२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
फिचर

कथावाचक साइग्रेस पोख्रेल : साधरण व्यक्तिलाई असाधरण माया

'कति सम्बन्धका कुरा छन्, कति विभेद र छुवाछुतका कथा छन् । कतै न कतै मेरो कथाका दर्शकहरुलाई कथाले केही न केही असर राख्छ भन्ने कुराले नै कथा सुनाउनु जिम्मेवारी बन्यो ।'
रीना मोक्तान

काठमाडौँ — कलेजको पहिलो भेटमै साइग्रेसको ध्यान आफूतिर तान्छिन् वीरगन्जकी अनन्या । विस्तारै अनन्या र साइग्रेसको मित्रता प्रगाढ हुन्छ । त्यही मित्रताबीच कहिले प्रेमको टुसा पलाउन थाल्यो ? उनी दुईलाई पत्तो छैन । कलेजको दैनिक भेट, नोकियाको मोबाइलमार्फत सन्देश आदनप्रदान । औपचारिक प्रेम प्रस्ताव आवश्यक भएन, एकअर्कालाई मन पराउन  ।

कथावाचक साइग्रेस पोख्रेल : साधरण व्यक्तिलाई असाधरण माया

साइग्रेस अनन्या भेट्न घण्टौं बाइक चलाएर वीरगन्जसमेत पुग्छन् । एकदिन अनन्याले सुन्दर भविष्यका लागि क्यानडा जाने निधो गर्छिन् । त्यसपछि लामो दूरीको प्रेम इन्टरनेटमार्फत केही महिना त चल्छ तर उनीहरुको प्रेमकथा पूरा हुन पाउँदैन ।

यही अधुरो प्रेमकथा कोरेर साइग्रेसले आफ्नो युट्युवब च्यानलमा अडियो उपन्यास वाचन गरेका छन् । एक घण्टा ४६ मिनेट लामो 'मेरो अधुरो प्रेम' शीर्षकको यो अडियो नै साइग्रेसको स्टोरी टेलिङ(कथा वाचन)को टर्निङ पोइन्ट बन्यो ।

त्यतिबेलासम्म साइग्रेसको युट्युब च्यानलमा १२/१३ हजार सब्सक्राइबर थियो । यो कथाले एक लाख सब्सक्राइबर बढाइदियो । उनका स्टोरी टेलिङका भिडियोहरुमध्ये सबैभन्दा बढी हेरिएको कथामा पर्छ,'मेरो अधुरो प्रेम ।' अडियोलाई ३८ लाख बढीले सुनेका छन् । साइग्रेस यो कथाको पुस्तक पनि निकाल्दैछन् । यही कथामार्फत आफ्नो स्वर अनि स्टोरी टेलिङको प्रशंसक कमाए ।

स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेलले कथा सुनाउन कहिले रोजे त ? जवाफका लागि उनको बाल्यकाल फर्किनुपर्छ । 'लाटो बुङ्गो' र 'बित्ते', बुवा सँधै यी दुई कथा दोहोर्‍याएर साइग्रेस र उनका भाइलाई सुनाउँथे । ४/५ उमेरमै बुवाले सुनाउने ती कथा सुन्दै हुर्के साइग्रेस । जतिपटक कथा सुने पनि उस्तै रस पाउँथे । दोहोर्‍याइ, तेहर्‍याइ सुने पनि रोचक अनि रमाइलो लाग्थ्यो कथा सुन्न । बुवाले कथा सुनाउन थालेसँगै कथाका पात्र, परिवेश आँखा अगाडि नाच्न थाल्थ्यो । बुवाको त्यही कथा वाचनबाट प्रभावित भए साइग्रेस । कक्षामा ४ मा पढ्दै गर्दा विद्यालयमा आयोजित कमेडी च्याम्पियन प्रतियोगितामा हास्य कथा सुनाएर विजेतासमेत बने ।

बिस्तारै उनले कथा कोर्ने, डकुमेन्ट्रीमा आवाज दिन थाले । तर त्यतिबेला उनको कथाले साइग्रेसलाई चिनाउन सकेन । सन् २०१२ मा उनले पोखराबाट स्टोरी टेलिङ व्यावसायिक रुपमा सुरु गरे । त्यतिबेला सत्यसाई संगठन नेपालले आयोजना गरेको युथ कन्फ्रेन्समा उनले कथा सुनाए । धेरैले उनको आवाजको तारिफ पनि गरे । त्यसयता कथा वाचन गर्दै युट्युबमा अपलोड गर्न साइग्रेस हौसिए । त्यतिबेला यही विधामा करिअर बनाउँछु भन्ने सोचेका थिएनन् । तर अहिले आफूलाई स्टोरी टेलिङमै उनले व्यस्त बनाएका छन् । 'व्यक्तिलाई कुनै काममा मिहिनेत गरेको अनुभव लाग्दैन । तब त्यो व्यक्तिलाई महसुस हुन्छ कि यो काममा म राम्रो छु की जस्तो । मलाई सँधै कथा सुनाउँदा र बोल्दाखेरी सहज महसुस हुन्थ्यो,'उनले सुनाए ।

