१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमल्सिना ?

काठमाडौँ — सोमबार ६७ औं जन्मोत्सव मनाएकी मकवानपुरकी गोमादेवी तिमल्सिना पुरानो मजदुर नेता हुन् । पिता दुर्गादत्त भट्टराईको प्रेरणाले राजनीतिमा आएकी तिमल्सिना लामो समय हेटौंडा कपडा कारखानाका मजदुरको रुपमा जिम्मेवारी निर्वाह गरेकी हुन् ।

को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमल्सिना ?

२०१० सालमा गोर्खामा जन्मिएकी गोमा पितासँग तनहुँको बन्दीपुरबाट चितवनको यज्ञपुरीमा आएकी थिइन् । ‘विवाह भएपछि पार्टी काम गर्न भन्दै मुस्ताङको दुर्गम क्षेत्र गयौ त्यहाँ प्राथमिक विद्यालयमा पठाउने गर्दथें’, तिमल्सिनाले भनिन्, ‘जिग्मे पर्वल विष्टको अत्याचार थियो । त्यसविरुद्ध पनि प्रतिकार पनि भए । केही शिक्षक साथीहरुमाथि छुरा प्रहार भयो ।’ नाङ्दोबाट तिमल्सेना मुक्तिनाथ नजिकै जारेकोटमा पढाउन थालिन् ।

२०३७ सालमा तालिमका लागि पोखरा आएपछि पार्टीले मकवानपुरको मजदुर क्षेत्रमा काम गर्न खटायो । तिमल्सेना हेटौंडा कपडा कारखानामा काम गर्दै पार्टीको काम गर्न थालिन् । शाखा, जिल्ला, अञ्चल हुँदै टेक्टाइल र कपडा मजदुरहरुको केन्द्रीय कमिटीको उपाध्यक्ष बनिन् । त्यसैगरी नेपाल ट्रेड युनियन महासंघको तीन कार्यकाल केन्द्रीय सदस्य रहेकी तिमल्सिना एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । त्यस समयमा माधवकुमार नेपाल समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् । हाल एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को तिमल्सिना केन्द्रीय सदस्य रहेकी छन् । बुधबार भएको राष्ट्रिय सभा सदस्यको चुनावमा गठबन्धनतर्फबाट उम्मेदवार बनेकी थिइन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् ।

पराजित विपक्षी दल एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।

प्रकाशित : माघ १२, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?