कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हजुरआमाको कथाले पुर्‍यायो टोरोन्टो फिल्म फेस्टिभल

रीना मोक्तान

काठमाडौँ — साथीको बुवा भर्खरै विदेशबाट गाउँ फर्किएका थिए । एकदिन विद्यालयमा साथीले हचुवामै भनिदियो, 'हाम्रो बुवाले तेरो घरको ममी, काकी र हजुरआमालाई लुगा ल्याइदिनुभएको छ ।' त्यतिबेला सानै थिए राजन कठेत, साथीको कुरा झट्टै पत्याए । घर फर्केर हजुरआमालाई त्यो कुरा सुनाइहाले । हजुरआमा पनि राजनले भनेको कुरा साँचो पो हो कि भन्ने बुझ्न छिमेकी भेट्ने बहानामा साथीको घरमा पुग्नुभयो ।

हजुरआमाको कथाले पुर्‍यायो टोरोन्टो फिल्म फेस्टिभल

कहिलेकाहीँ सन्तानका कारण अभिभावक यस्तो किसिमको दोधारमा फस्छन् भन्ने कथामाथि राजनले फिल्म नै बनाएका छन् । उनकै कारणले हजुरआमाले छिमेकी भेट्न पुगेको घटना सम्झदै लेखेको लघु फिल्म हो, 'बेयर ट्रिज इन् द मिस्ट' ।

राजन मध्यम वर्गीय परिवारमा हुर्के । गृहजिल्ला खोटाङकै विद्यालयमा कक्षा तीनसम्म पढे । त्यतिबेलै हो साथीले बुवा आएको खबरसँगै उपहारको कुरा गरेको । 'बेयर ट्रिज इन् द मिस्ट'मा उनले एउटा गरिब परिवारको कथा भनेका छन् । १५ मिनेटको लघु फिल्ममा विदेश गएको पतिले पैसा पठाउने आशामा छोराको आवश्यकता पूरा गर्न संघर्ष गरिरहेकी एक जवान आमाको कथा देखाइएको छ ।

एकदिन छोराले विदेशबाट फर्किएको साथीको बुवाले आफूहरुका लागि उपहार ल्याइदिएको कुरा सुनाएपछि उनले छिमेकीलाई भेट्न लामो यात्रा तय गर्छिन् । आमा छोराको दु:ख, आशा र पर्खाइको कथालाई फिल्ममा मर्मस्पर्शी ढंगले देखाइएको छ ।

यही फिल्मले राजनलाई अझ बढी निर्देशन र लेखनमा चिनायो । सन् २०१९ मा 'टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल'मा फिल्म छनोट भयो । चर्चित फिल्म फेस्टिभलमा फिल्म छनोटमा पर्दा उनलाई आफ्नो फिल्म बच्यो भन्ने लागेको थियो । 'टोरोन्टोभन्दा अगाडि धेरै राम्रा फिल्म फेस्टिभलमा फिल्म पठाइसकेको थिएँ । तर, कतै छनोटमा पर्न सकेको थिएन । त्यतिबेलासम्म मैले टोरोन्टो फिल्म फेस्टिभल छ भन्ने पनि बिर्सिसकेको थिएँ । तर जब यो फिल्म त्यहाँ छनोट भयो, मेरो कामलाई कसैले त नोटिस गर्‍यो भन्ने भयो,' फिल्म छनोटमा पर्दाको क्षण सम्झे ।

