१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘खोइ कहाँ लेखिएको छ नेपाली भाषाको व्याकरण ?’

काठमाडौँ — दुई दशकभन्दा लामो समय प्राध्यापनमा बिताउँदा संस्कृत व्याकरण विषयका गुरु नीलमणि ढुङ्गानाले पाठ्यक्रम, बुझाइ र व्याख्यामा रहेका समस्याहरू टिपोट गर्दै गए । छविलाल सुरीको ‘सुन्दर चरित’ संस्कृत नाटकमा रहेको क्लिष्टता होस् अथवा रंगनाथ पौडेलको ‘नीतिसार’ पुस्तकमा रहेको टीका-अभाव‚ यी सबै कठिनाइलाई टिपोटमा उतार्दै र कतै व्याख्या त कतै अनुवादको उपाय निकाल्दै जागिर धानिरहेकै बेला १० वर्षअघि थालिएको शब्दगत व्युत्पत्ति उधिन्ने काम बल्ल पूरा भएको छ ।

‘खोइ कहाँ लेखिएको छ नेपाली भाषाको व्याकरण ?’

महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय)का पूर्वरजिस्टार ढुङ्गानाले तयार पारेको ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोष’ साझा प्रकाशनबाट हालै प्रकाशित भएपछि संस्कृत भाषा र वाङ्मयलाई शब्दकोषमै पारिभाषिक शब्दमार्फत बोधगम्य बनाउन सकिने रहेछ भन्ने उदाहरण पाइएको छ । ‘संस्कृत शिक्षण अभ्यासका क्रममा धेरै अर्थ र अभिप्राय नबुझाइकन गुरुहरूले विद्यार्थीलाई अल्मल्याएर राखेजस्तो बोध भयो,’ वाल्मीकि विद्यापीठका पूर्वप्रमुखसमेत रहेका प्राध्यापक ढुङ्गानाले सुनाए‚ ‘छविलाल सुरीको ‘सुन्दर चरित’ नाटक बुझाउनलाई मैले टीका-व्याख्यासहित अनुवाद निकालें, संस्कृत बुझाउनका लागि व्याकरणका आधा दर्जन पुस्तक लेखें । सजिलो विधिबाट सजिलैसँग संस्कृत सिकाउन सकिन्छ भने अप्ठ्यारो पाराले मूल सिद्धान्तमा नपुर्‍याइकन बाहिर-बाहिर रंग्याएर राख्नु ठीक होइन भन्ने मलाई लागिराखेको थियो । तर, यसरी छरिएर नहुने रहेछ भनेर संस्कृत शब्दावलीको शब्दगत व्युत्पत्तिसहित बोधगम्य कोष तयार गरेको हुँ ।’

नेपाल संस्कृत विश्वविद्यालयमा सम्बद्ध छँदै यो शब्दकोष तयार गर्नका लागि मासिक ६/७ हजार रुपैयाँ उपलब्ध गराइदिन भन्दै प्रस्ताव पेश गरेकोमा त्यसको सुनुवाइ नभएकाले आफ्नै बलबुतामा यो कोष तयार गरिएको उनले जानकारी दिए । ‘बनारस गएर संस्कृतका प्राचीन ग्रन्थ, स्रोत सामग्री ल्याएर अध्ययन र टिपोट गर्नैमा केही वर्ष बित्यो । यो काममा झण्डै १ लाख रुपैयाँको पुस्तक खरिद गरेर ल्याएको थिएँ । यो बुढेसकालमा आफैँ कम्प्युटर सिकेर टंकण गर्नैमा केही वर्ष लाग्यो,’ ७५ वर्षीय प्राध्यापक ढुङ्गानाले सुनाए ।

यो शब्दकोषमा मूल शब्दको संख्या ३५ हजार छ भने दुई हजारभन्दा बढी पारिभाषिक शब्दहरू छन् । ‘कोषलाई एउटै भागमा अटाउनका लागि धेरै विधालाई समेट्न सकेकै छैन, जस्तैः आयुर्वेद र तन्त्र विधामा धेरै शब्द समेट्नै सकिएन,’ प्राध्यापक ढुङ्गानाले सुनाए‚ ‘यसमा वस्तुगत पत्यारिलो कुरामात्रै समेटिएको छ, अपत्यारिलो कल्पनाको कुरा त साहित्य भइहाल्यो । जस्तैः वेद भन्यो भने वेदको मूल कुरा ठ्याक्क आओस् । उपनिषद् भन्दा उपनिषद्का कुरा आऊन् । साहित्यमा रस भनेको के ? ध्वनि भनेको के ? अलंकार भनेको के ? त्यसका भेद कति ? भन्ने कुरा प्रष्टसँग उल्लेख गरिएको छ । यसैगरी‚ यदि तीर्थयात्रीहरू मेरा पाठक हुन् भने कुन-कुन धार्मिक स्थललाई तीर्थ मानिएको छ ? र नेपालका मठ-मन्दिरहरूको नामावली र व्याख्या के छ ? भनेर सुपष्ट रुपमा भनिएको छ’