२०६५ तिर उनी स्वास्थ्य मन्त्रालयमा जागिरे थिए । अस्थायी दरबन्दी थियो । काम सजिलो थियो । तर सिकाइको हुटहुटीले डेनमार्क पुर्‍यायो । 'योभन्दा बढी के त भन्ने हुटीहुटीले नै मलाई डेनमार्क पुर्‍यायो । दक्षिण एसियाको युवाका लागि थोरै रहर र बाध्यता हुँदो रहेछ - विदेश । केही पढौं सिकौं भनेर नै म विदेश गएको हुँ,' साइग्रेसले भने, 'म त्यो चरा हुँ जो आफ्नो परिवारको लागि आहार खोज्नलाई बाहिर गएको छ । पछि फर्केर त यहीँ गुँडमा आउनुपर्छ । त्यहाँ सिकेर आएको ज्ञान यहाँ आएर देखाउनुछ ।'

पन्ध्र हजार कथा
साइग्रेस आफूसँग अहिले १५/१६ हजार कथाहरु रहेको दाबी गर्छन् । 'अहिले १५/१६ हजार कथाहरु छन् । एकदम गाह्रो हुन्छ रोज्न । लेखाइको ढाचा नमिलेको कथाहरुलाई परिमार्जित गरेर सुनाउँछु,' उनले सुनाए । उनी सामाजिक विषयवस्तुमा आधारित कथाहरु सुनाउने गर्छन् । चाहे त्यो प्रेमकथा हुन् या सामाजिक विषयवस्तुका कथा । उनी मानवीय मूल्यमान्यतामा आधारित कथा नै सुनाउन रुचाउँछन् । 'अधुरो प्रेम, नौलो सुरुवात प्रेमकथा हुन् तर त्यसमा मानवीय मूल्य छन् । मेरो आवाजले भन्दा पनि मैले प्रस्तुत गरेका कथाका विषयवस्तुले गर्दा दर्शकले मलाई मन पराइदिनु भएको हो कि जस्तो लाग्छ । कथामा एउटा शिक्षा हुन्छ त्यसकै कारण पनि मनपराइदिनु भएको जस्तो लाग्छ,' उनले दंग पर्दै सुनाए ।

तस्बिर/भिडियो : दिपेन्द्र रोक्का/कान्तिपुर

उनी कहाँ सत्य घटनादेखि काल्पनिक कथाहरु ठोक्किन आइपुग्छन् । सत्य घटनामा आधारित कथामा पात्रको गोपनीयता र परिवेशलाई उनी परिवर्तनसमेत गरिदिन्छन् । कतिले नाम परिवर्तन गर्न अनुरोध गर्दै कथाहरु पठाउँछन् । आफूले सनाएका कथाले कतै न कतै समाजमा प्रभाव छोड्ने भएकै कारण कथा सुनाउनु जिम्मेवारी बनेको साइग्रेस बताउँछन् । 'कति सम्बन्धका कुरा छन्, कति विभेद र छुवाछुतका कथा छन् । कतै न कतै मेरो कथाका दर्शकहरुलाई कथाले केही न केही असर राख्छ भन्ने कुराले नै कथा सुनाउनु जिम्मेवारी बन्यो । आत्महत्या गर्न लागेको व्यक्तिले समेत मेरो कथाहरुले आत्मबल बढाएको भन्दै प्रतिक्रिया दिन्छन् ।'

'सिन्दुरबिनाकी दुलही'मा एक सडक बालिकाले आफ्नो जीवनको कालखण्डमा गर्ने संघर्षको कथा समेटिएको छ । 'नौलो सुरुवात'ले सहजै करिअर रोज्न प्रेरित गर्छ । 'अधुरोले प्रेम'ले जीवनको समाप्ति छिटै गरिहाल्नु हुँदैन भन्ने सन्देश दिन्छ ।

कतिपय समय झट्ट सुन्दा विश्वास गर्नै नसकिने कथाहरु साइग्रेसकहाँ आइपुग्छन् । तर ती कथाहरु छनौट गर्ने क्रममा उनी एउटै कुरा मनमा दोहोर्‍याउँछन्,' जबसम्म कथालाई जीउन सक्दिनँ । शब्दहरुलाई पानीसरि पिउन सक्दिन म कथा भन्नै सक्दिनँ ।' उनी कथाहरु आउनेबित्तिकै वाचन गरिहाल्दैनन् । सुरुमा त कुन धरातलमा टेकेर हेर्दा कथालाई न्याय दिन सक्छु भन्नेतर्फ नै उनको ध्यान जान्छ । त्यसपछि बल्ल पात्र बनेर कथा सुनाउँछन् । सिन्दुरबिनाको दुलहीमा प्रगति पात्र उनी आफै बनेका छन् ।

