२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कृषि क्रान्ति खोज्दै ७ वर्षे यात्रा

धनकुटा — धेरैले यात्रालाई सोखका रूपमा लिने गर्छन् । तर, त्यस्ता यात्राले ठोस उद्देश्य लिन सके सार्थक बन्ने उदाहरणीय पात्र बनेका छन्, ४७ वर्षीय जीवनकुमार राई । जसले ७ वर्ष ७ महिना १९ दिनसम्म मुलुकका सबै जिल्लाका कुनाकाप्चा यात्रा गरेर जनजीवन केलाए । यस अवधिमा १ लाख २५ हजार ६ सय किलोमिटरको दूरी त उनले आफ्नो यात्रामा छिचोलेका छन् । यसरी यात्रा गर्नुको मुख्य उद्देश्य कृषि क्रान्तिबाट कृषि पर्यटन र समृद्धिका आधार खोज्नु रहेको उनको ठम्याइ छ । 

कृषि क्रान्ति खोज्दै ७ वर्षे यात्रा

कृषि कर्मबाटै जीवन बदल्न सकिन्छ भन्ने विश्वास छर्दै उनले यात्रामा ७७ जिल्लाका ८० प्रतिशत बढी पालिकाको भ्रमण सकेको बताए । कृषिबाट समृद्धि खोज्नु, स्वदेशमा नै युवा वर्ग आत्मनिर्भर बनाउन उत्प्रेरणा जगाउनु, कृषिबाट एकबाट अर्को जिल्ला जोड्नु र पुस्तक लेखनको विषयवस्तु जुटाउने मुख्य चार उद्देश्य रहेको राई बताउँछन् । राई कृषि र जीवन उत्प्रेरणा जगाउने राम्रा लेखक हुन् । उनले हालसम्म १९ पुस्तक प्रकाशन गरेका छन् । सबैजसो पुस्तक उनले कोठामा बसेर कोरा कल्पनामा नभई भ्रमण गरेरै लेखेका छन् । पछिल्लो पटक यात्राको उद्देश्य र त्यसका भोगाइबारे पुस्तक ‘समृद्धिका आधार’मा उतारेका छन् ।

भोजपुरको हाम्पाङमा जन्मिएर हाल धनकुटाको हिलेमा बस्दै आएका राईले यात्रा अवधिको भोगाइ सुनाए । १ सय ८९ दिन कैयौं स्थानमा राजनीतिक र सामाजिक अधिकारका नाममा भएका बन्दको सामना गरेको, ४७ दिन त पैदलै यात्रा गरेको सुनाए । यात्राका क्रममा सबैभन्दा कम समय महोत्तरी र बढी रूपन्देहीमा बिताएको उनले जनाए । कृषिबाट नै मुलुकको मुहार फेर्न सकिने उनको निष्कर्ष छ । ‘मैले कृषिबाटै मुलुकको क्रान्ति हुने अवस्था देखेको छु,’ उनले भने, ‘हामीले कृषिसँगै पर्यटन विकास गर्न र युवा पुस्तालाई जोड्न सके समृद्धि खोज्न अलमल गर्न नपर्ने निश्चित छ ।’

यात्राको अवधिमा उनले भोगेका केही रमाइला र अविस्मरणीय क्षण पनि सुनाए । यात्राका क्रममा हुम्ला पुग्दा वर्षा, बाढी र पहिरोका कारण लामो समयको बसाइले यात्रा खर्चिलो बन्ने अवस्था भएपछि स्थानीय लोटाइ लामाले यात्राको उद्देश्य थाहा पाएपछि खर्च लिन नमानेको सुनाए । रोल्पामा यात्रा गर्दा घण्टौं लाग्ने ठाउँलाई स्थानीयले १५ मिनेट समय लाग्ने भन्ने गरेकाले लामो यात्रा पनि छोटो जस्तै लागेको बताए । सुर्खेतका अधिकांश स्थानमा बास स्थानीयको निःशुल्क सहयोग रहेको स्मरण सुनाए । अछाममा उनको स्वागतमा सांस्कृतिक झाँकी, रामरोशनबाट फर्कंदा ब्यान्ड बाजा उत्तिकै रोचक रहेको राई बताउँछन् । हुम्लामा सर्केघाटबाट घ्युसी भन्ने स्थानमा कर्णाली नदी किनारमा बालुवामा भासिएको र बाढीले बगाउन लाग्दा मुस्किलले बाँचेको कहालीलाग्दो क्षणको पनि उनले सामना गरे ।

वर्षौंसम्म यात्रामा निस्किएका राईले बैंक तथा वित्तीय संस्थामार्फत ३२ लाख ४५ हजार ऋण काढेका छन् । जुन ऋणको अधिकांश भार अझै बेहोरिरहेको उनले बताए । ‘मसँग निजी लगानीबाट आर्जन गर्ने रकम थिएन’, उनले भने, ‘भ्रमणमा लागेको ऋण पुस्तक बिक्री गरेर चुक्ता गर्ने सपना छ ।’ ब्याजले थिचिए पनि समग्र मुलुकको कृषि कर्मको अवस्थाबारे सूक्ष्म रूपमा अध्ययन गर्न पाउँदा फरक प्रकारको आत्मसन्तुष्टि मिलेको बताउँछन् ।

७७ जिल्लामा कृषि र कृषकको अवस्था बुझ्न निस्किएका राईले सातवटै प्रदेशमा कृषि र पशुपालनसम्बन्धी नीति अभाव भएको बताए । उनले हरेक प्रदेशमा कृषि तथा पशुपालनबारे ठोस नीति बनाएर अघि बढ्न जरुरी रहेको सुझाए । प्रदेश १ का सबै जिल्लामा बंगुर पालनका लागि पर्याप्त सम्भावना बढी भए पनि अन्यत्र अलमल भएको उनी बताउँछन् ।

नेपालमा वार्षिक २४ हजार टन बंगुर मासु खपत हुने गर्छ । तर, छिमेकी मुलुक भुटान, भारतमा बंगुरको मासुको माग नेपालभन्दा चौगुना बढी हुने भएकाले निर्यात गर्न सकिने उनको ठहर छ । प्रदेश २ मा माछा पालन, वाग्मतीमा अर्गानिक तरकारी र गण्डकी प्रदेशमा रेन्बो ट्राउट र स्याउको प्रचुर सम्भावना देख्छन् उनी । यस्तै, लुम्बिनी प्रदेशमा च्युरी र जडीबुटीसम्बन्धी नीति नै बनाए अघि बढ्न सकिने उनको सुझाव छ । कर्णाली प्रदेशमा जडीबुटी र बेमौसमी प्याज तथा सुदूरपश्चिममा धार्मिक कृषि पर्यटनसम्बन्धी नीति बनाएर अघि बढ्न सके देश निर्माणमा उल्लेखनीय योगदान पुग्ने उनको बुझाइ छ ।

प्रकाशित : मंसिर ४, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?