३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भाक्कावाली आमाका दु:ख 

'कहिलेकाहीँ त उम्लिएको पानीले नभई मेरै आँसुका वाफले भाक्का पाकिरहेको छ कि जस्तो लाग्छ ।'
पर्वत पाेर्तेल

काँकडभिट्टा — सहर मस्त निन्द्रामा हुन्छ । उमेरले ६३ वसन्त पार गर्न लागेकी बिरला राजवंशी बिहान ४ बजे देखि नै ताहुरमाहुर  गर्न थाल्छिन् ।  पानीमा मुछेर फुर्र पारेको चामलको पिठो ढाकीमा राखेपछि सफा कपडाले छोप्छिन् ।  टाउकामा ढाकी राखेपछि एक हातमा भाक्का पकाउने हलुंगेको भाडो र अर्कोमा दाउराको बिटो च्याप्छिन् र लाग्छिन् काँकडभिट्टातिर । 

भाक्कावाली आमाका दु:ख 

पूर्व–पश्चिम राजमार्गनजिकै भाक्का बेच्ने उनको पुरानो अखडा छ काँकडभिट्टाको पुरानो भन्सारमा । जहाँ तीन दशकदेखि यिनी निरन्तर भाक्का बेच्दै आएकी छिन् ।

जाडो यामका चार महिना विरलाको दैनिकी भाक्का बेचेरै बित्छ । कात्तिकको सिरेटो होस् या मुटु काप्ने पुसे ठिही कुनै पर्वाह हुन्न यिनलाई । निरन्तर भाक्का बेचिरहन्छिन् । ‘भाक्का बेचेर परिवार पाल्न थालेको ३० वर्षभन्दा बढी भइसकेछ,’ राजवंशी लवजमा उनी यिनी विगत सम्झिन्छिन्,‘परिवार पाल्नकै लागि भाक्का बेचेँ, दु:ख नगरे के खाने ?’

केही वर्ष अघिसम्म उनी पैदलै पुग्थिन् काँकडभिट्टा । हिजोआज भने सिटी रिक्सा चढेर जान्छिन् । ‘पहिला बल–उमेर थियो हिँडेरै पुग्थेँ, अहिले हिँडन सक्न छाडेँ,’ उनले भनिन् ।

नकलवन्दाबाट बिहे गरेर इँटाभट्टा आइन् बिरला । माइती जमीनदार थिए । राँगा गाडी चढाएर दुलहाको घर पठाएका थिए । बिहेपछि मात्रै यिनले भाक्का बेच्नु पऱ्यो । ‘माइतीमा दु:ख थिएन,’ उनले भनिन्, ‘बिहे गरेर आएपछि दु:खका दिन सुरु भए, जीवन चलाउन भाक्का बेच्न थालेँ ।’

परिवार धान्न श्रीमान्को असहयोग भयो । मदिरा र जुवाप्रति मोह भएका श्रीमान्का कारण भाक्काबाटै परिवार धान्नु पर्ने बाध्यता आइलाग्यो उनलाई । ‘जेठो छोरा सानो थियो । कान्छो छोरालाई काखमा च्यापेर पनि भाक्का बेचेँ,’ भावुक हुँदै उनले भनिन्,‘भाडामा भक्भकी उम्लिएको पानीले हैन कि मेरो आँसुको वाफले भाक्का पाकिरहेका छ जस्तो लाग्थ्यो ।’

नयाँ पर्व ‘भाक्का दिवस’

महँगी बढयो । चारआना, आठानाका भाक्काको भाउ पुग्यो १० रुपैयाँ । फेरि गुलियो भाक्कालाई चिनी, खल्लोलाई अचार । अचारका लागि टमाटर खुर्सानी । पहिला राजवंशी आमाहरु ओखलीमा कुट्थे पिठो । अहिले प्रविधिले सजिलो पाऱ्यो, मिलले कुट्छ अचेल । ‘मिलमा चामल कुटाउन थालेपछि ठूलो दु:खबाट मुक्ति मिलेझै भा’छ,’ मन्द मुस्कानसहित उनले भनिन्,‘ओखलीमा कुट्दाकुट्दै जिन्दगी नै जान्छ जस्तो लाग्थ्यो ।’ यिनलाई भाक्का पकाउन जीवनभर कसैले सघाएन । ७–८ किलो चामल कुट्ने, दाउरा चिर्ने, भात पकाउने, जंगलबाट दाउरा ल्याउनु उनको दैनिकी नै थियो ।

१२ वर्ष अघि श्रीमान् बिते । छोराछोरी हुर्किसके तर पनि भाक्का बेच्ने कर्म जारी छ उनको । ‘पहिला जस्तो बिक्दैन । अहिले चोकैपिच्छे छ । अहिले पहाडी समुदायले पनि भाक्का बेच्न थाले,’ उनी भन्छिन्।

***

इँटाभट्टा चोकैमा बिहान–बेलुकी भाक्का बेच्न बस्छिन् ७० वर्षकी फूलसरी राजवंशी । कहिलेकाहीँ त भाक्का पारखीको भीड थेग्न यिनलाई हम्मे हुन्छ । कहिलेचाहिँ प्रत्येक सेकेन्ड राजमार्गमा हुँइकिने गाडीले उडाउने धुँवा र धूलो टकटक्याउँदै दिन जान्छ । उनले भाक्का बेचेरै श्रीमानसहित ८ जनाको परिवारको गुजारा चलाउँछिन् । ‘कहिले बाह्रदेखि पन्ध्र सयसम्म बिक्री हुन्छ,’ उनी भन्छिन्,‘कहिले त खर्च पनि उठ्न गाह्रो हुन्छ ।’

भाक्काका ग्राहक पर्खँदै सावित्री राजवंशी ।

फूलसरीभन्दा तीन वर्ष जेठी सावित्री राजवंशीले भाक्का बेचेरै सन्तान हुर्काउने, पढाउनेदेखि बिहेवारीसम्म गरिदिन भ्याइन् । यो उमेरमा पनि बिहानै उठेर चोकमा भाक्काको पसल थापिहाल्छिन्। भाक्काले परिवारको गुजारा त चलेकै छ, शारीरिक रूपमा पनि यिनलाई स्वस्थ पारेको छ । ‘भाक्काले कर्म सिकायो, कर्मले जीवन जीउन सिकायो,’ मुस्कुराउँदै उनले भनिन् ।

***

जाडो याममा निकै रुचाइने भाक्काकै कारण पछिल्लो समय झापामा 'भाक्का दिवस' मनाउन थालिएको छ । ५ वर्षअघि बिर्तामोडबाट सुरु भएको भाक्का दिवस मनाउने क्रम पछिल्लो समय शिवगञ्ज, लख्रिगद्दी, राजगढसम्म पुगेको छ ।

भाक्का पूर्वी तराईमा बसोबास गर्ने राजवंशी जातिको परम्परागत खाना हो । जाडो सिजनमा पूर्वका अधिकांस चोक बजारमा भाक्का खान पाइन्छ । बिना मिसावट विशुद्ध चामलको पिठोलाई पानीको बाफमा उमालेर भाक्का बनाइन्छ । अर्गानिक र मिसावटरहित हुने भएकाले भाक्का सबैको रोजाइमा पर्दै आएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?