस्थापनबारे दीर्घकालीन योजना बनाई तीन तहकै सरकारलाई समाधानका उपायबारे सुझाव दिएको थियो तर उनीहरूले वास्ता गरेनन् ।’ सिद्धबाबालगायत चुरे क्षेत्रमा पानीका मूल धेरै छन् । तिनको अव्यवस्थित सतही बहाव र चुरे अतिक्रमण अर्थात् पूर्वाधार निर्माण यस क्षेत्रमा पहिरो खस्ने मुख्य कारण रहेको विज्ञहरू बताउँछन् । चुरे जोगाउन र पहिरो नियन्त्रण गर्न मूलहरूबाट बगेको पानीलाई एकै ठाउँमा जम्मा गरेर पोखरी बनाएर राख्नु वा बगाउनु उपयुक्त हुने उनीहरूको राय छ । भू–विपद् विज्ञहरू सुस्मिता ढकाल, मनिता दाहाल, रञ्जनकुमार दाहाल, सञ्जय देवकोटा सम्मिलित टोलीले यस वर्ष बुटवलमाथिको चुरे र त्यसका पहिरोको स्थलगत अध्ययन गरेका थिए ।

अध्ययन प्रतिवेदनअनुसार बुटवलमाथिको चुरे पर्वत शृंखलाको तल्लो शिवालिक समूहअन्तर्गत पाइने मडस्टोन, स्यान्डस्टोन र मार्ल नामक चट्टानहरूले बनेको छ । यो भित्री चट्टानको माथिल्लो पत्रका रूपमा चिम्ट्याइलो माटो, सिल्ट र केही बालुवा मिसिएको माटो छ । यस्तो माटोलाई कोलुभिएम भनिन्छ र माटोमा वर्षाको पानी सजिलै छिरेर बग्न सक्ने हुन्छ । भू–विपद् विज्ञ सुस्मिता ढकाल माथिल्लो भागमा कोलुभिएमको पत्र कम हुनु र चट्टान ठाडो फुट्ने प्रवृत्तिको भएकाले वर्षात्को पानी सजिलै भित्र छिरेर तलबाट मूल फुटेर बग्ने गरेको बताउँछिन् । स्थलगत अध्ययनका क्रममा लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा दुई मिटरभन्दा गहिरो, १२/२० मिटर लामो र पाँच मिटर चौडा पोखरी पनि बनेको भेटिएको छ ।

चुरेमा पूर्वाधार निर्माण गरिनु गलत
बुटवल आसपासको चुरे क्षेत्रमा पछिल्लो समय ठूला निर्माणका काम थालिएका छन् । तिनकै कारण पनि चुरे क्षयीकरण भएको छ । जस्तो कि चुरेको फेदबाट बुटवल उपमहानगरले चक्रपथ निर्माण थालेको छ । बुटवल पूर्व पाखापानीबाट पाल्पाको नुवाकोट जाने सडक बनाइएको छ । आसपासका दुइटा डाँडामा २ वटा केबलकार निर्माण थालिएका छन् । सिद्धार्थ केबुलकार प्रालिले मणिमुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तरपूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केबुलकार सञ्चालन गर्ने योजना अघि बढाएको छ । केबुलकारको बेस स्टेसन बुटवल माविको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने छ भने टप स्टेसन पाल्पा जिल्लाको नुवाकोट डाँडामा बनाइने छ । त्यसको लम्बाइ २ किलोमिटर ९० मिटर हुने छ । बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको बसन्तपुरसम्म जोड्न लुम्बिनी केबुलकार निर्माण सुरु भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शिलान्यास गरेको बुटवल ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन बनाउँदै छ । हिलपार्क डाँडामा बुटवल उपमहानगरले विशाल बुद्धमूर्तिसहितको भ्यू टावर बनाउने योजना बनाएको छ ।

‘बुटवल आसपासको चुरेले दुई–दुईवटा केबुलकार, भ्यु टावरलगायतका पूर्वाधार निर्माण थेग्न सक्दैन,’ भूगर्भविज्ञ भोजराज कडेरिया भन्छन्, ‘सरकारले निर्माणमा स्वीकृति नै दिएको भए पनि त्यसमा पुनरावलोकन गर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?