१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कलाकार कसको ?

संगीत, साहित्य, रंगमञ्च र ललितकलाका क्षेत्रमा दिवंगत सर्जकहरुलाई स्मरणको जिम्मेवारी उनीहरुका परिवार र शुभचिन्तकको मात्रै होइन
सुशीला तामा‌ङ

काठमाडौँ — ‘देश भन्नु ढुंगा र माटोको भूगोल मात्र होइन । साहित्य, संगीत तथा कला कुनै पनि देशको मुहार हो । साहित्य, कलाबिना देशको केही अर्थ नै छैन,’ गत बुधबार संगीत प्रवीण नरराज ढकालको १०१ औं जन्मजयन्तीका अवसरमा अर्का संगीत प्रवीण मोहनप्रसाद जोशी बोले । राज्यले सर्जकहरूप्रति गरेको बेवास्तालाई उनले इंगित गर्दा समारोहमा सहभागी धेरैजसो भावुक बने ।

कलाकार कसको ?

नरराज ढकाल जस्तै थुप्रै सर्जकहरूले कला साधनामा जीवन अर्पण गरे । त्यसको बदलामा राज्यले स्रष्टालाई के दियो त भन्ने प्रश्नमा सबै मौन बस्नु दुःखदायी पक्ष रहेको उनले सुनाए । सर्जकहरू दिवंगत भएपछि तिनका सिर्जनाहरूको व्यवस्थापन छ न अध्ययन, न त अनुसन्धान नै छ । केही सर्जक र तिनका योगदानलाई नयाँ पुस्तासम्म जीवन्त राख्न परिवार लागिपरेका छन् ।

प्रभुराजले बाबु नरराज ढकालको योगदान चिरस्थायी राख्न स्मृति प्रतिष्ठान चलाएका छन् । ढकालले सात दशकभन्दा लामो समय संगीत साधनामा बिताए । कैयौं कलाकार जन्माएर नेपाली शास्त्रीय संगीतलाई बलियो बनाए । प्रभुराजका अनुसार अहिलेसम्म राज्यका तर्फबाट ढकालको साधना र सिर्जनामा कुनै खोजीनिति नै छैन । ‘बुबाको योगदानलाई जोगाइराख्न राज्यले पनि केही गरिदेला भन्ने आशा छ, अहिलेसम्म केही गरेको छैन,’ उनले भने, ‘हामी परिवारकै पहल तथा बुबाको शुभचिन्तक, आफन्तको भरमा प्रतिष्ठानले वर्षको एकचोटि भए पनि उहाँको योगदानलाई बाहिर ल्याउने कोसिस गरिरहेका छौं ।’ प्रतिष्ठानले बर्सेनि पुरस्कार वितरण गर्छ । यसको व्यवस्थापनको परिवारबाट नै भइरहेको छ । ‘सर्जकहरू देशका गहना हुन् । उनीहरूको योगदानको कदरका लागि पनि राज्यले संरक्षणको नीति लिनुपर्छ । नलिनु कला क्षेत्रकै दुर्भाग्य मान्नुपर्छ,’ प्रभुराज दुःखेसो गर्छन् ।

प्रभुराजजस्ता धेरै जना छन्, जसले दिवंगत स्रष्टाका योगदान जीवन्त राख्न विभिन्न गतिविधि गर्दै आएका छन् । संगीत, साहित्य, रंगमञ्च र ललितकलाका क्षेत्रमा दिवंगत सर्जकहरूलाई स्मरणको जिम्मेवारी उनीहरूका परिवार र शुभचिन्तकको मात्रै होइन । नेपाली संगीत जगत्मा श्रद्धापूर्वक लिइने नाम हो गोपाल योञ्जन । दार्जिलिङमा जन्मे, नेपाललाई कर्मभूमि बनाएर गए । उनले नेपाली संगीत जगत्मा अमूल्य योगदान दिए । उनका सिर्जनालाई दस्ताबेजीकरण गर्न राज्यका तर्फबाट कसैले पहल गरेको छैन । पिताका सिर्जनाहरूलाई जोगाउन परिवार नै लाग्नुपरेको छोरी सिर्जना सिंह योञ्जन बताउँछिन् । ‘राज्यले त बुबाका लागि केही गरिदेला भन्ने केही आशा नै छैन,’ उनले भनिन्, ‘गोपाल योञ्जन भनेको एकजना व्यक्ति मात्र होइन, राज्य र नयाँ पुस्ताका लागि इतिहास हो भन्ने कुरा कसैले सम्झेनन् ।’

आफ्नो पिताको नामसँगै जोडिदिएको ‘संगीत सम्राट्’ भन्ने पदवीप्रति नै उनले तिक्तता व्यक्त गरिन् । हाल अमेरिकाको कोर्नेल विश्वविद्यालयको सहकार्यमा योञ्जनका सिर्जनाहरूलाई डिजिटल फर्ममा लैजाने काम भइरहेको उनले सुनाइन् । नयाँ पुस्ताले योञ्जनलाई सुन्न र पढ्न सजिलो होस् भनेर काम गरिरहेको उनले बताइन । ‘आफ्नै परिवारले सर्जकहरूलाई संरक्षण गर्नुपर्छ भने कुनै संस्था, प्रतिष्ठान र मन्त्रालय जरुरी नै छैन । सिर्जनामाथि राजनीति हाबी भएको छ । उनीहरूले जिम्मेवारी नै वहन गर्न सकेको छैन,’ उनले भनिन् ।

