विदेशमा सिकेर कालिज पालन- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशमा सिकेर कालिज पालन

अमृता अनमोल

बुटवल — बाबुराम श्रेष्ठ पाल्पाको रामपुरमा जन्मे । इटालीमा १८ र जर्मनीमा २ वर्ष गरी २० वर्ष वैदेशिक रोजगारीमा बिताए । आफ्नो परिवारलाई चाहिने धन–सम्पत्ति जोडे । तर यत्तिमा उनको मन थामिएन । उनले ३ वर्षदेखि व्यावसायिक कालिज पालन सुरु गरेका छन् ।


जो देशकै पहिलो कालिज फार्म हो । हाल बाबुरामका रुपन्देहीको बुटवल उपमहानगर–१७ हरिहरपुरमा दुई र काठमाडौंको दक्षिणकालीमा एक गरी तीन कालिज फार्म छन् । तिनमा करिब ७ हजार ५ सय कालिज हुर्किरहेका छन् । ‘फार्ममा कालिज पाल्ने मात्र होइन, कालिजपालनबारे अध्ययन तथा अनुसन्धान पनि गराइन्छ,’ उनले भने, ‘देशभर कालिजको व्यावसायिक पालन विस्तार गर्न यसो गरेका हौं ।’

तीन वर्षअघि काठमाडौंमा खोलिएको एभरेस्ट वाइल्ड लाइफ एग्रो प्रालिमा करिब २ हजार ५ सय कालिज छन् । त्यसमा ६ जनाले साझेदारी गरेका छन् । ११ रोपनी जग्गा घेरेर खोलिएको फार्ममा डेढ करोड रुपैयाँ लगानी छ । बुटवलमा गएको वैशाखदेखि लुम्बियो एनिमल बर्ड्स एन्ड इनसेक्ट कलोनी एन्ड रिसर्च सेन्टर र व्यापक्स वाइल्ड पार्क प्रालि सञ्चालन गरेका छन् । फार्ममा रिङनेक, मंगोलियन, क्रस अमेरिकन ब्लु प्रजातिका कालिज छन् । करिब ६ हजार ५ सय चल्लाबाट व्यावसायिक कालिज पालन थालेका उनले सात महिनामा १ हजार ५ कालिज बेचिसके । बुटवलमा १ बिघा ५ कट्ठा ५ धुर जग्गामा फार्म फैलिएको छ । आफ्नै जग्गा भएकाले दुवै उद्योगमा ३०/ ३० लाख रुपैयाँ लगानी लगाएर कालिज फार्म सुरु गरेको बाबुरामले बताए । ‘फर्ममा सबै संरचना आधुनिक किसिमले निर्माण गरिएको छ । कालिज हुर्कंदै जाँदा पालन र रेखदेखमा गरी झन्डै डेढ करोड रुपैयाँ लगानी पुगेको छ,’ बाबुरामले भने, ‘पत्नी कविताका नाममा फार्म छ । म नहुँदा उनले नै फार्मको रेखदेख गर्ने गरेकी छन् ।’

बाबुराम भाषा सिक्न भन्दै एसएलसीपछि इटाली गएका थिए । भाषा सिकेपछि उनले चार वर्ष त्यहींको सुपरमार्केटमा जागिर गरे । बीचमा फर्केर जर्मनी गए । त्यहाँ दुई वर्ष रेस्टुरेन्टमा काम गरे । स्वदेशमा केही गर्ने सोच बनाउँदै थिए । मुलुक द्वन्द्वमा फस्यो । उनी पुनः इटाली गए । इटालीमा कामकै सिलसिलामा इटलियन साथीसित दोस्ती भयो । उनको काकाको कालिज फार्म रहेछ । उनलाई स्वदेश फर्किने र कालिजको व्यावसायिक पालन गर्ने इच्छा जाग्यो । करिब ९ महिना समय निकालेर फार्ममा बस्ने र कालिज पाल्ने विधि सिके । इटालियन फार्मबाटै कालिजका चल्ला ल्याउने र पाल्ने योजना बनाए । तर, इटालीमा पालेको भए पनि फ्रान्सका चल्ला भएकाले सिधै नेपालमा ल्याउन मिलेन । कालिज पाल्ने योजना बुनेका बाबुरामले हार खाएनन् । उनी कालिज फार्म पछ्याउँदै फ्रान्स गए । करिब डेढ महिना अण्डाबाट चल्ला उत्पादन गर्ने, चल्लाको स्याहारसुसार, दानापानी खुवाउने बारेमा सिके । फ्रान्समा ३० डिग्रीमाथिको तापक्रममा कालिज पाल्न नमिल्ने सुझाव दिए । बाबुरामले कालिज फार्मका लागि किनेको बुटवलको जग्गा काम लागेन । त्यसपछि ५ साथी मिलेर काठमाडौंको दक्षिणकालीमा फार्म तयार गरे । फ्रान्सबाट १० हजार २ सय ७५ अण्डा बोकेर नेपाल फर्किए ।

