खेत नजिकै भेरी नदी, खेती गर्न आकासे पानीको भर

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका १ नाम्राका ५५ वर्षीय पृथ्वीलाल शर्माको घर र खेत नजिकैबाट भेरी नदी बगिरहेको छ । भेरीको करिब ५० मिटर दूरीमा उनको १० रोपनी खेत छ ।

खेत नजिकै भेरी नदी, खेती गर्न आकासे पानीको भर

खेत नजिकै भेरी नदी भए पनि उनले अहिलेसम्म खेतमा सिंचाई गर्न भने पाएका छैनन । खेतमा बालीनाली लगाउँदा सधैँ आकासे पानीको भर पर्न बाध्य छन् उनी ।

नाम्राका ६६ वर्षीय खुम ओलीको पनि त्यस्तै अवस्था झेल्दैआएका छन् । अहिलेसम्म सम्बन्धित निकायले सिंचाई आयोजनाको लागि कुनै चासो नदेखाउँदा उनको तीन रोपनी खेत त बाँझै छ भने दुई बाली धान खेती गर्न सकिने खेतमा वर्षातमा मकै र हिउँदमा गहुँ तथा तोरी लगाउन बाध्य छन् । प्रयाप्त जग्गा भए पनि परिवारको गर्जो टार्न उनी सधैँ बाहिरबाट आयातित खाद्यान्नको भरमा सिमित हुनु परेको बताउँछन् ।

खेतीयोग्य जमिन नजिकै भेरी नदी बग्दै आए पनि बन्गाड कुपिण्डे नगरपालिकाको राईरा, नाम्रा, सल्लीबजार, बालुवासंग्रही, घाटगाउँ, धारापानी आसपासका किसान झन्डै तीन हजार रोपनी खेतीयोग्य जमिनमा खेती गर्नका लागि आकासे पानीकै भर पर्न बाध्य छन् ।

सम्बन्धित निकायले सिंचाई आयोजना संचालन गर्नेतर्फ ध्यान नदिँदा किसानहरू आकासे पानीको भर पर्न बाध्य भएको गुनासो गर्छन् । यसरी भेरी नदी आसपास खेत भएका चार सय बढी किसान प्रभावित भएका छन् भने उनीहरूको खेतीयोग्य जग्गासमेत सिंचाईको अभावमा बन्जर बन्दैगएका छन् ।

आफ्नै जग्गामा उत्पादित खाद्यान्नले बाह्रै महिना खान पुग्ने भए पनि किसानहरू सिंचाईको अभावमा उत्पादनमा गिरावट आएका कारण बजारबाट खाद्यान्न किनेर खान बाध्य छन् ।

स्थानीय जनप्रतिनिधि तथा नेताहरूलाई सिंचाई आयोजना पार्नका लागि आग्रह गर्दैआए पनि अहिलेसम्म साना योजनासमेत नपरेका कारण आफुहरू समस्यामा परेको स्थानीयको गुनासो छ ।

घाटगाउँका किसान भद्रबहादुर रोका भन्छन् ‘मेरो भेरी नदिको नजिकै ८ रोपनी खेत छ । त्यसमा तीन बाली तथा दुई बाली अन्न मात्र लगाउन सके पाँच जनाको परिवारलाई आठ महिना सजिलै खान पुग्छ । सिंचाई समस्याका कारण परिवारको गुजारा चलाउन भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता छ’ ।

प्रकाशित : मंसिर २७, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?