राम्रा फिल्म फेस्टिभलहरु घुमे पनि यो फिल्मले खासै अवार्ड उचालेन । राजनलाई लाग्छ, 'सायद मेरो फिल्म अझै निखारिएको हुनुपर्थ्यो कि ?' तर, उनीजस्ता युवा फिल्मकर्मीका लागि टोरोन्टोमा फिल्म छानिनु नै ठूलो खुसी हो । सुरुमा 'बेयर ट्रिज इन् द मिस्ट'को कथा 'बर्लिन फिल्म फेस्टिभल' अन्तर्गतको 'बर्लिनाली ट्यालेन्ट्स'मा छनोट भयो । फेस्टिभलतिर झुकाव भएका फिल्मकर्मीलाई जान मन लाग्ने ल्याब हो, बर्लिनाली । यसअघि निर्देशक मीन भाम, अविनाशविक्रम शाह, दीपक रौनियार पुगिसकेको ल्याब । राजनलाई त्यहाँ पुगेर वर्कशपमा सहभागी हुन मन थियो । त्यहाँ उनको प्रोजेक्ट नै छानियो । त्यतिबेला फिल्मको कथा अलि फरक थियो । आफ्नो कथा लिएर करिब २ हप्ताको वर्कशपमा सहभागी भइसकेपछि नेपाल फर्के राजन । बर्लिनालीमै छानिएकै कारण यो कथामाथि जसरी पनि फिल्म बनाउनुपर्छ भन्ने थियो । तर लेख्न बसेको ५/६ महिना भइसक्दा पनि कथा बिग्रेको बिग्रै । पक्कै कथामा कमजोरी छ भन्ने सोचेर बाल्यकालको उक्त घटना सम्झँदै एक बसाइमै कथाको परिमार्जित खेस्रा तयार पारे । 'बेयर ट्रिज इन् द मिस्ट' त्यही खेस्राको अन्तिम रुप हो ।

'बेयर ट्रिज इन् द मिस्ट'को कथा लेखन सकिने क्रममा उनीसँग 'आइकोर फिल्मस्'ले सहकार्य गर्‍यो । आइकोरसँग सहकार्य गरेको केही समयमै उनले फिल्मको सुटिङ सुरु गरे । अडिसनबाट कलाकार छनोट गरिसकेका थिए । फिल्मको सबै दृश्य उनले आफ्नै गाउँ खोटाङमा खिचे । फिल्ममा भान्साको दृश्य देखाइएको छ जुन राजनकै घरको हो । लगभग ६ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकियो । 'एकदम चाँडो सकिएको काम हो यो । गाउँका मानिस कसरी बोल्छन्, कस्ता लुगा लगाउँछन् भन्ने हेर्न कलाकार छायांकनअघि नै गाउँमा पुगिसकेका थिए । दु:ख, सुख गरेर फिल्म सक्यौं,' राजन सुनाउँछन् ।

यो फिल्मको कथा नेपाली समाजसँग मिल्दो र मौलिक छ । फिल्ममा प्रयोग गरिएको एस्पेक्ट रेसियो अझ नौलो देखिन्छ । यो फिल्म सुरुमा वाइड एस्पेक्ट रेसियो (१६:९)मै खिचिएको थियो । तर सम्पादन टेबलमा फिल्म ल्याउँदा उक्त रेसियोमा कथाको भाव जिउँदो भेट्याएनन् राजनले । केही कुरा अगाडि बढिरहेको त छ तर एकदम मृतभावमा भन्ने लागेपछि सम्पादनकै क्रममा 'वन इच टु वन' रेसियोमा काटिदिए । त्यसपछि फिल्मले जीवन पाएझैं लाग्यो र त्यही रेसियोमा फिल्म फाइनल भयो ।

'सम्पादनमा अनेक काम हुन्छन् । बिग्रेको फिल्मलाई बचाउने ठाउँ पनि हो, फिल्मलाई सास दिने हो । अनेक गर्दा ढ्याक्क वन इच टु वनमा काटियो । खासमा यो गलत रेसियो हो । त्यो गर्दा फिल्मले जीवन पाएजस्तो अनुभव भयो । त्यसैले यो रेसियोमा फिल्म काट्यौं,' उनले भने, 'एक ठाउँमा रेसियो बढ्दै जान्छ । धेरैले प्राविधिक रुपले त्यो रेसियोले खासै कथामा केही दिएको छैन भन्ने कुरा पनि गर्नुहुन्छ ।'