बाबुरामले अहिले पनि फ्रान्सबाटै अण्डा ल्याएर कालिज उत्पादन गरिरहेका छन् । अब भने बिस्तारै आफैंले अण्डा र चल्ला उत्पादन गर्ने सोच छ । ‘जात परीक्षण गर्दा गर्दा ३० डिग्रीमाथिको तापक्रममा पाल्न नमिल्ने भनिएका कालिज ४०/४१ डिग्री तापक्रम हुने बुटवलमा सफल रुपमा पाल्न थालेको छु,’ बाबुरामले भने, ‘बिस्तारै काठमाडौंबाट मात्र होइन, बुटवलबाट पनि चल्ला उत्पादन गर्ने योजनामा छु ।’

कालिज पाँच महिनादेखि बिक्री गर्न सकिन्छ । कालिजको जात हेरेर भाले पाँच महिनामा एक किलोदेखि २ किलोसम्म तौलको हुन्छ । पोथी बढीमा एक किलोसम्म तौलको हुन्छ । पोथी कालिजले एक वर्षमा अण्डा दिन सुरु गर्छ । बाबुरामले किलोको हिसाबमा नभई गोटाका हिसाबमा कालिज बेच्दै आएका छन् । सुरुमा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिँदै आएको कालिज अहिले २ हजार ५ सय रुपैयाँमा बेच्ने गरेको उनले सुनाए ।

कालिजले पानी र अनाज खान्छ । कालिजलाई चाहिने दाना आफ्नै विधि अनुसार लुम्बिनी दाना उद्योग प्रालिबाट उत्पादन गर्दै आएको उनले बताए । बाबुरामले चल्ला उत्पादनका लागि विभिन्न ह्याचरिङ उद्योग प्रयोग गरेका छन् । यो समस्या हटाउन आफ्नै ह्याचरिङ उद्योग खोल्ने योजना बनाएको उनले सुनाए ।

प्रकाशित : मंसिर ४, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

मध्यपहाडी राजमार्गले फेरियो जीवनशैली

मेनुका ढुंगाना

अछाम — कात्तिक पहिलो साताको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी भेगमा जनधनको धेरै क्षती भयो । त्यहिबेला डोटी, डडेलधुरा जिल्लाका विभिन्न ठाउँमा पहिरोले सडकहरू अवरुद्ध भए । पाँच दिनसम्म लामो रुटमा रहेको सडक अवरुद्ध भएपछि त्यसको विकल्पमा मध्यपहाडी राजमार्ग प्रयोगमा आयो । डोटी र बाजुरालगायतका अन्य जिल्लाले पनि अछामको बाटो प्रयोग गरेर धनगढी, नेपालगन्ज काठमाडौंसम्मको यात्रा तय गरे । 

पहिले अछाम र बाजुरावासी डोटी र डडेलधुरा हुँदै प्रदेश राजधानी धनगढी र संघीय राजधानी काठमाडौं जान्थे । कात्तिक पहिलो साताको वर्षाले भने मध्यपहाडी राजमार्गको महत्त्वलाई सबैले बुझे ।

