फिरन्ते संगीतकारको नेपाल मोह

आफ्नो देशमा सहयोग संकलन गरेर अस्ट्रियन दम्पतीले नेपालका ४० जिल्लामा साढे ६ करोड रूपैयाँभन्दा बढी सहयोग गरे
दीपक परियार

पोखरा — हिमालय पर्वतको बयान सुनेका अस्ट्रियन संगीतकार फ्रिजी ग्राइफ पहिलोपल्ट सन् २०१४ मा नेपाल आएका थिए । काठमाडौं ओर्लिंदा उनीसँगै थिइन्, श्रीमती क्रिस्टिना जेरोस । नेपाल घुमेर फर्किएको यो जोडीलाई ०७२ को भूकम्पले पुनः फर्कायो । त्यतिबेला दुई जना मात्रै आएनन्, अस्ट्रियन मनकारीको सहयोग पनि सँगै ल्याए ।

फिरन्ते संगीतकारको नेपाल मोह

भूकम्पपछि मात्रै आफ्नो देशमा सहयोग संकलन गरेर यो जोडीले नेपालका ४० भन्दा बढी जिल्लामा साढे ६ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ । फ्रिजी लाइट एसोसिएसनमार्फत भूकम्प, बाढीपहिरो र कोरोना महामारीका बेला उनीहरूले सहयोग गरेका हुन् । एसोसियसनका अध्यक्ष फ्रिजी नै हुन् । ८० को दशकमै उनी कलाकारिताका माध्यमबाट अस्ट्रियामा परिचित थिए । माइकल ज्याक्सन, रोलिङ स्टोन्सजस्ता चर्चित कलाकार तथा सांगीतिक समूहसँग उनले सहकार्य गरेका छन् । ४ हजार गीत लेखेका छन् । त्यति नै संख्यामा संगीत भरेका छन् । एक सयभन्दा बढी गीतमा आवाज दिएका छन् । १९९७ मा सेवानिवृत्त भएपछि उनले बाँकी जीवन संसार घुमेर मानवहितमा लगाउने योजना बनाए । आफ्नै घरमा रेकर्डिङ स्टुडियो खोले । आफ्नै कम्पनी टिरोलिउड फिल्म तथा संगीत कम्पनीमार्फत गीत लेख्ने, संगीत भर्ने, गाउने र भिडियो बनाउनेसमेत आफ‌ैं गर्न गर्न थाले । अस्ट्रियामा लेम्बोर्गिनी, फरारीजस्ता ठूला गाडी कम्पनीको प्रवर्द्धनात्मक सांगीतिक भिडियो बनाउने जिम्मा उनले पाए ।

दम्पतीका लागि सरकारले दिने पेन्सन छँदै थियो । स्टुडियोबाट आएको आम्दानी विभिन्न मुलुकमा पुगेर सहयोग गर्ने फ्रिजीले सोच बनाए । ६६ वर्षीय फ्रिजी र ७९ वर्षीया क्रिस्टिनाले ५५ देश घुमिसकेका छन् । जहाँ–जहाँ पुग्छन् त्यहाँ आवश्यक सहयोग गर्छन् । सन् २०१४ मा फ्रिजीले अस्ट्रियामा गैरसरकारी संस्था फ्रिजी लाइट एसोसिएसन दर्ता गरे । उनको अध्यक्षतामा ७ जना बोर्ड सदस्य संस्थामा छन् । त्यही संस्थामार्फत आफ्नो देशमा सहयोग संकलन गरेर उनी भूकम्पको बेला नेपाल आए ।

काठमाडौंमा उनको युवा पर्यटन व्यवसायी छिरिङ लामा शेर्पासँग मित्रता बढ्यो । जर्मन भाषाका जानकारसमेत रहेकाले छिरिङसँगको निकटता बढ्नमा मद्दत पुग्यो । फ्रिजीले पोखरालाई आधार बनाएर पर्वतारोहण, ट्रेकिङ व्यवसाय सञ्चालन गरिरहेका छिरिङभित्र आफूमा जस्तै सहयोगी मन पाए । त्यसपछि सुरु भयो फ्रिजी लाइट र छिरिङको सहकार्य । छिरिङले फ्रिजीलाई भूकम्पले क्षति पुर्‍याएको रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु पुर्‍याए । ती जिल्लामा क्षतिग्रस्त घरलाई निर्माण सामग्री उपलब्ध गराए । चिसोबाट बच्न ज्याकेट, स्लिपिङ ब्याग, म्याट्रेसजस्ता सामग्री वितरण गरे । सिन्धुपाल्चोकको मांखामा २८ लाख रुपैयाँको लागतमा पञ्चकन्या प्राविको भवन बनाए ।