'सेरढाक'ले खोलिदियो आँखा

अधिकांशले झैं राजनले पनि कुनै बेला इन्जिनियर, डाक्टर बन्ने सपना लिएर विज्ञान विषय पढे । हिन्दी फिल्म हेर्दै हुर्किएका उनको दिमागमा भने फिल्महरु नै घुमिरहन्थ्यो । निस्टबाट १२ को पढाई सकिएपछि इन्जिनियरिङको तयारी कक्षा पनि लिए । त्यतिबेलासम्म दिमागले म्याथ, फिजिक्सको कुरा टिप्न छोडिसकेको थियो । एकदिन आफ्नो मनले सोचेको कुरा पच्छ्याउँदै उनी काठमाडौं युनिभर्सिटीमा (केयू) मिडिया स्टडिज पढ्न भर्ना भए । फिल्म निर्माणमा लाग्छु भन्ने सोचिसकेका थिएनन् । विज्ञापनतिर रुची थियो । तर केयूका साथीहरुसँग मिलेर लघु फिल्म बनाउनतिर लागे ।

सिक्नकै लागि सुरुवातमा लघु फिल्म 'लस्ट' बनाए । स्नातक सकिनासाथ २०११ तिर छाप्रो नामको कम्पनी खोलेर साथीहरुसँग मिलेर अन्धाधुन्दमै फिल्म बनाए । 'म जान्न', 'नागर्जुना', 'शुक्रकिट' त्यही कम्पनीबाट बनेका फिल्म हुन् । त्यसैबीच सेरढाक (द गोल्डेन हिल ) भन्ने फिचर फिल्म निर्देशन गरे । यही फिल्मले राजनको आँखा उघारिदियो । 'केही नबुझी फिल्ममा हाम्फालिराछु भन्ने भयो । फिल्म बुझेर यो क्षेत्रमा लाग्नुपर्छ भन्ने भयो,'राजन पूराना दिन सम्झन्छन् । फिल्मको सबै काम छोडेर राजनले इरासमोस मन्डसको छात्रावृत्तिमा डकुमेन्ट्री फिल्म मेकिङमा स्नातकोत्तर गरे । स्नातकोत्तर गरेर फर्केलगत्तै बनाइएको फिल्म हो, 'बेयर ट्रिज इन् द मिस्ट'।

यसअघि उनले युवा जोशमा लेखेका थिए 'मोक्ष' र 'दोख' । 'मोक्ष'मा पटकथा र संवाद लेख्नुसँगै प्रमुख सहायक निर्देशक बने । 'दोख'को कथा भने सन् २०१३ तिरै लेखेका थिए । उनलाई फुटबलमा रुची । गाउँमा सशस्त्र द्वन्द्वका कथाहरु सुनिरहन्थे । फुटबल र सशस्त्र द्वन्द्व जोडिएको कथामा बनेको फिचर फिल्म हो 'दोख'। डकुमेन्ट्री फिल्ममा स्नातकोत्तर गर्दा राजनले थेसिसका लागि 'स्प्लिट इन्ड्स' भन्ने डकुमेन्ट्री पनि बनाए । पोर्चुगलको एउटा सैलुन कसरी नेपालीहरुको दु:ख पोख्ने चौतारी बन्देछ भन्ने डकुमेन्ट्रीमा युरोपसम्बन्धी नेपालीहरुको अनुभव समेटिएको थियो ।

अहिले उनी सन् २०१८ देखि सुरु गरेको नयाँ डकुमेन्ट्रीमा व्यस्त छन् । 'नो विन्टर होलिडे' शीर्षकको उक्त डकुमेन्ट्रीमा ढोरपाटनका दुई वृद्धा आमाहरुको चिसोयामको एक्लोपना समेटेका छन् । साथी सुनीर पाण्डेसँग मिलेर बनाउँदै गरेको यो फिचर डकुमेन्ट्री खिच्न कोभिडअघिको जाडोयाममा राजन त्यतै थिए । यो डकुमेन्ट्रीलाई पनि फेस्टिभलमा लैजाने सोचेका छन् । राजन भन्छन्,'नेपालमा त कहाँ देखाउने डकुमेन्ट्री । कसैले किन्दैन । विदेशमा त टिभीले किनिदिन्छन् । डकुमेन्ट्री देखाउन फेस्टिभल बाहेक अरु ठाउँ नै छैन ।'