अछामको चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकालगायत १० स्थानीय तहमध्ये ६ स्थानीय तहलाई मध्यपहाडी राजमार्गले छोएको छ । मध्यपहाडी राजमार्गले यात्रुलाई छोटो रुट मात्र नभई यहाँका स्थानीयको जीवनशैली पनि बदलिदिएको छ । मूल सडकको रूपमा मध्यपहाडी राजमार्ग छ भने त्यही सडकबाट गाउँगाउँमा शाखा सडक विस्तार भएका छन् ।

मध्यपहाडी राजमार्गले गाउँका ससानो बजारमा चहलपहल बढाएको छ । महिनौं दिनसम्म हिँडेर लत्ताकपडा, नुनतेलको जोहो गरेका अघिल्लो पुस्ता अहिले आफ्नै आँगनमा गाडी चल्दा दंग छन् । सदरमुकामसम्म गाडी चढेर अत्यावश्यक काम गर्न आउन पाउँदा सुखको अनुभूति गरेका छन् । छोराको नागरिकतामा सनाखत गर्न प्रशासन कार्यालय अछाममा आएका पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ७६ वर्षीय बज्जीर शाही घरदेखि सदरमुकामसम्म गाडी चढेर आउन पाएकोमा खुसी देखिन्थे । ‘पहिले हाम्रो गाउँमा गाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होला भन्ने लागेकै थिएन,’ उनले भने, ‘घरबाट गाडी चढेर अहिले सदरमुकामसम्म आयौं । आफ्नै पालामा यस्तो विकास भएको देख्दा खुसी लाग्छ ।’

उनका अनुसार पहिले लुगाकपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैंसी पाल्ने यहाँका स्थानीयको दैनिकी थियो । समय बदलिएसँगै पेसा पनि परिवर्तन भयो । बज्जिरसँगै छोरीको नागरिकता बनाउन सदरमुकाम मंगलसेन आएका बारलाका ७५ वर्षीया मानबहादुर शाही अहिलेको पुस्ता भाग्यमानी भएको बताउँछन् । उहिले धेरै दिनसम्म हिँडेर नुन ल्याउन गएको घटना सम्झँदै उनी भन्छन्, ‘पन्ध्र किलोसम्म घिउ बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यही पैसाको नुन किनेर ल्याउँथ्यौं,’ शाहीले भने, ‘अहिले त भैंसी पाल्नेहरू मुस्किलले भेटिन्छन् ।’

राजापुरमा नुन ल्याउन जाँदा बाटोमा वर्षा भई अलपत्र परेको सुनाउँदै मानबहादुर अहिलेको पुस्तालाई भाग्यमानी ठान्छन् । ‘गाउँका सात जना बर्दियाको राजापुर गएका थियौं । वारिपारि खोलाको पानी बीचमा हामी थियौं । आफू बाँच्नलाई नुन फ्याँक्यौं । जोखिम मोलेर हामी बाँचेका हौं,’ उनले भने, ‘नुन सकिने दिन जति नजिक आउँथ्यो त्यति नै डरले मुटु काँप्थ्यो ।’ उनका अनुसार घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने जानकारी परिवारमा हुँदैन्थ्यो ।

‘घरबाट निस्केको दिन बाटोमा केही नभए फेरि भेट होला, चिन्ता नगुर्नु, भगवान्ले साथ दिए नुन ल्याएर घरमै फर्किने छु भन्दै बाँच्ने झिनो आशा बोकेर सहरमा सामान किन्न जान्थ्यौं,’ मानबहादुरले भने, ‘दस दिनसम्म हामी बाटोमै हुन्थ्यौं । घरका मान्छे चिन्तामा हुन्थे ।’ अहिले उनको उमेरका जति खुसी बाराला गाउँमा अरू सायदै होलान् । पुरुष नभएको घरका महिला जान्थे । चिसापानी, राजापुर, कटासे, तिकुनियासम्म सामान किन्न जाने पुरुष नै हौ । अहिले त सुखका दिन आए । काठमाडौंको सामान एकै दिनमा गाउँ पुग्छ ।’ यी सबैको एउटै कारण सडकको विकास भएको स्थानीयको बुझाइ छ ।

प्रकाशित : मंसिर ४, २०७८ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×