उनले कोषको आकार र समयावधिका कारण पनि ‍‘वर्णको संख्या’जस्ता केही महत्वपूर्ण पक्ष छुट्न गएको स्वीकारे । सम्भवतः छुटेको ६३ वर्णको सूची र व्याख्या अब दोस्रो संस्करणमा मात्रै समेटिनेछ । शब्दकोषमा तारामण्डल, ८८ वटा तारा र २७ नक्षत्रको सूची तथा परिभाषा पनि छ । ‘यहाँ व्याकरण र कोषका अधिकांश कृति साहित्यका किताब झैं छन् । किनभने लेखकहरूले गणित पढ्नुहुन्छ, गणित गर्नुहुन्न‚’ उनी भन्छन्‚ ‘यो कोष व्याकरणका विद्यार्थीका लागि सबैभन्दा उपयुक्त छ । ज्योतिषका निमित्त पनि आकाशीय पिण्डबारे पनि गणितीय दृष्टिकोणभन्दा परिचयात्मक चिनारी हालेको छु ।’

संस्कृत भाषाका व्युत्पत्तिमूलक शब्दकोषको स्मरण गर्दा शब्दकल्पद्रुम वा वाचस्पत्यम्‌जस्ता कोष रहे पनि ती बोधगम्य नरहेको उनको बुझाइ छ । उनी भन्छन्‚ ‘ती संस्कृत भाषामा अत्यन्त दुर्बोध छन्, फेरि नेपालपरक पनि छैनन् । कतिपय नेपाली भाषामा आएका शब्दहरूलाई तिनीहरुले समेटेका छैनन् । जस्तैः तत्सम, तद्भव भएर आएका नेपाली शब्दहरू त्यसमा समेटिएका छैनन् । त्यहाँ दिइएको भाषाको व्युत्पत्तिको विषय संस्कृत भाषामा भएकाले नेपालीले बुझ्न कठिन छ । संस्कृत नपढेका मान्छेले त्यसलाई बुझ्नै सक्दैनन् ।’

मानक भाषासम्बन्धी विवाद र बहस चलेका बेला केही नेपाली विद्वान्‌हरू ह्रस्वदीर्घ र मोटो ‘श’ र पातलो ‘स’मै अल्झेर बसिरहेको प्राध्यापक ढुङ्गानाले सुनाए । ‘गुरु हेमराज शर्मा र सोमनाथ सिग्द्यालले एउटा बाटो खुलाइदिनुभयो । त्यो बाटोमा सामान्य हेरफेर हुँदै गयो । अब विद्वान्‌हरूले नयाँ सिद्धान्त पो दिन सक्नुपर्छ त । ह्रस्वदीर्घमा अल्मलिएर केही हुनेवाला छैन,’ उनी भन्छन् । उनको बुझाइमा, सबै कुरा ‘मानकीकरण’ गर्दैमा समस्या समाधान हुन सक्दैन ।

‘हाम्रोमा भारोपेली परिवारका जति पनि भाषाहरू छन् नि ! संस्कृतको समस्या ठूलो छ । हामी तत्सम शब्द भन्छौं, तद्भव एकातिर भन्छौं । योचाहिँ तत्सम शब्द भनेर विद्यार्थीले कसरी चिन्ने ? चिन्ने कुनै आधार छैन हामीसँग । विद्यार्थीलाई घोकाएको भरमा तत्सम शब्द चिनाउने हो कि ?’ उनको अध्ययनले भन्छ‚ ‘तत्सम शब्दको छुट्टै कुनै व्यवस्था पनि छैन । अर्कोतिर तद्भव बनाएर दीर्घ ‘ठूलो’लाई ह्रस्व ‘ठुलो’ लेख्ने गरियो, त्यो पनि हामीले भाँचिदियौं । हामी सबै सुरु र बीचको ‘लाइ’ ह्रस्व देख्ने र अन्त्यको ‘लाई’ दीर्घ लेख्ने उपायतिर गयौं । तर‚ ती संस्कृतबाट आएका शब्दहरूका निम्ति के गर्ने भनेर टुंग्याउन सकेनौँ; कि त त्यो पनि टुंग्याउनुपर्थ्यो ।’

आफूहरूले कहिले पनि नेपाली भाषाको व्याकरण नलेखेको स्वीकार्दै प्राध्यापक ढुङ्गाना भन्छन्‚ ‘व्याकरण लेख्दा तत्सम संस्कृतको हो, तद्भवमा पनि यो प्राकृत हो‚ यो विदेशबाट आएको हुनाले आगन्तुक शब्द हो भनेर हामीले लेख्यौं । हाम्रो यसैमा झगडा भयो । हाम्रो के त ? हामीले यी सबैलाई एकीकरण गरेर नेपाली भाषाको व्याकरण भनेर किन भन्न नसकेका ?’