राजन फेस्टिभल केन्द्रित फिल्म र डकुमेन्ट्रीमात्र होइन, व्यावसायिक फिल्मतिर हात हालिसकेका निर्देशक/लेखक हुन् । उनलाई व्यावसायिक फिल्म बनाउने पनि रहर छ । 'मलाई व्यावसायिक फिल्म पनि बनाउनु छ । तर त्यसको लागि केही वर्ष कुर्ने हो कि भन्ने छ । फेस्टिभल भन्नेबित्तिकै नेपालमा चल्दै नचल्दै फिल्म र कमर्सियल भन्नेबित्तिकै फेस्टिभल नजाने भन्ने बुझाइ छ । तर, दुवैतिर जाने फिल्महरु हुन्छन् । मलाई त्यस्तो फिचर फिल्म गर्ने मन छ । हो फेस्टिभलमा जाने फिल्ममा केही फरकपना हुन्छ । मलाई लाग्छ, फिल्म चलाउन त घरेलु दर्शकले फिल्म हेर्नैपर्छ । फेस्टिभल भन्नेबित्तिकै अर्कै खालको फिल्म भन्ने हुँदैन ।'

पछिल्लो समय युवा फिल्मकर्मी फेस्टिभलतिर केन्द्रित हुन थालेका छन् । राजन फेस्टिभलले फिल्मकर्मीलाई विश्वसामु चिनाउने मद्दत गर्ने हुँदा धेरैमा फेस्टिभलको भुत सवार भएको धारणा राख्छन् । 'फेस्टिभल भनेको राम्रो फिल्मलाई चिन्ने ठाउँ हो । राम्रो फेस्टिभलमा जानका लागि फिल्म पनि राम्रै हुनुपर्छ । फेस्टिभलमा देशैभरका क्रिटिक्स पुग्छन् । फेस्टिभलमा फिल्म पुग्नु भनेको फ्रि-मार्केटिङ हो । मेरो विचारमा यहाँका फिल्मकर्मीलाई भारतका फिल्मकर्मीले चिन्दैनन् । तर भारतका फिल्मकर्मीले मीन भामलाई चिन्छन् । मिहिनेत गरिएको फिल्म त्यहाँ नोटिस हुन्छ,' उनले भने, 'फेस्टिभलमा फिल्म पठाउनु एक किसिमको भुत नै हो । म पनि त्यही जानुपर्छ भन्ने हुन्छ । त्यहाँ संसारभरका राम्रा फिल्ममेकरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हिजोआज सबै नयाँ फिल्मकर्मीको चाहना नै फिल्म फेस्टिभल हुन्छ ।'

फेस्टिभलमा पठाउने फिल्म मेकिङमा केही फरकपना हुने गरेको राजन सुनाउँछन् । 'अन्धाधुन्द फिल्म बनाएर फेस्टिभलमा जान त सकिएला तर राम्रो फेस्टिभलमा जान गाह्रो हुन्छ । फेस्टिभलमा जाने फिल्मको मेकिङको धार नै छुट्टै हुन्छ । यहाँ हामी कहाँ लेखेको कथाको केही ड्राफ्टसँग निर्माताको चित्त बुझ्यो भने फिल्मको काम अगाडि बढ्छ । तर बाहिर फेस्टिभलमा जाने फिल्ममा अलि बढी ध्यान दिनुपर्छ । हामीले हाम्रो संस्कृति अथवा धर्मको विषयलाई त नेपाली दर्शकले सजिलै बुझ्छन् । तर विदेशी दर्शकले त बुझ्दैनन् नि ! त्यही भएर नेपाल बाहिरको दर्शकले यो कुरालाई कसरी बुझ्लान् भन्ने कुरामा युनिभर्सल रुपमा बुझ्ने खालको ढाल्नुपर्छ,' उनले भने, 'त्यसैले पारा कहीँ न कहीँ छुट्टिहाल्छ । नेपाली दर्शकका लागि बनाइएका फिल्म पनि फेस्टिभलमा जान्छन् तर अगाडि बढ्न सक्दैन । किनकि त्यो त स्थानिय दर्शकले मात्रै बुझ्छन् ।'


प्रकाशित : पुस १३, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?