अर्का संगीतकर्मी अरुण थापाका योगदानलाई चिरस्थायी राख्न उनका छिमेकी भाइहरू सन्दन थापा र पुरुषोत्तम थापा लागिपरेका छन् । उनीहरूकै पहलमा अरुण थापा स्मृति प्रतिष्ठान र थापाकै घर भएको झम्सिखेलस्थित चोकमा सालिक प्रतिस्थापन गरिएको छ ।

संगीत सर्जकहरू नारायण गोपाल, तारादेवी, नातिकाजीका योगदान जोगाउन राज्यका तर्फबाट केही भरथेग छ । नारायण गोपाल निवास महाराजगन्जमा काठमाडौं महानगरपालिकाको सहायतामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माणका क्रममा छ । तारादेवी स्मृति फाउन्डेसनलाई राज्यका तर्फबाट कोष खडा छ भने नातिकाजीका लागि यसै वर्ष महानगरले २० लाख अक्षयकोष स्थापना गरिदिएको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले बताए ।

परिवार तथा संगीत सर्जकहरूकै पहलमा २०६२ सालमा नातिकाजी समाजको स्थापना गरिएको थियो । समाज स्थापना भएको झन्डै डेढ दशकपछि मात्र बल्ल अक्षयकोष स्थापना भएको हो । यसका लागि निकै लामो समय पहल गर्नुपरेको बाँस्कोटा सुनाउँछन् । सर्जकहरूका लागि जोगाउन स्वयं जीवित सर्जक तथा परिवार नै पहुँचमा पुग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बाँस्कोटाको मत छ । ‘सर्जकहरूलाई स–साना अक्षयकोष मात्र होइन देशमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी तथा तिनका ठूलठूला संग्रहालय नै हुनुपर्छ,’ उनी भन्छन् ।

सिर्जना र सर्जकको विकास, संरक्षणका लागि देशमा संस्कृति मन्त्रालय नै छ । संगीत, साहित्य तथा कलाको छुट्टाछुट्टै तीन प्रतिष्ठानहरूसमेत स्थापित छ । ती प्रतिष्ठानहरूको कर्मचारी नियुक्ति र कार्यकालभरि कार्यालय सञ्चालनमा नै समय जाने कवि तथा गीतकार दिनेश अधिकारी सुनाउँछन् । ‘तीन प्रतिष्ठान कार्यकर्ता भर्ती केन्द्र जस्तो मात्र भयो । प्रतिष्ठान त छन् तर बजेट सीमित छ । आएको बजेटले प्रतिष्ठानका कर्मचारीहरूलाई जागिर खाने बाटो मिलेको छ,’ उनी भन्छन् । मौका पर्दा हेर्ने, सुन्ने र पढ्ने कलाका सर्जकलाई राज्यबाट उपेक्षा भएको उनको ठहर छ ।

कलाकारहरूप्रति राज्यले गर्दै आएको बेवास्ताबीच सर्जकहरू बेलाबखत प्रश्न पनि तेर्स्याउने गर्छन्– कलाकार परिवार या कला क्षेत्रका लागि मात्र हुन् वा राष्ट्रका ? सर्जकहरू छिमेकी देश भारतले कला सर्जकहरूप्रति गरेको सम्मान संस्कारलाई नेपालले सिको गर्न नसकेकोमा गुनासोसमेत गर्छन् । कला र कलाकारप्रति राज्यको कुनै संवेदनशीलता नै नरहेको संगीतकर्मी आभास बताउँछन् । ‘कलाका सर्जकप्रति राज्यको जिम्मेवार निकाय नै उदासीन छ । जो सच्चा सर्जक थिए र छन्, उनीहरूले सत्ताको चाकडी गर्न गर्दैनन् । तिनै सर्जकहरू राज्यको नजरमा परेनन्,’ उनले भने । राज्यले केही गरेन भनेर गुनासो मात्रै गरेर बस्नुभन्दा परिवार तथा शुभचिन्तकको पहललाई पनि सकारात्मक मान्नुपर्ने उनले बताए ।

नाट्यकर्मी अशेष मल्ल भने दिवंगत मात्र नभएर कला क्षेत्रका जीवित साधकहरूलाई समेत राज्यले बेवास्ता गरेको टिप्पणी गर्छन् । ‘यहाँ कलामा लागेकाहरूलाई आफ्नो जीवन धान्न गाह्रो छ,’ उनी भन्छन्, ‘कला क्षेत्र व्यक्तिगत प्रयासबाट नै यहाँसम्म आइपुगेको हो । अन्य क्षेत्रबाट आशा राख्ने कुनै बाटो नै छैन ।’

प्रकाशित : मंसिर २०, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?