भूकम्पपछि फ्रिजी दम्पती चारपल्ट नेपाल आइसकेको छ । दुई वर्षअघि उनीहरू स्वास्थ्य शिविर लिएर मुगु पुगे । छायानाथरारा–५ कार्कीवाडामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पुग्दा उनी चित खाए । जीर्ण भवनभित्र कठ्यांग्रिँदो चिसोमा भुइँमा बसेर पढिरहेको विद्यार्थी देखेर उनको मन खिन्न भयो । शिक्षकको बोली खस्न नपाउँदै उनले भने, ‘म भवन बनाउन सहयोग गर्छु ।’

स्वदेश फर्किएपछि मुगुको विद्यालयका लागि सहयोग संकलन अभियान चलाए । कलाकारले उनलाई निःशुल्क आफ्ना चित्र उपलब्ध गराए । उनले ५० कलाकारका ती चित्र लिलामीमा राखे । यसरी एक वर्षमा ८५ हजार युरो (१ करोड १५ लाख रुपैयाँ) जम्मा गरे । यता उनले मुगुकै स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा भवन निर्माण सुरु गरिसकेका थिए । गमगढी नजिकै १२ दृष्टिविहीनलाई राख्ने छात्रावास भवन बनाउन पनि उनले उक्त गैरसरकारी संस्थासँग सहकार्य गरे । उनले अस्ट्रियाबाट रकम पठाउँथे, यता निर्माणको काम उक्त संस्थाले हेर्थ्यो । एकपल्ट ५० हजार र अर्कोपल्ट ३५ हजार युरो उनले मुगुमा पठाए । उक्त संस्थाको कामसँग भने उनी सन्तुष्ट भएनन् । ‘भ्रष्टाचार, लोभ, लालचमुक्त संसार बनाउने मेरो अभियान हो,’ उनले भने, ‘तर मैले नै सहयोग गरेको ठाउँमै पारदर्शिता देखिनँ ।’

मंसिर ५ मा उनी कार्कीवाडा पुगेर ८ कोठे पक्की विद्यालय भवन र दृष्टिविहीन छात्रावासको उद्घाटनमा सहभागी भए । कात्तिक २९ मा गमगढी बजारमा भएको आगलागीमा २१ घर नष्ट भएका थिए । हुम्लाका लागि लिएर गएको एक सयवटा स्लिपिङ ब्याग उनले गमगढीकै आगलागी पीडितलाई सहयोग गरे ।

कोरोना महामारीका बेला उनले अस्ट्रियामै बसेर नेपालीका लागि सहयोग जुटाए । तराई र पहाडका झन्डै ३० जिल्लामा उनले छिरिङको कम्पनी लामा राइजिनमार्फत खाद्यान्न पुर्‍याए । झन्डै १ हजार ९ सय अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छिरिङले बताए । गत वर्ष सिन्धुपाल्चोक, म्याग्दी र लमजुङमा पहिरोपीडितलाई फ्रिजी लाइटले सहयोग गर्‍यो । म्याग्दीको विकट गुर्जा गाउँ पुगेर फ्रिजी दम्पत्तिले न्यानो कपडा, स्लिपिङ ब्याग, जुत्तालगायत सामग्री वितरण गरे ।

फ्रिजी लाइट एसोसिएसनमा ३ सय साधारण सदस्य छन् । उनीहरूले मासिक ७ युरो संस्थालाई दान गर्छन् । केही कम्पनीले मासिक ७० युरो सहयोग गर्छन् । अस्ट्रियाका सञ्चारमाध्यममा उनले नेपालमा गरेका कामको खुब प्रशंसा हुने गरेको छ । नेपालमा भने प्रचारप्रसारभन्दा पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनी बताउँछन् । ‘हामीले मरेपछि केही लिएर जाँदैनौं । जेजति छ सबै छोडेर जाने हो,’ उनी भन्छन्, ‘बाँचुन्जेल यो विश्वलाई राम्रो बनाउन काम गर्ने हो ।’

संसारलाई सुन्दर बनाउन न्याय, समानता, पारदर्शिताको सवालमा उनी नेल्सन मन्डेलालाई आदर्श मान्छन् । नेपाललाई अझैं सुन्दर र रंगीन भएको उनी देख्न चाहन्छन् । सरकार नपुगेको ठाउँमा पुगेर सहयोग गर्ने उनको चाहना छ । अहिले पनि उनी दिनमा बढीमा ३ वटासम्म गीत आफ्नो स्टुडियोमा रेकर्ड गर्छन् । सरकारले दिने पेन्सनले जीवनयापन गर्न पुग्ने भएकाले आफ्नो बाँकी आम्दानी नेपालमै सहयोग गर्ने उनको चाहना छ । ‘उमेर गए पनि काम गर्ने जोस अझै बाँकी छ,’ मुगुबाट फर्किर पोखरा आएका उनले भने, ‘टुगेदर फर अ बेटर वर्ल्ड ।’

प्रकाशित : मंसिर १९, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?