पछिल्लो समय उनले लेखेका उपन्यासमाथि फिल्म बनाउने अफर आएको थियो । तर, कृतिले पाएको माया फिल्म बनिसकेपछि ह्रास आउने डरले उनले अनुमति दिएनन् । 'मलाई डर लाग्छ, मैले जुन दृष्टिकोणले कथाको पात्रहरु कोरेको छु । त्यही अनुसार पर्दामा नदेखिन सक्छ । त्यसैले मेरो कृतिले पाएको माया फिल्ममा बनेपछि ह्रास आउने हो कि भनेर डर लाग्छ । त्यही भएर मैले दिइनँ । समय पनि भइसकेको छैन फिल्म बनाउने भन्ने लाग्थ्यो,'उनले भने,'तर म आफैलाई मेरो कृतिमाथि फिल्म बनाउने मन छ ।'

'म सेलेब्रिटी होइन'
साइग्रेस अहिले 'वर्ड टुर'मा छन् अर्थात शब्दहरुको भ्रमण । विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम लिएर उनी नेपाल आएका हुन् । यो भ्रमणमा फरक उमेर समूहका दर्शकहरुसँग उनको भेट भयो । धरानमा एकजना क्यान्सर पीडित आमासँग भेटे । अप्रेसनपछिको समयमा आमाले धेरै उनकै कथा सुनेरै दिन बिताएको कुरा सुनाइसकेपछि उनी भावविह्रल भए । 'धेरैले मेरो केटी फ्यान धेरै छन् भन्ने आरोप लगाउनुहुन्थ्यो । तर मैले यो टुरमा फरक-फरक दर्शकहरु भेटें,'उनले भने,' दृष्टिविहीन साथीहरू पनि लगातार २ सोमा आउनु भयो । पुरुष फ्यानहरु पनि रुनुभयो । असाधरण माया देखाउनुभयो, साधरण व्यक्तिलाई भन्ने लाग्यो ।'

चितवनको शोमा ८ सय जना हुन्छन् भन्ने अनुमान गरिएको थियो । कार्यक्रम गर्ने ठाउँमा मात्र एक हजार अट्ने देखिन्थ्यो। तर त्यहाँ २ हजारभन्दा बढी मानिस ओर्लिएको देख्दा साइग्रेसले दंग परे । 'सुरक्षागार्डले स्टेजको पछाडिबाट प्रवेश गराउने सोच्नुभयो । तर त्यतिबेला मलाई लाग्यो । म कुनै स्टार होइन, सेलेब्रिटी होइन । साधरण स्टोरी टेलर हुँ । जसलाई उहाँहरुले माया गरेर एकपटक नजिकबाट हेर्न अथवा छुन खोज्नु भएको हो । यदि म सेलेब्रिटी भएर पछाडिबाट स्टेजमा गएर हात हल्लाएर जान्छु भने म जमिनको मान्छे जमीनमा रहन्न जस्तो लाग्यो । त्यसैले मैले दर्शकबीच बाटै स्टेज उक्लने सोचें,'उनी सुनाउँछन्,'त्यतिबेला हिँड्नै परेन । त्यो देख्दा मानिस सागर ओर्लेर आएझैं लाग्यो । म कुन संसारमा छु भन्ने लाग्यो । यसअघि त दर्शकलाई भर्चुअली भेट्दै आएको । उहाँहरुसँगको मायाको वर्णन गर्न सक्दिनँ ।'

यसरी दर्शकबाट घेरिँदा त सेलेब्रिटी अनुभव पक्कै गर्नुभयो होला ? भन्ने प्रश्न खस्न नपाउँदै उनले जवाफमा भने,'अनुभव गरिनँ । पहिलादेखि नै म यो कुरामा तथष्ट थिएँ । मलाई उहाँहरुले सेलिब्रिटी खोज्नु भएकै होइन । म त्यस्तो बन्नु पनि हुँदैन । र मलाई त्यो अनुभव पनि छैन । मलाई त हाम्रो दर्शकले कथा भनिदिने, हाम्रो शब्द बोलिदिने आफ्नै परिवारको एक सदस्य भेटेको बेलामा खुसी व्यक्त गर्नु भएको त हो । म त्यसमै रमाउँछु ।'

प्रकाशित : मंसिर २९, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?