प्रा. नीलमणि ढुङ्गाना ।

‘ती सबैलाई समेट्ने गरी किन हामीले नेपाली व्याकरणमा नियम बनाउन नसकेको ?’ यस्तै समस्या नेपालका विभिन्न स्थानमा रहेको बताउँदै ढुङ्गाना भन्छन्‚ ‘हामीकहाँ अर्को समस्या पनि छ, तराईमा नेपाली भाषा पढ्ने विद्यार्थीले एउटाले नेपाली भाषा पढ्छ, एउटाले हिन्दी पढ्छ, एउटाले मैथिली पढ्छ । तारिख लेख्दा हामीले ह्रस्व लेख्छौं, उनीहरूले दीर्घ लेख्छन् । हामीले तारिखको ‘री’ ह्रस्व लेख्ने कि दीर्घ ? अरु अरु शब्दहरूमा पनि यस्तै समस्या छ । ती सबैलाई एक ठाउँमा राखेर गोष्ठी गरेर मिलाएर जानुपर्छ कि पर्दैन ? त्यतातिर हाम्रा विद्वान्‌हरू नलाग्ने अनि कोठाभित्र बसेर ‘स’ र ‘श’मा झगडामात्रै गर्दै बस्ने ?’

भाषा-साहित्यका साधकहरूले समस्याको पहिचान र नयाँ उपाय प्रतिपादन गर्नेभन्दा उही मध्यचन्द्रिकालाई यताउता पल्टाउने काममात्रै गरिरहेको प्राध्यापक ढुङ्गानाको बुझाइ छ । ‘एकपटक ताना शर्माले नेपाली व्याकरण लेख्छु भन्नुभयो, अब त राम्रो नेपाली व्याकरण आउला कि भन्ने भयो । अन्त्यमा त्यही मध्यचन्द्रिकाको सिद्धान्त, त्यही विभक्ति, त्यही समास जोडिएको चिज आयो‚’ उनले भने‚ ‘नयाँ पारिभाषिक शब्दहरू केही छैनन् । आखिरमा उहाँले के लेख्नुभयो त ? जति आलोचना गरे पनि सोमनाथ सिग्द्यालले देखाएको जुन बाटो देखाए, त्यहि बाटो पछ्याउनुभयो ।’

अहिलेसम्म सिग्द्यालले देखाएको बाटोभन्दा बाहिर कोहि जान नसकेको भन्दै वाक्यको चर्चा गर्दा होस्‚ अथवा सरल, संयुक्त, मिश्र वाक्यको कुरा होस्‚ जहाँ पनि सिग्द्यालकै पथलाई पछ्याइएको उनले बताए । ‘शब्दको चर्चा गर्नुपर्‍यो । तत्सम, तद्भव, आगन्तुक अनि तिनै उपसर्ग । त्यहाँभन्दा बाहिर गएर सोच्न खोइ त सकेको ?’ उनले भने ।

अरुभन्दा पनि प्राध्यापन जीवनको एउटा चरणमा व्युत्पत्तिमूलक संस्कृतलाई राम्रो र सहज नेपालीमा बुझाउन जरुरी रहेछ भन्ठानेरै आफूले यो कोष तयार गरेको भन्दै ढुङ्गानाले भने‚ ‘मैले जिन्दगीमा पढाएबापत तलब लिएँ, त्यसैबाट दालभात खाएर बाँचें । तर‚ के यो बँचाइको कुनै अर्थ रहन्छ ? म संस्कृत क्षेत्रमा रहे पनि आखिर प्राज्ञिक जगत् वा समाजका निम्ति मैले के दिएँ त ? यही सोचाइले मैले मेरो जीवनको १० वर्ष यो कोषका लागि दिएको हुँ ।’

झण्डै १४ सय पृष्ठको शब्दकोष प्रकाशित भएपछि प्राध्यापक ढुङ्गानामा छाएको बेचैनी अर्कै किसिमको थियो । ‘यहाँ भन्न सजिलो छ, अरुतिर देखाएर दोष लगाउन सजिलो छ,’ प्राध्यापकले कुराकानीको बिसौनीमा भने‚ ‘अबको समय भने नेपाली व्याकरण लेखनको काम थाल्नेछु, संस्कृत, तत्सम्, तद्भवको प्रभावमात्रै रहनेभन्दा पनि विशुद्ध नेपाली व्याकरणका पक्षमा काम सुरु गर्नेछु ।’

प्रकाशित : पुस २५, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?